प्रभु इन्स्योरेन्स २१औं वर्षमा प्रवेश

काठमाडौं, १८ साउन । प्रभु इन्स्योरेन्स लिमिटेड २१औं वर्षमा प्रवेश गरेको छ । स्थापनादिवसको अवसरमा एक आयोजित कार्यक्रममा कम्पनीका उपाध्यक्ष राजेन्द्र मल्लले कम्पनीले गत आर्थिक वर्षमा गरेको कार्य प्रगति सम्बन्धमा जानकारी गराएका छन् । कम्पनीले आफ्नो सेवा विस्तारको लागि दुर्गम जिल्लाहरुमा कृषि शाखा कार्यालय स्थापना गरि कारोवार सुचारु गरेको मल्ले जानकारी गराएका छन् । साथै, उनले आगामी दिनमा सेवा विस्तारको लागि थप शाखा तथा उपशाखा कार्यालय स्थापना गर्ने जानकारी गराएका छन् । सोही कार्यक्रममा बौल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले नियामक निकायको निर्देशनलाई पालना गर्दै प्रतिस्पर्धात्मक बजारमा प्रतिस्पर्धा गर्दै अघि बढ्दै गईरहेको बताएका छन् । गत वर्षको महाभूकम्प, अघोषित नाकाबन्दी तथा मधेश आन्दोलनलगायतले बीमा क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको बज्राचार्यले बताएका छन् । बज्राचार्यका अनुसार कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी सम्पूर्ण कारोबारलाई अझ बढी सुविधाजनक बनाउँदै मुलुकमा छरिएर रहेका सहकारी संस्थाहरु मार्फत अनलाइन प्रिमियम भुक्तानीको व्यवस्था गरिएको बताइएका छन् । हाल कम्पनीको केन्द्रिय कार्यालय सहित शाखा तथा उपशाखा संख्या १९ रहेको कम्पनीले जनाएको छ ।

एसियन लाइफ इन्स्योरेन्सको सिइओमा श्रेष्ठ पुनः नियुक्त

काठमाडौं, १६ साउन । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा राजेश कुमार श्रेष्ठ दोश्रो कार्यकालका लागि नियुक्त भएका छन् । साउन १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई दोश्रो कार्यका लागि प्रमुख कार्यकारी अधिकृतको नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठको दोश्रो कार्यकाल साउन २१ गतेबाट सुरु हुनेछ । उनले आगामी चार बर्षसम्म कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् । एसियन लाइफ इन्स्योरेन्स कम्पनी विवादमा परेका बेला पहिलो पटक सिइओमा नियुक्त भएका श्रेष्ठले सुधारका धेरै काम गरेका थिए ।

एनआइसी एसिया र शिखर इन्स्योरेन्सबीच निर्जीवन बिमा सेवा सम्झौता

काठमाडौं, ७ साउन । एनआइसी एसिया बैंक र शिखर इन्स्योरेन्सबीच निर्जीवन बिमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल तथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् । बैंकले नयाँ तथा पुराना ग्राहकमार्फत निर्जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले ‘हेल्थ इन्स्योरेन्स’ तथा ‘सेक्युर माइन्ड’ नामक दुई छुट्टाछुट्टै सेवा शुरु गरेको बताएको छ । हेल्थ इन्स्योरेन्स अन्तर्गत व्यक्तिगत तथा परिवारको स्वास्थ्य बीमा गराउन सकिने र सेक्युर माइन्डले बैंकको ऋण सुरक्षित गर्न सघाउ पुग्ने बैंकले जनाएको छ । बैंकले आव ०७२/०७३ मा १ अर्ब ७ करोड रुपैयाँ नाफा आर्जन गरी ५७ प्रतिशत मुनाफा कमाउन सफल भएको जनाएको छ । बैंकले हाल ६७ शाखा र ६९ वटा एटिएमबाट ग्राहकलाई बैंकिङ् सेवा प्रदान गर्दै आएको छ ।