नेपाल एग्रो माइक्रोफाइनान्सको बिक्री प्रवन्धकमा एसबिआई मर्चेण्ट, एक करोड ४४ लाखको आईपीओ जारी गर्दै

काठमाडौं । नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाले एक करोड ४४ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि आफ्नो बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्टलाई नियुक्त गरेको हो । बिक्री प्रबन्ध नियुक्ती सम्बन्धी सम्झौता पत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र नेपाल एग्रो माइक्रोफाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले हस्ताक्षर गरेका छन् । संस्थाले अंकित मूल्य १०० रुपैयाँ दरका १ लाख ४४ हजार कित्ता साधारण सेयरको जारी गर्न लागेको हो ।

फर्स्ट माइक्रोफाइनान्सले १२ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२.६३१६ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाले गत आर्थिक वर्षको संचित मुनाफाबाट ८ करोड ६४ लाख ४९ हजार ७४३ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभा अनुमोदन गर्नु पर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ६८ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

एनसीसी बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र लाईफ इन्स्योरेन्स कर्पोरेशनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट लाईफ इन्स्योरेन्स कर्पोरेशनको पोलिसी बिक्री गरिनेछ ।