हेराल्ड कलेजका ६२१ जना विद्यार्थी दीक्षित
काठमाडौं । हेराल्ड कलेज काठमाडौंको वार्षिक दीक्षान्त समारोह सम्पन्न भएको छ । होटेल याक एण्ड यतीमा आयोजित कार्यक्रममा कलेजबाट कूल ६२१ विद्यार्थीहरू दीक्षित भएका हुन् । जसमा ४२८ स्नातक (ब्याचलर्स) डिग्री प्राप्त गर्ने र १९३ स्नातकोत्तर (मास्टर्स) डिग्री प्राप्त गर्ने विद्यार्थीहरू छन् । कलेजले दीक्षित हुनु प्रत्येक विद्यार्थीको जीवनको एक महत्त्वपूर्ण माइलस्टोन भएको र यो समारोहले विद्यार्थीहरूको शैक्षिक उपलब्धि माइलस्टोन र नयाँ अध्ययनको सुरुवातको सन्देश दिने उल्लेख गरेको छ । वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ । यस वर्षको छात्रवृत्ति हेराल्ड कलेज बिएससी (अनर्स) कम्प्युटर साइन्सका विद्यार्थी धिरजकुमार साह कानुलाई प्रदान गरिएको छ । उनले एपेक्स कलेजमा एमबिए अध्ययनलाई निरन्तरता दिने छन् । यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन् । आफ्नो मुख्य मन्तव्यमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमाहरुमा रोजगार पाइरहेको बताए । उनले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरू सूचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राखे । अध्यक्ष बुढाथोकीले नेपालमा बेलायती शिक्षाले गर्दा विद्यार्थीमा स्वअध्ययन बढेको धारणा समेत व्यक्त गरे ।
एपेक्स कलेजको दीक्षान्त समारोह सम्पन्न
काठमाडौं । एपेक्स कलेजले क्लास अफ २०२४ को सम्मानमा विशेष दीक्षान्त समारोह आयोजना गरेको छ । वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ । यस वर्ष, कलेजबाट कूल २५८ विद्यार्थीहरू दीक्षित हुँदैछन्, जसमा १५० स्नातक ( ब्याचलर्स) डिग्री प्राप्त गर्ने र १०८ स्नातकोत्तर (मास्टर्स) डिग्री प्राप्त गर्ने विद्यार्थीहरू छन् । यी विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुर्याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्नेछन् । यस वर्षको छात्रवृत्ति एपेक्स कलेज बिबिए – बैंकिङ र इन्स्योरेन्सका विद्यार्थी यादव प्रसाद पाण्डेलाई प्रदान गरिएको छ । एपेक्स कलेजका १५० विद्यार्थीहरूमध्येबाट उनी छानिएका हुन् । उनले एपेक्स कलेजमै एमबीए अध्ययनलाई निरन्तरता दिने छन् । यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।
जग विकासका लागि बाल विकास शिक्षामा महानगरको प्राथमिक लगानी छ : उपप्रमुख डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि काठमाडौं महानगरपालिकाले थालेका कार्यक्रममध्ये प्रारम्भिक बाल विकास कार्यक्रम महत्वपूर्ण रहेको बताएकी छन् । मंसिर २१ र २२ गते विराटनगरमा आयोजना हुने ‘इन्टरनेशनल कन्फरेन्स अन : इनभिजनिङ् अर्लि चाइल्डहुड डिभलपमेन्ट इकोसिस्टम’ कार्यक्रममा सहभागी हुने क्रममा शिक्षाविद्हरू काठमाडौं महानगरपालिकासँग ज्ञान, सिप र अनुभव आदानप्रदान गर्न काठमाडौं आएका थिए । त्यस क्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रियात्मक संवाद गरिएको थियो । संवादका क्रममा उपप्रमुख डंगोलले, महानगरपालिकाले शिक्षा नीति, शैक्षिक कार्यक्रम, पूर्वाधार विकास, मानव पुँजी विकास, शिक्षक-विद्यार्थी, विद्यालय र अभिभावकको सम्बन्धमा जोड दिएको बताएकी हुन् । शैक्षिक सामग्री बनाउँदा स्थानीय स्रोत र उपलब्ध बस्तुको प्रयोग, एकीकृत र सिर्जनात्मक सिकाइ, शिक्षामा सिप कार्यक्रमबाट प्राप्त भएको नतिजा सकारात्मक भएको उल्लेख गर्दै उनले, आफ्नो संस्कृति, आफ्नै परिवेश अनुरूपको सिकाइबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादनमा जोड दिएको बताएकी छन् । छलफलका लागि सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले प्रस्तुतीकरण गरेका थिए । उनका अनुसार प्रारम्भिक बाल विकास कक्षा शिक्षकलाई सरकारले दिएको तलबमा महानगरपालिकाले मासिक थप १० हजार रुपैयाँ थप दिएको छ । कार्यक्रमका आधारमा बजेट थपेको छ । बाल विकासका एउटा कक्षामा २५ जनाभन्दा धेरै विद्यार्थी नराख्ने मापदण्डका आधारमा कक्षा सञ्चालन गरेको छ । महानगरपालिकाले शिक्षा नीतिमा समेटेर कार्यान्वयनमा ल्याउन खोजेका प्रयासहरू अन्तर्राष्ट्रिय स्तरमा पनि प्रयोगमा ल्याउन लागिएको जानकारी प्राप्त भयो । शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले भने, ‘यो भनेको, हामीले लिएको लक्ष्य समय सान्दर्भिक छ, भन्ने हो ।’ विद्यार्थीहरूलाई प्राकृतिक वातावरणमा अध्यापन गराउनु पर्छ । छलफलमा संयुक्त राज्य अमेरिकाको वल्र्ड फोरम फर अर्लि केयर एण्ड एजुकेसन निर्देशक किस्र्टन हगेनले भने, ‘प्राकृतिक वातावरण भएको ठाउँमा बन्द कोठा निर्माण गरेर अध्यापन गराउने अभ्यासमा परिमार्जन गर्नुपर्छ । सिकाइ भनेको स्थानीय परिवेशमा बालबालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकास अनुकूल हुनुपर्छ ।’ छलफलका क्रममा पाकिस्तानका ह्युमन डिभलपमेन्ट फाउन्डेसनका निर्देशक ताइब जानले भने, ‘उपचार समाधान होइन । निरोगी हुनु दिगो समाधान हो । प्रारम्भिक बाल विकास कक्षा उपचार होइन, निरोगी हुने उपाय हो ।’ भारतको मोबाइल ट्रेसका कार्यकारी निर्देशक चिराश्री घोषले, अभिभावकको रोजगारीका कारण बालबालिकाको रेखदेख र हेरचाहमा कमजोरी हुन दिन नहुने कार्यक्रम आवश्यक रहेको उल्लेख गरे । यस्तै भारतकै नेशनल फोर्सेस फर चाइल्ड केयरका संयोजक डा. अपराजिताले, काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको बुक फ्रि फ्राइडे कार्यक्रम सिकाइमा उपयोगी अभ्यास रहेको बताउँदै भने, ‘भारतमा अभ्यास गरिएको वुक फ्रि फ्राइडे क्रमशः स्पोर्टस डे बनेको थियो । यो स्पोट्सका लागि मात्र होइन । मर्मअनुसार सञ्चालन गर्न यसमा नियमित निगरानी चाहिन्छ ।’