विद्यालय शिक्षा ऐनको माग गर्दै नयाँ बानेश्वरमा शिक्षकहरूको धर्ना
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले मंगलबार नयाँ बानेश्वरमा धर्ना दिएका छन् । माइतीघर मण्डलाबाट प्रदर्शन गर्दै अघि बढेका शिक्षकहरूलाई नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रहरीले रोक लगाएपछि उनीहरूले सडकमै धर्ना दिएका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनले यथाशिघ्र शिक्षा ऐन ल्याउनुपर्ने माग अघि सारेको छ । महासंघले पटक–पटक सरकारसँग भएका सहमतिहरूको कार्यान्वयन नभएको भन्दै काठमाडौं केन्द्रित आन्दोलनलाई तीव्र बनाएको हो । शिक्षक आन्दोलनका कारण हाल नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । महासंघले विद्यार्थी भर्ना अभियानमा सहभागिता नजनाउने, कक्षा १२ को परीक्षा कार्यक्रम बहिस्कार गर्ने, एसईईको उत्तरपुस्तिका मूल्यांकन नगर्ने निर्णय लिइसकेको छ । महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन ल्याउन सरकारलाई आग्रह गर्दै आएको छ । माग पूरा नभएसम्म शैक्षिक हडताल जारी रहने चेतावनी महासंघले दिएको छ ।
सिंहदरबारमा शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे छलफल गर्न अर्थमन्त्री, गृहमन्त्री र शिक्षामन्त्री बैठकमा बसेका छन् । विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरू विद्यालय नफर्किएपछि मुलुकभर भर्ना अभियान प्रभावित हुन थालेको छ । यसै सन्दर्भमा शिक्षकको सेवा–सुविधाबारे तत्काल मन्त्रिपरिषद् र सम्बन्धित मन्त्रालयले गर्न सक्ने निर्णयबारे छलफल गर्न मन्त्रीहरूको संयुक्त बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको हो । बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराई सहभागी छन् । शिक्षकहरूको आन्दोलनले शैक्षिक सत्र सुरुआतमा अवरोध सिर्जना गरेपछि तत्काल समाधानका उपाय खोज्न उच्चस्तरीय छलफल सुरु गरिएको जनाइएको छ ।
अब त्रिविका ट्रान्सक्रिप्ट र प्रोभिजनल अनलाइनमै पाइने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ बजेदेखि यो सेवा औपचारिक रूपमा सुरु गरिएको हो । अब विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालय, बल्खु पुगेर कागजी फारम भर्नु र लाइनमा बस्नु पर्ने झन्झटबाट मुक्ति पाउने छन् । अनलाइन सेवा सुरु भएपछि घरमै बसेर आवेदन दिन सकिनेछ । परीक्षा नियन्त्रक जोशीका अनुसार त्रिविले आफ्नै पद्धति तयार गरी अनलाइन सेवा कार्यान्वयनमा ल्याएको हो । हालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन अनलाइनबाट दिने सुविधा लागू गरिएको छ भने अन्य सेवाहरू पनि क्रमशः अनलाइनमै ल्याउने योजना रहेको उनले बताए । उनले भने, 'आगामी जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनमार्फत सञ्चालन हुनेछ ।' विद्यार्थीहरूले student.tuexam.edu.np मा लगइन गरी दिइएका निर्देशन अनुसार अनलाइन फारम भर्न सक्ने छन् । तोकिएको शुल्क अनलाइन बैंकिङमार्फत भुक्तानी गरी फारम सबमिट गर्न सकिनेछ । जोशीका अनुसार प्रारम्भिक चरणमा रजिस्ट्रेसन कार्डमा उल्लेख भएअनुसार मार्कसिटहरूमा एकरूपता भएमा सोही अनुसार आवेदन दिन सकिनेछ, नभएमा ‘करेक्सन अप्सनमा’ गई सच्याएर सबमिट गर्नुपर्नेछ ।