काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात रकम ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको छ ।
भदौ २३ गते साँझ ५ः०० बजेसम्म कोषका ९ वटा रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख र २ वटा डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर (प्रतिडलर १५०.८८ का दरले रूपान्तरण गर्दा) जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ ।
रसुवा-भोटेकोशी बाढीपछिको अवधिमा मात्रै कोषमा ७ अर्ब ६८ करोड ४४ लाख र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर सङ्कलन भएको छ ।
यो रकम विपद्अघिको २ अर्ब ८ करोड २४ लाख मौज्दातभन्दा बाहेकको हो । भदौ २३ गते एकै दिनमा मात्रै ३० करोड ६२ लाख र १ लाख १२ हजार ३२ अमेरिकी डलर सहयोग प्राप्त भएको छ ।
सङ्कलित रकममध्ये राहत तथा उद्धार कार्यका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब हस्तान्तरण गरिसकिएको छ ।
विपदको यस कठिन घडीमा प्रभावित परिवारका लागि निरन्तर सहयोग पुर्याउने स्वदेश तथा विदेशका सम्पूर्ण व्यक्ति र संस्थाहरूप्रति अर्थ मन्त्रालयले हार्दिक आभार व्यक्त गरेको छ ।
साथै, सहयोग गर्न चाहने इच्छुक महानुभावहरूलाई सरकारको आधिकारिक पोर्टल donate.gov.np मार्फत सहयोग रकम जम्मा गर्न अनुरोध गरिएको छ ।