टोखा हुँदै नुुवाकोट जाने सुुरुङमार्ग बनाउने चिनियाँ कम्पनीकाे प्रस्ताव , २ प्रतिशत व्याजमा ऋण पनि जुटाइदिने
सुुरुङमार्गको फाइल स्केच काठमाडौं । काठमाडौंबाट टोखा हुँदै नुवाकोट जाने सडक निर्माणमा चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेशन (सीएमईसी)ले रुची देखाएको छ । यो कम्पनीले सडक विभागले काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने सुरुङमार्ग बनाउन अगाडि सारेको योजनालाई ऋणसहयोग दिएर निर्माण गर्न रुची देखाएको हो । कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेको एक प्रस्तावमा ४ किलोमिटर सुरुङ मार्गसहितको ३४ किलोमिटर सडक निर्माण गर्ने उल्लेख छ । कम्पनीको प्रस्तावमा आवश्यक लागतका लागि पनि २ प्रतिशत व्याजदरको ऋणमा चीनले नै लगानी जुटाइदिने उल्लेख छ । चिनियाँ कम्पनीले यो प्रस्ताव शहरी विकास मन्त्री अर्जुननरसिंह केसीलाई बुझाएको छ । केसीले सोही प्रस्तावलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अगाडि बढाउन निर्देशन दिएका छन् । भौतिक मन्त्रालयका अनुसार प्रस्ताव आएको भएपनि कति रकम लाग्ने, कति ऋण दिने भन्ने उल्लेख छैन । यस अघि सडक विभागले नै यसको अध्यय गरेकोले पनि सोही अनुसारको प्रस्ताव आएको हुनसक्ने मन्त्रालय स्रोतको भनाइ छ । काठमाडौको टोखाबाट ४ किलोमिटरसम्मको सुरुङमार्ग बनाएर नुवाकोटको छहरे निकालिने छ । त्यसपछि थान्सिङफाँट हुँदै विदुर जाेड्ने बाटाे विस्तार गर्ने प्रस्ताव गरिएकाे छ । सरकारले ८५ किलोमिटरको गल्छी-विदुर-रसुवागढी सडक विस्तारको कामलाईसमेत प्राथमिकता दिएको छ । यो प्रस्तावमा सुरुङसहितको सडकले काठमाडौंसँग नजिक बनाउने र नुवाकोटको थान्सिङ फाँटमै नयाँ सहर बनाउने पनि प्रस्तावमा उल्लेख छ । नयाँ सहर बनाउने सरकारी योजनालाई यो सडकले सहजै जोड्न सक्ने पनि उल्लेख छ । यो सडक आगामी दुई देखि पाँच वर्ष भित्रमै निर्माण गरेर संचलनमा गर्न सकिने उल्लेख छ । हाल यो सडकको ट्रयाक खोलिसकिएको छ । यो सडक निर्माण गर्ने र टोखाबाट नुवाकोट सुरुङमार्गले जोडिएको अवस्थामा काठमाडौंबाट रसुवागढी हुँदै चिनियाँ सिमानामा पुग्न सबैभन्दा सहज बाटो हुने पनि सडक विभागले जानकारी दिएको छ । सडक विभागका अनुसार यसअघि टोखा–छहरे सुुरुङमार्ग निर्माण गर्न एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले संम्भाव्यता अध्ययन गर्ने चासो देखाएको थियो । यो बैंकले नै सुरुङ मार्ग निर्माण गर्ने विषयमा पनि सरकारको सहमति खोजिरहेको थियो । यो सुुरुङमार्ग निर्माण गर्दा काठमाडौंबाट सीधै नुुवाकोटको थान्सिङ फाँट निस्कन सकिन्छ । गल्छीदेखि रसुुवागढीसम्म सरकारले स्तरीय सडकमार्ग निर्माण गरिरहेकोले पनि सुरुङमार्गको पनि काम तत्कालै अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख छ । यो सुरुङमार्ग बन्यो भने गल्छी रसुवागढी जोड्ने स्तरीय सडकमार्गको पहुँचले पनि जोड्ने छ । सरकारले रेलमार्गको पनि संम्भाव्यता अध्ययन गरिरहेकोले काठमाडौंबाट चीनियाँ नाकाको दुरी आधा घण्टा भन्दा लामो नहुने दाबी सडक विभागको छ ।
चेक क्लियरिङमा गम्भिर समस्या, चेक बाउन्सको नाममा निक्षेपकर्ताको खाताबाट पैसा काट्दै बैंकहरु
काठमाडौं । बैंकहरु ग्राहकको चेक कारोबार व्यवस्थापनमा चुकेका छन् । पछिल्ला दिनहरुमा धेरैको चेक बाउन्स हुने (निक्षेपकर्ताको खातामा पैसा हुँदा चेक नसाटिने) समस्या देखिएको छ । सामान्यतया विहान ११ बजेअघि जम्मा गरिएको चेक बराबरको रकम साँझ खातामा जम्मा हुन्छ । ढिलो भएमा आज जम्मा गरेको चेक बराबरको रकम भोली खातामा जम्मा हुन्छ । तर पछिल्लो समय एकाउन्ट पेइ गरिएको चेक ६ दिनसम्म पनि नसाटिएको पाइएको छ । फागुन २७ गते जम्मा गरेको चेकको रकम चैत २ गतेसम्ममा पनि खातामा जम्मा नभएको भेटिएको छ । नेपाल लाईफ इन्स्योरेन्सको एफपीओ र फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स आईपीओको सेयर बाँडफाँडपछि अत्याधिक चेक क्लियरिङमा आएकोले चेक साट्न ढिलाई भईरहेको बैंकर्सहरुले बताएका छन् । दुई संस्थाको एफपीओ र आईपीओ एकै पटक बाँडफाँड हुँदा एकै पटक धेरै चेक क्लियरिङमा आएकोले ढिलाई भएको नेपाल बैंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘चेक क्लियरिङमा समस्या हो, यसमा बैंकहरुको गल्ती छैन’ ढुंगानाले भने । एकाउन्ट पेइ चेक भुक्तानीको काम गर्दै आएको एक मात्र कम्पनी नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानका अनुसार चेक कारोबार करिव ५ गुणासम्मले वृद्धि भएको छ । तर क्लियरिङ हाउसबाट गर्नुपर्ने काममा ढिलाई नभएको उनको दावी छ । उनका अनुसार औषतमा दैनिक ४० हजार चेक क्लियरिङमा जम्मा हुने गरेकोमा मंगलबार १ लाख ९४ हजार चेक क्लियरिङमा जम्मा भएका थिए । बुधबार ८७ हजार चेक क्लियरिङमा गएका थिए । ‘क्लियरिङमा आएजति सबै चेक कारोबार सेटल भएको छ’ उनले भने–‘धेरै चेक आउँदा बैंकहरुलाई व्यवस्थापन गर्न कठिन भएको हुनसक्छ ।’ औसतभन्दा ४/५ गुणा बढी चेक जम्मा हुन आएकोले त्यसलाई व्यवस्थापन गर्न ढिलाई भईरहेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । मंगलबार मात्र १ लाख ११ हजार चेक क्लियरिङको लागि जम्मा भएको उनले बताए । चेक क्लियरिङमा ढिलाई हुँदा धेरै ग्राहकको चेक बाउन्स हुने समस्या देखिएको छ । चेक बाउन्स हुँदा जरिवाना स्वरुप चेक निष्काशन गर्ने ग्राहकको खाताबाट बैंकहरुले २५० देखि ५०० रुपैयाँ झिक्ने गरेका छन् । बैंकहरुको व्यवस्थापकीय कमजोरीका कारण ग्राहकहरु जरिवानाको शिकार बन्दै आएका छन् ।
गरिबलाई शोषण गरेर अरबपति बन्न खोज्ने ? माइक्रोफाइनान्स छोडेर व्यापारमा लाग्नुहोस्
डा चिरञ्जीवि नेपाल लघुवित्तको क्षेत्रमा निरन्तर काम गर्दै आउनु भएको र चौथो राष्ट्रिय लघुवित्त सम्मेलनमा भाग लिन आउनु भएका तपाईहरूलाई सबैभन्दा पहिला खुशीको कुरा सुनाउन चाहन्छु । २०७४ चैतसम्म सम्पूर्ण फिङगो (लघुकर्जा कारोबार गर्दै आएका गैर सरकारी संस्थाहरू) लाई लघुवित्तमा रुपान्तरण गर्ने निर्णय राष्ट्र बैंकले गरेको छ । उनीहरूले २०७५ मंसिरसम्ममा सेयर पनि कम्पनी रजिस्ट्ररबाट अपलोड गरिसक्नु पर्ने छ । राष्ट्र बैंकको नियामक निकायमा आउनका लागि चैतसम्ममा लघुवित्तलाई समय छ । अब तपाईहरू पारर्दर्शी तरिकाले लघुवित्तको काम काम गर्न सक्नुहुन्छ । राष्ट्र बैंकको नियमनभित्र तपाईहरूलाई स्वागत छ । माइक्रोफाइनान्स भन्ने वित्तिकै सानो पुँजीबाट व्यापार व्यवसाय गर्न सहयोग गर्ने महत्वपूर्ण वित्तीय संस्था हो । लघुवित्तमा काम गर्नेले सानो पुँजीलाई लिएर अघि बढ्नु पर्छ । लघुवित्तमा काम गर्नेले वाणिज्य बैंकले गरेको काम हेर्न मिल्दैन । तपाईहरूको उदेश्य अत्यान्तै राम्रो छ । तपाईहरूले आफ्नो सिद्दान्त र उदेश्य हेरेर काम गर्नु पर्ने हुन्छ । लघुवित्त भित्र विकृतिहरू देखिन थालेको छ । विकृतिहरु पनि सानातिना होइन, अलि गम्भिर खालको विकृति देखिन थालेका छन् । लघुवित्त चलाएर करोडपति, अरबपति बन्ने सपाना पलाएको छ । करोडपति, अरबपति बन्ने हो भने अरु व्यापार विजनेश गर्नुहोस्, लघुवित्त चलाउने होइन । गरिबको पक्षमा काम गर्ने भन्ने, अनि गरिबलाई सिधै शोषण गरेर करोडपति, अरबपति बन्न खोज्ने ? राष्ट्र बैंकले नयाँ सामन्ती शोषक गाउँमा छिरायो भन्ने कुरा मैले प्रत्यक्ष सुनिराखेको छु । लघुवित्तका कारण घरवार विहिन भएका, झुन्डिएर मेरका घटनाबारे समाचार आउने गरेका छन् । यस्ता घट्ना किन भए, कसरी हुन गए ? यो सम्मेलनमा समीक्षा होस् । हाम्रा कुरा स्पष्ट छन्, सामाजिक दायित्व, मूल्य, मान्यताको विकाससँगै आर्थिक रुपान्तरमा सहयोग गर्नु हो । हाम्रा उदेश्य र मान्यता विपरित तपाईहरु किन उत्साहित भएर अरबपति, खर्बपति र करोडपति हुने बाटोमा लम्किरहनु भएको छ ? ती गरिब व्यक्तिहरु जस्लाई एउटा इच्छा छ, आफ्नो जीवन अलिकती सुखमय बनाउन चाहाने गरिब व्यक्तिहरुलाई पिल्सने काम किन हुन्छ ? राष्ट्र बैंकले धेरै कुरा सुन्नु परेको छ । यस्ता कुरामा राष्ट्र बैंक बढी नै संवेदनशिल भएको छ । भोलिका दिनमा लघुवित्तका गलत कामका विरुद्ध अर्को कदम चाल्नु पर्ने मैले महसुस गरेको छु । ग्रामिण अर्थतन्त्रलाई व्यवसायिक करण गर्न लघुवित्तलाई राष्ट्र बैंकले प्रोत्साहित गर्दै आएको छ । पैसा भएका मान्छेले मात्र व्यपार व्यवसाय गर्ने हैन, पैसा नभएकाले पनि व्यपार व्यवसाय गर्न सक्छन्, पैसा नभएको मानिसँग पनि विशिष्ट क्षमता हुन्छ, उनीहरुलाई वित्तीय सेवा दिएर आर्थिक उन्नति गर्न सकिन्छ भनेर लघुवित्तलाई प्रोत्साहित गरिएको हो । न्यून व्याजदरमा स्रोत व्यवस्थापन गरिएको हो । अरु बैंक तथा वित्तीय संस्था खोल्न बन्द हुँदा पनि लघुवित्त खुला राखिएको हो । अहिले पनि दुर्गम ९ जिल्लामा नयाँ लघुवित्त संस्था खोल्न बाटो खुला राखिएको छ । माइक्रो फाइनान्सले गरेका कति राम्रो उद्दारणहरु पनि छन् । पुँजी नभएर केहि गर्न नसकेका मानिसहरु माइक्रो फाइनान्सबाट भएको सानो पुँजीलाई उपयोग गरेर करोडपति भएका पनि छन् । त्यसैले माइक्रो फाइनान्सलाई राष्ट्र बैंकले सुविधा पनि दिएको छ, निगरानी गरेको छ, नयाँ नियम ल्याएर संरक्षण पनि गरेको छ । वित्तीय पहुँच नपुग्दा वा वित्तीय क्षेत्रको ज्ञानको अभावले गर्दा गरिब झनै गरिब भएका छन् । अनुसन्धानबाट देखिसकेको छ । अनौपचारिक क्षेत्र पनि जोड्ने हो भने ६० प्रतिशत जनता अझैपनि वित्तीय पहुँचमा आउन सकेका छैनन् । उनीहरु माझ वित्तीय पहुँच पुर्याउन लघुवित्तको भूमिका धेरै महत्वपूर्ण छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा १ प्रतिशत विशेष कर्जाको सुविधा अत्यन्त गरिब, दलित, जनजातिलगायतका लागि ती क्षेत्रमा व्यवस्था गरेका छौं । त्यो पैसा लिन कोहि पनि गएका छैन त्यहाँ पहुँच नै पुगेको छैन । यत्रो धेरै लघु बैंक संस्थाहरु हुँदा पनि किन हामी गाउँमा पुग्न सकेका छैनौ भन्ने प्रश्न पनि राष्ट्र बैंकबाट गर्नै पर्ने हुन्छ । गत वर्ष हामीले नाफाको १ प्रतिशत ग्राहकको हितको लागि कोष खडा गर्ने नीति ल्याएका छौ । यसलाई बढाउनु पर्ने अवस्था नआओस् । हामीले लघुवित्तलाई पहुँच नपुगेका क्षेत्रमा जानको लागि शुन्य ब्याजदरमा ऋण दिने सुविधा पनि दिएका छांै । जसले बैंक देखेको छैन त्यो सम्म हामीले पहुँच पुर्याउन खोजेको हो । अहिले ४० प्रतिशतमा मात्र बैकिङ पहुँच पुगेको छ । बाँकी ६० प्रतिशत जनतासँग भएको पैसालाई बैकिङ क्षेत्रमा ल्याउनु पर्नेछ । त्यो पैसा वित्तीय प्रणालीमा ल्याउने उपाय खोज्नु पर्यो । तपाईहरु दुर्गम क्षेत्रमा गएर राम्रो राम्रो काम गर्नु राष्ट्र बैंक इन्सेन्टिभ र सहुलियत दिन सधैं तयार हुन्छ । (चौथो लघुवित्त सम्मेलनको उदघाटन कार्यक्रममा डा. नेपालले राखेको मन्तव्यको संम्पादीत अंश)