आईएमई डिजिटललाई मोबाइल वालेट सेवा सञ्चालन गर्न रष्ट्र बैंकको अनुमति

काठमाडौं । आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२”बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो । मोबाइल वालेट सञ्चालन गर्न अनुमति पाउने आईएमई डिजिटल पहिलो कम्पनी हो । आईएमई डिजिटलले “आईएमई पे” ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउने जनाएको छ । यसको मदतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । आईएमई डिजिटलले चाँडै नै आईएमई पे सेवालाई सञ्चालनमा ल्याउने जनाएको छ । यसले सेवाग्राहीलाई दर्ता गर्ने, मोबाइल मार्फत् तत्कालै पैसा पठाउने र प्राप्त गर्ने, बिलहरूको भुक्तानी गर्ने, रकम ट्रान्सफर गर्ने, विद्यालय, कलेजका शुल्कहरू भुक्तानी गर्ने देखि लिएर अनलाइनभन्दा बाहिर (अफसाइट) रहेका रेस्टुरेन्टहरू, ग्रोसरी/ डिपार्टमेन्ट स्टोरहरूका साथै साना-ठूला खुद्रा पसलहरूमा अफलाइन नै भुक्तानी गर्ने सम्मका विविध भुक्तानी सेवाहरू प्रदान गर्नेछ । नेपाल राष्ट्र बैंकबाट यस कम्पनीले व्यावसायिक रूपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेको सन्दर्भमा आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्छन्, “हामीले आईएमईको व्यापक सञ्जाल अन्तर्गत रहेका विद्यमान ६००० भन्दा बढी रेमिटेन्स एजेन्टहरू, आईएमई समूह अन्तर्गतका २००० भन्दा बढी बिक्री केन्द्रहरूका साथै हाम्रो सञ्जालभन्दा बाहिर रहेका हजारौँ आउटलेटहरू मार्फत् देशका हरेक कुना काप्चामा रहेका नेपालीलाई आईएमई पे को सेवा उपलब्ध गराउने लक्ष्य लिएका छौँ ।” आईएमई डिजिटलले अन्तर्राष्ट्रिय स्तरको सिस्टम आर्किटेक्चरमा आधारित गुणस्तरीय वालेट प्ल्याटफर्म विकास गरिसकेको छ र यसमा देशव्यापी मोबाइल मनी अपरेसनका लागि आवश्यक सहजताका साथै अत्यन्त सुरक्षित रूपमा कारोबार गर्न सकिने व्यवस्था गरिएको छ । यसै अवसरमा खुसी व्यक्त गर्दै आईएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकालले भन्छन् “साथमा पैसा बोक्न नपर्ने (क्यासलेस) समाज निर्माण गर्ने हाम्रो उद्देश्य र यात्रा तर्फको यो पहिलो कदम हो । मोबाइलमा आधारित भुक्तानीलाई स्वीकार गर्नका लागि देशभरि छरिएका साना-ठूला व्यापारिक केन्द्रहरू, बैंक तथा वित्तीय संस्थाहरूलाई यस सेवामा आबद्ध गरेर मोबाइल मनीमा आधारित प्रणाली विकास गर्ने दिशामा हाम्रा योजानहरू अगाडि बढिरहेका छन् ।” मोबाइलमा आधारित भुक्तानी प्रणालीको सुरुवातसँगै आईएमई डिजिटलले बैंकिङ सुविधाबाट वञ्चित भएका ५० प्रतिशत भन्दा बढी देशभरि छरिएर रहेका नेपालीहरूको खुद्रा भुक्तानी सम्बन्धी अनगिन्ती आवश्यकताहरू पूरा गर्ने लक्ष्य लिएको छ ।

हिमालयन जनरल इन्स्योरेन्सको बुक क्लोज असार १६ देखि

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको असार १६ देखि सेयर खरिद दर्ता बन्द हुने भएको छ ।हिमालयनले हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि असार १६ देखि बुक क्लोज गर्ने निर्णय गरेको हो । कम्पनीले एक बराबर १.६६६७ कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ । असार १६ गते अघिसम्म सेयर खरिद गर्नेहरुले हकप्रद सेयर भर्न पाउनेछन् ।

एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस र ६०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, गोप्य सूचनाका आधारमा करोडौंको सेयर कारोबार

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर र ६०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । असार १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ५ आर्थिक वर्षहरुको साधारणसभा असाढ २३ गते गर्ने र उक्त साधारण सभामा २० प्रतिशत बोनस सेयर दिने, त्यसपछि १ बराबर ६ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । हाल १० करोड १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले २० प्रतिशत बोनस सेयर जारी गर्दा चुक्ता पुँजी १२ करोड १५ लाख हुने छ । एक बराबर ६ कित्ता सेयर निष्काशन गर्दा कम्पनीको चुक्ता पुँजी ८५ करोड ५ लाख रुपैयाँ हुनेछ । कम्पनीले गत साता आफ्ना गोप्य सूचना चुहाएर सेयर कारोबार गरेको छ । संस्थागत सुशासन अत्यन्तै कमजोर भएको यो संस्थाको सञ्चालक, मुख्य प्रवद्र्धक खेतान समूहले प्रस्तावित बोनस र हकप्रद सेयर सम्बन्धी गोप्य सूचना चुहाएर व्यापारिक साझेदार र आफन्तको नाममा अधिकतम सेयर कारोबार गराएका हुन । गत एक महिनामा एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा भएको वृद्धि पछिल्लो एक महिनामा कम्पनीको सेयर प्रतिकित्ता ४२३ रुपैयाँले वृद्धि भई विहीबार प्रतिकित्ता २६ सय ४५ रुपैयाँमा कारोबार भएको छ । जवकी यहि अवधिमा बीमा समूहको परिसूचक ५५० अंकले घटेको छ ।   गत एक महिनामा इन्स्योरेन्स समूहको सेयरमा आएको गिरावट अघिपछि दैनिक १०/१५ लाखको सेयर कारोबार हुने यस कम्पनीको सेयर विहीबार मात्र ३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । विश्वको पुँजीबजारमा सूचिकृत पब्लिक कम्पनीले गोप्य सूचना चुहाउने र सेयरको ट्रेड गराउनेलाई गम्भिर वित्तीय अपराध मानिन्छ । तर बीमा कम्पनीका नियामक संस्थाहरु बीमा समिति तथा धितोपत्र बोर्ड जस्ता नियामक निकायको कमजोरी, लापरवाहीका कारण एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रर्वद्धक र सञ्चालकहरुले व्यापक चलखेल गरिरहेका छन् । कम्पनीले यसअघि २०७१ फागुन १२ गते विशेष साधारणसभा गरेर १ बराबर १.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन नहुँदा नियामक निकायहरु मौन बसेको देखिन्छ । संस्थागत र नीतिगत रुपमा भष्ट्राचार गरेर व्यापार व्यवसाय गर्दै आएको खेतान समूहले प्रवद्र्धन गरेको एभरेष्ट इन्स्योरेन्स कम्पनीले बारम्बार विवादास्पद काम गर्दै आएको छ । बजारमा बिक्री नभएपछि मिति गुज्रिएको (म्याद नाघेको) मायोज चाउचाउ फिर्ता ल्याई जम्मा भएको गोदाममा हिमालयन स्यान्स एण्ड नूडल्स कम्पनीका मालिक राजेन्द्र खोतानले आगो लगाएर एभरेष्ट इन्स्योन्सबाट करोडौं रुपैयाँ ठगी गरेपछि यो कम्पनी विगत ६ वर्षदेखि बन्द जस्तै छ । हिमालयन स्यान्स एण्ड नूडल्स कम्पनीका मालिक राजेन्द्र खोतान नै एभरेष्ट इन्स्योरेन्स कम्पनीको मुख्य प्रवद्र्धक हुन् । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको साधारणसभा गरेको थिएन । कम्पनीले सर्बसाधारण सेयरधनीहरुलाई लटरपटर पार्दै ५ वर्षको आर्थिक प्रतिवेदन एकै पटक साधारणसभामा पेश गर्दैछ । कम्पनीको सेयर मूल्य वृद्धि गरेर बेच्नको लागि अधिकृत पुँजी २ अर्ब रुपैयाँ बनाउने प्रस्ताव गरिएको छ । असार ९ गते बुक क्लोज हुने भएकोले सो अवधिमा यस कम्पनीको सेयर मूल्य व्यापक बढ्ने सम्भावना रहेको छ ।