१०७ वित्तीय संस्थाको इजाजत खारेज, १५२ वटा मर्जरबाट ४५ वटा भए

नेपाल राष्ट्र बैंकले १०७ वटा बैंक तथा वित्तीय संस्थाको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले मर्जर तथा प्राप्तिमा गई अस्थित्व समाप्त गरेका बैंक तथा वित्तीय संस्थाको इजाजतपत्र खारेज गरेको हो । बैंक तथा वित्तीय संस्थाको संख्या आवश्यकताभन्दा धेरै भएपछि केन्द्रीय बैंकले मर्जर तथा प्राप्तिको नीति लिएको थियो । मर्जरलाई ध्यानमा राख्दै बैंकले आर्थिक वर्ष २०७३ ०७४ को मौद्रिक नीतिमार्फत ४ गुणासम्म चुक्ता पुँजी बढाउने नीति लिएको थियो । चुक्ता पुँजी बढाउने नीतिले बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तीको नीति प्रभावरकारी देखिएको केन्द्रीय बैंकका गर्भनर डा. चिरन्जिवि नेपालले भने । हालसम्म १५२ संस्था मर्जर भएर ४५ वटा भएका छन् भने १०७ वटा खारेज भएका छन् । कारोबार दैनिकबाट ।

आइएमइ, यूनियन र ज्योति लाइफले बीमा समितिबाट लाईसेन्स पाए

काठमाडौं । बीमा समितिले तीन वटा जीवन बीमा कम्पनीलाई सेवा सञ्चालन गर्न अनुमति दिएको छ । सोमबार बीमा समितिको सञ्चालक समितिले आईएमई लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई सञ्चालन अनुमति दिने निर्णय गरेको हो । तीन वटै कम्पनीले मंगलबार बीमा समितिबाट सेवा सञ्चालन अनुमतिको प्रमाणपत्र लिएका छन् । ‘सबै प्रक्रिया पुरा गर्ने र संस्थापकको तर्फबाट कबुल गरेको सेयर पुँजी कम्पनीको खातामा जम्मा गरेका तीन कम्पनीलाई लाईसेन्स दियौं । प्रक्रिया पुरा गरेपछि बाँकी ७ कम्पनीलाई पनि लाईसेन्स वितरण गछौं’ बीमा समिति स्रोतले भन्यो । ‘आइएमइ लाईफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट सञ्चालन अनुमति पाएको छ । हामी छिट्टै सेवा सञ्चालन गर्ने तयारीमा जुटेका छौं’ आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने । यस कम्पनीको अध्यक्ष डा रामहरि अर्याल छन् । नेपाल सरकारको सचिव पदबाट अवकाश पाएको अर्याल यसअघि नेपाल राष्ट्र बैंकमा सञ्चालक थिए । प्रमुख कार्यकारी अधिकृतबारे अहिले टुङ्गो नलागेको उनले बताए । शंकर ग्रुपको अगुवाईमा स्थापना भएको यूनियन लाइफको प्रमुख कार्यकारी अधिकृतमा मनोजलाल कर्ण नियुक्त हुने सम्भावना अधिक छ । ‘कम्पनीले कर्णको नाम सिफारिस गरेको छ, बीमा समितिबाट स्वीकृत हुन बाँकी छ’ स्रोतले भन्यो । अर्थमन्त्रालयले १० वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दिन सैद्धान्तिक सहमति दिई सकेको छ । निर्जीवनतर्फ पनि ४ वटा कम्पनी प्रक्रियामा रहेका छन् । पहिला प्रक्रियामा रहेका जीवन बीमा कम्पनीलाई लाईसेन्स वितरण गरेपछि निर्जीवन बीमा कम्पनीलाई लाईसेन्स वितरण गर्ने समितिको योजना रहेको स्रोतले बतायो ।

एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा कमल गौतमलाई नियुक्त गरेको छ । नेपाल ग्रिन्डलैज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर शुरु गरी हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनबि बैंक, सनराइज बैंक हुदै पछिल्लो समय इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका गौतमले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकलाई सुधार गर्न महत्वपुर्ण भुमिका खेलेका थिए । हालै इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैक, एनसिसि बैंकमा गाभिए पश्चात नायव महाप्रवन्धकको जिम्मेवारी सम्हाल्दै आएका गौतमले केही महिना अघि बैंकबाट राजिनामा दिई अवकास लिएका थिए । समस्याग्रस्त संस्थालाई सुधार गर्न अनुभवी गौतम निर्णय एवम व्यवस्थापकिय क्षमतामा अव्वल मानिन्छन् । करिब २६ वर्षको बैंकिङ्ग अनुभव सम्हालेका गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् । नव नियुक्त प्रमुख कार्यकारी अधिकृत गौतमले शुक्रबार देखि जिम्मेवारी समेत सम्हालेका छन् । भर्खरै समस्याबाट अगाडि बढ्दै आएको कम्पनीले उनको व्यवस्थापकिय क्षमताले कम्पनीलाई सुधार गरी थप उचाईमा पुर्याउने योगदानको अपेक्षा गरेको छ ।