गेटा मेडिकल कलेज चाँडै विश्वविद्यालयमा स्तरोन्नति हुने प्रधानमन्त्री ओलीको दावी
कञ्चनपुर । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा तीन सय ७२ विदार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका हुन् । दीक्षान्त समारोहलाई प्रधानमन्त्री ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रुपमा स्तरोन्नति गरिने बताए । उनले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको उल्लेख गर्दै भने, ‘यो खुसीको कुरा हो । नेपालमा कुनै पनि क्षेत्रमा मेडिकल विश्वविद्यालय छैन, त्यो अब यहाँ बन्छ ।’ डडेल्धुराको पर्शुराम क्षेत्र जोड्ने पुलसँगै सीमा क्षेत्रमा निर्माण हुने पुलका लागि आफू पहिले प्रधानमन्त्री हुँदा भारतीय समकक्षीसँग कुरा उठाएको जनाउँदै उनले त्यस क्षेत्रमा पक्की पुल निर्माणका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्रीले हुलाकी राजमार्ग, दैजी छेला औद्योगिक क्षेत्र, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण पनि चाँड प्रारम्भ हुनेर सुक्खा बन्दरगाह बनाउन भारत सरकारसँग छलफल जारी रहेको जानकारी दिए । दीक्षान्त समारोहमा भारतको उत्तराखण्डका सोबनसिंह जीना विश्वविद्यालयका कुलपति प्राडा. सतपालसिंह अतिथि थिए ।
सामुदायिक विद्यालय हाँकिरहेका ‘हेडम्याम’
काठमाडौं । एक समयमा महिला चुलो र चौकामा मात्र सीमित थिए । अहिले समय फेरियो । राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै छ । कुनै समय विद्यालयमा पढ्नसमेत बन्देज छोरीहरू अहिले त्यही क्षेत्र अर्थात विद्यालयको नेतृत्व गरिरहेकी छन् । उनीहरूले हाँकेका विद्यालयहरूले एसईई लगायत हरेक परीक्षामा उत्कृष्ट नतिजा ल्याइरहेका छन् । आज हामी नारी दिवसको अवसरमा काठमाडौं उपत्यकामा रहेका सामुदायिक विद्यालयको नेतृत्व गरिरहेकी महिलाहरुको संक्षिप्त समाचार सामग्री तयार पारेका छौं । धुम्रबराह माविको चित्र फेरेकी सुजाता आजभन्दा करिब २५ वर्षअघि सुजाता राजलवट काठमाडौंको धुम्बाराहीमा रहेको धुम्रबराह माध्यमिक विद्यालय शिक्षकको रूपमा पुगिन् । त्यहाँको अवस्था देख्दा उनलाई अचम्म लाग्यो । काठमाडौंमा रहे पनि सामुदायिक विद्यालयको अवस्था कन्तबिजोग थियो । विद्यार्थीहरू सुकुलमा बसेर अध्ययन गरिरहेका थिए । विद्यालयको अवस्थाबारे उनले प्रधानाध्यापकसँग कुरा राखिन् । तर, कुनै प्रगति भएन । सुजातालाई त्यत्तिकै बस्न मन लागेन । उनले विद्यालयको बारेमा समाजमा रहेका अगुवा अनि अभिभावकसँग कुराकानी गर्न थालिन् । विद्यालयको दुरावस्थाको विषयमा कुरा उठाइन् । तर, कुरा कसैले सुनेनन्, किनकि उनी आवाज सुनुवाइ हुने ठाउँमा थिइनन् । त्यसको चार वर्षपछि सुजाता त्यही विद्यालयको प्रधानाध्यापक बनिन् । त्यसपछि उनले कडा रूपमा आवाज उठाइन् । उनले विद्यालय वरिपरि रहेका समाजसेवी, बुद्धिजीवीलाई भेटिन् । विस्तारै अभिभावकले पनि यो कुरामा ध्यान दिन थाले । कक्षा ६ सम्म मात्र पढाइ हुने यो विद्यालयमा विस्तारै कक्षा थपिँदै गए । विद्यार्थीले बेञ्चलगायत अन्य भौतिक सुविधा प्राप्त गरे । सुजाता राजलवट । अहिले २१ वर्ष भयो, यो विद्यालयको नेतृत्व उनै सुजाताले गरिरहेकी छन् । उनी भन्छिन्, ‘भुइँमा बसेर अध्ययन गर्ने विद्यार्थीलाई अहिले डेस्क बेञ्चमा बस्नेमात्र होइन, त्यही अनुसारको शिक्षा दिने विद्यालय बनाउन सफल भएकी छु ।’ सुजाताका अनुसार अहिले यो विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ । जहाँ अहिले ५ सय भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् भने शिक्षक कर्मचारी १९ जना छन् । सुजाता आफूसँग गर्न सक्ने इच्छा र आँट भयो भने नेतृत्वमा पुगेपछि धेरै काम गर्न सकिने दाबी गर्छिन् । उनी काम गर्दै जाँदा आउने चुनौतीको सामना गर्दै अगाडि बढ्न सक्यो भने मात्र जीवन सोंचेजस्तो हुने बताउँछिन् । महिलाको एउटैमात्र भूमिका हुँदैन, उसले दोहोरो, तेहेरो भूमिका निभाउनुपर्छ । उनी भन्छिन्, ‘एउटा महिला बिना घरपरिवार, देश मात्र नभइ पुरुष नै अधुरो हुन्छ, यसको मतलब महिलामात्र सबै थोक हो, पुरुष होइन भन्ने होइन ।’ उनी नारीले नेतृत्व गर्ने हरेक संस्था सफल हुने बताउँछिन् । उत्कृष्ट ज्ञानोदय बनाउने विष्णु उपत्यकामा रहेका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयभित्र पर्छ ज्ञानोदय माध्यमिक विद्यालय । काठमाडौंको कलंकीमा रहेको यो विद्यालयले एसईईमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । यही कारणले नै यो विद्यालय पढाउन अभिभावकको लाइन लाग्छ । विद्यालयमा अहिले ४ हजार ७ सय बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । सामुदायिक विद्यालय भएपनि यो विद्यालयले अहिले अंग्रेजी भाषामा शिक्षण गराइरहेको छ । समयको मागअनुसार परिमार्जन भएको विद्यालय देशभरकै उत्कृष्ट विद्यालयभित्र पर्ने गर्छ । इसीडी (प्रारम्भिक बाल विकास) देखि कक्षा १२ सम्म पढाइ हुने यो स्कुलमा विद्यार्थीको निकै आकर्षण छ । यहाँ भर्नाको समयमा ५ सय विद्यार्थीको सिटमा दुई हजार बढी विद्यार्थी भर्ना हुन आउँछन् । अहिले यो विद्यालयको नेतृत्व गरिरहेकी छिन् विष्णु घिमिरे रिमालले । मोरङ घर भई काठमाडौंमा शिक्षण पेशामा आवद्ध रिमाल विगत दुई वर्षदेखि यो स्कुलको नेतृत्व गरिरहेकी छन् । दुई दशक बढी समयदेखि शिक्षण पेशामा आबद्ध रिमाल विद्यार्थी, अभिभावक र शिक्षकहरूको त्रिकोणात्मक सहयोगले विद्यालय सञ्चालनमा सहज भएको बताउँछिन् । विष्णु घिमिरे रिमाल । उनी भन्छिन्, ‘हामी विद्यालयको हरेक काम समूहमा बसेर छलफल गर्छौं, नेतृत्वकर्तासँग समूह राम्रो छ भने हरेक चुनौतीसँग जुधेर अगाडि बढ्न सकिन्छ ।’ महिलामात्र अध्ययनरत पद्मकन्या विद्याश्रम काठमाडौंको डिल्लीबजारमा रहेको पद्मकन्या विद्याश्रम विद्यालय एउटा यस्तो विद्यालय हो, जहाँ महिला अर्थात छात्रामात्र अध्ययन गर्छन् । यो विद्यालय नेपालको सबैभन्दा पुरानो विद्यालयअन्र्तगत पर्छ । रिता तिवारी । राणाशासनमा महिलाको अध्ययनका लागि बनाइएको यो विद्यालयमा अहिले ८ सय ६० वटा विद्यार्थी अध्ययन गरिरहेका छन् । जुन विद्यालयको नेतृत्व गरिरहेकी छन् रिता तिवारीले । रिताको घर काठमाडौंको कमल पोखरी हो । उनले यो विद्यालयको नेतृत्व सम्हालेको १२ वर्ष भयो । एउटा निजी स्कुलबाट शिक्षकको रूपमा शिक्षण पेसा सुरु गरेकी उनी अहिले यो विद्यालयको प्रमुखका रूपमा काम गरिरहेकी छिन् । शिक्षक हुँदै प्रधानाध्यापकको पदसम्म पुग्दा उनले पनि धेरै संघर्ष गर्नुपर्यो । रिता भन्छिन्, ‘सुरु सुरुमा काम गर्न गाह्रो थियो, तर आजभोलि बानी भइसक्यो । काम गर्न पनि पहिलेको भन्दा अवस्था सहज भइसकेको छ ।’ विद्यार्थीलाई विज्ञान र गणित विषयमा अध्ययन गराउँदै आएकी उनी पहिलेभन्दा अहिले समाज परिवर्तन हुँदै गइरहेको बताउँछिन् । ‘समय परिवर्तन भएको छ, पहिले महिला घरभन्दा धेरै पर जाने अवस्था थिएन, उनीहरूलाई नेतृत्व दिँदासमेत नाक खुम्च्याइन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले महिला आफै प्रतिस्पर्धा गरेर नेतृत्वमा जानसक्ने भइसकेका छन्, यो खुसीको कुरा हो ।’ भानुलाई भव्य बनाउन चाहेकी शारदा भानु माध्यामिक विद्यालय काठमाडौंको रानीपोखरीमा अवस्थित छ । जहाँ इसीडी देखि कक्षा १२ सम्म पढाइ हुन्छ । यो विद्यालयमा अहिले करिब १ हजार जना विद्यार्थी अध्ययन गरिरहेका छन् । करिब एक हजार विद्यार्थीका लागि अध्ययन गराउने आन्तिरिक र सरकारी दरबन्दी गरेर अहिले यो विद्यायमा ४३ जना शिक्षक कर्मचारी छन् । यो विद्यालयको नेतृत्व गरिरहेकी छिन् शारदा पौडेलले । उनको घर स्याङ्जा हो । अहिले उनी काठमाडौंमा बस्छिन् । २०७१ सालदेखि भानु माध्यामिक विद्यालयमा आवद्ध उनी २०७८ सालदेखि प्रधानाध्यापकको भूमिकामा काम गरिरहेकी छिन् । शारदा अहिले पनि महिलालाई सितिमिति पत्याइहाल्ने समाज नभएको बताउँछिन् । उनी भन्छिन्, ‘पुरुष सहकर्मी धेरै छन्, उनीहरूलाई हरेक पल म काम गर्न सक्छु भन्ने प्रमाणित गरिरहनुपर्छ ।’ शारदा पौडेल । शारदा अहिले महिला नेतृत्वमा पुगे पनि गर्न सक्छु भन्ने विश्वास दिलाउन उनीहरूले धेरै मिहिनेत गर्नुपर्ने बताउँछिन् । ‘अहिले पनि म प्रधानाध्यापकको कुर्सीमा बसिरहँदा पनि हेडसर खोइ भनेर धेरैजना सोध्नुहुन्छ,’ उनी भन्छिन्, ‘अझै नेतृत्वतहमा पुरुष नै हुन्छन् र हुनुपर्छ भन्ने सोंच धेरैमा छ ।’ कसरतमा छिन् करुणा नेपाल आदर्श मावि काठमाडौंको गणबहालमा छ । यो विद्यालयको नेतृत्व तीन वर्षदेखि करुणा प्रधानले गरिरहेकी छिन् । शिक्षण पेसामा लागेको लामो समयपछि अहिले उनी विद्यालयको नेतृत्व गरिरहेकी हुन् । विद्यालयमा अहिले ४ सय ८५ जना विद्यार्थी अध्ययन गरिरहेका छन् भने ८५ जना शिक्षक कर्मचारी छन् । काठमाडौंमा जन्मे हुर्केकी करुणा महिलाहरू अहिले हरेक क्षेत्रको नेतृत्व तहमा पुगिसकेको बताउँछिन् । करुणा प्रधान । ‘महिलाले घरलाई सुन्दर बनाउँछिन्, घरभन्दा बाहिर जुन संस्थामा आवद्ध हुन्छिन्, तिनलाई पनि उनले सुन्दर बनाउँछिन्,’ उनी भन्छिन्, ‘महिलाले नेतृत्व गरेका शैक्षिक संस्थामात्र होइनन्, हरेक संस्था कम्पनी उत्कृष्ट बनेका छन् ।’ नेपाली समाज परिवर्तन भइसकेको भन्दै उनी अब पहिलेजस्तो संघर्ष गर्नुपर्ने अवस्था नरहेको बताउँछिन् । नन्दी माविमा गीताको नेतृत्व काठमाडौंको नक्सालमा रहेको नन्दी माविमा कक्षा १ देखि १२ सम्म अध्यापन हुन्छ । जहाँ अहिले ५ सय भन्दा बढी विद्यार्थीहरू छन् भने ३६ जना शिक्षक कर्मचारी छन् । गीता काफ्ले । यो स्कुलको नेतृत्व अहिले गीता काफ्लेले गरिरहेकी छिन् । वि.सं २०५० सालमा दोलखाबाट शिक्षण पेशा सुरु गरेकी उनी अहिले वि.सं २०६३ सालदेखि काठमाडौंको नन्दी माविमा आवद्ध छिन् । शिक्षकको रूपमा यो स्कुलमा प्रवेश गरेकी उनले वि.सं २०७२ सालदेखि यही विद्यालयमा प्रधानाध्यापकको भूमिका छिन् । गीता शिक्षण पेसामा मात्र नभइ हरेक संस्थामा काम गर्दा हुने चुनौतीले नै अवसर सिर्जना गर्ने बताउँछिन् । उनी भन्छिन्, ‘यात्राको दौरानमा कोही न कोही पछाडि कुरा काट्ने मान्छे आवश्यक हुँदो रहेछ, जसले थप संघर्ष गर्न दबाब सिर्जना गर्छ, जसको दबाबले राम्रो पदमा पुग्न मान्छेलाई सफल बनाउँछ ।’ गीता चुनौतीसँग लडेर सफलतामा पुग्नु नै रमाइलो हुने बताउँछिन् । उनी कुनै पनि नेतृत्वमा पुगेका महिलाले समयअनुसार आफूलाई अपडेट र आफ्नो समूहलाई मिलाएर लैजाने सामथ्र्य राख्न सके कसैले प्रश्न गर्ने ठाउँ नहुने उनको अनुभव छ । पद्मोदयको प्रमुख पोखरेल काठमाडौंको पुतलीसडकमा रहेको पद्मोदय माध्यमिक विद्यालय सामुदायिक विद्यालय हो । यो विद्यालयमा पनि विद्यार्थीको आकर्षण बढेको छ । यहाँ ईसीडीदेखि कक्षा १२ सम्म अध्ययन गराइन्छ । एसईई र प्लस टुमा राम्रो नतिजा आउने यो विद्यालयमा विद्यार्थीको भर्नाको समयमा निकै सकस हुने गरेको शिक्षकहरू बताउँछन् । तर, भवनको अभावमा विद्यार्थी आएजति भर्ना गर्न सकिने अवस्था छैन । अहिले कक्षा १ देखि १० कक्षामा मात्र ६ सय बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । डा. शर्मिला पोखरेल । यसैगरी, प्लस टुमा ७ सयभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यो विद्यालयको नेतृत्व अहिले डा. शर्मिला पोखरेलले गरिरहेकी छिन् । ‘पद्मोदयको इच्छा, संस्कारयुक्त गुणस्तरीय शिक्षा’ भन्ने नारा दिएर सञ्चालनमा आएको यो विद्यालयको नेतृत्व गरिरहेकी शर्मिला विद्यार्थीलाई शिक्षामात्र नभई संस्कार दिन आवश्यक रहेको बताउँछिन् । जबरजस्त नेतृत्व गरेकी जानुका गुणस्तरीय शिक्षा दिँदै आएको अर्को विद्यालय हो नीलबाराही माध्यमिक विद्यालय, जुन काठमाडौंको टंकेश्वरमा रहेको छ । हाल एक हजार बढी विद्यार्थी अध्ययनरत रहेका यो विद्यालयमा ईसीडीदेखि कक्षा १२ सम्म अध्ययनपन हुने गर्छ । डा. जानुका नेपाल । सामुदायिक विद्यालयमा राम्रो नतिजा ल्याउन सफल यो विद्यालयको प्रधानाध्यापक हुन् डा. जानुका नेपाल । काभ्रेको साँगामा रहेको जनज्योति माविबाट शिक्षणको काम सुरु गरेकी जानुका हाल २० वर्षदेखि यो विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा रहेकी छिन् । ३३ वर्षदेखि शिक्षण पेशामा आवद्ध जानुका विभिन्न चुनौतीसँग लड्दै यो स्थानसम्म आइपुगेकी हुन् । नील बाराहीको नेतृत्व गर्दा पनि उनले निकै चुनौती खेप्नु परेको थियो । महिलाले नेृतृत्व गर्न सक्छन् र भन्ने पुरुषवादी सोंचका कारण प्रधानाध्यापक बन्न नै संघर्ष गर्नुपरेको उनले बताइन् । विद्यालयमा प्रधानाध्यापकको भूमिका खाली हुँदा विद्यालय व्यवस्थापन समिति र त्यो बेलाको वडा सचिवले जानुकालाई विश्वास गर्न सकेनन् । प्रधानाध्यापक बाहिरबाट ल्याउनुपर्छ भन्ने कुरा उठिरहेको बेला जानुकाले म जिम्मेवारी लिन्छुभन्दा पनि स्वीकार गर्न सकेनन् । ‘विद्यालयका अन्य शिक्षकहरूले म्याडमले नै नेतृत्व गर्न सक्नुहुन्छ भनेपछि बल्ल मलाई पत्याएको हो, यो समाज सितिमिति महिलालाई विश्वास गर्न सक्दैन,’ जानुकाले भनिन् ।
शिक्षिकाबाट उद्यमी बनेकी अञ्जु
काठमाडौं । जब उनले किन्डरगार्डेन शिक्षकको रूपमा काम सुरु गरिन् तब उनको शिक्षाप्रति मोह बस्यो । त्यो मोह यस्तो थियो कि न उनलाई डाक्टर बन्नुपर्छ भन्ने लाग्यो न अधिकृत । उनलाई केबल लाग्यो अब म शिक्षक बन्नुपर्छ । कक्षामा गएर जब तीन/चार वर्षका बालबालिकासँग रमाउँथिन् लाग्थ्यो, म एउटा फूलबारीमा छु, जहाँ थरिथरिका फूल र कोपिलासँग रमाइरहेकी छु । त्यही मोहले शिक्षा क्षेत्रमा सुनौलो भविष्य बनाइरहेकी एक शिक्षिका अञ्जु भट्टराई उद्यमी बन्न पुगिन् । अन्जु काठमाडौंको कागेश्वरी मनोहरा ९ मा रहेको अक्षरा स्कुलकी कार्यकारी निर्देशक हुन् । २८ वर्षदेखि शिक्षा क्षेत्रमा जमेकी उनले विभिन्न पदमा रहेर काम गरिन् । तीन वर्ष किन्डर गार्डेनको शिक्षक, ७ वर्ष कन्सल्टेन्सीको निर्देशक हुँदै १४ वर्षसम्म अक्षरा स्कुलमा प्रधानाध्यापकको भूमिकामा रहेकी उनी दुई वर्षदेखि सोही स्कुलको निर्देशकको भूमिका छिन् । किन्डरगार्डेनदेखि निर्देशकसम्मको यात्रामा पुग्दा सजिलो भने पक्कै थिएन । आएका बाधा व्यवधानसँग जुझ्दै उनी अहिले एक कुशल नेतृत्वकर्ता बनेकी छन् । उनी भन्छिन्, ‘महिला भएर नेतृत्वमा पुग्न खुब संघर्ष गर्नुपर्दो रहेछ ।’ अब्बल अञ्जु, रोलमोड आमा अञ्जुको जन्मघर खोटाङ दिक्तेल हो । उनका बुवा नेपाल आर्मीमा सरकारी जागिरे अनि आमा उद्यमी हुन् । जुन ठाउँ बुवाको सरुवा हुन्थ्यो प्राय: त्यही ठाउँमा पुगेर उनकी आमा व्यवसाय सुरु गर्थिन् । यही क्रममा अन्जुको जन्म पनि ताप्लेजुङमा भयो । उनी दुई/तीन वर्षकी हुँदा आमा फिदिङ सरिन् । उनको बाल्यकाल केही समय फिदिङमा वित्यो । विस्तारै छोराछोरी बढ्दै गएपछि आमाले निधो गरिन् अब एकै ठाउँ बसेर छोराछोरी पढाउनुपर्छ । त्यसपछि उनी पनि आमासँगै खोटाङ दिक्तेल आफ्नो घर फर्किन् । त्यो समयमा छोरीहरू पढाउनुपर्छ भन्ने सोंच आइसकेको थिएन । तर, छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोच भएका अभिभावकले छोरीलाई स्कुल भर्ना गराइरहेका थिए । अञ्जुका बुवाआमालाई पनि छोरीलाई पढाउनुपर्छ भन्ने थियो । उनलाई खोटाङमै रहेको सरस्वती माविमा भर्ना गरियो । अञ्जु पछिका दुईजना भाइलाई विराटनगरमा बोर्डिङमा अध्ययन गर्न राखियो । अञ्जुका लागि घरमै शिक्षक राखियो । ‘छोरी पढाउन हुँदैन भन्ने बेला पनि मेरो लागि बुवाले घरमै शिक्षक राखिदिनुभयो, जसरी हुन्छ छोरीलाई पढाउनुपर्छ भन्ने आमाबुवाको अठोट र मेरो मिहिनेतले म यो ठाउँमा पुगेकी हुँ,’ विकासन्युजसँग कुरा गर्दै उनले भनिन् । अञ्जुले २०५३ सालमा एसएलसी दिइन् । एसएलसीमा उनले राम्रो अंक ल्याइन् । त्यो बेला एसएलसीमा फर्स्ट डिभिजन ल्याउनु धेरै राम्रो मानिन्थ्यो । अञ्जुले खोटाङ जिल्लाबाटै उत्कृष्ट नम्बर ल्याएर पास गरिन् । गाउँमा राम्रो नम्बर ल्याएर एसएलसी पास गरिसकेपछि उनी प्लस टुका लागि मधेस झरिन् । अञ्जुको घर विराटनगरमा पनि थियो । उनले त्यहाँ कक्षा ११ मा व्यवस्थापन विषय लिएर अध्ययन सुरु गरिन् । बिहान कलेज गएर पढ्दा दिउँसोको समय खाली हुन्थ्यो । त्यही खालि समयमा सुरु गरिन् पढाउने काम, जुन कामले उनलाई अहिले पनि खुसी दिएको छ। अन्जुलाई आफ्नी आमा र उनको संघर्ष गर्दा मिहिनेत गर्नुपर्छ भन्ने सानैदेखि लाग्थ्यो । के सानो, के ठूलो उनी जहाँ पुग्यो उतै केही न केही व्यवसाय सुरु गर्थिन् । उनलाई हेर्दा अञ्जुलाई लाग्थ्यो संघर्ष नै जीवनको सबैभन्दा ठूलो कर्म हो । उनलाई खोटाङका पहाड देख्दा लाग्थ्यो- मेरी आमा यही पहाड हुन्, जसले जस्तो परिस्थितिलाई पनि सहज बनाउँथिन् । अञ्जु आफ्नो संघर्ष र आफू यो ठाउँमा पुग्नुको पछाडि आमाको भूमिका महत्त्वपूर्ण रहेको बताउँछिन् । आमाले गरेको हिम्मत र आँटले पेटमा बच्चा हुँदा पनि काम गर्न नछोडेको अनुभव सुनाउँछिन् । भन्छिन्, ‘आफूलाई कहिले दिक्क लाग्दा आमालाई सम्झन्छु, आमाको संघर्षलाई हेर्छु फेरि, आफै सहज भएको महसुस गर्छु ।’ शिक्षणको सुरुवात अञ्जुले सबैभन्दा पहिले शिक्षणको सुरुवात विराटनगरको पुस्पलाल चोकमा रहेको प्यारागन बोर्डिङ स्कुलबाट गरेकी थिइन् । जहाँ उनले किन्डरगार्डेन शिक्षक रूपमा काम सुरु गरिन् । त्यो बोर्डिङको प्रधानाध्यापक थिइन् सावित्रा काफ्ले । उनी सावित्रालाई देखेर पनि आफू यो क्षेत्रमा प्रभावित भएको बताउँछिन् । उनले त्यहाँ तीन वर्ष काम गरिन् । त्यसपछि उनी स्नातकका लागि काठमाडौं आइन् । उनी काठमाडौं आउँदा बोर्डिङको काम छोड्नि । विसं २०५८ सालमा पढ्न काठमाडौं आएकी उनले २०५९ सालमा विवाह गरिन् । विवाह गरेको १ वर्षमै छोरा जन्मियो । त्यसको अर्को वर्षमै अर्को छोरा जन्मियो । उनका श्रीमान पनि यही शिक्षा क्षेत्रका व्यवसायी थिए । उनको काठमाडौंमा विद्यालय कलेज थिए । ‘शिक्षा क्षेत्रमै काम गर्न मन पराउने म जीवनसाथी पनि यही क्षेत्रको पाउनु भनेको मेरा लागि शिक्षा क्षेत्र नै हो भन्ने जस्तो लाग्यो,’ उनी भन्छिन्, ‘सायद म जन्मेकै शिक्षा क्षेत्रमा काम गर्नको लागि हो, मलाई मन पर्ने पेसा पनि यही थियो, पछि जीवनसाथी पनि यही क्षेत्रको भेटेँ र पनि मलाई यो क्षेत्रमा काम गर्न सहज भयो ।’ बाआमाको चाहना सरकारी जागिर अञ्जुलाई यही शिक्षण पेसा मन परिसकेको थियो । तर, उनका बुवाआमालाई भने छोरी सरकारी जागिरे भइदिए हुन्थ्यो भन्ने थियो । हरेक बाआमालाई आफ्नो सन्तानप्रति चिन्ता हुन्छ यो स्वाभाविक हो । किनकि सरकारी जागिरे हुँदा छोरीको भविष्य सुनिश्चित हुन्छ भन्ने सोंच बाआमाको थियो । उनको परिवारमा पनि प्रायः सबै जना सरकारी जागिरे थिए । सरकारी जागिर हुँदा भविष्य सुरक्षित ठानिन्छ । अझ छोरीका लागि सबैभन्दा सुरक्षित अहिले पनि ठानिन्छ । आमाबुवाकै मन राख्न अञ्जुले प्लस टु पढ्दै गर्दा सरकारी जागिरको तयारी गर्नुपर्यो भन्ने लाग्यो । उनले केही समय यसको तयारी पनि गरिन् । तर, उनको भित्री मनले मानिरहेको थिएन । ‘मेरो मनले नै नमानिरहेको क्षेत्रमा मैले कसरी प्रगति गर्न सक्थेँ र ? त्यसपछि मैले तयारी नै गर्न छोडेँ,’ विगत सम्झँदै अञ्जुले भनिन् । उनलाई अब फरक खालको शिक्षा काठमाडौंमा आफै सुरु गर्नुपर्छ भन्ने लाग्यो । उनलाई काठमाडौंमा सञ्चालन भइरहेको शिक्षाभन्दा फरक खाले शिक्षा दिने हुटहुटी थियो । जहाँ विद्यार्थीले किताबका कुरामात्र होइन , योग ध्यान, आध्यात्मिक कुरा पनि सिक्न पाऊन् । हामी कसका सन्तान हौं, हामीले पूज्दै आएका भगवान को हुन् ? उनीहरूले दिन खोजेको सन्देश के हो ? यस्ता ज्ञान विद्यार्थीलाई सिकाउन आवश्यक रहेको महसुस उनलाई लाग्यो । त्यसपछि परिकल्पना गरिएको स्कुल हो- अक्षरा स्कुल । अञ्जु आफ्नो रुचि बुझेर काम गर्दा पछि खुसी मिल्ने बताउँछिन् । कुनै पनि व्यक्तिले आफ्नो रुचि बुझ्न सक्नुपर्छ । भन्छिन्, ‘म आफ्नो काममा खुसी छु, मैले जे मन पर्यो त्यही क्षेत्रमा काम गर्ने अवसर पाएँ ।’ अक्षरा स्कुल आजभन्दा १५ वर्षअघि ‘संस्कारयुक्त शिक्षा’ भन्ने अवधारणासहित जन्मेको विद्यालय हो अक्षरा । ८६ जना विद्यार्थी र तीन रोपनी जग्गाबाट सुरु भएको यो विद्यालयमा अहिले ७ सय बढी विद्यार्थी छन् भने २३ रोपनी जग्गामा स्कुल फैलिएको छ । यो विद्यालयमा २ सय ३० जना शिक्षक कर्मचारी छन् । विद्यार्थीलाई किताबी ज्ञानसँगै उनीहरूलाई माटो र प्रकृतिसँग लडिबुडी गर्न सिकाउनु विद्यालयको उद्देश्य हो । यही उद्देश्यलाई मध्येनजर गर्दै विद्यालयले विद्यार्थीका लागि उस्तै खेल मैदान बनाएको छ । ‘स्कुल जाने भनेपछि चिटिक्क, सफा सुग्घर भएर जानुपर्छ भन्ने बुझाइ सहरी क्षेत्रका अभिभावकको छ, यो राम्रो हो तर, विद्यार्थीलाई माटो के हो माटोमा लडीबुडी गर्दाको अनुभव कस्तो हुन्छ भन्ने अनुभव पनि लिन दिनुपर्छ,’ अन्जु भन्छिन, ‘यही भावनालाई मध्यनजर गर्दै हामीले बालबालिकाले खेल्ने ठाउँ पनि त्यस्तै बनाइएका छौं ।’ सहर बजारका बालबालिका अहिले माटो र प्रकृतिबाट पनि उत्तिकै टाढा छन् । उनी माटो र प्रकृतिबाट टाढा रहेर विद्यार्थीले राम्रो शिक्षा ग्रहण गर्न नसक्ने बताउँछिन् । ‘धेरै सेवा सुविधाका कारण विद्यार्थीले संघर्ष गर्न सिकेका छैनन्, हामीले यस्ता विद्यार्थीलाई विद्यालयमै सिकाउने अभ्यास गरिरहेका छौं,’ अन्जुले भनिन् । सहरमा विद्यार्थी समाज कम पाउँछन् । गाउँमा समाजबाटै विद्यार्थीले धेरै कुरा सिकिरहेका हुन्छन् तर विद्यालय शिक्षामा धेरै सीमाहरु हुन्छ । गाउँको तुलनामा ठ्याक्कै उल्टो सहरमा हुन्छ । यसलाई मध्यनजर गर्दै अक्षरा विद्यायले सबै वातावरण उपलब्ध गराउने प्रयास गरिरहेको उनले बताइन् । यो स्कुलले इतिहास, योग ध्यान अध्यात्म र संस्कृत शिक्षालाई पनि शिक्षासँग जोड दिइरहेको छ । जहाँ क्रिकेट खेल्न, फुटबल खेल्नदेखि लिएर हरेक खेलहरू खेल्न खेलमैदान छ भने गुणस्तरीय शिक्षाका लागि म्याथ ल्याब, साइन्स ल्याब लाइब्रेरीलगायतका प्रविधिहरू पनि पठन संस्कृति विद्यालयमा छन् । जसका कारण यो विद्यालय अभिभावकको रुचिमा परेको छ । शिक्षिकाबाट उद्यमीसम्म एउटा सामान्य शिक्षकबाट सुरु भएको अञ्जुको शैक्षिक यात्रा अहिले शैक्षिक उद्यमीका रूपमा अगाडि बढेको छ । तीन वर्ष शिक्षक र २५ वर्ष निर्देशकको भूमिकामा रहेर काम गरेकी अञ्जुलाई शिक्षक र व्यवस्थापन काम गर्न कुन पाटो सजिलो भनेर गरिएको प्रश्नमा उनी भन्छिन्, ‘शिक्षक एउटा बन्दा कोठाभित्रको उत्तरदायित्व हो, यसमा जिम्मेवारी लिने कुरा सीमित हुन्छ भने निर्देशक बनेर विद्यालयको नेतृत्व गर्दा जिम्मेवारी पनि ठूलो हुन्छ ।’ एउटा नेतृत्वकर्ताको काँधमा विद्यार्थीमात्र होइन अभिभावक, शिक्षक, कर्मचारी लगायतको जिम्मेवारी हुन्छ । ‘बालबालिकालाई पढाइसँगै सहकार्य गर्न, रचनात्मक काम गर्ने क्षमता सिर्जनात्म्क काम गर्ने क्षमता, नेतृत्वदायी क्षमताका विषयमा बढी सिकाउन आवश्यक छ,’ उनी भन्छिन् । उनी शिक्षकदेखि उद्यमीसम्मको यात्राले आफ्नो सोंचलाई समेत बहुआयामिक बनाएको दाबी गर्छिन् । भन्छिन्, ‘म एउटै कुरालाई धेरै तरिकाले सोंच्न सक्छु, म शिक्षकको पीडा र कामलाई पनि महसुस गर्न सक्छु, बुझ्न सक्छु शिक्षक बनेर विद्यालयमा साथीहरूलाई सहयोग गर्न पनि सक्छु, शिक्षक भएर काम गरेकाले यो पीडा पनि बुझ्ने क्षमता छ ।’ महिलाले नेतृत्व गरेको संस्था अब्बल आजभोलि शिक्षा क्षेत्रमा महिलाको सहभागिता बढ्दो छ । राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहभागिता हुने गरेको भएपनि त्यो पर्याप्त छैन । नारी एउटा नारी मात्र नभइ आमा, छोरी, बुहारी सबै हुँदा उसको जिम्मेवारीले अघि बढ्न समस्या हुने गरेको अञ्जु बताउँछिन् । ‘महिलालाई कार्यालय, घरसँगै छोराछोरी जन्माउने, हुर्काउने जिम्मा पनि हुन्छ,’ उनी भन्छिन्, ‘पहिलेभन्दा अहिले सम्मान र अवसर बढ्दै गएको छ, तर सन्तान जन्माउनुपर्ने कारणले समाजका लागि गर्नुपर्ने योगदान दिन सकस हुन्छ ।’ उनका अनुसार अवसरका ढोकाहरू भने बढ्दै गएका छन् । हरेक संघसंस्थामा पुरुषको नेतृत्व बढी हुने गरेको भएपनि महिलाले नेतृत्व गरेका संस्था पुरुषले नेतृत्व गरेको तुलनामा अब्बल हुने गरेको उनको बुझाइ छ । अञ्जुलाई अझै यो स्कुललाई कसरी उत्कृष्ट बनाउने भन्ने हुटहुटी छ । यसका लागि उनी अभिभावक, शिक्षक, विद्यार्थीसँग बारम्बार छलफल गर्छिन् । अब छिट्टै १२ का कक्षा सुरु गर्ने तयारी विद्यालयको छ । ‘विद्यार्थीको सर्वाङ्गीण विकास गर्नुपर्छ, त्यसमा पनि विद्यार्थीमा सबैभन्दा संस्कार महत्त्वपूर्ण हो,’ उनी भन्छिन् ,‘पछिल्लो समय आध्यात्मिक चेतनाको जनजागरणमा पनि विद्यालयले काम गरिरहेको छ ।’ विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने, नेपालीपन सनातन संस्कृति, नेपालको इतिहास, नेपालको माटो चिन्न सक्ने व्यक्ति बनाउन सक्नु नै विद्यालयको सफलताको रूपमा लिन सकिने उनको भनाइ छ । ‘जिन्दगीका गोरेटामा सुख, दुःख आउँछन्, त्यसलाई सामना गर्दै संर्घर्ष गरी अघि बढे आफ्नो लक्ष्यमा पुग्न सकिन्छ । तर, आफ्नो रुचि स्पष्ट हुनुपर्छ,’ उनले भनिन् । सरकारको पाठ्यक्रम अक्षरा विद्यालयले नेपाल सरकारको पाठ्यक्रम अनुसार कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । प्राथमिक शिक्षादेखि १० कक्षासम्म अध्ययन गराउँदै आएको यो विद्यालयले कक्षा कोठाभित्रको सिकाइ प्रविधिमा बालमैत्रीपूर्ण वातावरणमा अध्ययन गराउँदै आएको छ । निर्देशक अञ्जु नेपाल सरकारको पाठ्यक्रम उत्कृष्ट रहेको बताउँछिन् । उनी भन्छिन्, ‘पाठ्यक्रम राम्रो छ तथापि केही सुधार गर्नुपर्ने पक्ष पनि छन् ।’ उनी पाठ्यक्रममा विषयवस्तु धेरै भएर अवधारणा अनुसार काम हुन नसकेको बताउँछिन् । ‘पाठ्यक्रमको आफ्नै खुट्टा हुँदैन, यो आफै चल्न सक्दैन, त्यसलाई कार्यान्वयन गर्ने जिम्मा शिक्षा विद्यालयको हो,’ उनले भनिन् । शिक्षा अनुभवमा आधारित हुनुपर्छ । त्यसका लागि ज्ञान, सीप र व्यवहार आवश्यक हुन्छ । अञ्जु नेपालको समग्र शिक्षा हर्दा पाठ्यक्रमको कार्यान्वयन पक्षमा कमजोर रहेको बताउँछिन् । यसका लागि शिक्षकहरूमा तालिमको कमी देखिन्छ । ‘सरकारी स्कुलमा शिक्षकलाई तालिम बढी छ अभ्यास र प्रयोगको कमी छ, निजी स्कुलमा तालिम कम छ अभ्यास गर्न प्रयास गरेको देखिन्छ,’ उनी भन्छिन् ।