अर्थतन्त्रको बागडोर सम्हाल्न डा. स्वर्णिम वाग्ले बने अर्थमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा अर्थमन्त्रीका रूपमा डा. स्वर्णिम वाग्ले नियुक्त भएका छन् । तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित वाग्ले मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहनेछन् ।  सार्वजनिक नीति र अर्थतन्त्रका क्षेत्रमा लामो समयदेखि परिचित वाग्ले २०८० वैशाखमा सम्पन्न तनहुँ-१ को उपनिर्वाचनबाट पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट ३८ हजार ४० मतसहित पुनः निर्वाचित भएका हुन् । अर्थशास्त्री, नीतिगत विज्ञ तथा योजनाविद्का रूपमा पहिचान बनाएका वाग्ले पछिल्ला वर्षमा सक्रिय राजनीतिमा प्रवेश गर्दै अर्थमन्त्री बनेका हुन् । गोरखा जिल्लामा जन्मिएका उनी सामान्य परिवारमा हुर्किएका हुन् । प्रारम्भिक शिक्षादेखि नै अध्ययनमा रुचि राख्ने वाग्ले उच्च शिक्षाका लागि विदेश गएका थिए ।  अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) हासिल गरेका उनले विकास अर्थशास्त्र, सार्वजनिक नीति र आर्थिक सुधारका क्षेत्रमा विशेष अध्ययन तथा अनुसन्धान गरेका छन् । उनले लन्डन स्कुल अफ इकोनमिक्स, हार्वर्ड विश्वविद्यालय तथा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गरेका छन् ।  उच्च शिक्षापछि वाग्लेले संयुक्त राष्ट्रसङ्घसँग आबद्ध विभिन्न कार्यक्रमहरूमा कार्य गर्दै विकास, गरिबी न्यूनीकरण तथा आर्थिक नीतिका क्षेत्रमा अनुभव हासिल गरेका थिए । सन् २०१४ मा नेपाल फर्किएपछि उनले राष्ट्रिय योजना आयोगको सदस्य तथा पछि उपाध्यक्षका रूपमा कार्य गर्दै दीर्घकालीन विकास योजना, आर्थिक सुधार र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएका थिए । एसिया-प्रशान्त क्षेत्रका विभिन्न देशहरूको आर्थिक नीति निर्माणमा समेत योगदान पुर्याएका वाग्ले संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को एसिया-प्रशान्त क्षेत्रीय प्रमुख आर्थिक सल्लाहकारका रूपमा समेत कार्यरत थिए । लामो समयसम्म नेपाली कांग्रेससँग निकट रहेका वाग्ले २०७९ चैतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका हुन् । नीतिगत क्षेत्रमा लामो अनुभवपछि उनले सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । हाल उनी रास्वपाका उपसभापति समेत हुन् । डा. वाग्ले ‘नीतिगत क्षमता भएको नेतृत्व’ का रूपमा चिनिन्छन् । अर्थतन्त्र र विकास नीतिमा उनको अनुभवले सरकारको आर्थिक नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

बालेन सरकारको कानुनमन्त्रीमा सोविता गौतम : कान्छी सांसददेखि मन्त्रीसम्मको यात्रा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम कानुन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेकी छन् ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)  नेतृत्वको सरकारमा उनी कानुनमन्त्री बनेकी हुन् । कानुनकी जानकार रहेकी उनी अधिवक्तासमेत हुन् । गौतम यसअघि २०७९ को चुनावमा काठमाडौं–२ बाट निर्वाचित भएकी थिइन् । २७ वर्षको उमेरमा प्रतिनिधिसभामा प्रत्यक्ष रूपमा निर्वाचित उनी सबैभन्दा कान्छी सदस्य थिइन् । २०८२ को निर्वाचनमा उनले चितवन- ३ बाट उम्मेदवारी दिएकी थिइन् । जहाँ उनले भरतपुर महानगरकी पूर्वमेयर रेनु दाहाललाई पराजित गरिन् । उनले ५९ हजार २७७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका रेनु दाहालले २० हजार ६१५ मत पाइन् । २०५२ सालको असारमा जन्मेकी सोविता कानुनमा स्नातक उत्तीर्ण छन् । उनले सांसद नीति नियम बनाउने थलो भएको हुँदा आफ्नो शिक्षा र अनुभव यो पदका लागि उपयुक्त हुने भन्दै मतदातासामु गएकी थिइन् । उनले आफ्नो बाल्यकाल साधारण सामाजिक परिवेशमा बिताएकी हुन्, जसले उनलाई समाजका वास्तविक समस्या बुझ्न मद्दत गरेको देखिन्छ । गौतमले काठमाडौं विश्वविद्यालयबाट विकास अध्ययनमा स्नातक डिग्री हासिल गरेकी छिन् ।  उनले कानुन, शासन र सार्वजनिक नीतिमा बीए एलएलबीको कोर्स पूरा गरेकी छिन् ।  विद्यार्थी जीवनदेखि नै नेतृत्व विकास, सार्वजनिक बोलाइ र सामाजिक सरोकारका विषयमा उनले सक्रिय सहभागिता जनाउँदै आएकी छन् ।  गौतमको राजनीति महिला सशक्तिकरण, सामाजिक न्याय र समावेशी विकाससँग जोडिएको छ। उनी युवा र महिलाहरूलाई प्रेरित गर्ने नेतृका रूपमा चिनिन्छिन् । उनले चार वर्षभन्दा बढी समयदेखि नेपाल टेलिभिजनको लागि ‘स्वास्थ्य सरोकार’ टेलिभिजन कार्यक्रम सञ्चालन गरेकी थिइन् ।   गौतमले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी छन् ।

मेयरमा पराजित, ‘अटेरी’ देखि पर्यटन मन्त्रालयको कमानसम्म : गनेस पौडेलको नयाँ यात्रा

काठमाडौं । पोखराको सडक र चोकहरूमा कहिले पठन संस्कृतिको वकालत गर्दै त कहिले बेथितिविरुद्ध ‘अटेरी’ अभियानको झण्डा बोक्दै हिँड्ने एउटा परिचित अनुहार हो, गनेस पौडेल । हिजोका अभियन्ता र लेखक पौडेल अब देशको पर्यटन क्षेत्रको बागडोर सम्हाल्ने गरी मन्त्रीको कुर्सीमा पुगेका छन् । २०७९ सालको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिँदा पौडेलले दलीय एकाधिकार र भ्रष्टाचारविरुद्ध ‘अटेरी अभियान’ को विगुल फुकेका थिए । त्यसबेलाको पराजयले उनलाई थकाएन, बरु अझ ठूलो मञ्चका लागि तयार गर्‍यो । हालै सम्पन्न निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत ३९ हजार ८८३ मतका साथ सानदार जित हासिल गर्दै पौडेल व्यवस्था परिवर्तनको मुद्दा बोकेर सिंहदरबार छिरेका हुन् । नागरिकतामा ‘खडगराज’ नाम भएपनि साहित्यिक र सामाजिक वृत्तमा उनी ‘गनेस’ नामले नै स्थापित छन् । उनी केवल राजनीतिज्ञ मात्र होइनन्, एक कुशल लेखक र अनुवादक पनि हुन् । २०७४ सालमा प्रकाशित उनको पहिलो उपन्यास ‘पैताला’ ले उनलाई नेपाली आख्यानमा बलियो परिचय दियो । विश्वप्रसिद्ध लेखक जोन स्टेनबेकको कृति ‘अफ् माइस एण्ड मेन’ लाई उनले ‘मुसा मानुष’ का रूपमा नेपालीमा अनुवाद गरी आफ्नो भाषिक पकडलाई प्रमाणित गरिसकेका छन् । पोखरामा बौद्धिक बहस र पठन संस्कृतिको लहर ल्याउने ‘¥यान्डम रिडर्स सोसाइटी अफ नेपाल’का परिकल्पनाकारमध्ये उनी एक हुन् । २०३६ सालमा पोखराको मझेरीपाटनमा जन्मिएका पौडेल शैक्षिक रूपमा पनि उत्तिकै अब्बल छन् । उनले पोखरा विश्वविद्यालयबाट एमबिए र त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेका छन् । शिक्षण पेशा र सामाजिक पैरवीमा लामो अनुभव सँगालेका पौडेलले अब आफ्नो व्यवस्थापकीय र बौद्धिक क्षमता पर्यटन मन्त्रालयमा खर्चनेछन् । वातावरण, सम्पदा, कला र संस्कृतिको संरक्षणमा विगतदेखि नै प्रखर आवाज उठाउँदै आएका पौडेलका लागि पर्यटन मन्त्रालय एक सुहाउँदो जिम्मेवारी हो । उनले नीति निर्माण र स्थानीय विकासका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।