रसुवाका सहायक सीडीओलाई ६ प्रश्न : कसरी आयो बाढी ? कति भयो क्षति ?

रसुवामा आएका बाढीले ठूलो जनधनको क्षति भएको छ । प्रारम्भिक तथ्यांकअनुसार हालसम्म १८ जना सम्पर्कविहीन छन् । हामीले रसुवाको बाढीमा केन्द्रित रहेर रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीसँग संक्षिप्त कुराकानी गरेका छौं ।  बाढीले रसुवामा के कस्तो क्षति गर्यो ?  नेपाल चीन जोड्ने मितेरी पुल बगाउँदा नेपाल र चीनबीचको सम्पर्क पूर्णरुपमा टुटेको छ भने रसुवा गढीबाट स्याफ्रुबेंसी जाने बाटो समेत अवरुद्ध भएको छ ।  यस्तै, रसुवागढी जलविद्युत आयोजनाको ड्याममा क्षति पुगेको छ  । जलविद्युतमा पनि ठूलो क्षति पुगेको छ । रसुवागढी भन्सार कार्यालयको सुख्खा बन्दरगाहमा रहेका इलेक्ट्रिक भेहिकल तथा मालबाहक कन्टेनरहरू बगाएको छ । तर कति बगायो भन्ने अहिलेसम्म यकिन छैन । प्रहरी तीन जना, कामदार तथा मजदुर ९ जना र चिनियाँ ६ जना सहित १८ जना सम्पर्कविहीन भएका छन् भने बाढीको बिचमा फसेका २१ जनाको उद्धार गरिएको छ । रसुवागढी हाइड्रोको केही कर्मचारी सुरक्षित बसेको अवस्था छ भने उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत विपद व्यवस्थापनको टोली खटिरहेको छ ।  बाढीले कति क्षति भयो होला, केही अनुमान लगाउन सकिन्छ ?  अहिले तत्काल रकमको हिसाब गर्न सकिँदैन । तत्काल मानवीय क्षति कम कसरी गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित भएकाले तत्काल यति रकम बराबरको धनको क्षति भयो भने भन्न सकिने अवस्था छैन । घटनाबारे तपाईंहरूलाई कसरी जानकारी भयो ? घटना बिहान तीन बजे भएको हो । त्यहाँ नजिकै रहेका शसस्त्र  र प्रहरी चौकीले जानकारी दिएपछि थाहा भएको थियो । त्यस्तो बाढी आउने भन्ने कुनै पूर्वानुमान पनि थिएन  । राति त्यस्तो मौसम पनि थिएन तर एक्कासि यस्तो खबर आयो । तर, हामीले वर्षाको समयमा जतिबेला जे पनि हुन सक्ने भन्दै सतर्क रहन नागरिकलाई जानकारी भने गराइरहेका थियौं ।  अहिले बेपत्ताको खोजी कार्य कसरी गरिरहनुभएको छ ? उद्धारको लागि जिल्लाको सम्पूर्ण जनशक्ति खटेको छ । प्रमुख जिल्ला अधिकारी पनि आफै घटनास्थलमा पुग्नुभएको छ भने भने सुरक्षा निकायका सबै प्रमुख लगायत सबै स्थानी जनसमुदाय सबै घटनास्थलमा पुगिसक्नुभएको छ । तत्काल पूर्ण रुपमा मानवीय क्षति न्यून गर्नका लागि हामी लागिरहेका छौं । प्रभावित क्षेत्रका स्थानीयहरूलाई सुरक्षित रुपमा राखिसकेको अवस्थामा छ भने सम्भावित जोखिम हुन सक्ने स्थानका स्थानीयलाई पनि सुरक्षित स्थानमा राखिसकेकाले अहिले त्रासको अवस्था छैन । तर  वर्षायाममा जोखिम चाहिँ हुने सम्भवना धेरै भएकाले सतर्क रहनुपर्छ ।  मितेरी पुल बगाउँदा कुनै वैकल्पिक बाटो प्रयोग गरिने अवस्था छकि छैन ?  तत्काल वैकल्पिक बाटोको सम्भावना छैन । नेपाल र चीनको सम्पूर्ण सम्पर्क टुटेको छ । अहिले वैकल्पिक बाटो भन्दा पनि बेपत्ताको खोजी र के कति क्षति भयो भन्ने विवरण खोजिरहेका छौं । मौसम अहिले पनि राम्रो नहुँदा काममा भने चुनौती देखिन्छ ।  बाढी कसरी आयो भन्ने केही अनुमान छ ? पानी परेरै बाढी आयो वा कुनै ताल फुटेर बाढी आयो भन्ने विषयमा अहिले फरक व्यक्तिका फरक धारणा आइरहेका छन् । चीनमा वर्षा भएर नेपालमा बाढी आएको पनि हुन सक्छ । वा कुनै ताल फुटेर पनि बाढी आएको हुन सक्छ । यो विषयमा पनि तत्काल यही कारण हो भन्न सकिदैन । यो विषयमा पनि अध्ययन र अनुसन्धान गरेपछिमात्र थाहा हुन्छ ।  

ठूला सिमेन्ट उद्योग घाटामा, निर्यात र निर्माण ठप्प

काठमाडौं । पछिल्लो समय सिमेन्ट कम्पनीहरूको आम्दानीमा भारी ह्रास आएको छ । ठूला सिमेन्ट उद्योगहरु नै घाटामा सञ्चालन भइरहेको छन् । नाम चलेका अर्घाखाँची सिमेन्ट, मारुती, अग्नी सिमेन्टको नाफामा निरन्तर ओरालो लागेको छ ।  २०८०/८१ मा अर्घाखाँची सिमेन्टले ६ अर्ब ६ करोड आम्दानी गरेको थियो । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा अर्घाखाँची सिमेन्टले ३ अर्ब ९६ करोडको मात्रै आम्दानी गरेको छ । कम्पनीको २०७९/८० मा ५ अर्ब ७७ करोडको आम्दानी गरेको थियो ।  त्यसअघिको आर्थिक वर्षमा अर्घाखाँची सिमेन्टले ७ अर्ब ५८ करोड आम्दानी गरेको देखिन्छ । कम्पनीले अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो पकड बनाउन नसक्दा व्यापार खुम्चिएको रेटिङ्बाट देखिएको छ । पछिल्लो समय नेपालमा विकास निर्माणका भइरहेको ढिलासुस्तीमा सिमेन्टहरुले भने भारतमा आफ्नो बजार बनाउँदै लगि रहेका छन् तर पछिल्ला दिनहरुमा भारतले निर्यातमा कडाइ गर्दा त्यसको असर सिमेन्ट कम्पनीमा परेको छ । नियामकीय अवरोधहरु दीर्घकालिन रुपमा अझै नहटेकाले कम्पनीलाई निर्यातमा अझै चुनौती कायमै रहेको छ । रेटिङ कम्पनी इक्रा नेपालका अनुसार घरेलु माग सुस्त छ । सोही कारणले पनि सिमेन्ट कम्पनीलाई चुनौती बढाएको छ ।  अर्घाखाँचीको वार्षिक जडित क्षमता १० लाख टन हो । सिमेन्ट कारखाना रुपन्देहीमा छ । यसले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीमा सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया ग्रुपको १७ दशमलव ५ प्रतिशत र भारती कम्पनी उमा सिमेन्ट इन्टरनेसनलको १७ दशमलव ५ प्रतिशत लगानी छ । कम्पनी हाल ‘अर्घाखाँची सिमेण्ट’ ब्रान्ड अन्तर्गत ओपीसी र पीपीसी सिमेण्ट उत्पादन गरिरहेको छ । सन् १९९८ मा स्थापना भएको डाइनेस्टी इन्डस्ट्रिज नेपाल प्रालिको नाम परिवर्तन भई २०११ जुनमा अर्घाखाँची सिमेन्ट प्रालि भएको थियो । २०२१ जुलाईमा पब्लिक कम्पनी बनेपछि यसको नाम अर्घाखाँची सिमेन्ट लिमिटेड भएको थियो । अर्को नाम चलेको कम्पनी हो, मारुती सिमेन्ट । मारुती सिमेन्टले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा ३ अर्ब ९८ करोड आम्दानी गरेको छ । कम्पनीको २०७९/८० मा ४ अर्ब ७५ करोडको आम्दानी गरेको थियो । यो सिमेन्टले पनि सोचेअनुसार आम्दानी गर्न सकेको छैन । मारुतीले केयर रिटङ कम्पनीको रेटिङ गराउँदा कच्चा पदार्थमा भएको मूल्यवृद्धि, बजारमा देखिएको अस्वथ्य प्रतिष्पर्धा, नियमकीय अवरोधले उल्लेख्य आम्दानी हासिल गर्न नसकेको देखाएको छ । मारुती सिमेन्ट लिमिटेडको स्थापना सन् १९९४ अक्टोबर ३१ मा भएको हो  । जसमा राठी समूह र गोयल समूहका कम्पनीहरू समावेश छन् । कम्पनी हाल सिमेण्ट उत्पादन तथा बिक्रीमा संलग्न छ । यसले दैनिक १ हजार ५ सय मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने र २ हजार मेट्रिक टन सिमेण्ट उत्पादन गर्ने क्षमता राख्ने गरेको छ । कम्पनीले आफ्नो क्लिङ्कर उत्पादन क्षमता थप १ सय ८ सय मेट्रिक टन प्रतिदिन र उत्पादन क्षमता थप २ हजार मेट्रिक टन प्रतिदिनले बढाउने योजना राखेको छ ।  पुरानो नाम चलेको अग्नी सिमेन्टको नाफा समेत घटेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा २५.३२ प्रतिशतले घटेको छ । सन् २०२४ मा निर्माण कार्यले गति नलिँदा व्यापारमा कमी आएको छ । सन् २०२३ मा ६७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा ४० करोड २० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब २१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२४ मा क्षमताको उपयोगमा ९.८४ प्रतिशतले कमी आएको जनाएको छ । कम्पनीले व्यापार घट्नुको कारण मूल्यवृद्धि पनि एक देखिएको छ । सन् २०२३ मा प्रतिक मेट्रिकटन टन ८ हजार ३ सय ६६ रुपैयाँमा विक्री गरेको थियो । तर सन् २०२४ मा कम्पनीले प्रति मेट्रिकटन टन ६ हजार ९७ रुपैयाँमा बिक्री गरेको छ ।   कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २२ करोड ८० लाख रुपैयाँको व्यापार गरिसकेको छ । सन् २०२४ को सोही अवधिमा कम्पनीले २० करोड २० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । सन् २००७ मा स्थापान भएको कम्पनीले पीपीसी र ओपीसी सिमेन्ट दैनिक ९ सय मेट्रिकटन टनमा उत्पादन गर्दै आएको छ ।   

विद्यार्थीलाई कथा बुन्न सिकाइरहेको क्यानोपी नेपाल

काठमाडौं । मान्छेले अरुको कुरामा बयान गर्न सक्छ । प्रायः आफ्नो बारेमा भन्न सक्दैन । कुनै ठाउँमा तपाईं आफ्नो बारेमा लेख्नुहोस् अथवा भन्नुहोस् भन्दा एकछिन के लेख्ने अकमक हुन्छ । किन कि हामीलाई आफ्नो बारेमा भन्न सिकाइएको हुँदैन । हामीले पढ्ने पाठ्यक्रममा स्टोरी टेलिङको कुरा छैन । शिक्षकहरूले पनि पाठ्यक्रममा भएका कुरालाई कसरी सिकाउने, कसरी विद्यार्थीलाई कण्ठ पार्न लगाउने भन्नेमा बढी जोड दिएको पाइन्छ । जसका कारण प्रायः व्यक्ति आफ्नो बारेमा लेख्न र व्यक्त गर्न सक्दैन । जसको असर अहिले तपाईं हामीले आफ्नो बारेमा भन्न नसक्नु हो ।  अहिले विद्यालय शिक्षादेखि नै विद्यार्थीलाई आफ्नो बारेमा भन्न सक्नु अथवा आफ्नो कथा बुन्न सिकाउनुपर्ने कुरा पनि उठ्दै आएको छ । कतिपय कलेजले वार्षिक क्यालेन्डरमा स्टोरी टेलिङको कुरा समावेश गरेमात्र छैनन्, कार्यक्रम पनि गर्दै आएका छन् । तर, अहिले विद्यालय तहबाटै यस्ता कुरा सिकाउनुपर्ने आवाज उठ्न थालेको छ । शिक्षाको क्षेत्रमा काम गर्ने कतिपय संघ सस्था र व्यक्तिले विद्यार्थी पढ्न, लेख्नसँगै कथा भन्न र लेख्न सक्ने बनाउनुपर्नेमा जोड दिइरहेका छन् । उनीहरू सरकारलाई दबाब स्वरुप आफै कार्यक्रम सञ्चालन गरिरहेका छन् यसैमध्येको एक शैक्षिक संस्था हो क्यानोपी नेपाल । यसले विद्यालय बाहिर रहेका बालबालिकालाई छात्रवृत्तिको माध्यमबाट शिक्षाको पहुँचमा ल्याउनुका साथै त्यस्ता विद्यार्थीलाई आत्मनिर्भर बनाउने काम गरिरहेको छ भने विभिन्न स्थानीय पालिकासँग मिलेर विद्यालयमा कथा बुनौं कार्यक्रम सुरु गरेको छ । परिवारको आर्थिक अवस्था कमजोर भई विद्यालयको पहुँचमा पुग्न नसकेका वा विद्यालयको पहुँचमा भएर पनि पढ्न नसक्ने अवस्थाका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने काम गरिरहेको छ ।  क्यानोपीका कार्यकारी निर्देशक अंगिरस कार्की विद्यार्थीलाई विद्यालयमा भर्ना गर्नु मात्र नभई उनीहरूलाई चाहिने अभिभावकीय भूमिका समेत आफूहरूले गरिरहेको बताउँछन् ।  डर लाग्दो ड्रप आउट नेपालमा विद्यार्थी ड्रप आउटको संख्या अझै डर लाग्दो छ । युनिसेफको एक तथ्याङ्कले कक्षा १ मा भर्ना हुने सय जना विद्यार्थीमध्ये जम्मा २७ जना बच्चाहरू माध्यमिक तहसम्म पुग्ने गरेको देखाएको छ । सरकारले कक्षा ८ सम्म अनिवार्य तथा निःशुल्क शिक्षा र कक्षा १२ सम्म निःशुल्क भने पनि विद्यार्थी ड्रप आउटको संख्या घट्न सकेको छैन । नेपालको यस्तो अवस्थामा शिक्षाको पहुँच बाहिर रहेका विद्यार्थीलाई छात्रवृत्ति मार्फत शिक्षाको पहुँचमा ल्याउने काम आफूहरूले गरिरहेको कार्की बताउँछन् ।   ‘हामीले छात्रवृत्ति दिएका बालबालिकालाई स्कुल भर्ना गर्ने मात्र नभई मेन्टरसिप, साइकोसोसेल काउन्सिल, करियर काउन्सिलिङ दिएर जबसम्म आत्मनिर्भर शिक्षा नसकुन्जेल सहयोग गर्ने काम गर्छौ,’ उनले भने ।  कार्कीले स्थानीय सरकारहरूसँग मिलेर पाठ्यक्रम विकासमा पनि यो संस्थाले काम गरिरहेको बताए । क्यानोपीको सहयोग मार्फत अहिलेसम्म ४० जना विद्यार्थी ग्रायजुएट भइसकेका छन् भने उनीहरू मध्ये केही विद्यार्थी बैंक, नेपाल एयरलाइन्स लगायतका विभिन्न कम्पनीमा काम गरिरहेका छन् । यसरी पढेका विद्यार्थीहरू अहिले आफै यो अभियानमा लागिरहेका छन् ।  विद्यार्थी छनोट प्रक्रिया  आर्थिक अवस्था कमजोर भएका अभिभावकमा पनि छोराछोरी पढाउनुपर्छ भन्ने चेत आइसकेको छ । तर, नेपालका सामुदायिक केही विद्यालय भन्दा अन्य विद्यालयको शिक्षाको अवस्था राम्रो छैन । अहिले पनि सामुदायिक स्कुलमा पढ्ने विद्यार्थीलाई पाठ्यक्रम भित्रकै पढाइएका कुराहरू पनि राम्रोसँग आउँदैन । दिनहुँ विद्यालय आउने, जाने परीक्षामा चिट चोरेर वा चोराइएर पास हुने प्रवृती सामुदायिक विद्यालयको छ ।  यस्तो शिक्षा पाएका विद्यार्थीलाई अहिलेको ग्लोबलाइजेसनमा प्रतिस्पर्धा गर्न समस्या छ । कतिपय बालबालिका साँच्चिकै आर्थिक अभावकै कारण विद्यालयको पहुँच बाहिर छन् । अभिभावक जसले दिनभरी मजदुरी गरेर पढाइरहेका छन् त्यस्ता विद्यार्थीलाई यस्तो छात्रवृत्ति दिइन्छ । यसका लागि माघ महिनामा आवेदन खुलाएर विद्यार्थीको अवस्था, पारिवारिक अवस्था सम्बन्धित पालिकाको सिफारिस पत्रका आधारमा बालबालिका छनोट गर्ने गरिन्छ । अहिलेसम्म छात्रवृत्ति पाएर अध्ययन गरिरहेका बालबालिकाको संख्या बढी छ । आर्थिक अवस्था कमजोर भएका ज्यामी गरिरहेकाहरूका बच्चाहरु बढी छन् । अध्ययनले पनि छात्र भन्दा छात्राको ड्रप आउट धेरै रहेको देखाएको छ ।  ‘हामीले पढाइदिने भनेर लिँदैनौ, उनीहरूकै अभिभावकसँग राखेर घरको आर्थिक अवस्था हेरेर जिम्मामा लिइसकेका बालबालिकाको खाने बस्नेदेखि लिएर हरेक कुरा हेर्छौ,’ कार्की भन्छन्, ‘यसमा हाम्रो भूमिका दोस्रो अभिभावकीय हुन्छ ।’  अहिलेसम्म धादिङ र काठमाडौं उपत्यका भित्रका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने प्रयास गरिरहेको छ । नुवाकोटमा पनि पहिले कार्यक्रम गरेको र उनीहरू ग्रायजुएट भइसकेका छन् ।  महँगो शिक्षा हरेक देशले शिक्षालाई सुलभ बनाएका हुन्छन् । देश विकासको मेरुदण्ड नै शिक्षा हो । तर, नेपालमा शिक्षा दुई प्रकारको छ । एक निकै महँगो छ, जो सामान्य वर्गका छोराछोरीको पहँचमा हुँदैन, अर्को पहुँचमा छ तर गुणस्तरको छैन । नेपालमा पाइने दुई प्रकारको शिक्षाले नै कमजोरलाई झन कमजोर र बलियोलाई अझ महजुत बनाइरहेको छ । कार्की विद्यार्थीहरू ड्रप आउटको एउटा कारण यो पनि हुन सक्ने बताउँछन् । नेपालमा शिक्षा निकै महंगो भइरहेको छ ।  काठमाडौंमा राम्रा भनिएका नाम चलेका निजी विद्यालयको शुल्क उत्तिकै चर्को छ । तर, यसो भनिरहँदा सामुदायिक स्कुलको भन्दा राम्रो शिक्षा निजीले नै दिइरहेका छन् । निजीले पैसा महँगो लिए पनि लगानी पनि गरेको पाइन्छ । शिक्षकको तालिमदेखि अन्य विद्यार्थीको सेवा सुविधामा पनि लगानी गरेको देखिन्छ । तर सरकारी विद्यालयले शिक्षकहरूलाई तालिम दिएको छ भन्ने सुनिन्छ तर लागु भएको देखिंदैन ।  अंगिरस कार्की निजी विद्यालयको शुल्क अलि कम गर्न सक्यो र सामुदायिक विद्यालयको शिक्षामा ध्यान पुरयाउन सक्यो भने राम्रो हुन सक्छ । ‘सरकारले निःशुल्क शिक्षा भनेको छ । तर त्यहाँ पनि विभिन्न शीर्षकमा विद्यालयले शुल्क लिइरहेका हुन्छन् । विद्यालयको शुल्क निःशुल्क भनेमात्र समस्या समाधान हुँदैन धेरै कुराहरू किन्नुपर्ने बाध्यता हुन्छ । जसका कारण विद्यार्थी अझै शिक्षाको पहुँचबाट टाढा रहनुपर्ने बाध्यता छ,’ उनी भन्छन्,  ‘सरकारले अझै पनि जति शिक्षामा लगानी गर्नुपर्थ्याे त्यो गरेको छैन ।’  कथा बुनौं कार्यक्रम हरेक बालबालिका भित्र फरक क्षमता हुन्छ । कुनै न कुनै विषयमा क्षमता नभएको व्यक्ति सायदै हुँदैन । तर कस्ता बालबालिकामा कस्तो क्षमता छ भन्ने कुरा प्रायः नेपालमा हेरिदैन । यसको एउटै कारण हो विद्यालयमा उनीहरू आफ्नो कथा बुन्न सिकाए हुँदैन । उनीहरूलाई आफ्नो सपना थाह नहुँदा जस्तो अरुलाई देख्यो उनस्तै बन्न चाहन्छन् । केही दिन पहिले स्कुलका विद्यार्थीलाई कथा बुन्न सिकाउने कार्यक्रम अन्तर्गत अंगिरस धादिङको एउटा विद्यालयमा पुगे । त्यहाँ पुगेर विद्यार्थीलाई तपाइको सपना के छ भनेर सोधे । सुरुमा कोही विद्यार्थी बोलेनन्  विस्तारै उनीहरूसँग नजिक जाँदा केहीले आफ्नो सपना सेयर गरे ।  उनीहरूले आफ्नो सपना ट्याक्टर ड्राइभर बन्ने रहेको बताए । किन उनीहरू ड्राइभर त्यो पनि ट्याक्टरको भन्ने लाग्यो । उनले विद्यार्थीलाई फेरि जिज्ञासा राखे । बिस्तारै थाह भयो उनीहरूले गाउँमा सबैभन्दा राम्रो कसैलाई देखेका छन् भने ति हुन् ट्याक्टर ड्राइभर । गाउँमा भर्खर बन्दै गरेका सडकमा त्यसमा गुड्ने ट्याक्टर ड्राइभरले ठूलो स्पिकरमा गित बजाउँदै हिँडेको, हातमा मोबाइल बोकेको देखेका बालबालिकाहरूको सपना पनि त्यही ट्याक्टर ड्राइभर बन्ने भयो । अब हाम्रो बच्चाहरुको सपना के यही मात्र होे त?,’ उनी भन्छन्,‘ ‘यो भन्दा अगाडी कहिल्यै कसैले विद्यार्थीलाई तपाइको सपना के सायद भनेको भए, कसैले बोल्न सिकाएको भए यो भन्दा फरक र ठूलो सपना उनीहरूले देख्न सक्थे ।’  क्यानोपीले अहिले धादिङ, नुवाकोट लगायतका बागमती प्रदेशका विभिन्न विद्यालयमा कथा बुनौं कार्यक्रम सुरु गरेर विद्यार्थीलाई आफ्नो बारेमा लेख्ने, बोल्न लगाउने कार्यक्रम गरिरहेको छ । सँगै अहिले सिन्धुली, नुवाकोट बागमती प्रदेशका स्थानीय तहसँग मिलेर स्टोरी टेलिङको पाठ्यक्रम नै तयार गरिरहेको छ । धादिङको शिद्धलेक गाउँपालिकाको दुई वटा विद्यालयमा कार्यक्रम गर्दा परिणाम राम्रो देखिएपछि पालिकाले सबै विद्यालयमा कथा बनौं कार्यक्रम सुरु गरेको छ । दुई सय भन्दा बढी स्कुलमा यो कार्यक्रम सुरु गरिएको छ । कथा बुनौं किन ? ‘म आफै पनि कथा सुन्दै हुर्केको मान्छे हुँ,’ कार्की भन्छन्, ‘मैले कथाबाटै धेरै कुरा सिकेको पनि छु, कथा सुनाउँदा एउटा रमाइलो हुने नै भयो अर्को सिकाइ पनि हुन्छ ।’ अहिले पनि विद्यार्थीलाई आउ म तिमिलाई लेख्न सिकाइदिन्छु भन्दा प्राय कोही आउँदैन । तर कथा लेख्न भन्दा उत्साहित हुन्छन् । विद्यालयमा पढाइ हुन्छ तर एक्सप्रेस गर्न सिकाइरहेको हुँदैन । सुन्न सिकाइएको हुन्छ बोल्न सिकाइएको हुँदैन ।  विद्यार्थीलाई सिकाइसँगै बोल्न पनि सिकाइनुपर्छ । कतिलाई लेख्न आउँछ बोल्न आउँदैन, लेखाइभित्र पनि प्यारा छुट्याउन आउँदैन । नेपालको पाठ्यक्रले यो कुरालाई समावेश गरेको पाइँदैन । पाठ्यक्रममा समावेश गराउने पहल गरिरहेका छौं । स्थानीय सरकार मन्त्रालयसँग छलफल गरेका छौं । शिक्षा पढ लेख्न मात्र नभइ अवसर निर्माण गर्न र दिनको लागि पनि आवश्यक हुन्छ ।  अहिले प्रायः विद्यार्थी आफ्नो शिक्षाबाट खुसी छैनन् । यो प्रणालीमा कहीँ न कहीँ अझै त्रुटी छ । तर परिवर्तन अझै हुन सकेको छैन । उनी यो प्रणालीलाई परिवर्तन गर्न आफूहरू लागि परेको बताउँछन् । विद्यार्थी कक्षा कोठामा पढाइ, सिकाइसँगै रमाउन पनि पाउन पर्छ । शिक्षाले गर्दा नै मान्छे ठूलो हुने हो र शिक्षा नै अवसर पाइने हो । तर यो अवसर नेपाली बालबालिकाले पाएका छैनन् ।  देशविकास गर्ने भनेर लागिरहेको अवस्थामा बच्चाहरू नै पढ्न पाएका छैनन भने कसरी हुन्छ । अहिले नेपाली युवाहरू धेरैजसो बाहिर गइरहेका छन् तर यति फरक छ । राम्रो पढे-लेखेकाहरू अस्ट्रेलिया, अमेरिकाका गएका छन् नपढेकाहरू खाडी । तर हाम्राे उद्देश्य खाडीमै जानेहरूले पनि राम्रो सीप सिकेर जाँदा सम्मानित काम गर्न पाउन भन्ने हो । कक्षा कोठामा किताबी कुरा पढाइन्छ गृहकार्य पनि दिइन्छ तर रुचि के हो भनेर सोधिँदैन । यो पनि विद्यार्थीलाई सिकाउन आवश्यक छ । कक्षा कोठाभित्र यति सिकाउन सकियो भने भोलि पढेर गएका विद्यार्थीलाई काम खोज्न सहज हुन्छ उनीहरूले आफ्नो बारेमा भन्न सक्छन् । बच्चाहरुलाई हास्ने खेल्ने सिक्ने वातावरण बनाइदिनु पर्छ ।  शिक्षाको झिनो बद्लिँदो अवस्था  हामीले नेपालको शिक्षालाई लिएर निरास हुनुपर्ने अवस्था पक्कै छैन । पहिलेको भन्दा केही राम्रो भइरहेको छ । जति हुनुपर्ने हो त्यो हुन सकेको छैन । अहिले काठमाडौंमा रहेको विद्यालयले बुक फ्री फ्राइडे कार्यक्रम गरिरहेका छन् । यसबाट पनि विद्यार्थीहरू विभिन्न सीप सिकिरहेको छन्  । यो राम्रो काम हो । अहिले एकै छिनमा नभए पनि विस्तारै राम्रो हुन्छ भन्ने आशा छ ।  स्थानीय तहले गर्न सक्यो भने धेरै काम गर्न सकिन्छ । किनकि उनीहरूलाई आफ्नो गाउँठाउँको सबै काम थाह हुन्छ । कतिपय पालिकाहरूले गरि पनि रहेका छन् । क्यानोपीले तत्काल अहिलेका कार्यक्रमलाई  निरन्तरता दिने सोच बनाएको छ । ‘बच्चाहरु अझै विद्यालय बाहिर छन् । उनीहरुलाई विद्यालय ल्याउनुपर्ने छ,’ कार्की भन्छन्,‘ शिक्षाको पहुँचमा ल्याएरमात्र होइन गुणस्तरिय शिक्षा दिनुपर्यो । शिक्षकको समस्या उस्तै छ, शिक्षा विद्येयक आएको छैन ।’ अहिले एकजना शिक्षकले एक कक्षामा ४५ मिनेटमा ४५ जनालाई हेर्नुपर्ने हुन्छ । शिक्षकले ४५ मिनेटमा के के जाँच गर्ने उनीहरूले चाहेर पनि गर्न सक्दैनन् । कार्की अहिलेको अवस्थामा नेपालमा गुणस्तरीय शिक्षा दिन निकै आवश्यक रहेको बताउँछन् । उनका अनुसार गुणस्तरीय शिक्षा भित्र मुख्य गरी तीन कुरा हुनुपर्छ  । पहिलो, सामुदायिक स्कुलमा फण्डिङ बढाउनुपर्छ । जसबाट शिक्षकहरूले राम्रो प्रशिक्षण पाउन सकुन् । जसका कारण बच्चाहरूको सिकाइ राम्रो होस् । बच्चाहरूले स्कुल जान खोज्दा करले होइन रहरले जाने वातावरण बनाइयोस् ।  दोस्रो,  इन्ट्राक्टिभ लर्निङ  हुनुपर्छ ।  रमाइलो वातावरणमा सिकाउने र कसरी मुल्यांकन गर्ने भन्नेबारे पनि ध्यान दिनुपर्छ । तेस्रो, शिक्षकलाई सेवा सुविधा पनि राम्रो हुनुपर्छ यसो हुँदा उनीहरूलाई पनि उत्साह हुन्छ र परिणाम पनि राम्रो दिन सक्छन् ।