राष्ट्रिय बीमा कम्पनीको नाफा १३२ प्रतिशत वृद्धि, गत वर्ष ५५ करोड

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा १३२.४७ प्रतिशत खुदनाफा बढाएको छ । कम्पनीले गत आर्थिक वर्ष ०७४/०७५ मा ५५ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बीमा कम्पनीको नाफा २३ करोड ७० लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा कम्पनीले ३१ करोड ३९ लाख रुपैयाँ नाफा बढाएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा ८१ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष २९ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको थियो । नाफामा भएको वृद्धिसंगै प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २०६ रुपैयाँ ६४ पैसा पुगेको छ । राष्ट्रिय बीमा सुचिकृत मध्ये ईपीएस सबैभन्दा बढी हुने कम्पनी हो । यस्तै प्रतिसेयर नेटवर्थ ८७६ रुपैयाँ छ । नेटवर्थ बढी हुनेमा राष्ट्रिय बीमा नै रहेको छ । कम्पनीले १७ हजार २२० बीमालेख जारी गरेर ९३ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको जानकारी दिएको छ । समीक्षा अवधिमा ८ करोड २९ लाख रुपैयाँ मात्र दावी भुत्तानी गरेको छ । कम्पनीको जगेडा कोषको आकार बढेर २ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ९३ करोड रुपैयाँ थियो ।

प्रभु इन्स्योरेन्स र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच क्यासलेस सम्झौता

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच नगद रहित( क्यासलेस) सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमालेखको सिमासम्म क्यासलेस सेवा पाउने छन् ।

राष्ट्रिय बीमा कम्पनी र मेगा बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मेगा बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सो सम्बन्धि सम्झौतामा राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीर बिक्रम रायमाझि र बैंकका तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत रबिना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैंकले आफ्नो सम्पत्ति ग्राहक तथा कर्मचारीहरुको दुर्घटना तथा स्वास्थ र लगानी गरिएको सम्पत्ति माथीको विभिन्न प्रकारको बीमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाट सजिलै गर्न सक्ने छ । यस सम्झौता मार्फत बैकका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखाबाट सबै प्रकारका निर्जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्ने लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । साथै, बीमा कम्पनीले दाबी परेको समयमा सहजरुपमा दाबी भुक्तानी गर्ने प्रतिबद्धता गरेको छ । यो सम्झौताले मेगा बैंकको “हलो देखी हाईड्रो” सबैलाई सुरक्षा प्रदान गर्ने छ । साथै, पशुघन र साना तथा मझौला व्यवसायीलाई यो सेवा बढी प्रभावकारी हुने कम्पनीले जनाएकाे छ । बैंक र बीमाको माध्यमबाट नै देशको अर्थ व्यवस्थामा प्रभावकारी विकास गर्न सकिने दुबै पक्षको विश्वास छ । यसैबिच राष्ट्रिय बीमा कम्पनीले कृषी र पशु बीमा लगायत ग्राहस्थ बीमालाई प्रभावकारी बनाउने उद्देश्यले त्रियुगा नगरपालिकबीच सहमती गरि सकेको जानकारी दिइएको छ ।