एआईकेन्द्रित प्रोजेक्टमा व्यस्त आईएसएमटीमा अध्ययनरत विद्यार्थी, समाजको हितमा काम गर्ने लक्ष्य
काठमाडौं । जनकपुरका जमाल राइन अहिले काठमाडौंको तीनकुनेमा रहेको आईएसएमटी कलेजमा अध्ययन गरिरहेका छन् । आईटी अन्तिम सेमिस्टरमा अध्ययनरत उनले बिहीबार एउटा प्रोजेक्टको ‘डेमो’ सो गरे । साथीहरूसँग मिलेर बनाएको ‘फायर डिटेक्सन अर्लाराम सिस्टम’ नामक प्रोजेक्ट थियो । जसको उद्देश्य कुनै ठाउँ अथवा भवनमा आगलागी हुनेबित्तिकै प्रहरी, एम्बुलेन्स, दमकल, अग्निनियन्त्रकलाई एकै पटक ३० सेकेन्डमा जानकारी गराउनु हो । कुनै भवनमा आगलागी हुँदा कसरी छिटोभन्दा छिटो आगो निभाउने, आफूलाई जोगाउने, कसरी छिटो जानकारी पाउने भन्नेबारे जानकारी दिन यो प्रोजेक्ट बनाएका हुन् । जमालले बनाएको प्रोजेक्टमा कुनै ठाउँ आगलागी हुँदा क्यामेराले फोटो खिच्छ । जहाँ क्यामरामा अग्नि नियन्त्रक, दमकल, प्रहरी, एम्बुलेन्स सबैको नम्बर, इमेल सबै सेट गरिएको हुन्छ । आगो लाग्नेबित्तिकै त्यो क्यामेराले फोटो खिचेर सबै निकायलाई एकै पटक सिग्नल दिन्छ । जसकारण सबै निकायले समयमै जानकारी पाउने र धेरै क्षति हुन पाउँदैन । यो प्रोजेक्टमा त्यो क्यामरा कहाँ राख्ने, नम्बर कसरी सेट गर्ने, उसले एकै पटक फोटो कसरी खिच्ने धेरै टेक्निकल पाटा छन् । आफूले बनाएको प्रोजेक्टबारे जानकारी दिँदै उनले नेपालमा अहिलेसम्म यस्तो खालको टेक्निकल सिस्टम नभएको बताए । उनी पढाइसँगै अब यही प्रोजेक्टमा थप अध्ययन गरेर काम गर्न सक्ने बताउँछन् । ‘अहिले हामीले बनाएको भनेको डेमो हो, हामीले यसैमा काम गर्न पनि सक्छौं, यसका लागि शिक्षक, साथीभाइहरूको सल्लाह लिँदैछौं,’ उनी भन्छन्, ‘हामी यो विषयमा थप नयाँ कुरा खोजिरहेका छौं ।’ उनी यो प्रोजेक्ट लागू गर्न सक्ने हो भने नेपालमा हुने आगलागीबाट हुने धेरै क्षतिलाई रोक्न सक्ने बताउँछन् । यो विषयमा जमाललाई चौथो सेमेस्टरमै पढाइ हुँदा एकजना शिक्षकले आइडिया दिएका थिए । त्यही आइडियाले प्रोजेक्ट तयार पारेको उनी बताउँछन् । जमालको प्रविधितर्फ यति रुचि छ कि उनी जनकपुरबाट आइटी कलेज खोज्दै काठमाडौं पुगे । प्लस टुमा कम्प्युटर साइन्स लिएर जनकपुरमै अध्ययन गरेका उनी आईटी पढ्न काठमाडौं आएको बताउँछन् । जमाललाई कम्प्युटर विषय पढ्न र त्यसमै काम गर्न रमाइलो लाग्छ । कम्प्युटरको माध्यमबाट नयाँ आइडिया लिएर आईटी क्षेत्रमै केही गर्ने चाहना उनको थियो । आफ्नो लागि उत्तम कलेजका रूपमा आईएसएमटी छनोट गरेका अब आइटीमै मास्टर्स गर्न विदेश जाने योजनामा छन् । ‘म काम गर्न नेपालमै आउँछु, विदेशमा पढ्नमात्र जान्छु,’ उनी भन्छन्, ‘अब पढाइ सकिँदैछ, एक-दुई वर्ष यतै इन्टर्नसिप गर्छु, त्यसपछि थप ज्ञान लिन बाहिर जान्छु ।’ अहिले मार्केटमा एआईको राज नै चलेको छ । शिक्षा, स्वास्थ्य, प्रविधि हरेक क्षेत्रमा एआईले काम गरिरहेको छ । विदेश गएर एआईकै विषयमा पनि अध्ययन गर्ने उनको योजना छ । जनकपुरका विकास साहको योजना पनि जमालकै जस्तो छ । यो प्रोजेक्टको आइडियामा उनको पनि हात छ । उनी पनि प्लस टु जनकपुरमै पढेर आईएसएमटीमा अध्ययन गरिरहेका छन् । सँगै पढेको काम पनि सँगै मिलेर गर्ने योजना रहेको बताउँछन् । गोदावरीकी दिव्या थापा अहिले आईएसएमटी आईटी पहिलो सेमेस्टर अध्ययन गरिरहेकी छिन् । उनलाई एपहरू कसरी मनाइन्छ, यसलाई कसरी निर्माण गरियो जस्ता कुरामा उनलाई जान्न मन लाग्छ । उनी यो विषयमा शिक्षकसँगै सिनियर साथीहरूसँग पनि चासो राख्छिन् । उनलाई पनि अहिलेको सबैभन्दा आवश्यक र नभइ नहुने क्षेत्र आईटी लाग्छ । दिव्या यही विषयमा अध्ययन गर्न एक वर्ष ड्रप गरेको बताइन् । ‘प्लसटु पढें, योभन्दा माथि कुन विषय रोज्दा राम्रो हुन्छ भन्ने बुझ्न एक वर्ष लाग्यो,’ उनी भन्छिन्, ‘बुझ्दै जाँदा आईटी नै महत्त्वपूर्ण लाग्यो, मेरो सीप, ज्ञानअनुसार मैले यो विषय रोजेकी हुँ ।’ उनले पनि साथीहरूसँग मिलेर एउटा अनलाइन प्रोजेक्ट बनाएकी छन् । अहिलेको समय र युवाहरूको रुचिअनुसार ‘डेट विथ कोडर’ जहाँ युवायुवतीहरूले एकअर्कालाई डेट गर्न सक्छन् । यसका लागि उनीहरू दुवैजनाको गोपनीयता कायम राखी एकअर्कासँग भेट गराई डेट गर्न यसले भूमिका खेल्छ । यसको लागि छुट्टै वेबसाइट निर्माण गरी प्रोजेक्ट बनाएको उनले सुनाइन् । उनले बनाएको यो प्रोजेक्टको डेमो सो गरेकी छिन् । उनी साथीहरूको सल्लाहअनुसार यसलाई बजारमा ल्याउन पनि सकिने बताउँछन् । दिव्यालाई नेपालमै पढेर प्रोजेक्ट निर्माण गरी काम गर्ने रुचि छ । उनी यसका लागि नेपालकै कम्पनीका इन्टर्नसिप गरेर आफै केही गर्ने योजनामा छिन् । ‘एकैचोटि आफै केही गर्छु भन्न सकिँदैन,’ उनी भन्छिन्, ‘नेपालमा धेरै कम्पनी छन्, पहिले त्यहाँ काम गरेर अनुभव लिन्छु, त्यसपछि आफै केही गर्नुपर्छ ।’ बाराको सिमराका विशाल भट्टराई आईएसएमटी आईटी दोस्रो सेमिस्टरमै अध्ययनरत छन् । उनलाई फाइनान्स पढेर मार्केटमा काम गर्न रुचि थियो । तर उनले बुझ्दै गएपछि फाइनान्सभन्दा आईटी पढ्न मन लाग्यो । ‘अहिलेको जमाना आईटी रिलेटेड छ, हिजोको दिनमा एआई केही थिएन,’ उनी भन्छन्, ‘अहिले मार्केटमा एआई आएको छ, यो आउनुको कारण भनेकै टेक्नोलाेजीको विकास हो, मलाई पनि रुचि लाग्यो र यतातिर लागें ।’ उनले साथीहरूसँग मिलेर लाइन फलोविङ रोबोट बनाएका छन् । उनका अनुसार आइटीमा सबैभन्दा चाहिने भनेको सीप हो । सीप भयो भने कामको लागि कार्यालयमै धाउन नपर्ने उनको अनुभव छ । ‘सीप भयो भने विभिन्न व्यक्ति कम्पनीसँग मिलेर काम गर्न सकिन्छ,’ उनी थप्छन्, ‘घरमै बसेर पनि काम गर्न सकिन्छ, काम गर्न भन्दै कार्यालयमा धाइराख्न पर्दैन ।’ बिहीबारदेखि सुरु भएको एक्सपोमा विद्यार्थीले बनाएको प्रोजेक्टको अन्य कलेजका विद्यार्थी र विभिन्न राजनीतिहरूले अवलोकन गरेका छन् । सबैजसो प्रोजेक्ट निकै आवश्यक रहेको उनीहरूले बताएका छन् । आइटीका विद्यार्थीलाई नेपामै अवसर विद्यार्थीले बनाएका प्रोजेक्टका अवलोकन विद्यार्थीमात्र नभई राजनीति क्षेत्रमा लागेकाहरूले समेत गरेका छन् । कांग्रेस नेता सशांक कोइरालाले विद्यार्थीको बौद्धिकता र क्रियाशील देखेर खुसी लागेको बताए । उनले कम्प्युटरको माध्यमबाट बनाएका प्रोजेक्टहरू देख्दा भविष्य उज्जवल रहेछ भन्ने अनुभूति भएको बताए । ‘उहाँहरूको क्षमता देख्दा मलाई खुसी लाग्यो,’ उनले भने, ‘नेपालको भविष्य अब उहाँहरूजस्तै युवाले सुरक्षित राख्छन् भन्ने अनुभव भयो ।’ नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थीले बनाएको इनोभेसनको प्रशंसा गर्दै नेपालको विद्यार्थी आन्दोलन नयाँ ढंगले परिमार्जन गरी मार्केटसँग जोड्ने नीति बनाउनुपर्ने बताए । उनले जसरी अहिले पर्यटन, कृषिलाई मुख्य आधार मानिएको छ, त्यसैगरी अब आइटी इन्ड्रस्टिजलाई पनि मान्नु पर्ने बताए । उनले भने, ‘जति चाँडो नेपालका युवाले, सरकारले यो क्षेत्रलाई क्याच गर्न सक्छ, यो विषयमा नीति नियम बनाउन सक्छ, त्यति चाँडो नेपालको सम्वृद्धि हुने सम्भावना हुन्छ ।’ एकीकृत समाजवादीका युवा नेतृ रामकुमारी झाँक्रीले आइटीमा नेपालले पनि फड्को मारिरहेको बताइन् । उनले आइटी पढाउने केही कलेजले जसरी काम गरिरहेका छन्, उनीहरू नै समाजको लागि रोल मोडल भएको बताइन् । विद्यार्थी नेपालमै पढ्ने, यही रोजगार उत्पादन गर्ने अवस्था बिस्तारै देखिएको बताउँदै झाँक्रीले आइटी बिजनेस भित्रको रोजगारी सिर्जना आफै हिँड्न थालेको बताइन् । ‘संसार कता जाँदैछ, कुन क्षेत्रले फड्को मार्दैछ भन्ने सोच्ने मान्छेले आइटी र त्यसमा पनि एआई कन्टेन बनाउन लागेका छन्,’ उनी भन्छिन्, ‘फस्ट, सेकेण्ड सेमिस्टरको भाइबहिनीले यति राम्रो प्रोजेक्ट सिर्जना गरेका छन्, सबै प्रोजेक्टको आ-आफ्नै ठाउँमा महत्त्व छ।’ बर्सेनि गर्छ कलेजले एक्सपो तीनकुनेमा रहेको आईएसएमटी कलेजले हरेक वर्ष यस्ता एक्सपो गर्दै आएको छ । अहिलेको एक्सपो आइटी विषयमा अध्ययनरत विद्यार्थीका लागि केन्द्रित रहेको कलेजले जनाएको छ । विद्यार्थीले कक्षाकोठामा पढेको ज्ञानलाई व्यहारमा लागू गर्न कलेजले हरेक वर्ष यस्तै एक्स्पो बर्सेनि गर्दै आएको छ । आइएसएमटीका बिजनेस डेभलपमेन्ट हेड वासुदेव वस्तीले विद्यार्थीले बनाएका एआईदेखि लिएर हार्डवेर, सफ्टवेरका प्रोजेक्टहरू डेमोसेसन गर्न एक्सपो गरिएको बताए । नेपालमा आईटी पढिरहेका विद्यार्थीले नेपालमा भविष्य कस्तो छ, आइटीको मार्केट कस्तो छ भन्नेबारे जानकारी लिऊन् भन्ने उद्देश्य पनि यसको रहेको उनले बताए । उद्योगका लागि शिक्षा आइएसएमटीका प्रधानाध्यापक धुव्रबाबु जोशी उद्योगका लागि शिक्षा भन्ने फेलोसिफमै कलेज गाइडेड भएको बताए । अब आउने शिक्षा कस्तो हुनुपर्छ भन्ने जान्नका लागि विद्यार्थीले आफूले पढेको ज्ञान र सीपलाई आईटी उद्योगमा कसरी काम गर्ने, यो क्षेत्रमा भएका विषय र समस्या अनि अवसरलाई आफ्नो प्रोजेक्टमार्फत देखाएको उनको भनाइ छ । विद्यार्थीले बनाएका सबै प्रोजेक्ट प्रयोग गर्न लायक रहेको बताउँदै उनले धेरै विद्यार्थीले राम्रो प्रोजेक्ट ल्याएको बताए । ‘ विश्वबजारको मार्केट अहिले प्रविधि क्षेत्रमा गएको छ, तर हामी कहाँ अझै जान सकेको छैन,’ उनी भन्छन्, ‘अब यो क्षत्रलाई छिटोभन्दा छिटो बुझेर जानसक्यो भने अबको नेपाल नेपाली विद्यार्थीहरूले बनाउने छन् ।’ हाम्रो विद्यार्थीको रुचिअनुसार पाठ्यक्रमले उनीहरूको रुचिलाई अप्लाई गर्ने भएको हुँदा कलेजले वर्षमा दुई पटक यस्तो कार्यक्रम गरिरहेको बताए । ‘अस्ति गगनजीले आईटीसम्बन्धी बोल्नुभएको थियो, यो सही हो त्यसको अप्लिकेसन कीर्तिपुरको डाँडामात्र होइन, नेपालको कुनैपनि ठाउँबाट गर्न सकिन्छ,’ उनी भन्छन्, ‘यसका लागि के गर्नुपर्छ भन्ने ठूलो प्रश्न छ ।’ नेपालमा अझै आइटी उद्योग फस्टाउन नसकेको बताउँदै प्रधानाध्यापक जोशी यसको अध्ययन गरेर यो किसिमको नीति बनाइ बाहिरका ठूला कम्पनीलाई नेपालमा ल्याइ नेपालमा रहेका विद्यार्थीलाई नेपालमै काम दिने व्यवस्था गर्नुपर्ने बताउँछन् । यस्तो व्यवस्था गर्न सके नेपालमै उत्पादन भएका आइटी विद्यार्थीले लाखौं कमाउन सक्ने उनको भनाइ छ ।
युवाहरूलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्छ : मन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालमा अनुसन्धानको इकोसिस्टमलाई सुदृढ पार्नुपर्ने महत्वपूर्ण चुनौति रहेको बताएकी छन् । बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री भट्टराईले अत्याधुनिक प्रयोगशालाहरूमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन् । उनले अनुसन्धान परियोजनाहरूका लागि पर्याप्त रकम उपलब्ध गराउनुपर्ने बताइन् । नेपाली वैज्ञानिकहरूको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनुपर्ने आजको आवश्यकता भएको उल्लेख गरिन् । उनले दिगो विकासको आधार, दिगो विकासको अपार सम्भावना बोकेका स्वदेशी प्रविधिको आधुनिकीकरण पनि उत्तिकै महत्वपूर्ण रहेको बताइन् । नवप्रवद्र्धनको संस्कृतिलाई बढवा दिन युवाहरुलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्ने बताइन् । विज्ञान शिक्षा विद्यालयस्तरबाटै शुरु गरिरहेको भन्दै हातमा सिकाई, आलोचनात्मक सोच, उद्यमशिलता र नवप्रवर्तन आज हामीले केन्द्रित हुनुपर्ने विषय बनेको जानकारी दिइन् । ‘दिगो विकासको आधार, दिगो विकासको अपार सम्भावना बोकेका स्वदेशी प्रविधिको आधुनिकीकरण पनि उत्तिकै महत्वपूर्ण छ । हामीसँग रहेको इन्जिनियर्स नलेजलाई हामीले विज्ञानसँग कसरी जोड्ने भन्ने आवश्यकता छ’, उनले भनिन् । मन्त्री भट्टराईले देशको भविष्य आजका युवाहरूको आविष्कारमा निर्भर रहेको बताइन् ।
‘कन्टेन्ट क्रिएट’मा जम्दै विद्यार्थी, पढ्दै-कमाउँदै
काठमाडौं । ग्रेस चौलागाईं काठमाडौं वर्ल्ड स्कुलमा ए लेभल दोस्रो वर्षमा अध्ययनरत छन् । उनी विज्ञान विषय लिएर अध्ययन गरिरहे पनि उनलाई डिजिटल एड बनाउन खुब मनपर्छ । अहिले पनि फुर्सदको बेला उनी मोबाइलबाटै ब्लगहरू बनाइरहन्छन् । मन पर्ने मात्र होइन, उनलाई भिडियो खिच्न अनि इडिट गर्न पनि आउँछ । तर, कुनै इन्स्टिच्युटमा भने उनले सिकेका छैनन् । युट्युबमै गएर कसरी भिडियो बनाउने भन्ने विषयमा हेर्दै सिकेको उनी बताउँछन् । डिजिटल प्लेटफर्ममा यति पोख्त भइसकेका ग्रेसलाई भिडियो खिच्न इडिट गरी आफै मिक्सिङ गर्न आउँछ । ‘मेरो मार्केटिङ क्षेत्र होइन, साइन्स लिएर पढिरहेको छु,’ ग्रेस भन्छन्, ‘अहिले जमाना प्रविधिको छ, टेक्स्ट, अडियोभन्दा पनि भिडियो त्यो पनि सर्ट भिडियोले कम समयमा धेरै सन्देश दिरहेको छ, यो अहिलेको आवश्यकता पनि हो ।’ ग्रेसले सोंचेका थिएनन्, रहरले सिकेको भिडियो बनाउने तरिकाले एक दिन डिजिटल कन्टेन्ट निर्माण प्रतियोगितामा भाग लिनुपर्ला भनेर । तर उनले यस्तै प्रतियोगितामा भाग लिएर टप थ्रीमै पर्न सफल भए । आजभोलि कुनैपनि वस्तुको प्रचारप्रसार गर्ने थलो भनेको सामाजिक सञ्जाल बनेको छ । अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै अमेरिकामा रहेको वेबस्टर विश्वविद्यालयले नेपाली विद्यार्थीलाई डिजिटल मार्केटिङको विषयमा जानकारी गराइ प्रतिस्पर्धा नै गराएको छ । नेपालमा रहेको सुजिकी नेपाल , सुबिसु र द प्लाजा ब्रान्डसँग समन्वय गर्दै विश्वविद्यालयले विभिन्न ६ वटा विद्यालयका विद्यार्थीलाई डिजिटल मार्केटिङ ‘द कन्टेन्ट मास्टर्सको आयोजना गर्यो । विद्यालयभित्रका विभिन्न समूह बनाएर तीनवटै ब्रान्डको ३० सेकेन्डको भिडियो विज्ञापन गर्न लगायो । भिडियो कसरी बनाउने, कसरी खिच्ने यो विषय विद्यार्थी आफैले खोजे । काठमाडौंमा रहेको जेम्स स्कुल, काठमाडौं वर्ल्ड स्कुल काष्ठमण्डप विद्यालय, मालपी इनटरनेसनल कलेज, प्रिमियर कलेजमा अध्ययनरत विद्यार्थीको समूह बनाएर प्रतिस्पर्धा नै गराएको छ । ६ स्कुलका ६३ वटा समूह, समूहमा ३ सय ७८ विद्यार्थीले डिजिटल एड बनाउन सिकेका छन् । यसका लागि वेबस्टर विश्वविद्यालयले अनलाइनमार्फत् साताकाे २ दिन एक घण्टा कसरी विज्ञापन बनाउने भन्नेबारेमा जानकारी सिकाएको थियो । विद्यार्थीहरूले सुजिकी मोटर्स, सुबिसु र प्लाजाको विज्ञापन बनाएका थिए । ६३ समूहले बनाएका विज्ञापनमध्ये उत्कृष्ट तीन समूहलाई छनोट गरेर प्रथम, द्वितीय र तृतीय छनोट गरी अवार्डसमेत गरेको छ । अहिलेको आवश्यकता कन्टेन्ट मास्टर्स वर्कसपमा सहभागी विद्यार्थी यो विषयमा जानकारी लिन पाउँदा खुसी भएको बताउँछन् । ‘मलाई मार्केटिङको बारेमा थाहा थिएन, यसमा भाग लिने थाहा पाइसकेपछि त यसले अनलाइनमा सिकाउने रहेछ,’ ग्रेस भन्छन्, ‘मलाई यो विषयमा झन् चासो बढ्यो ,के रहेछ भनेर बुझ्दै गएँ, त्यहीअनुसार काम गर्दै गएँ, पहिलो कन्टेन्ट बनाइसकेपछि त टप थ्रीमा परें ।’ काठमाडौंका सोनम घिसिङ तामाङ काठमाडौं वर्ल्ड स्कुलमै अध्ययन गरिरहेका छन् । म्यानेजमेन्टमा अध्ययनरत उनले डिजिटल मार्केटिङका विषयमा अध्ययन गर्नुपर्छ । किताबमा पढेको कुरालाई कसरी प्रयोग गर्ने भन्नेबारे सिकेका थिएनन् । कक्षामा पढाइ भएपनि कसरी वस्तुहरूको डिजिटल मार्केट गर्ने, सबै उपभेक्तालाई आकर्षण गर्ने गरी कसरी विज्ञापन बनाउने भन्ने विषय थाहा थिएन । बजारमा कुनै पनि नयाँ सामग्री ल्याउँदा त्यो सामानबारे जनमानसलाई थाहा हुनुपर्छ । ता कि त्यो सामग्रीको बजार बढोस् । मार्केटिङ विषयमा कसरी आफ्नो वस्तुको मार्केटिङ बढाउने ? यसलाई डिजटल प्रविधिबाट कसरी प्राप्त गर्ने भन्ने विषयमा पढाइन्छ । तर, यसमा कसरी वस्तुको प्रचारप्रसार गर्ने भन्नेबारे विद्यार्थीलाई सिकाइएको हुँदैन । अहिले आफै सर्ट भिडियो बनाउन थालेपछि यो कुरामा सहज भएको उनी बताउँछन् । ‘पढेको कुरालाई प्रयोगमा ल्याउन पाउँदा सहज हुँदो रहेछ । आज हामी आफैले प्रयास गर्दा थाहा भयो,’ उनी भन्छन्, ‘भिडियो सुट कसरी गर्ने, यसको कस्तो पाटोलाई फाल्ने, कस्तो राख्ने, ३० सकेण्डमा एउटा वस्तुको कसरी विज्ञापन गर्ने भन्ने विषयमा थाहा भयो । ’ सुजिकी नेपालका ब्राण्ड एक्सपर्ट करुण शाक्य अहिलेको पुस्तामा डिजिटलाइजेशन भएको बताउँदै कुनै पनि ब्रान्डको जानकारी डिजिटलबाटै दिनुपर्ने बताउँछन् । अहिलेको पुस्ता यो विषयमा निकै अगाडि रहेको बताउँदै उनी मार्केटिङ अध्ययन गर्ने विद्यार्थीमात्र नभइ सबैले यो विषयमा जानकारी लिन आवश्यक रहेको बताए । विद्यार्थीहरूले बनाएको भिडियो हेरिसकेपछि विभिन्न ब्राण्डका एक्सपर्टले सोचेभन्दा राम्रो विज्ञापन विद्यार्थीले बनाएको बताएका थिए । सुबिसु केबल नेटका ब्राण्ड एक्सपर्ट सुजन प्रधानले विद्यार्थीहरूसँग अद्भूत क्षमता रहेको बताउँदै आवश्यक ठाउँ चहिएको बताए । आफूले सोचेको भन्दा बिल्कुल फरक थोरै समयमा धेरै जानकारी दिने विज्ञापन बनाउन सफल भएको बताए । नयाँ किसिमको प्रयास नेपाली विद्यार्थीले पढ्न पाउने भनेको पाठ्यक्रममा रहेको विषय हो । कतिपय कलेजले विद्यालयले पढाएको कुरालाई प्रयोग गरेर देखाउने अवसर दिए पनि धेरै ठाउँमा यो सुविधा छैन । उनीहरूले कुनै सीप सिक्न अथवा पढेको कुरा व्यवहारमा लागू गर्न पाएका हुँदैनन् । यही विषयलाई मध्येनजर गर्दै अमेरिकामा रहेको वेबस्टर विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि डिजिटल मार्केटबारे ज्ञान दिने उद्देश्यले कन्टेन्ट मास्टर्स कार्यक्रम गरेको हो । शिक्षा क्षेत्रमा बिरलै मात्र गरिने यो कार्यक्रमले धेरै विद्यार्थीले डिजिटल मार्केटबारे ज्ञान लिएका छन् । वेबस्टर विश्वविद्यालयकी नेपाल प्रतिनिधि जसवानी राना नेपालमा म्मार्केटिङ पढिरका विद्यार्थीलाई मात्र नभए अहिलेका सबै विद्यार्थीमा यो सीप अनिवार्य रहेको बताउँछिन् । नेपालमा अहिले प्रविधिले निकै फड्को मारेको अवस्थामा कलेजमा म्यानेजमेन्ट र मार्केटिङ लिएर पढ्नेको संख्या धेरै रहेकाले यो कार्यक्रम गरेको बताइन् । ‘अहिले मार्केट डिजिटल र एआएआईमा गइरहेको छ,’ उनी भन्छिन्, ‘यस्तो अवस्थामा विद्यार्थीलाई पनि यसमा तयार पर्न आवश्यक देखिएकाले वर्कसप गरिएको हो ।’