बीमा कम्पनीमा २ हजार कर्मचारी आवश्यक, नयाँलाई जागिरको अवसर, पुरानाले प्रमोशन पाउने
काठमाडौं । नयाँ जागिरको खोजी गर्नेहरुका लागि बीमा बजारमा राम्रो अवसर सिर्जना भएको छ । अर्थमन्त्रालयले १० वटा जीवन बीमा कम्पनीलाई लाईसेन्स दिन बीमा समितिलाई सहमति दिएपछि ती कम्पनीहरु खुल्ने निश्चित भएको छ । १० वटा कम्पनीमा २० अर्ब रुपैयाँ लगानी हुँदैछ । यी कम्पनीले एक वर्षभित्रमा कम्तिमा १ हजार कर्मचारी नियुक्ती गर्ने अनुभवीहरु बताउँछन् । बीमा कम्पनीको मुख्य कार्यालयमा करिव २५ जना कर्मचारीले रोजगारी पाउँछन् । १० वटा कम्पनीले कर्पोरेट कार्यालय सञ्चालन गर्दा २५० जना कर्मचारी चाहिन्छ । ठूलो लगानीमा खुलेका कम्पनीहरु आक्रामक रुपमा बजार विस्तारको रणनीतिमा आउने देखिन्छ । २ अर्बको पुँजी भएको कम्पनीले पुँजीलाई पोसाउने गरि व्यापार गर्न शुरुमा नै शाखा विस्तारमा जोड दिनुपर्ने छ । एक वर्षमा एक कम्पनीले कम्तिमा १० वटा शाखा विस्तार गर्ने अनुमान एक अनुभवी बीमकले बताए । एक शाखामा कम्तिमा ५ जना कर्मचारी हुनेछन् । यस आधारमा एक वर्षमा १० वटा कम्पनीले १०० वटा शाखा विस्तार गर्ने र त्यसमा ५०० कर्मचारी आवश्यक पर्नेछ । जीवन बीमा व्यवसाय एजेन्टमा आधारित हुने भएकोले कम्पनीहरुले कर्मचारी भन्दा बढी एजेन्ट नियुक्त गर्नेछन् । एजेन्टहरु कर्मचारीको रुपमा गणना त हुँदैन तर प्रभावकारी एजेन्टको कमिसन तथा अन्य सुविधा कम्पनीको स्थायी कर्मचारीको भन्दा बढी हुन्छ । चलिरहेका जीवन बीमा कम्पनीहरुमा २५० देखि ३०० जनासम्म कर्मचारी रहेका छन् । १० वटा नयाँ कम्पनी आउँदा करिब २ हजारले प्रत्यक्ष र अप्रत्यक्षरुपमा २० हजार मानिसले रोजगारी पाउन सक्ने बताउँछन् नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत विवेक झा । एकै पटक धेरै कम्पनी खुल्ने भएकाले उनीहरुले आक्रामक रुपमा शाखा विस्तार गर्ने अनुमान गरिएको छ । त्यसको प्रभाव पुराना कम्पनीलाई पनि पर्नेछ । पुराना कम्पनीहरुले पनि शाखा विस्तार गर्दा थप रोजगारी सिर्जना हुने झाको विश्लेषण छ । कहाँबाट आउँलान कर्मचारी ? नयाँ कम्पनीले तल्लो तहका कर्मचारी नयाँ नै नियुक्त गर्नेछन् । माथिल्लो तहका कर्मचारी भने सञ्चालनमा रहेको बीमा कम्पनी वा बैंकिङ क्षेत्रबाट आउने देखिन्छ । हाल ९ वटा जीवन बीमा कम्पनी छन् । त्यस मध्ये सरकारी संस्थान भएकाले बीमा संस्थानबाट कर्मचारी तान्न गाह्रो पर्छ । ठूला, ब्राण्डेड र राम्रो सुविधा भएकोले नेपाल लाईफ इन्स्योरेन्स, एलआईसी नेपाल र मेटालाईफ कम्पनीबाट कर्मचारी तान्न नयाँ कम्पनीले ठूलै मूल्य तिर्नुपर्छ । स्थापित यी कम्पनी छोडेर नयाँ कम्पनीमा जानुपूर्व कर्मचारीले धेरै कुरा सोच्ने भएकोले नयाँ कम्पनीलाई ती कम्पनीबाट कर्मचारी तान्न गाह्रो पर्ने जानकारहरु बताउँछन् । बाँकी ५ वटा जीवन कम्पनीहरुलाई भने आफ्नो कर्मचारी जोगाउन कठिन हुने देखिएको छ । प्रक्रियामा रहेका नयाँ कम्पनीहरुको आँखा यिनै पाँच कम्पनीका कर्मचारीमा केन्द्रीत भएको पाईएको छ । मर्ज वा एक्विजिशनपछि विलय भएका बैंक तथा वित्तीय संस्था छोडर घरमा बसेको पूर्व कर्मचारीतिर बीमा कम्पनीहरुको ध्यान गएको छ । ‘वेल म्यानेज कम्पनीले बजारमा जहिले पनि नयाँ कम्पनी आउन सक्छ भनेर देखेको हुन्छ र आफूलाई त्यसरी नै म्यानेज गरेको हुन्छ’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने–‘वेल म्यानेज कम्पनीबाट ठूलो संख्यामा कर्मचारी वाहिरीने छैनन् ।’ नयाँ कम्पनीहरुको प्रवेशसँगै जागिरको खोजि गर्नेहरुको लागि अवसर सिर्जना भएको छ । पुराना कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको लागि पनि अवसरको मूल्य उच्च भएको छ । तर कम्पनी म्यानेज गर्नेहरुका लागि भने आगामी दुई वर्ष जनशक्ति व्यवस्थापन सबैभन्दा जटिल काम हुनेछ । कुन कुन कम्पनी खुल्दैछन-१० वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दिन अर्थमन्त्रालयको स्वीकृति, एकै पटक २० अर्ब रुपैयाँ लगानी हुने
१० वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दिन अर्थमन्त्रालयको स्वीकृति, एकै पटक २० अर्ब रुपैयाँ लगानी हुने
काठमाडौं । अर्थमन्त्रालयले १० वटा जीवन बीमा कम्पनीहरुलाई सञ्चालन अनुमति अर्थात लाईसेन्स वितरण गर्न बीमा समितिलाई स्वीकृति दिएको छ । बुधबार अर्थमन्त्री कृष्णवहादुर महराले बीमा समितिको सिफारिस अनुसार १० वटै जीवन बीमा कम्पनीलाई लाईसेन्स दिने फाइल सदर गरेको स्रोतले बतायो । ‘बीमा समितिको सिफारिस बमोजिम १० वटै कम्पनीहरुलाई लाईसेन्स दिन सहमति दिने निर्णय भएको छ । लाईसेन्स वितरण गर्ने काम बीमा समितिले गर्छ’ अर्थमन्त्रालय स्रोतले बतायो । बीमा समितिले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टार लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई लाईसेन्स दिने सहमति माग्दै मन्त्रालयमा सिफारिस गरेको थियो । सबै कम्पनीहरूलाई लाईसेन्स दिन मन्त्रालयले स्वीकृति दिएको छ । १० वटा कम्पनीले लाईसेन्स पाएपछि अब नेपालमा जीवन बीमा कम्पनी १९ वटा हुने भएका छन् । निर्जीवन तर्फ हाल १७ वटा कम्पनी छन् भने ४ वटा नयाँ खुल्ने प्रक्रियामा छन् । नयाँ खुल्ने जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनेछ । एकै पटक १० वटा कम्पनी खुल्दा जीवन बीमा बजारमा २० अर्ब रुपैयाँ नयाँ लगानी हुने भएको छ । हाल बजारमा ९ वटा जीवन बीमा कम्पनी भएपनि २ अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पुँजी भएको कम्पनी एउटा मात्र छ, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी । ठूलो पुँजी लिएर धेरै कम्पनी बजारमा आउँदा बीमा बजारको पहुँच वृद्धिको साथै चर्को प्रतिस्पर्धा हुने देखिएको छ । जीवन बीमा सेवा सञ्चालन गर्नको लागि १२ वटा कम्पनीले बीमा समितिमा आवेदन गरेकोमा स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनिलाईफ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बीमा समितिले सिफारिस गरेको छैन । बीमा समितिले तोके अनुसार कागजात तथा विवरण बुझाउन नसकेकाले दुई कम्पनीलाई लाईसेन्स दिन सिफारिस गर्न नसकिएको बीमा समिति स्रोतले बतायो ।
आठ बीमा कम्पनीको नाफा एक अर्ब १४ करोड, कसले कति कमाए ?
काठमाडौं । आठ वटा बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको नौ महिनामा एक अर्ब १४ करोेड ९० लाख रुपैंयाँ नाफा कमाएका छन् । यस्तो नाफा बीमांकिय मुल्यांकन अघिको हो । हालसम्म पाँच वटा निर्जिवन बीमा कम्पनी र ३ वटा जिवन बीमा कम्पनीले तेश्रो त्रैमासिकसम्मको वित्तिय विवरण सार्वजनिक गरेका छन । नौ महिनामा तीन वटा जिवन बीमा कम्पनीको नाफा ५७ करोड ७३ लाख पुगेको छ भने पाँच वटा निर्जिवन बीमा कम्पनीको नाफा पनि ५७ करोड १७ लाख पुगेको छ । तीन वटा जिवन बीमा कम्पनीले गत बर्षको सोही अवधीको तुलनामा ६९ दशमलब ६४ प्रतिशत नाफा बढाउन सफल भएका छन् । ती कम्पनीले गत आवको तेश्रो त्रैमासिकमा ३४ करोड ३ लाख नाफा कमाएका थिए । पाँच निर्जिबन बीमा कम्पनीको नाफा भने ६० दशमलब ४५ प्रतिशतले वृद्धि भएको छ । यी कम्पनीले गत आवको नौ महिनामा ४० करोड ९६ लाख नाफा कमाएका थिए । हालसम्म निर्जिबन तर्फ एनएलजी, नेको, युनाइटेड, एनबी र ओरियन्टल इन्स्योरेन्स कम्पनीले तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका छन् । त्यस्तै जिवन बीमा तर्फ नेपाल लाइफ, सुर्या लाइफ र प्राइम लाइफले नौ महिनाको वित्तिय विवरण सार्वजनिक गरेका छन् । निर्जिबन बीमा १) एनएलजी इन्स्योरेन्स कम्पनीले नौ महिनामा १२ करोड ९७ लाख नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधीमा ११ करोड ६ लाख नाफा कमाएको थियो । २) नेको इन्स्योरेन्स कम्पनीले नौ महिनामा १२ करोड ८८ लाख नाफा कमाएको छ । यो कम्पनीले गत आवको सोही अवधीमा ७ करोड नाफा कमाएको थियो । ३) युनाइटेड इन्स्योरेन्सले ४ करोड ८९ लाख नाफा कमाएको छ । गत आवको सोही अवधीमा कम्पनीले २ करोड ३२ लाख नाफा कमाएको थियो । ४) एनबी इन्स्योरेन्स कम्पनीले नौ महिनमा ६ करोड २० लाख नाफा कमाएको छ । यसले गत आवको सोही अवधीमा जम्मा २ करोड २० लाख मात्रै नाफा कमाएको थियो । ५) ओरियन्टल इन्स्योरेन्स कम्पनीले २० करोड ४१ लाख नाफा कमाएको छ । अघिल्लो आवको नौ महिनामा कम्पनीले १३ करोड ५ लाख नाफा कमाएको थियो । जिवन बीमा कम्पनी १) नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ४० करोड ९६ लाख पुगेको छ । कम्पनीले गत आवको सोही अवधीमा २३ करोड ८० लाख नाफा कमाएको थियो । २) सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले ६ करोड ३ लाख नाफा कमाएको छ । सुर्याले गत आवको नौ महिनामा ७९ लाख मात्रै नाफा कमाउन सफल भएको थियो । ३) प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाफा चालु आवको नौ महिनामा १० करोड ७४ लाख पुगेको छ । कम्पनीले गत आवको सोही अवधीमा जम्मा ९ करोड ४४ लाख आम्दानी गरेको थियो ।