आरुखर्क माविको स्वर्ण जयन्ती समारोहमा ६१ लाखभन्दा बढी आम्दानी, खर्च ७ लाख ५९ हजार

नुवाकोट । नुवाकोटको बेलकोटगढी- १ स्थित श्री आरुखर्क माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा ६१ लाखभन्दा बढी आम्दानी भएको छ । पुस ७ गते मनाएको स्वर्ण जयन्ती समारोहमा खर्च र आम्दानीबारे विवरण शनिबार विद्यालयमा एक कार्यक्रमकाबीच आर्थिक सङ्कलन उपसमितिले सार्वजनिक गरेको छ । विद्यालयले समारोहको दौरान खर्च र आम्दानीको विवरण सार्वजनिक गर्दै कुल ६१ लाख ६६ हजार ३९८.५९ रुपैयाँ आम्दानी भएको जनाएको छ । यसमा रसिद आय (आर्थिक सहयोग रसिद) र अक्षयकोषको योगदान पनि रहेको छ भने ७ लाख ५९ हजार ४७४.४ खर्च भएको आर्थिक सङ्कलन उपसमितिका संयोजक विकास खतिवडाले जानकारी दिए । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सुदर्शन खतिवडाले विद्यालयको आर्थिक प्रगति र ६१ लाखको आम्दानीको बारेमा चर्चा गर्दै विद्यालयले हजारौं विद्यार्थीलाई देशका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउन सक्षम बनाएको र सोही विद्यार्थीहरूले गरेको सहयोगप्रति गर्व व्यक्त गरे । उनले विद्यालयको आर्थिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गरी आगामी दुई वर्षभित्र विद्यालयलाई यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्य रहेको बताए । आर्थिक सङ्कलन उपसमितिका संयोजकसमेत रहेका खतिवडाले आगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । नुवाकोट जिल्ला क्षेत्र नम्बर २ का सङ्घीय सांसद अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यमा र बागमती प्रदेशका सांसद रामप्रसाद ढुङ्गानाको विशेष आतिथ्यमा स्वर्ण जयन्ती सम्पन्र भएको थियो । समारोहमा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन, खेलकुद गतिविधिहरू र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो । साथै, स्वर्ण महोत्सवको सफलताका लागि आर्थिक र भौतिक सहयोग पुर्‍याउने दाता, जग्गादाता, पूर्वशिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरूलाई सम्मानित कार्यक्रम पनि गरेको थियो । आरुखर्क माध्यमिक विद्यालय विसं २०३१ सालको पौष ७ गते औपचारिक रूपमा स्थापना भएको थियो । विद्यालयले ५० वर्षको यात्रामा शिक्षा र समुदायका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

शिक्षकलाई तलब खुवाउन गाह्रो

ढोरपाटन । जिल्लाको ढोरपाटन नगरपालिका–१ खप्तरीबाङस्थित निसीभूजी जनता क्याम्पस सञ्चालनमा समस्या भएको छ । पश्चिम बागलुङको एक मात्र क्यापसका रूपमा रहेको निसीभूजी आर्थिक अभावका कारण सञ्चालनमा समस्या भएको हो । दूरदराजका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले विसं २०४८ मा स्थापना भएको क्याम्पसको आन्तारिक स्रोत कम हुनु, सरकारी निकायबाट सहयोग नहुनु, जनशक्ति व्यवस्थामा खर्च हुनुलगायत कारणले सञ्चालनमा समस्या भएको क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले बताए । क्याम्पस सञ्चालनका लागि मासिक चार लाख रुपैयाँ खर्च हुने भन्दै आम्दानी न्यून हुँदा खर्च व्यवस्थापनमा समस्या भइरहेको उनको भनाइ छ । प्रमुख आचार्यले क्याम्पसको आम्दानी विद्यार्थीबाट उठाउने शुल्क मात्र रहेको बताउँदै अहिलेसम्म सरकारी निकायबाट कुनै पनि सहयोग प्राप्त नभएको उनले गुनासो गरे । अहिले क्याम्पसमा शिक्षा, समाज शास्त्र र व्यवस्थापन सङ्कायमा गरी एक सय १९ विद्यार्थी अध्ययनरत रहेका जनाउँदै प्रमुख आचार्यले विद्यार्थीबाट उठाउने शुल्कबाहेक आम्दानीको कुनै स्रोत नभएको उल्लेख गरे । हाल आंशिक शिक्षक २२ र पूर्णकालीन दुई जना गरी २४ जना प्राध्यापक कार्यरत रहेका छन् । शिक्षकलाई तलब दिन समस्या हुँदै आएको क्याम्पस प्रमुख आचार्यले बताए । क्याम्पसको मासिक मासिक खर्च चार लाख ५० हजार रुपैयाँ हुने गरेको भन्दै आम्दानी दुई लाख रुपैयाँ रहेको उनले जानकारी दिए । क्याम्पस प्रमुख आचार्यले भने, ‘यहाँ पढ्न आउने विद्यार्थीको सङ्ख्या उल्लेख्य छ, तर सञ्चालन खर्च व्यवस्थापन गर्न र शिक्षकलाई तलब खुवाउन निकै गाह्रो भइरहेको छ । यस क्षेत्रको एक मात्र सामुदायिक क्याम्पस भएकाले समुदायसँग सहयोग लिएर अहिलेसम्म सञ्चालन गरिरहेका छौँ ।’ क्याम्पस सञ्चालक समितिका सदस्य तारानाथ पौडेलले सरकारले दरबन्दी व्यवस्थापन गर्न सके केही मात्रामा समस्या समाधान हुने बताए । क्याम्पस सञ्चालन गन आवश्यक मापदण्डभन्दा बढी विद्यार्थी भए पनि प्राध्यापकको दरबन्दी कम रहेको उनले उल्लेख गरे । पूर्णकालीन सात जना दरबन्दीसहितको प्राध्यापक हुनुपर्ने जनाउँदै दुई जना मात्रै रहेको पौडेलले बताए । गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवर यसलाई आङ्गिक क्याम्पसका रूपमा विकास गर्नुपर्ने बताए । क्याम्पसको शैक्षिक गुणस्तर बढाउन र प्राविधिक शिक्षा सञ्चालन गरी भौतिक संरचना निर्माण गर्न प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराइरहेको उनले जानकारी दिए । क्याम्पस न्यून वर्गका विद्यार्थीले मात्रै पढ्ने थलो बनेको भन्दै अब यहाँ सबैको आकर्षण बढ्ने खालको बनाउन जरुरी रहेको कुँवरले बताए । रासस

त्रिभुवन विश्वविद्यालयबाट १४ हजार विद्यार्थी दीक्षित (तस्बिरहरू)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका ९ हजार ६८, स्नातकोत्तर तहका ५ हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का १२२ जना विद्यार्थी दीक्षित भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृतसमेत गरिएको छ । यस वर्षको त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक व्यवस्थापन शङ्कायका हीरा श्रेष्ठलाई र श्री इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका सुधा काफ्लेलाई प्रदान गरिएको छ । यसैगरी, अमृत पदक रसायनशास्त्र केन्द्रीय विभागका सुशील पोखरेललाई, मदन विद्या वातावरण विज्ञान पुरस्कार वातावरण विज्ञान केन्द्रीय विभागका रिकिता भण्डारीलाई, नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्णपदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार काठमाडौँ मोडल कलेजका रेविका भण्डारीलाई प्रदान गरिएको छ । नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा मोहनप्रसाद लाखे स्वर्णपदक रत्नराज्यलक्ष्मी क्याम्पसका सुदीक्षा घिमिरेले पाएका छन् । शान्ति–नारायण मिश्र पदकबाट पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका सञ्जीवकुमार सिंह, डा दुबसु क्षेत्री स्वर्ण पदकबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रतीकराज जोशी, इमिरेट्स प्रा डा रामप्रसाद चौधरी स्वर्ण पदकबाट वनस्पति शास्त्र केन्द्रीय विभागका श्रीणा क्षेत्री र नारायण शान्ति मिश्र पदकबाट पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका चेतना कुँवरबाछ पुरस्कृत भएका छन् । तारपद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार श्रीज्या काफ्लेले पाएका छन् । काफ्ले अर्थशास्त्र केन्द्रीय विभागको छात्रा हुनुहुन्छ । शील्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार शिक्षाशास्त्र केन्द्रीय विभागका सीताकुमारी श्रेष्ठले प्राप्त गरेका छन् ।