खरानी टकटक्याएर ट्राफिकको कमाण्ड

काठमाडौं । काठमाडौंको बग्गीखाना । जहाँ कहिल्यै नअल्झिने ट्राफिकका सिठीहरूले बिहानको सन्नाटालाई चिर्थे, अहिले त्यही ठाउँमा धुलो, खरानी र पुन:निर्माणको गन्ध आइरहेको छ ।  जलेको पर्खालमा हात राख्दा अझै कालो धुलो लाग्छ, तर त्यही कालो धुलोभित्र नवराज अधिकारीका आँखामा चमक देखिन्छ, मुहारमा आत्मबल देखिन्छ- ‘यो संरचना जलेको हो, हाम्रो सेवाभाव होइन ।’ टेन्टभित्र बनाइएको सानो कार्यकक्षमा एउटा कुर्सी, एउटा डेस्क र वरिपरि चार/पाँच जनाको बस्ने ठाउँ । यही सानो संसारबाट काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी अहिले सम्पूर्ण उपत्यकाको ट्राफिक व्यवस्थापन सम्हालिरहेका छन् ।  कार्यालयमा हाकिमको कुर्सी छैन, वातानुकूलित कोठा छैन । तर, जिम्मेवारीको भार र नागरिकप्रतिको संवेदनशीलता उनको दैनिक आहारजस्तै बनेको छ । ‘ट्राफिक व्यवस्थापनकै लागि कहिले मन्त्रालय, भीआईपी बैठकहरू धाउनुपर्छ,’ उनी भन्छन्, ‘तर जब यहाँ आउँछु, मलाई यो खरानीको गन्धले स्मरण गराउँछ, प्रहरी संस्था जल्दैन, यसलाई फेरि उठाउने आत्मबल बढ्छ ।’ भदौ २३ र २४ गते, कालो धुवाँ र गडगडाहटले काठमाडौंको आकाश ढाकेको थियो । जेनजी आन्दोलनकारीहरूको भीडले सिंहदरबार नजिकैको बग्गीखानास्थित काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा आगो लगायो । भवन, सवारी साधन, कागजात, ट्राफिक उपकरण सबै क्षणभरमा खरानी बने ।  आन्दोलनपछि अधिकारी घटनास्थल पुग्दा उनले देखे- प्रहरीका जवानहरूको अनुहारमा त्रास र निराशा । उनले त्रसित, निराश र बेचैन भएका ट्राफिक प्रहरीलाई सम्हाल्दै भने, ‘हामी भत्केका होइनौं, हामी परीक्षित भएका हौं, हाम्रा भवन र साधनहरु जलेका हुन्, हाम्रो मन जलेका होइन ।’ उनले जेनजी आन्दोलनको दोस्रो दिनदेखि नै ट्राफिक प्रहरीलाई आत्मबल भरेर सडकमा पठाए । खरानी टकटक्याउँदै ट्राफिक प्रहरी नागरिकको सेवामा सडकमा निस्कियो । आफ्नो बस्ने बासस्थान र चढ्ने सवारी भुलेर ट्राफिक प्रहरी नागरिकको जीवन रक्षामा लाग्यो ।  ‘जब यहाँ आउँछु, मलाई यो खरानीको गन्धले स्मरण गराउँछ, प्रहरी संस्था जल्दैन, यसलाई फेरि उठाउने आत्मबल बढ्छ ।’ खरानीबाट उठेर पुन:निर्माण  आज त्यही बग्गीखानामा पुनः रंगरोगन भइरहेको  छ। जलेको चमेना गृहमा नयाँ पेन्टको गन्ध छ, सडकपाटीमा ट्राफिक जवानहरू फेरि सीटी बजाइरहेका छन् । काठमाडौं महानगरपालिका, एनआरएनए, नेपाल प्रहरी मुख्यालय, विभिन्न संघसंस्था, उद्योगी व्यवसायी र नागरिक सबैले सहयोगी हात बढाएका छन् ।  ‘कतिपयले कन्ट्रोल रुम बनाइदिएका छन्, कतिपयले मोटरसाइकल दिएका छन्, कतिपयले भवन निर्माणमै हात हालेका छन्,’ अधिकारी मुस्कुराउँदै भन्छन्, कतिपयले सहयोग गर्ने प्रतिवद्धता गरेका छन्, यो जनसहयोगले प्रहरीको मनोबल बलियो बनाएको छ ।’ सहयोगका लहरहरूमध्ये एक खास दृश्य अधिकारीले कहिल्यै बिर्सन सक्दैनन् । त्यो दिन उनी दरबारमार्ग ट्राफिक वृत्त पुगेका थिए । केही स्कुले बालबालिकाले हातमा प्रेसर कुकर र खाना खाने थालहरू ल्याएर प्रहरीलाई दिइरहेका थिए । त्यो दृश्य देख्दा अधिकारीका आँखामा चमक र आवाजमा भावुकता निस्कियो । उनलाई थप काम गर्न प्रोत्साहन मिल्यो ।  नवराज अधिकारी  कति भयो क्षति ?  जेनजी आन्दोलनबाट काठमाडौं उपत्यका ट्राफिक कार्यालय ठूलो क्षति बहोर्नुपर्यो । ट्राफिक भवनदेखि सवारीसाधनको ठूलो क्षति भयो । क्षतिमा नागरिकका सवारीसाधनसँगै कागजात पनि जले । ट्राफिक प्रहरीले क्षतिको आर्थिक हिसाब ननिकाले पनि भौतिक विवरण भने संकलन गरेको छ ।  आन्दोलनमा क्षति भएका ७८ भवनमध्ये ३७ वटा भवनमा पूर्ण क्षति  भएको छ भने २१ वटा भवनमा आंशिक क्षति पुगेको छ । २० वटा भवन भने बस्न मिल्ने खालका छन् । यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी तथा त्यस मातहतका ८१ वटा दुई पाँग्रे सवारीसाधन र ३२ वटा चार पाँग्रे सवारी सधनहरूमा क्षति पुगेको छ ।  कारबाहीका लागि प्रहरीले ल्याएका ४ सय २७  मध्ये ३ सय ४० वटा दुई पाँग्रे सवारी पनि आन्दोलनकारीले जलाएका छन् भने २५ वटा चार पाँग्रे सवारी साधनमा १६ वटा पूर्ण क्षति ७ वटामा आंशिक क्षति र एउटा चार पाँग्रे चोरी भएको छ । यस्तै ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवानका ९३ दुई पाँग्रे सवारी र दुइटा चारपाँग्रे सवारी साधन पनि आन्दोलनकारीले जलाइदिएका छन् ।  यस्तै, उपत्यकाका ७२ ठाउँमा रहेका ट्राफिक लाईटमध्ये ६३ वटा क्षति पुगेको छ भने ५३ वटा ट्राफिक आइल्याण्डमा आजगनी र तोडफोड गरिएको छ । ४ हजार ७ सय २७ ट्राफिक कोण, १ सय ४८ ट्राफिक डिभाइडरमा तोडफोड र आगजनी गरिएको छ ।  ट्राफिक कोन, आईल्याण्ड र वाटर ट्रीटमेन्ट प्लान्ट पनि पूर्णरुपमा ध्यवस्त भएका छन् । ७८ वटा प्रहरीका युनिफर्म तत्काल नोक्सान हुँदा हेडक्वाटरबाट तत्काल व्यवस्थापन भए पनि अन्य संरचनाको अभाव भने झेल्नु परिरहेको छ । सडकमा खटिएका प्रहरीका पोषाक समेत खोसिएको अवस्थामा  बिस्तारै बस्ने खाने व्यवस्था हुँदै अब बिस्तारै सुधारको चरणमा आइसकेको अधिकारी बताउँछन् । अहिले पनि ट्राफिक उपकरण छैनन् । ट्राफिक लाइट र सीसीटीभी फुटेजहरू तोडफोड भएका छन् ।  प्रहरीको काम सुरक्षा दिनु हो । प्रहरीले एउटा घरभित्रको श्रीमानश्रीमतीको झगडादेखि अपराधिक पृष्ठभूमि र हिंसा, आर्थिक अपराध तथा राजनीतिक रुपमा आउने विभिन्न आन्दोलननको सामना गर्नुपर्ने हुन्छ । प्रहरी समाज सँगसँगै हुन्छ । समाजका हरेक क्रियाकलापसँगसँगै प्रहरी चलिरहेको हुन्छ । एउटा समाजसँगै काम गर्नु  सहज विषय नभएको अधिकारी बताउँछन् । प्रहरीले हरेक व्यक्ति विशेषका पछाडि रहेर काम गर्नुपर्ने हुन्छ । उनी भन्छन्,‘हामीले जतिसुकै आदर्शका कुरा गरे पनि समाजमा गएर साँच्चिकै काम गर्न निकै चुनौती छ, कहिलेकाँही ज्यानकै बाजी लगाउनुपर्ने अवस्था आउँछ ।’ आगजनी भएको बग्गीखाना प्रहरी धर्म : सेवाभाव र समर्पण प्रहरी भनेको के हो ? नवराज अधिकारीको भाषामा प्रहरी भनेको समाजको ऐना हो, जुन हरेक चोट र आँसुको प्रतिबिम्ब हो ।’ उनको २३ वर्षको सेवायात्रा हलो जोत्नेदेखि हेडक्वाटरसम्म फैलिएको छ । कञ्चनपुर पुनर्वासमा जन्मेका उनले गाउँमा गोठाला गर्दै अध्ययन गरे । धनगढीको कैलाली बहुमुखदी क्याम्पसबाट स्नातक सकेपछि काठमाडौं आए र प्रहरी निरीक्षक बने ।  ‘पहिले जागिरका लागि आएको थिएँ, उनी भन्छन्, ‘तर अहिले यो सेवा मेरो धर्म बनेको छ ।’ १० वर्षे जनयुद्ध, त्यसपछिका आन्दोलन र अहिलेको जेनजी । हरेक संकटमा उनले फ्रन्टलाइनमा उभिए । जस र अपजस दुवै भोगे । उनी भन्छन्, ‘प्रहरीको काम भनेको नागरिकलाई सुरक्षा दिनु हो, अपराधीको विरोधमा, नागरिकको पक्षमा ।’ आन्दोलन र सामाजिक सञ्जालको छायाँ जेनजी आन्दोलनको बेला सामाजिक सञ्जालमा प्रहरीमाथि भएका आक्रमणका भिडियोहरू भाइरल भए । कोही नदीतिर लखेटिए, कोहीको पोसाक खोसियो, कोही रक्ताम्मे भए । केहीको मृत्युसम्म भयो । त्यो दृश्य अधिकारीका आँखामा अझै ताजा छ ।  ‘त्यो हामीले भोग्यौं,’ उनी भन्छन्, ‘तर यस्ता दृश्यले हामीलाई थकाइ दिँदैन, जिम्मेवारी सम्झाइदिन्छ, हामी पनि मान्छे हौं, हाम्रो पनि परिवार छ, भावना छ । तर हामी यो देशका सुरक्षाकर्मी हौं, डरले होइन, धर्मले चल्छौं ।’ त्यसैले पनि आन्दोलनको दुई दिनमै ट्राफिक प्रहरी सडकमा फर्कियो । जलेको युनिफर्म, धुवाँ लागेको हेल्मेट, टेन्टभित्र बनाइएको अफिस । तर, सीटी भने नयाँ ऊर्जामा बजिरहेको छ ।  सडकमा अहिले फेरि ट्राफिक प्रहरीहरू उभिएका छन् । घाममा पसिना बगाउँदै, भीडमा आदेश दिँदै, उनीहरू नागरिकलाई सुरक्षित पारिरहेका छन् । ‘व्यवस्थापनको पक्ष विस्तारै सुध्रिन्छ, तर हाम्रो जिम्मेवारी कहिल्यै सुस्त हुँदैन,’ उनी प्रश्न गर्छन्, ‘प्रहरीले सडक छोडेको दिन नेपालमा कस्तो अवस्था आउँछ होला ?’ उनको स्वरमा दृढता छ- ‘युद्धकालमा गोली खाएर पनि प्रहरी पछि हटेन, अहिले त झन् उठ्ने बेला हो ।’ अहिलेको बग्गीखाना किन ट्राफिक नै निशानामा ? हरेक आन्दोलनमा प्रहरी निशानामा पर्छ, तर यो पटक खासगरी ट्राफिक प्रहरी बढी प्रभावित भयो । यसलाई अधिकारीले पृथक रुपमा बुझेका छन् । उनी भन्छन्, ‘सडक प्रयोग गर्ने हरेक नागरिकसँग ट्राफिकको ठक्कर नै हुन्छ । कसैलाई चिट काट्दा मन नपर्ने, मापसेमा कारवाही गर्दा रिस उठ्ने । यही रिसले आक्रोश बन्यो र ट्राफिक प्रहरीलाई नै टार्गेटमा राखियो ।’ काठमाडौं उपत्यकाको ट्राफिक अवस्था अहिले चुनौतीपूर्ण छ । सवारी चालकले नियम तोड्छन्, पैदल यात्रु पनि नियम तोड्छ । ‘जहाँ पनि चढ्ने, जहाँ पनि झर्ने, हर्न बजाउने’ आम संस्कृति छ । राइडर सेवा (राइडसेयरिङ) ले झन् ट्राफिक व्यवस्थापनमा जटिलता थपेको अधिकारी बताउँछन् ।  उनी भन्छन्, ‘सचेतता सबैमा छ, तर व्यवहारमा पालना कम छ ।’ उनी सडक व्यवस्थापन केवल प्रहरीको मात्रै जिम्मेवारी नभई सबै नागरिकको नैतिकता पनि भएको बताउँछन् ।  आगामी योजना  अधिकारीको सपना छ- डिजिटाइज्ड ट्राफिक व्यवस्थापन । ‘एउटा कन्ट्रोल रुमबाट ट्राफिक नियमन होस्, नियम उल्लंघन गरेकै प्रमाण स्वचालित प्रणालीले देखाओस्,’ उनी भन्छन्, ‘राज्यका सीमा छन्, स्रोत सीमित छ, हामीले हाम्रो अर्थतन्त्रको यथार्थ पनि बुझ्नुपर्छ ।’ उनी ट्राफिक, सडक विभाग र स्थानीय सरकारबीच सहकार्य आवश्यक ठान्छन् । हरेक दिन बिहानै बग्गीखानाको प्रांगणमा पुग्दा उनी जलेका पर्खाल छाम्छन्, र मुस्कुराउँछन् र मनमनै भन्छन्, ‘हाम्रा संरचना जलेका हुन्, हाम्रो मन जलेको छैन । र, दौडिन्छन् सहयोगी हातहरूलाई सहयोग अपील गर्न ।  उनको बोलीमा दृढता, अनुहारमा शान्ति र शब्दमा आत्मविश्वास छ । उनी भन्छन्, ‘भवन जल्न सक्छ, तर सेवाभाव कहिल्यै खरानी हुँदैन ।’ बग्गीखानाको नयाँ भवनमा अहिले पुनर्निर्माणको आवाज गुन्जिएको छ । ट्राफिक सीटी फेरि थप  जोडले बज्न थालेको छ । जलेको राखमाथि ठूलो आशा पलाएको छ । त्यसको कमाण्ड उनै नवराज अधिकारीले सम्हालिरहेका छन् । 

मन्सा मुसा : विश्व इतिहासका सबैभन्दा धनी राजा जसको सम्पत्ति आज पनि एलन मस्कभन्दा धेरै

काठमाडौं । डिजिटल युगमा जब हामी ‘सबैभन्दा धनी’ भन्ने विषयमा सोच्दछौं तब धेरैको मनमा पहिलो नाम आउँछ– एलन मस्क । तर करिब १४औं शताब्दीमा पश्चिम अफ्रिकामा शासन गरेका माली साम्राज्यका राजा मन्सा मुसा (Mansa Musa I) को तुलनामा यी आधुनिक उद्योगपतिको सम्पत्ति धेरै कम देखिन्छ । मन्सा मुसालाई विश्वकै इतिहासकै सबैभन्दा धनी व्यक्ति मानिन्छ। मन्सा मुसा करिब १२८०–१३३७ ईस्वीमा माली साम्राज्यका राजा थिए । उनी आफ्नो साम्राज्यका सुन, खनिज स्रोत, व्यापार, भूमि र कर बाट अकल्पनीय धनको मालिक बने । आजको मूल्यमा उनको सम्पत्ति करिब ४–५ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यो आधुनिक समयका धनी उद्योगपति मस्क वा बेजोसको सम्पत्तिभन्दा धेरै गुणा बढी हो । उनको प्रसिद्धि विशेषगरी १३२४–१३२५ ईस्वीको हजयात्राबाट फैलियो । मन्सा मुसा मक्कामा हज गर्न गएका थिए र उनका हजारौं अनुयायी, सैनिक र सेवकहरू उनीसँगै थिए । उनले यात्रा गर्दा हजारौं किलो सुन वितरण गरे, जसले गर्दा अरब र इजिप्ट क्षेत्रको अर्थव्यवस्था केही समयका लागि अस्थिर भएको थियो । यो यात्रा केवल धार्मिक उद्देश्यको मात्र नभई माली साम्राज्यको शक्ति, सम्पत्ति र सांस्कृतिक सम्पदा प्रदर्शन गर्ने अवसर पनि बनेको थियो । मन्सा मुसा केवल धनाढ्य मात्र थिएनन्स उनी विद्या, कला र संस्कृति संरक्षणकर्ता पनि थिए । उनले टिम्बक्टु, जिने, कणो जस्ता शहरहरूलाई शिक्षा र सांस्कृतिक केन्द्रमा परिणत गरे ।  टिम्बक्टुमा उनले पुस्तकालय, इस्लामिक विद्यालय (मद्रासा) र विश्वविद्यालय स्थापना गरे, जसले पछि शताब्दीभर विद्वान र विद्यार्थीलाई आकर्षित गर्‍यो । उनी आफैले विद्वानलाई आमन्त्रित गर्थे र किताब किन्थे, जसले ज्ञानको संरक्षणमा ठूलो योगदान पुर्‍यायो । वास्तुकलामा पनि मन्सा मुसा अग्रणी थिए । उनले अफ्रिकामा इस्लामिक शैलीमा मस्जिद र सार्वजनिक भवनहरू बनाउन प्रोत्साहन गरेका थिए । टिम्बक्टुको प्रसिद्ध साँगोर मस्जिद उनकै शासनकालमा बनेको हो । मन्सा मुसाको सन्तानको बारेमा ऐतिहासिक रूपमा स्पष्ट जानकारी छैन । सिंहासनको उत्तराधिकारी परिवार वा अन्य सम्बन्धीबाट आएको मानिन्छ । तर उनका योगदानहरूले माली साम्राज्यलाई विश्वकै आर्थिक, धार्मिक र सांस्कृतिक शक्ति बनाएको थियो । मन्सा मुसाको जीवन र शासनकालले प्रमाणित गर्छ कि वास्तविक शक्ति केवल धनमा होइन, विद्या, संस्कृति र धर्मको संरक्षणमा पनि छ । उनी केवल धनी राजा नभई, इतिहासका उत्कृष्ट शासक र सांस्कृतिक संरक्षकका रूपमा आज पनि सम्झिन्छन् ।

सकसपूर्ण दशैं यात्रा, १० दिनमा १ लाख ३४ हजार हवाई यात्रा

काठमाडौं । सामान्य अवस्थामै पनि हरेक वर्ष दशैंको यात्रा निकै सकसपूर्ण हुने गरेको छ । चाहे त्यो हवाइजहाजको यात्रा होस् या सडक यात्रा दुवै कष्टकरपूर्ण हुन्छ । सङ्घीय राजधानी काठमाडौँ बाहिरका गन्तव्य जाने र दशैं सकिएपछि गन्तव्य फर्किने नागरिकको सङ्ख्या अत्यधिक भएकाले हरेक वर्ष दशैंको यात्रा कष्टकर हुने गरेको छ । हवाई उडान महँगो भए पनि यात्रुले सहज रूपमा टिकट नपाउने समस्या छ । बसको टिकट पाउन पनि मुस्किल पर्छ । सधैँ जसो दशैंको सकसपूर्ण यात्रालाई यसपटकको प्राकृतिक विपत्तिले झनै सकसपूर्ण बनायो । दशैंको विजयादशमीको भोलिपल्ट अर्थात् असोज १७ देखि २० सम्म निरन्तरको भारी वर्षाले मुलुकभरको जनजीवन प्रभावित भयो । मानवीय क्षति व्यहोर्नुपर्यो । राजधानी प्रवेश गर्ने मुख्य नाकाहरू अवरुद्ध भए । हवाई आवागमन पनि एक दिन पूर्ण रूपमा अवरुद्ध भयो । असोज १८ गते उडान प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्दसमेत भयो । उक्त दिन प्रतिकूल मौसम तथा खराब ‘इनरुट’का कारण हवाई उडान रद्द हुँदा उडानमा समेत अत्यधिक चाप बढ्यो । वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले हरेक वर्ष दशैंको बेला उडान चाप व्यहोरिरहेका हवाई कम्पनीलाई यसपटक दशैंमै भएको प्राकृतिक विपत्तिले उडान चाप हुँदा यात्रुले निकै सकस व्यहोर्नुपरेको बताए ।  ‘दशैंमा सामान्य अवस्थामा पनि हवाई उडान अत्यधिक चाप हुन्थ्यो । यसपटक प्राकृतिक विपत्तिले झनै सास्ती दियो । गन्तव्य पुगेकालाई फर्कन झनै सकस भयो । सडक अवरुद्ध हुँदा हवाई उडान चाप बढ्यो,’ उनले भने । दशैंमा आवतजावत गर्ने महत्त्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातका रूपमा हवाईसेवालाई लिइन्छ । बर्सेनि दशैंका बेला यात्रुलाई हवाई जहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैंआउन एक महिनाअघि नै जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । उसै पनि दशैंमा चाप हुने गरेको हवाई उडान वर्षात्पछिका बाढीपहिरोको विपत्तिले थप समस्या निम्त्यायो । यात्रुले महँगो मूल्य तिरेर पनि हवाई टिकट पाउन सकेनन् । समस्यामा परेका यात्रु २/४ दिनसम्म टिकटका लागि भौतारिनु पर्यो । हवाइसेवा कम्पनीलाई पनि यात्रुको चाप र प्रेसर धान्न ठूलै सकस भयो । यात्रुलाई माग बमोजिम टिकट उपलब्ध गराउन नसक्नु र हवाई उडान व्यवस्थापनको चुनौतीले एयरलाइन्स कम्पनीले पनि उत्तिकै सकस व्यहोरे । यात्रुको चाप बढेपछि एयरलाइन्सले केही गन्तव्यमा उडान थपेर पनि सेवा दिए । राति २ बजेदेखि ३ बजेसम्म पनि उडान गर्नुपर्ने बाध्यता रह्यो । १० दिनमा १ लाख ३४ हजारले गरे हवाई यात्रा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कअनुसार १० दिनमा करिब डेढ लाखले हवाई यात्रा गरेका छन् । असोज १२ देखि २१ गतेसम्म कुल १ लाख ३४ हजार ५१५ यात्रुले हवाई यात्रा गरेका हुन् । यसमध्ये ७४ हजार ५९१ यात्रु बाहिरिए भने ५९ हजार ५४४ यात्रु काठमाडौं भित्रिएका छन् । उक्त अवधिमा १ हजार २८५ उडान र १ हजार २६३ अवतरण गरी कुल २ हजार ५४८ उडान भएका छन् । एकै दिन १९ हजार २५५ हवाई यात्रु विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार गत असोज २० गते आन्तरिक तर्फ एकैदिन १९ हजार २५५ यात्रु आवतजावत गरेका छन् । जसमध्ये ९ हजार ९३६ हवाई यात्रु काठमाडौं भित्रिए भने ९ हजार १३८ बाहिरिएका छन् । १८१ यात्रुले पर्वतीय उडान (माउन्टेन फ्लाइट) गरेका छन् । उक्त दिन आन्तरिक तर्फ १६४ उडान र १६० अवतरण गरी ३२४ उडान भएका थिए । आकडा अनुसार असोज १२ गते १४ हजार १८९, १३ गते १३ हजार १३५, १४ गते ११ हजार ७६९, १५ गते ११ हजार ८९१, १६ गते १३ हजार ३०९, १७ गते १६ हजार ३४५, १८ गते मात्र ६०३, १९ गते १६ हजार ३००, २० गते १९ हजार २५५ र २१ गते १७ हजार ७२२ यात्रुले हवाई यात्रा गरेका छन् । वर्षाले सडक अवरुद्ध भएपछि सडक सवारीसाधनबाट यात्रा गर्ने यात्रुले पनि हवाई यात्रा रोज्नुपर्ने बाध्यता भएकाले यसपटक हवाई उडानमा बढी चाप भएको सङ्घका अध्यक्ष कार्कीले बताए । यात्रुको चापले एयरलाइन्सलाई उडान व्यवस्थापन गर्न पनि कठिनाइ भएको उनको भनाइ छ । दशैंको समयमा भएको प्राकृतिक विपत्तिले एयरलाइन्सलाई उडान व्यवस्था गर्न निकै चुनौती भएको बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले बताए ।  ‘दशैंको एक दिन सम्पूर्ण उडान रद्द हुँदा त्यसको ३/४ दिनसम्म उडान व्यवस्थापन गर्न कठिन भयो,’ उनले भने, ‘बिहीबारसम्म एयरलाइन्सलाई उडान व्यवस्थापनमा समस्या भएको छ । शनिबारदेखि सामान्य अवस्थामा आउला ।’ बुद्ध एयरले मात्रै असार २० गते एकै दिन ११ हजार र २१ गते ११ हजार हाराहारी उडान गरेको छ । कम्पनीले अहिले दुईतर्फी दैनिक १६० उडान गर्दै आएको छ । उडान चाप बढेका बेला प्रतिकूल मौसमले उडान अवरोध हुँदा थप समस्या भएको निर्देशक जोशीको भनाइ छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दशैंको बेलाको प्राकृतिक विपत्तिले हवाई उडान व्यवस्थापन निकै सास्ती व्यहोर्नुपरेको बताए ।  ‘दशैंमै एक्कासी परेको वर्षाले प्रतिकूल मौसम हुँदा उडानमा समस्या भयो । गत वर्ष दशैं अगाडि नै मनसुनी वर्षा भएकाले तुलनात्मक रूपमा दशैंमा उडान व्यवस्थापन गर्न कठिन भएको थिएन । यो पटक हवाई यात्रा सकसपूर्ण रह्यो,’ उनले भने ।  क्षमताभन्दा बढी उडान गर्नुपर्ने र टिकटका लागि यात्रुको प्रेसर थेगिनसक्नु रहेको प्रवक्ता बर्तौलाले बताए । यतीले अहिले दैनिक दुईतर्फी ६० देखि ७० उडान गरिरहेको छ । यता श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धर पनि यसपटक उडान व्यवस्थापन र यात्रुको चाप धान्न निकै कठिन भएको बताउँछन् । केही गन्तव्यमा उडान थपिए पनि उडान ‘डिले’ हुँदा व्यवस्थापनमा चुनौती बढेको बताए । टिकटका लागि यात्रुको निकै प्रेसर थेग्नुपरेको उनले उल्लेख गरे । श्रीएयरले पनि दैनिक दुईतर्फी करिब ७० उडान गर्दै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडादर अनुसार काठमाडौंदेखि सबैभन्दा लामो गन्तव्य धनगढीमा १७ हजार ५७९ रुपैया र सबैभन्दा नजिक काठमाडौं-सिमरामा ३ हजार ९७८ रुपैयाँ रहेको छ । अविरल वर्षापछि आएको बाढीले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा हवाई यात्रा गर्ने यात्रुलाई समेत निकै सास्ती भयो । हाइवेको बाटो लामो घुम्ती पार गरेर यात्रा गर्नुपर्ने भएकाले करिब ८ देखि १० घण्टाको यात्रा थप १० घण्टा लामो सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भयो । बसको भाडा पनि झण्डै दोब्बर तिर्नुपर्यो यात्रुले । उदाहरणका रूपमा धरानबाट काठमाडौं आउने बोलेरो जिपले साबिकमा २ हजार रुपैयाँ भाडा लिने गरेकामा दशैंमा ३ हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म भाडा लिएको पाइयो । त्यसैगरी, कटारी–काठमाडौं साविकमा १ हजार २ सय रुपैयाँ भाडा थियो । अहिले यात्रुले ३ हजार रुपैयाँसम्म तिरेर यात्रा गर्न बाध्य भएका छन् । हरेक वर्ष दशैंमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रामाइलो गर्ने चाहना सबैलाई हुन्छ । तर, दशैंमा एयरलाइन्सको टिकट पाउन मुस्किल हुन्छ । हवाई यात्रुको चाप बढ्छ । सीमित जहाज र पर्याप्त उडान नहुँदा बर्सेनि हवाई यात्रुले सास्ती व्यहोर्दै आएका छन् । हवाई यात्रा सहज, सुलभ र उडान सहजीकरण बनाउन सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न जरुरी छ ।