शिक्षा क्षेत्रमा शेखर गोल्छाको प्रवेश, माघदेखि सञ्चालन हुँदैछ एम्बार्क कलेज
काठमाडौं । उद्योगी शेखर गोल्छाको लगानीमा एम्बार्क कलेज सञ्चालनमा आउने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका उद्योगी गोल्छाले शिक्षामा पनि लगानी थालेका हुन् । सामाजिक उत्तरदाहित्वस्वरूप सार्वजनिक शिक्षामा गोल्छा ग्रुपले धेरै अगाडि देखि खर्च गर्दै आएपनि नाफामूलक संरचना बनाएर शिक्षामा लगानी गरेको यो पहिलो पटक हो। गोल्छा समूहले अटोमोबाइल, इलोक्ट्रोनिक्स, फिनटेक, वैकल्पिक ऊर्जा, बीमा, पुनर्बीमा क्षेत्रमा लगानी गरिसकेको छ । पुल्चोकस्थिति आफ्नै लगानीमा बनेको पूर्वाधारमा कलेज सञ्चालन गर्न लागिएको गोल्छाले बताए । ‘सामुदायिक स्कूल र कलेजको शिक्षामा गोल्छा समूहले दशकौं पहिलेदेखि लगानी गर्दै आएको हो । एम्बार्क कलेजमा हाम्रो पहिलो लगानी होइन, ’ गोल्छाले भने, ‘अहिले हामीले व्यावसायिक र सीपमूलक शिक्षामा जोड दिएका छौं । विश्वको उत्कृष्ट विश्वविद्यालयसँगको सहकार्यमा नयाँ कलेज सञ्चालमा ल्याउदैछौं ।’ गोल्छा समूह र ग्लोकल प्राइभेट लिमिटेडको संयुक्त लगानीमा एम्बार्क कलेज सञ्चालनमा ल्याइएको हो । उद्यमशीलतालाई सशक्त बनाउने, उद्योगको आवश्यकता तथा दिगोपन र सामुदायिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले कलेज सञ्चालनमा ल्याइएको अध्यक्ष आशीष ठाकुर बताउँछन् । ‘हामी यो घोषणा गर्न पाउँदा उत्साहित छौं, हामीले एम्बार्क कलेजको यात्रा सुरु गरेका छौं, अग्रगामी सोचका सीपमा आधारित व्यावहारिक शिक्षालाई बढावा दिन समर्पित हुनेछौं,’ ग्लोकल प्रालिका अध्यक्ष ठाकुरले भने । सन् २०२५ जनवरीदेखि अर्थात २०८१ माघदेखि कलेज सञ्चालनमा आउने छ । साथै, तत्कालका लागि दुइटा कोर्स पढाई हुने कलेजले जनाएको छ । चार वर्षे बिएससी बिजनेश म्यानेजमेन्ट र २ वर्षे मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) कोर्स सञ्चालन गरिने उनले जानकारी दिए । उक्त कोर्सहरू रोहेम्प्टन विश्वविद्यालय लन्डन (यूके)सँगको शैक्षिक साझेदारीमा सञ्चालन हुन लागेका हुन् । जुन विश्वको शीर्ष १५ भित्र पर्छन् । दुवै कोर्स अध्यापन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृतसमेत दिइसकेको कलेजले जनाएको छ । ललितपुरको पुल्चोकमा रहेको उक्त कलेजले विद्यार्थी भर्नासमेत खुला गरिसकेको छ । साथै, सबैलाई एम्बार्क कलेज भ्रमण गर्न निमन्त्रणा समेत गरिएको छ । अध्यक्ष ठाकुरका अनुसार कलेज सञ्चालनमा आइसकेको र अहिले भर्ना लगायतका कामहरू अघि बढिरहेको छ । ‘ग्लोकल प्रालि र शेखर गोल्छाको संयुक्त लगानीमा कलेज सञ्चालनमा आइसकेको छ, सन् २०२५ जनवरीदेखि पढाइ सुरु गर्ने गरी भर्ना आह्वान गरेका छौं,’ उनले भने, ‘अहिले नयाँ र पहिलो ब्याच हुनेछ, त्यसैले धेरै विद्यार्थी संख्याको अपेक्षा गरेका छैनौं, नयाँ तरिकाले अघि बढ्ने र गुणस्तरीय शिक्षामा जोड दिने योजना छ ।’ उनका अनुसार कलेजले विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई स्कलरसिप दिनेछ । साथै, शतप्रतिशत विद्यार्थीलाई ट्यूसन फिमा १० प्रतिशत स्कलरसिप दिइने उनको भनाइ छ । ‘शिक्षा मन्त्रालयले १० प्रतिशत स्कलरसिप दिनुपर्ने व्यवस्था गरेको छ, अब कति जना विद्यार्थी हुन्छन्, शिक्षा मन्त्रालयको नियमानुसार स्कलरसिप दिन्छौं,’ अध्यक्ष ठाकुरले भने, ‘त्यसमा १० प्रतिशत स्कलरसिप ट्यूसन फिमा छँदैछ ।’ भर्ना शुल्क रकम भने केही दिनमा सार्वजनिक गर्ने उनले बताए । कलेजमा पढाउने शिक्षक भने विदेशी र नेपाली गरी मिश्रित हुने उनको भनाइ छ । ‘कलेजमा पढाउने शिक्षक मिक्स छन्, हामीले पार्टनरसिप गरेको यूनिभर्सिटीको प्रोभाइस चान्सलरलाई कलेजको प्रिन्सिपल बनाएर ल्याएका छौं, किनभने गुणस्तर कायम शिक्षा दिनुृपर्नेछ,’ अध्यक्ष ठाकुरले भने, ‘साथै विदेशमा पढेर आएका नेपालीहरूलाई पनि कलेजको शिक्षकमा नियुक्त गरेका छौं । र, केही शिक्षक विदेशबाट पनि ल्याएका छौं ।’ नेपाल सरकारको व्यवस्थाबमोजिम एक वर्षमा २ वटा कार्यक्रम (कोर्स) सञ्चालन गर्न पाइने छ । त्यसैले तत्कालका लागि २ वटा कोर्स सञ्चालमा आएपनि आगामी वर्षमा थप नयाँ कोर्स ल्याइने उनले बताए ।
आईआईएमएस कलेजले गर्यो टेड एक्स आईआईएमएस कार्यक्रम सम्पन्न
काठमाडौं । काठमाडौंको धोबीधारास्थित आईआईएमएस कलेजले टेड एक्स आईआईएमएस कार्यक्रमको आयोजना गरेको छ । टेड एक्स यस्तो कार्यक्रम हो, जहाँ प्रेरणादायी ज्ञान र सन्देश बाँडिन्छ । स्थानीय वा अन्तर्राष्ट्रिय विशेषज्ञ, उद्यमी, अनुसन्धानकर्ता, कलाकारहरूले आफ्नो आफ्नो प्रेरणादायक विचारहरू प्रस्तुत गरिन्छ । टेड एक्स एक विश्वव्यापी पहल हो, जसले स्थानीय समुदायलाई प्रत्यक्ष वक्ता र टेड टक भिडियोहरू प्रस्तुत गर्दै कार्यक्रम आयोजना गर्ने अवसर दिन्छ । यो विचारहरू साझा गर्ने प्लेटफर्म हो जसको मुख्य उद्देश्य फैलाउन योग्य विचारहरू अनुसन्धान र खोजी गर्नु हो । नवीन र अनौठा विषयहरू प्रस्तुत गरेर मान्छेको सोचमा परिर्वतन ल्याउन टेड एक्स कार्यक्रमको आयोजना गरिन्छ, आईआईएमएस कलेजले पनि न्यूनतम मापदण्ड पुरा गरी यो कार्यक्रम सञ्चालन गर्न लाइसेन्स पाएको छ । यस्ता कार्यक्रमले पेशागत र व्यक्तिगत सम्बन्ध विस्तार गर्न सुनौलो अवसर हुने कलेजले जनाएको छ । कार्यक्रममा चलचित्र निर्माता आशुतोष बराही, प्राध्यापक तथा अनुसन्धानकर्ता सुदन झा, शारीरिक तथा मानसिक फिटनेस प्रशिक्षक तेन्जीन गुरुङले आफ्नो विचार राखेका थिए । उनीहरूले कृत्रिम बौद्धिकतामा प्रगति र यसका नैतिक प्रभाव, समग्र शिक्षामार्फत विद्यार्थीहरूको कल्याणको प्रवर्द्धन, नवीकरणीय ऊर्जाको भविष्य, मानसिक स्वास्थ्यको सचेतना र वकालत र सांस्कृतिक सम्पदा र संरक्षणका विषयमा आफ्ना विचार राखेका थिए ।
आईएसएमटी कलेजले सम्पन्न गर्यो रक्तदान कार्यक्रम
काठमाडौं । काठमाडौंको तीनकुने गैरिगाँउस्थित आईएसएमटी कलेजले सामाजिक उत्तरदायित्व र अध्ययनरत विद्यार्थीको शैक्षिक क्रियाकलापअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कलेजको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ६२ जना विद्यार्थी, शिक्षक तथा कर्मचारी सहभागी भएका थिए । बेलायतको सुन्डरल्यान्डबाट सम्बन्धन प्राप्त यस आईएसएमटी कलेजले बीबीए, बीएचएम, बीएससी आइटी, साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक, एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ । साथै आईएसएमटी ग्रुपअन्तर्गत युनिभर्सिटी अफ सुन्डरल्यान्ड युकैकै सम्बन्धनमा नेपालका प्रमुख सहरहरू चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि आफ्ना कलेजहरू सञ्चालनमा छन् ।