विश्वविद्यालयमा तालाबन्दीको समस्या पेचिलो बन्दै गयो : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी कानून बनाउन सुझाव दिएकी छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयमाथिको दफावार छलफलमा सहभागि हुँदै मन्त्री भट्टराईले यस्तो सुझाव दिएकी हुन् । उनले विधेयकलाई विश्वविद्यालयहरुमा देखिएको क्यालेण्डर, जनशक्ति व्यवस्थापन र विश्वविद्यालयको जिम्मेवारीका विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन् । उनले पछिल्लो समय विश्वविद्यालयमा हुने झैझगडा र तालाबन्दीको समस्या पेचिलो बन्दै गएको समेत बताइन् । यस विषयको समाधान सहित विधेयक अगाडि बढाउनुपर्नेमा उनको जोड छ । ‘अहिले सबैभन्दा पेचिलो विषय भनेको विश्वविद्यालयमा हुने तालाबन्दी, त्यहाँ हुने झैझगडा तथा संस्कारजन्य कुरमामा हामी कसरि जाने भन्ने विषयमा हामी जानैपर्छ । यो विषयलाई समेत विधेयकमा समेटेर जानको लागि म यहाँ अनुरोध गर्न चाहन्छु, ’ उनले भनिन् । मन्त्री भट्टराईले विश्वविद्यालयका पदाधिकारीहरुको अधिकारसम्बन्धी समेत स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन् ।

तेस्रो एमआरसिपी युके पेसेस परीक्षा नेपाल मेडिसिटीमा सम्पन्न

काठमाडौं । तेस्रो एमआरसिपी युके पेसेस परीक्षा चैत्र ८ गते सम्पन्न भएको छ । नेपाल मेडिसिटी अस्पतालाई परीक्षा केन्द्र बनाइएको पेसेस परीक्षा चैत्र ६ गतेबाट शुरु भएको थियो । यो परीक्षा तीन दिन सम्म चलेको थियो । नेपाल मेडिसिटीले दुई वर्षदेखि पेसेस परीक्षा सञ्चालन गर्दै आएको छ । बेलायतबाट आयोजना गरिने परीक्षामा यस वर्ष ४३ जना परीक्षार्थीहरु सहभागी भएका थिए । यस पटक परीक्षाका लागि नेपाल, बंगलादेश, भारत र अष्ट्रेलियाबाट परीक्षार्थीहरु आएका थिए । त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै ११ जना परीक्षक र २ जना प्रशिक्षार्थी परीक्षकको उपस्थिति रहेको थियो । एमआरसिपी युके चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ । यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरुले एमआरसिपी युकेबाट अनुमति पाएका जुनै सुकै अस्पतालमा काम गर्न सक्दछन् । धेरै चिकित्सकहरूले यो परीक्षा लिन र एमआरसिपी युके योग्यता पूरा गर्नको लागि बेलायतको यात्रा गर्नुपर्ने अवस्था थियो । नेपालमा यस परीक्षाको लागि केन्द्र खोलिँदा नेपालका सबै चिकित्सकहरूलाई आफ्नै देशमा परीक्षा दिने वातावरण बनेको छ । दक्षिण एसियाको परीक्षा केन्द्रमध्य नेपाल पनि पर्दछ तर नेपालको लागि भने नेपाल मेडिसिटी अस्पताल पहिलो र एकमात्र केन्द्र हो । यस परीक्षाका लागि डा. रोड्रिक हार्वे –एक्युट मेडिसिन, डा. ब्यान अल सफर र डा. अदम स्टोन – ग्यास्ट्रोइन्टेरोलोजी, डा. भेदामुर्थी आधियामन र डा. लतना मुनाङ – जेरियाट्रिक मेडिसिन बेलायतबाट परीक्षा निरीक्षणका लागि आएका हुन् । उनीहरु रोयल कलेज अफ फिजिसियनस् अफ एडिनबर्ग र रोयल कलेज अफ फिजिसियन लण्डनबाट आएका हुन् । त्यस्तै, नेपालबाट डा.निरज जोशी, डा. धिरज मानन्धर, डा. अर्पना न्यौपाने, डा. सञ्जित कृष्ण श्रेष्ठ, डा. सुदिप श्रेष्ठ, डा. रक्षा पाण्डे, डा. यादव के. डि भट्ट, डा. बुद्धि पौडेल, डा. सितल अधिकारी, डा. महेशराज सिग्देल, डा. रविन्द्र श्रेष्ठ परीक्षकका रुपमा सहभागि भएका थिए । नेपालका लागि प्रमुख परीक्षाका निरीक्षक हुन् डा. निरज जोशी । नेपाल मेडिसिटीमा ग्यास्ट्रोइन्टेरोलोजिस्ट कन्सल्टेन्ट रहेका डा. जोशीले डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्याङ्कन गर्न तथा विरामीलाई चिकित्सकले कसरी उपचार गर्ने र कस्तो व्यवहार गर्छन् भन्ने विश्लेषण गर्न यो परीक्षा लिइने बताए । ‘यो फिजिसियन चिकित्सकहरुको प्रयोगात्मक परीक्षा हो । यसमा भाग लिन पहिले दुईवटा लिखित परीक्षामा उत्तीर्ण हुनुपर्छ,’ डा. जोसीले भने । परीक्षामा पाँचवटा स्टेशनहरू राखिएका थिए जसको माध्यमबाट परीक्षार्थीहरूलाई उनीहरूको ज्ञान, क्लिनिकल सीप, बिरामीको स्वायत्तता र सञ्चारको सम्मान गर्ने क्षमताको लागि मूल्याङ्कन गरिएको थियो ।

बालशिक्षामा समर्पित एनएमटीसीले मनायो रजत जयन्ती

काठमाडौं । नेपाल मोन्टेसरी ट्रेनिङ सेन्टर (एनएमटीसी) ले २५औं वार्षिकोत्सव तथा वार्षिक सम्मेलन प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलमा सम्पन्न गरेको छ । बालशिक्षाका क्षेत्रका प्रतिष्ठित शिक्षक, नीति निर्माताहरू र सरोकारवालाहरू एकत्रित भई एनएमटीसीको योगदानबारे समीक्षा गर्दै नेपालमा मोन्टेसरी शिक्षाको भावी मार्गचित्रबारे छलफल गरेका थिए । औपचारिक समारोहका क्रममा एनएमटीसीकी निर्देशक पवित्रा लिम्बूले सम्बाेधन गरेकी थिइन् । उनले संस्थाको २५ वर्षको यात्रा तथा बाल शिक्षामा एनएमटीसीले पुर्‍याएको प्रभावबारे प्रकाश पारिन् । उनले मोन्टेसरी शिक्षकहरूको अथक समर्पण र एनएमटीसीलाई नेपालको प्रमुख प्रशिक्षण संस्थाका रूपमा स्थापित गर्न सम्पूर्ण समुदायको भूमिका उल्लेख गरिन् । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एनएमटीसीको नेपालमा मोंटेसरी प्रशिक्षणको अगुवा भूमिकाको प्रशंसा गर्दै गुणस्तरीय प्रारम्भिक बाल शिक्षाले राष्ट्रको भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए । समारोहमा बालशिक्षामा उल्लेखनीय योगदान दिएका व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियाे । एनएमटीसी एन्ड्युरिङ एक्सिलेन्स: लङ्गेस्ट सर्भिस अवार्ड र एनएमटीसी एलुम्नाई एक्सिलेन्स इन मोन्टेसरी एजुकेशन लिडरशिप अवार्ड विभिन्न व्यक्तिहरूलाई दिइयाे । यसैगरी, प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलका आईबीडीपी विद्यालय काउन्सलर तथा मनोवैज्ञानिक कर्णव प्रभाकरले ‘न्यूरोडेभलपमेन्टल डिसअर्डर र प्रारम्भिक बाल विकास’ विषयमा सेमिनार प्रस्तुत गरेका थिए । त्यस्तै, स्पिच एन्ड हियरिङ एसोसिएसन अफ नेपालकी उपाध्यक्ष तथा भाषिक-सुनाइ विशेषज्ञ नीलम लामा दाहालले “भाषा तथा श्रवण विकास: महत्वपूर्ण चरणहरू र प्रारम्भिक जोखिम पहिचान” विषयमा अर्को सत्र प्रस्तुत गरेकी थिइन् । २५ वर्षदेखि बाल शिक्षामा अतुलनीय योगदान दिँदै आएको एनएमटीसीले मोन्टेसरी सिद्धान्तहरूलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।