शिक्षा विधेयक पारितका लागि दबाब दिन शिक्षक नेताहरू सिंहदरबारमा

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षक नेताहरू सिंहदरबार पुगेका छन् । आइतबार असार १५ गते सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने दिन भएकाले सरकारलाई दबाब दिन नेताहरू बिहानै सिंहदरबार पुगेका हुन् ।  ‘हामी बिहान ७ बजे सिंहदरबार पुगेका थियौं, मुख्य मुख्य केही व्यक्तिहरूलाई भेट्यौँ, विधेयक आज जसरी पनि संसदमा प्रस्तुत हुनुपर्छ भनेका छौं,’ शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले भने ।  विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने भन्दै दबाब दिन संसदीय समितिको ढोकामै शिक्षकहरू पुगेको र अहिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समिति बैठक बसेकाले आफूहरू बाहिर निस्केको उनको भनाइ छ । थापाका अनुसार विभागीय कारवाही, अस्थायी शिक्षकहरूका लागि कस्तो व्यवस्था गर्ने र शिक्षक हुन लाइसेन्स अनिवार्य गर्ने कि नगर्ने भन्ने विषयमा समितिमा सहमति हुन बाँकी छ । २०७५ सालदेखि छलफलमा रहेको विधेयक पारित नहुँदा समग्र शिक्षा प्रणाली नै अस्त व्यस्त बनेको भन्दै शिक्षक महासंघले पटक पटक आन्दोलन गर्दै आएको थियो ।  गएको चैत्रमा काठमाडौंमा भएको सडक प्रदर्शनपछि शिक्षक र सरकारबीच असार १५ गते विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत गर्ने सहमति भएको थियो ।

पौवादुङमाका उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

भोजपुर । विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाभित्रका उत्कृष्ट अङ्क ल्याउने बाह्र विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’अन्तर्गत पुरस्कृत गरिएको हो । कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ३, ५, ८ र १० का उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो । तिवारीभञ्याङ माध्यमिक विद्यालय, पञ्चकन्या मावि, मानेडाँडा मावि, सानोदुम्मा मावि, सूर्योदय मावि, सिंहबालसुधार आधारभूत विद्यालय र बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सुनिता कटुवालले बताए । गाउँपालिका अध्यक्ष किरण राईले आर्थिक अवस्था कमजोर भएका तथा विद्यालयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रोत्साहित गर्दै नियमित विद्यालय आउने वातावरण निर्माणका लागि गाउँपालिकाले छात्रवृत्ति वितरण गर्दै आएको बताए । 'गाउँपालिकाले यहाँका विद्यालय तथा विद्यार्थीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ', अध्यक्ष राईले भने, 'यसले विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुगेको छ । बर्सेनि हामीले विद्यार्थीहरूका लागि प्रोत्साहनका कार्यक्रम गरिरहेका छौँ ।' गाउँपालिकाले उत्कृष्ट दुई विद्यालयलाई नगद र प्रमाणपत्रले सम्मान गरेको छ । उत्कृष्ट बन्ने सानोदुम्मा माविलाई नगद रु तीन लाख र मानेडाँडा माविलाई नगद रु दुई लाखले सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पौवादुङमा गाउँपालिकाले जोड दिएको गाउँपालिका उपाध्यशक्ष ज्योत्सना राईले बताए । खस्किँदो शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले योजनाबद्ध रूपमा काम भइरहेको उनको भनाइ छ । गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने कार्यदललाई पनि सम्मान गरेको छ । कार्यदलकी संयोजक सुनिता कटुवाल, सदस्य मचिन्द्रकुमार राई, टलक कार्की, प्रकार राई, सन्तोष राई, नारायणबहादुर खड्का र रमेश कटुवाललाई प्रशंसापत्रद्धारा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । रासस

जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ । उक्त परीक्षामा त्यस विद्यालयबाट सहभागी २९ विद्यार्थीमध्ये छ जनाले ४ जिपिए र बाँकीले ३.८ जिपिएभन्दा माथिको नतिजा ल्याएका विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टले जानकारी दिए । विद्यालयबाट सो परीक्षामा ११ जना छात्र र १८ जना छात्रा सहभागी भएका थिए । विद्यार्थीहरूको मेहनत, शिक्षकको मार्गदर्शन र अभिभावकको सहकार्यले गर्दा विदेशमा रहेर पनि विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको उनको भनाइ छ । मुलुक बाहिरको एक मात्र नेपाली पाठ्यक्रमअनुसार अध्ययन हुने उक्त विद्यालयबाट पाँचौँ समूहले एसइई परीक्षा दिएको थियो । उक्त विद्यालयमा नेपाल, भारत, बङ्गलादेश, जापान र जाम्बियाका ५०० बढी विद्यार्थी अध्ययनरत छन् । पाँच वर्षमा सो विद्यालयबाट ११३ जनाले एसइई उर्तीण गरिसकेको पनि प्रधानाध्यापक भट्टले बताए । जापानमा रहेका नेपाली समुदायको पहलमा सो विद्यालय सञ्चालनमा आएको हो । सन् २०१३ सालमा स्थापना भएको उक्त विद्यालयलाई जापानको शिक्षा मन्त्रालयले अन्तरराष्ट्रिय विद्यालय सरहको मान्यता दिएको छ । त्यस विद्यालयले विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा ११ र १२ मा पनि अध्ययन गराइरहेको छ । एभरेष्ट स्कूलले टोकियो कै आराकावा सहरमा नर्सरीदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने गरी नयाँ विद्यालयसमेत खोलेको प्रधानाध्यापनक भट्टले जानकारी दिए । रासस