सूर्यज्योति लाइफले ३५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस र २४.७४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । चैत २० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । जसलाई नेपाल बीमा प्राधिकरणले स्वीकृत तथा कम्पनीको साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ५४ रुपैयाँ छ । १०.२६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ नाघ्ने छ ।
एशियन लाइफ १७औं वर्षमा प्रवेश, पर्यटनदेखि जलविद्युतसम्म लगानी विविधिकरण
काठमाडौं । विसं २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको एशियन लाईफ इन्स्योरेन्स १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । कम्पनी ऐनबमोजिम २०६४ साल कात्तिक २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको यस कपनीले नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति)बाट बीमा ऐन, २०४९, को दफा १० (३) तथा बीमा नियमावली २०४९ को नियम ८ (१) बमोजिम बीमकका रूपमा जीवन बीमा व्यवसायको कारोबार गर्न स्वीकृति पाएको थियो । बैंकिङ, फाइनान्स, इन्स्योरेन्स, ट्रेडिङ, उत्पादन, व्यापार तथा विभिन्न व्यावसाय क्षेत्रमा लामो समयदेखि आबद्ध रहेका तथा अनुभव हासिल गरेका व्यक्ति/संस्थाले यस कम्पनीको संस्थापना गरेका हुन् । १७ वर्षको अवधिमा यस कम्पनीले देशरैभरि १३९ वटा शाखा कार्यालयमार्फत बीमासम्बन्धी सेवा दिइरहेको छ । १ लाख १३ हजारभन्दा बढी अभिकर्ताले सर्वाधिक, अग्रिम भुक्तानी, बालबालिका, म्यादी, लघु, वैदेशिक रोजगारी म्यादी बीमा योजना बिक्री गरिरहेका छन् । जीवन बीमा सेवा प्रवाह गर्दै बीमित र सेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्न कम्पनी कटिबद्ध रहेको कम्पनीको भनाइ छ । पछिल्लो तथ्यांकअनुसार कम्पनीले जीवन बीमाकोष ४१ अर्ब ३० करोड रुपैयाँ पुर्याएको छ । फागुन मसान्तसम्मको तथ्यांकअनुसार कम्पनीले ४९ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । साथै, चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ५ अर्ब १५ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । लगानी विविधिकरण हवाई, होटल तथा पर्यटन, जलविद्युत, बैंक लगायतका क्षेत्रमा कम्पनीले हालसम्म ४६ अर्ब १० करोड रुपैयाँ कुल लगानी गरेको जनाएको छ । बीमा कम्पनीहरूमा क्यापिटल कम्पनी, हवाई तथा होटल क्षेत्रमा लगानी गर्ने एशियन लाइफ पहिलो कम्पनी हो । होटल क्षेत्रका दुई वटा चार तारे होटलमा लगानी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभिन्न ५ वटा जलविद्युत आयोजना र निर्जीवन बीमा कम्पनी (नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स)मा समेत लगानी गरेको छ । यस्तै, वाणिज्य बैंकहरूमा प्रभु बैंकको समेत सेयर खरिद गरेर आफ्नो लगानी विविधिकरण गरेको छ । कम्पनीमा ४३६ जना कर्मचारी कार्यरत छन् । जसमध्ये ३५ प्रतिशत अर्थात् १५८ महिला कर्मचारी रहेको कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ छ । बीमा प्राधिकरणले तोकेको पुँजी पुर्याउन कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने छ । हकप्रद सेयर निष्काशनपश्चात् कम्पनीको पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।
प्रभु बैंकको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको १ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले बुधबार सूचना प्रकाशन गरी संस्थापक सेयरधनीहरू चिरञ्जीवी श्रेष्ठ, गोविन्दप्रसाद ज्ञवली र भारतीकुमारी आचार्यको स्वामित्वमा रहेको १ लाख ६० हजार २०९ कित्ता संस्थापक सेयर बिक्रमा राखिएको जनाएको छ । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरू वा अन्य जोसुकै व्यक्ति वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।