स्वास्थ्य बीमामा भइरहेको ठगीको गम्भीर खुलासा
काठमाडौं । स्वास्थ्य बीमामा भइरहेको अनियमितता र आर्थिक चलखलेको खुलासा भएको छ । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगले स्वास्थ्य बीमामा भइरहेको अनियमितताको खुलासा गरेको हो । आयोगले स्वास्थ्य बीमालाई कमाइ खाने भाँडोको रुपमा स्वास्थ्य संस्थाहरूले प्रयोग गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरेको छ । आयोगको प्रतिवेदनमा बिरामीलाई नचाहिने जाँच गराई धेरै दिन उपचार गराउने र बीमाबाट अनावश्यक पैसा लिन (ओभर ट्रिटमेन्ट फ्रड) अभ्यास रहेको उल्लेख गरेको छ । यस्तै, नक्कली बिल बनाएर बीमाबाट पैसा लिने बिरामीलाई सानो उपचार गरे पनि कागजमा ठूलो उपचार गरेको देखाएर बिल बढाउने लगायतका अभ्यास रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । बिरामीको सानो समस्या भएपनि एक्सरे, सिटी स्क्यान तथा एमआरआई लगायत अनावश्यक जाँच गराई बीमा रकम दाबी गराउने प्रवृत्ति रहेको प्रतिवेदनमा लेखिएको छ । सस्तो औषधी दिने तर कागजमा महँगो औषधी देखाई गलत दाबी गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । औषधी बिरामीसँग नगदमा किन्न लगाउने तरपछि सोही औषधीको नक्कली बिल पेस गरी बीमा भुक्तानी लिई दोहोरा फाइदा लिने अभ्यास पनि रहेको प्रतिवेदनमा लेखिएको छ । ‘वास्तविक उपचार नभएका बिरामीलाई फेस प्यासेन्ट क्लेम कागजमा उपचार गरेको देखाएर र कहिलेकाहीँ पुरानो बिरामीको नाम प्रयोग गरी बीमामा दाबी गरी भुक्तानी लिने, बीमा बोर्डमा राजनैतिक नियुक्ति र हस्तक्षेपका कारण उल्लेखित समस्याहरू प्रमुख रूपमा रहेका छन्,’ प्रतिवेदनमा भनिएको छ । यी समस्याहरू समाधान गर्न सरकारले डिजिटल भेरिफिकेसन गर्नुपर्ने, निगरानी प्रणाली प्रभावकारी बनाउने, पेश गरेका कागजात माथि अनुसन्धान गर्न स्वतन्त्र नियमन निकाय बनाइनुपर्ने, स्वास्थ्य बीमा बोर्डका पदाधिकारीको नियुक्ति पारदर्शी ढंगले गर्नुपर्ने र उल्लेखित कार्यमार्फत ठगी गर्ने व्यक्ति तथा संस्थाहरूलाई फौजदारी कानून बमोजिम कडा कारवाही गर्नुपर्ने उल्लेख गरेको छ । यस्तै, विशिष्ट पदमा आसिन भएका र रहेका व्यक्तिहरूलाई राज्यकोषबाट उपचारको लागि जति पनि खर्च गर्ने तर आम नागररिक सिटामोल नपाएर मर्नुपर्ने प्रणालीको अन्त्य गर्न विशिष्ट व्यक्तिको उपचारको बीमा गर्ने र विदेशमा गरिने उपचार खर्च राज्यकोषबाट नदिने कानूनी प्रावधान जरुरी रहेको आयोगको सुझाव छ । स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार र अनियमितताहरूको नियन्त्रण गर्न कठोर कदम चाल्नु आवश्यक रहेको उल्लेख गर्दै स्वास्थ्य सेवामा पारदर्शिता र जवाफदेही प्रणाली लागु गर्नुपर्ने राय दिएको छ । काठमाडौं उपत्यका लगायत मुख्य सहरी क्षेत्रमा भएका सुविधासम्पन्न ठूला अस्पतालमा सामान्य खालको सर्जरी गर्नको लागि धेरै दिन पछिको पालो कुर्नपर्ने अवस्था रहेको उल्लेख गर्दै जटिल खालको सर्जरी गर्नुपरेमा महिनौं कुर्नुपर्ने तर अलि पहुँचवाला व्यक्तिहरूले भनसुनको भरमा तुरुन्तै पालो पाइहाल्ने प्रवृत्ति रहेको पनि प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य बीमा पद्धतिमा समयानुकूल परिवर्तन गरेर सकेसम्म सबै अस्पतालबाट सेवा लिने व्यवस्था गराउने, सरकारले खर्च भइसकेको रकम पनि शोधभर्ना नगरेकाले बीमा सेवा विभिन्न अस्पतालले बन्द गरेको तर्फ सरकारले उचित नीति बनाउनु र कार्यान्वयन गर्नुपर्ने र सरकारी बीमा पनि बीमा कम्पनीबाट गराउनेतिर पनि सोचिनु पर्ने राय प्रतिवेदनमा छ ।
कार्की आयोगले बैंकिङ क्षेत्रमा पनि देखायो खोट, ‘निजी बैंकमा सरकारको विशेष सक्रियता आवश्यक छ’
काठमाडौं । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगले बैंक क्षेत्रका समस्या र समस्या समाधानको उपाय पनि उल्लेख गरेको छ । गौरीबहादुर कार्की नेतृत्वको आयोगले निजी बैंकहरुको विकासमा सरकारको विशेष सक्रियता जरुरी रहेको उल्लेख गर्दै बैंकभित्र हुने आर्थिक अपचलनमा सरकार र नियामक निकाय तथा राष्ट्र बैंकको विशेष अनुगमन र निगरानी आवश्यक रहेको सुझाव दिएको हो । आयोगको प्रतिवेदनमा कर्जाको ब्याजदर इतिहासकै न्यून बिन्दुमा रहँदा समेत कर्जाको माग अत्यन्तै कम रहेकोले तरलता व्यवस्थापनमा समेत ठूलो सकस परेको उल्लेख गरेको छ । बढ्दै गइरहेको खराब कर्जा, कर्जा असुलीमा चुनौती, बढ्दो गैर बैकिङ्ग सम्पत्ति र घटदो नाफा वर्तमान बैंकिङ क्षेत्रको समस्याको रुपमा रहेको उल्लेख गरेको छ । यी समस्या समाधान गर्नका लागि स्थानीय प्रशासनको सहयोग,प्रहरी प्रशासनको सहयोग,बैकिङ्ग कसुर ऐन सशोधन, बैक तथा वित्तीय संस्था ऐन संशोधन, मुलकको ग्रे–लिस्टको समस्या समाधान र भ्रामक समाचार सम्प्रेषणमा रोक तथा अनुगमन गर्नुपर्ने सुझाव दिएको छ । बैंकिङ्ग क्षेत्रलाई अझ मजबुत बनाई मुलकको आर्थिक विकासमा समेत टेवा पूरा उनको निम्ति अन्य विविध पक्षलाइ समेत सुधार गरी नु पर्ने वैधानिक तरिका मार्फत विप्रेषण भित्रिने वातावरण बनाइ हुण्डी कारोवारलाइ न्यूनिकरण गर्दै जाने, हाल निक्षेपको ब्याजदर अत्यन्त कम भएको अवस्थामा पुँजी पलायन हुने सम्भावना बढ्ने हुनाले आवश्यक सतर्कता अपनाउनु पर्ने; डिजिटल बैकिङ्गले लिएको तीव्र गति र उल्लेख्य कारोवार डिजिटल माध्ययमबाट हुँदै गइरहेको परिप्रेक्षमा ठूला कारोवार गर्ने पीएसपी र पीएसओको निगरानी बढाई ती संस्थाहरुलाई थप सुरक्षित बनाउनु पर्ने सुझाव दिएको छ । आयोगले जेनजी आन्दोलनपछि ८७३ ऋणीहरु प्रत्यक्ष प्रभावित भएको र ती ऋणीहरुको करिब ३७ अर्बको नोक्सान भएको उल्लेख गरेको छ । उक्त घटना पछि बैकिङ्ग क्षेत्रमा कर्जा असूलीमा उल्लेखनीय गिरावट आएको छ । आन्दोलनका कारण कतिपय व्यवसाय बन्द हुने, ढुवानी अवरुद्ध हुने उत्पादन र बिक्री घट्ने जस्ता अवस्थाले ऋणीहरुको नगद प्रवाह कमजोर बन्न पुगेको र फलस्वरुप, समयमै कर्जाको किस्ता र ब्याज तिर्न नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरेको छ । विशेषगरी साना मझौला उद्योग, होटल-पर्यटन, निर्माण र ढुवानी क्षेत्रका कर्जाहरु बढी प्रभावित भएको र जसका कारण असूली हुन नसकेको ब्याज उल्लेखनीय रुपमा बढेर बैङ्कहरुको तरलतामा दवाव सिर्जना हुन पुगेको प्रतविदेनमा उल्लेख छ । बजारमा पैसा चलायमान नहुँदा अवश्यपनि देशमा अर्थतन्त्र नै धरासायी बन्ने अवस्थामा पुग्न सक्ने सम्भावना बढदै गएको उल्लेख छ ।
स्क्यामरको पासोले बैंक खाता रित्तियो
काठमाडौं । ‘हेल्लो म खल्ती एपको म्यानेजर बोलेको हुँ । तपाईंले खल्ती एप चलाउनु हुँदो रहेछ । बधाई छ, तपाईंलाई ६ हजार रुपैयाँको बोनस प्राप्त भएको छ,’ ललितपुरका नवीन श्रेष्ठको फोनमा नयाँ नम्बरको ह्वाट्सएपबाट अनौठो आवाज सुनिन्छ । उनी अपरिचित नम्बरबाट पैसा प्राप्त भएको खबर सुनेर मख्ख पर्दै बोल्छन् । ती व्यक्तिको कुराले नवीन उत्साहित पनि भए । उनीहरूबीच केही समय कुराकानी लम्बिन्छ । अपरिचित व्यक्तिले उनलाई बोनसको पैसा प्राप्त गर्न खल्ती एपको लिङ्कको सम्पूर्ण विवरणसहितको नम्बर लगायत सबै जानकारी पठाउन अनुरोध गरे । नवीनले पनि बोनस पाउने लोभमा खल्ती एपको सबै विवरणसहितको लिङ्क अपरिचित व्यक्तिलाई ह्वाटसएपमा पठाइदिन्छन् । त्यसपछि उनले फोन राखे । फोनमा कुरा गरेको तीन दिनपछि ४२ वर्षीय नवीनको खल्ती एपबाट क्षण–क्षणमा गरेर ९० हजार काट्यो । लगत्तै खल्तीको अफिसमा गए । त्यहाँ जाँदा उनले सबै थाहा पाए । पैसा अरु कसैले लगेको । खल्तीको प्रतिनिधिले जब उनलाई सोधे, ‘तपाईंले कसैलाई खल्तीको एप वा ओटीपी दिनु भएको थियो,’ नवीनले जवाफ दिए, ‘हो मैले एकजनालाई खल्ती एपको लिङ्क दिएको थिए ।’ खल्ती एपका प्रतिनिधिले पुनः भने, ‘तपाईं प्रहरीकोमा जानू । तपाईंको पैसा कसैले लगेको देखिन्छ । प्रहरीकोमा गएर उजुरी दिनू ।’ नवीन लगत्तै प्रहरीकोमा उजुरी दिन पुगे । सबै डिटेल लिएर उजुरी दिन पुगे । उनको पैसा काठमाडौंकै हिमाल भन्ने व्यक्तिको खातामा गएको देखियो हिमालसँग सम्पर्क गर्दा उनले पनि आफ्नो पैसा हराएको सुनाउँछन् । ईसेवाबाट आफू ठगिएको भन्दै २७ वर्षीय सीता तामाङ पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन् । ईसेवाको कर्मचारी भन्दै उनलाई एक साताअघि फोन आएको थियो । ईसेवाकी महिला कर्मचारी बताउनेले उनलाई फोन गर्दै भनेकी थिइन्, ‘म्याम नमस्ते । हजुरलाई बधाई ।’ केका लागि बधाई पाइन् त्यसको चाल सीताले थाहा पाइनन् । उनलाई बिहान आएको फोन पुनः सोही नम्बरबाट साँझ आयो । बेलुकी फोन गर्दा पनि ती महिलाले सीताले भनिन्, ‘बधाई छ । हजुरको ईसेवामा बोनस आएको छ । तर, हजुरले बोनस रकम प्राप्त गर्न केवाइसी भर्नु पर्छ ।’ सीता पनि सित्तैमा पैसा पाइने भएपछि फुरुङ्ग भइन् । उनले भनिन्, ‘केवाइसी फाराम कसरी भर्नु ? यो भनेको के हो मलाई थाहा छैन ।’ ती महिलाले सीतालाई भनिन, ‘केवाइसी फारम भर्न नआएमा हामी नै सहजीकरण गरिदिन्छौं । हामी तपाईंहरूका लागि सहयोग गर्न बसेका हौ ।’ यति भनेपछि सीताले पनि उनको कुरामा विश्वास गरिन र समर्थन जनाइन् । सीतालाई ती महिलाले तपाईंको मोबाइल म्यासेजमा एउटा नम्बर आएको होला हेरेर ओटीपी नम्बर बताइदिन आग्रह गरिन् । उनको मोबाइलमा पनि नम्बर आएको रहेछ लगतै ओटीपी नम्बर बताइदिन् । नम्बर पाएपछि उनले सीतालाई भनिन्, ‘मैले नम्बर पाएँ । सबै प्रक्रिया पुरा गरेपछि बोनस आउँछ र संकलन गर्नूहोला ।’ सीता र उनको कुरा भएको भोलिपल्ट ईसेवाबाट पैसा काटियो । उनको खातामा १२ हजार थियो । ईसेवाबाट ५ सय रुपैयाँ मात्र राखेर उनको पैसा हरायो । उनी आत्तिन र चिनेजानेका साथी तथा आफन्तलाई आफ्नो समस्या सुनाइन् । उनले अन्ततः स्क्यामरबाट ठगिएको थाहा पाइन् । उनले पनि नवीनको जस्तै प्रक्रिया गरेर बुझिन् । ईसेवामा सम्पर्क गरिन् । ईसेवाबाट पैसा हरायो । कसरी यस्तो भयो भनेर ईसेवामा सोधपुछ गरिन् । तर, ईसेवाको जवाफ पाएपछि उनी आफू ठगिएको र स्क्यामरको सिकार बनेकी थाहा पाइन् । अनलाइनको भर पर्दा पैसा गुम्यो डल्लुकी २३ वर्षीय कल्पना महर्जन अनलाइनबाट लुगा मगाउँथिन् । फेसबुक र इन्स्टाग्राममा लुगाका राम्रा–राम्रा विज्ञापन देख्थिन् । अनलाइनमा लुगाको राम्रो विज्ञापन देखेर अनलाइनबाट लुगा मगाइन् । उनले विभिन्न आइटमका लुगाका साथै लेडिज ब्याग मगाइन् । उनले सामान प्राप्त गर्नका लागि फेसबुक र इन्स्टाग्राममा रहेको नम्बरमा सम्पर्क गरिन् । फोन गरेर आफूले चाहेको लुगा मगाइन् । पहिलोपटक कल्पनाले १२ हजार रुपैयाँ पठाइन् । फेसबुकमा रहेको नम्बरको ईसेवामा पैसा पठाइन् । पैसा पठाए पनि अनलाइन सपिङ्गको नम्बरबाट पैसा नआएको उनलाई बताइन्छ । कल्पनाले पैसा पठाए पनि उताबाट पैसा अड्किएको बताइन्छ । अनलाइनवालाले पैसा नआउनुको कारण कल्पनालाई बताउँछन् । ‘तपाईंको सायद केवाइसी नभरेकाले त्यसरी पैसा अड्किएको हुन सक्छ,’ अनलाइनवालाले कल्पनालाई भन्छन् । उनले पनि केवाइसी नभरेको जानकारी दिन्छिन् । केवाइसी नभरेको भए हामी भरिदिन्छौ । तपाईंको मोबाइलमा ओटीपी नम्बर आएको होला मलाई भन्दिनु । सबै काम एकैछिनमा सकिने र अड्किएको सबै पैसा यता आउने अनलाइनवालाले उनलाई बताउँछन् । ओटीपी नम्बर कल्पनाले हतपत्त अनलाइनवालालाई दिन्छिन् । उताबाट अड्केको पैसा पनि आफूले पाएको उनलाई खबर दिन्छन् । त्यसको भोलिपल्ट कल्पनाको ईसेवामा खातामा रहेको ४५ हजार सबै हराउँछ । उनी पनि सीताजस्तै आत्तिइन पैसा हराएपछि लगत्तै ईसेवालाई सम्पर्क गरिन् । पैसा हराएको विवरण र सम्पूर्ण जानकारी ईसेवालाई दिइन् । ईसेवाले सम्पूर्ण पैसा स्क्यामरबाट लगिएको कल्पनालाई जानकारी दियो । आफू ठगिएको थाहा पाएपछि कल्पना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी लिएर पुगिन् । पछिल्लो समय काठमाडौं उपत्यका अपराध अनुसन्धा कार्यालयमा पनि खल्ती, ईसेवा र अनलाइन लुगा पसलबाट ठगिएको भनेर उजुरी दिन पुग्नेको संख्या बढेको छ । दैनिक जसो ओटीपीको माग गरेर पैसा हराएको भन्दै सेवाग्राहीहरू गुनासो पुग्न थालेका छन् । अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतका अनुसार ओटीपीको माग गरेर पैसा हराएको भन्दै दैनिक ८–९ वटा निवेदन पर्न थालेका छन् । केवाईसी अपडेट गर्नुपर्ने भन्दै स्क्यामरले ओटीपी माग गरेर पैसा हराएको भन्दै सेवाग्राही आएको उनले जानकारी दिए । ह्वाट्सएपमा मात्र कुराकानी सेवाग्राहीबाट नयाँ नम्बरबाट ¥यान्डमली व्यक्तिलाई फोन आउने गरेको उनले सुनाए । अपरिचित व्यक्तिबाट पैसा पाउने प्रलोभनमा परेर सेवाग्राहीहरू पनि बोल्ने गर्दा फस्ने गरेको ती प्रहरी अनुसन्धान अधिकृतले विकासन्युजलाई बताए । स्क्यामरले साथीहरूको फेसबुकबाट फ्रेण्ड लिस्ट हेरेर फ्लोअप गर्ने गरेको अनुसन्धानबाट खुलेको उनको भनाइ छ । पैसा गुमाउनेमा शिक्षित तथा सबै प्रकारका मानिसहरू पर्ने गरेको ती प्रहरीको अनुभव छ । स्क्यामरहरूले ह्वाटसएपबाट मात्र कुरा गर्ने गरेको उनले जानकारी दिए । स्क्यामरले ह्वाट्सएपबाट मात्र कुरा गर्ने भएकाले भेट्न नसकिने प्रहरीको भनाइ छ । उनीहरूले व्यक्तिको हराएका नम्बर फेला पारेर कुरा गर्ने गरेको उनको भनाइ छ । स्क्यामरहरू विदाको दिनमा सक्रिय कलेजका विद्यार्थी तथा सरकारी पेन्सन खाने कर्मचारीहरू ओटीपी माग गरेर ठगी भएको भन्दै उजुरी दिन आउने पीडितको संख्या बढिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्का बताउँछन् । स्क्यामहरूले सेवाग्राहीहरूको रूचि अनुसारको कुरा गरेर ओटीपी माग गर्ने गरेको उनले बताए । ‘स्क्यामरले सेवाग्राहीको रुचि तथा स्वभावका कुरा गर्छन्,’ उनले भने, ‘सेवाग्राहीको कुरा तथा भावना बुझेपछि सोही अनुसारको कुरा गरेर ओटीपी माग्न सफल हुन्छन् ।’ सेवाग्राहीले पनि एक पटक कसलाई र किन नम्बर दिँदैछु भनेर नसोची ओटीपी नम्बर दिने गरेको प्रमुख खड्का बताउँछन् । ठगीमा पर्नेहरू विभिन्न पेशामा आवद्ध र घरायसी काम गर्नेदेखि विद्यार्थीहरू समेत ठगिएको उनले जानकारी दिए । प्रलोभनमा परेर, अरुलाई विश्वास र सोधखोज नगरी पैसा तथा ओटीपी नम्बर दिँदा आममानिसहरू पीडित बनिरहेको खड्काले अनुभव सुनाए । पेन्सन खाने कर्मचारीलाई वाणिज्य बैंकबाट बोलेको भन्दै प्रलोभनमा परेर बैंक डिटेल मागेर लैजाने गरेको उनले बताए । स्क्यामरले खाताग्राहीको सम्पूर्ण विवरण पाएपछि खाताको सबै पैसा झिकेको भन्दै उजुरी दिन आएको उनले जानकारी दिए । स्क्यामरले ह्वाट्सएपबाट मात्र कुराकानी गर्ने गरेको खड्काले बताए । स्क्यामरले धेरैजसो विदाको अघिल्लो दिन पारेर वा विदाको दिनमा पैसा झिक्ने गरेको उनले बताए । बिदाको दिन अफिस बन्द रहने भएकाले बैंकमा कम्प्लेन गर्न नसकून् भनेर उनीहरूले त्यस्तो गरेको हुन सक्ने खड्काले बताए। स्क्यामरहरूलाई नियन्त्रणमा लिन धेरै गाह्रो पर्ने उनको भनाइ छ । उनीहरूलाई नियन्त्रणमा धेरै समय लाग्ने गरेको उनले उल्लेख गरे । ‘ओटीपी कसैलाई नदिनू’ साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार फेसबुक तथा इन्स्टाग्रामबाट अनलाइन लुगा तथा अन्य सामग्री मगाएर पैसा नआएको भन्दै ओटीपीको माग गरिएको छ । सामान मगाउँदैमा पैसा आएन भनेर ओटीपी नदिने उनले आग्रह गरे । स्क्यामरले ओटीपी राख्न लगाएर मोबाइल बैंकिङबाट पैसा लैजान सक्ने अवस्थीको भनाइ छ । सेवाग्राहीलाई प्रलोभनमा पारेर स्क्यामरले बैंक खाताबाहकको विवरण लिने गरेको अवस्थी बताउँछन् । म समस्या वा अप्ठ्यारोमा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्, मेरो बैंकिङ्ग एपमा समस्या आएर मैले पैसा पठाउन सकिरहेको छैन । तपाईं यस क्यूआरमा पैसा पठाइदिनुहोस् भन्ने प्रकारका म्यासेज आएर ठगी क्रम बढेको उनले उल्लेख गरे । उनले साथीभाई लगायत आफन्तहरूलाई पठाई ठगी गर्ने घटनाहरू बढिरहेकोले यस्ता घटनाबाट जोगिन सचेत गराए । उनले ह्वाटसएपमा आएका म्यासेजहरूमा तुरुन्त विश्वास नगर्न आग्रह गरे । सम्भव भएसम्म व्यक्तिलाई प्रत्यक्ष फोन गरेर शंकास्पद लिंक, कोड वा फाइल क्लिक/डाउनलोड नगर्न आग्रह गरे । टु स्टेप भेरिफेकसन अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने अवस्थीको भनाइ छ । आफ्नो ओटीपी तथा भेरिफेकिसेन कोड कसैलाई नदिन अवस्थीले बताए । डिजिटल साक्षरता नहुँदा पैसा गुमाउने बढे आम मानिसमा डिजिटल साक्षरता नहुनुमा ओटीपी नम्बरको माध्यमबाट पैसा गुमाउनेको संख्या बढ्दै गएको साइबर विज्ञ बिक्रम लामा बताउँछन् । डिजिटल कारोबार गर्ने मानिसले मुख्यतया लोभ त्याग गर्नुपर्ने उनको भनाइ छ । ‘डिजिटल कारोबार गर्दा कस्ता मानिससँग आर्थिक व्यवहार गर्दैछु, त्यस विषयमा सचेत हुनुपर्ने र सोच्नुपर्छ,’ साइबर विज्ञ लामाले भने, ‘कसैले गिफ्ट दिँदैछ भनेर फोन गर्छ भने किन र कसले सित्तैमा दिन्छ भनी सोचेर प्रश्न गर्नुपर्छ ।’ उनका अनुसार नियामक निकाय नेपाल राष्ट्र बैंक तथा डिजिटल कारोबार गर्ने पसल वा इकमर्स बजारले डिजिटल साक्षरता बढाउन ध्यान दिनुपर्छ । बैंकमा खाता खोल्दा अनिवार्य रूपमा केवाइसी फाराम भर्नु पर्दछ । केवाईसी फाराममा आफ्नो फोटो, परिचयपत्र, ठेगाना र पारिवारिक विवरण पूर्ण रूपमा खुलाउनु पर्दछ । बचत खाता खोल्न बचत खाता खोल्ने फाराम, फोटो र आवासको प्रमाण (जस्तैः धारा, टेलिफोन वा बिजुलीको रसिद) आवश्यक पर्छ ।