गुराँस लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडका बीच बैंकासुरेन्स सम्झौता भएको छ । शुक्रबार सम्पन्न उक्त सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट डेपुटी सीईओ प्रध्युमन पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौता मार्फत बैंकले गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सार्वधिक, आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना बिक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले उक्त सम्झौता गरेको हो । साथै, यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट यस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । यस इन्स्योरेन्स कम्पनीले हालमात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।

एलआईसीको बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी)को धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । उक्त नियुक्ति सम्बन्धि सम्झौता पत्रमा एलआईसीको तर्फबाट कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदार र एसबीआई मर्चेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश घिमिरेले बिहीबार हस्ताक्षर गरेका हुन् । यस सम्झौतापश्चात इन्स्योरेन्सको सेयर हस्तान्तरण तथा धितोपत्रसँग सम्बन्धित सम्पूर्ण काम बिक्री प्रबन्धक एसबीआई मर्चेन्टले गर्ने भएको छ ।

सिभिल बैंक र मेटलाइफबीच बैंकासुरेन्स सम्झौता, बीमा योजनाहरु प्रदान गर्ने

काठमाडौं । सिभिल बैंक लिमिटेड र मेटलाइफबीच बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीइओ) गोविन्द गुरुङ र मेटलाइफका तर्फबाट महा-प्रबन्धक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकले जीवन बीमा सेवालाई अझ विस्तार गर्ने उद्देश्यले मेटलाइफसंग सम्झौता गरेको हो । यस सम्झौताबाट बैंकले मेटलाइफको विविध जीवन बीमा योजनाहरु प्रदान गरी आफ्ना ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका सीइओ गुरुङले बताएका छन् । साथै, बैंकले यस अघि निर्जीवन बीमा सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ ।