लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत
काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५९ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो । विश्वविद्यालयको हालको बेरुजु शून्य दशमलव पाँच मात्रै भएको बैठकलाई अवगत गराइयो । कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान)हरुले नयाँ आव लाग्नुअगावै आगामी आव बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिका लागि छोटो सूचनामा विश्वविद्यालयको सभा राखिएको हो ।
पर्ल मोन्टेश्वरी स्कुलमा पथ्य आहार तथा पोषणबारे अभिभावक र शिक्षिकाको प्रतियोगिता सम्पन्न
काठमाडौं । चन्द्रागिरीकाे बलम्बुस्थित पर्ल मोन्टेश्वरी स्कुलले पथ्य आहार तथा पोषणसम्बन्धी अभिभावक–शिक्षिका प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रममा झन्डै २५–३० जनाको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारसहित चार समूहलाई विजेता घोषणा गरिएको थियो । कार्यक्रमले अभिभावक र शिक्षकबीचको सम्बन्ध अझ घनिष्ट बनाएको विद्यालयले जनाएको छ । २०७९ फागुनमा स्थापना भएको पर्ल मोन्टेश्वरी स्कुलमा इसीडी मोन्टेश्वरी तालिमप्राप्त शिक्षिकाहरु कार्यरत छन् । विद्यालयमा पोषण विज्ञको रेखदेखमा पारिवारिक वातावरणमा दुई पटकसम्म स्वस्थकर खाजाको व्यवस्था पनि छ । विद्यालयकी शिक्षिका रितु शर्माले भनिन्, 'हामी अभिभावक तथा बालबालिकाको हितलाई केन्द्रमा राखेर मात्रै कार्यक्रम आयोजना गर्छौं । विद्यालय र अभिभावक दुवै पक्षका लागि यस्ता कार्यक्रम उपयोगी छन् ।' कार्यक्रमको निर्णायकमा बुक राइटर, एमफिल तथा तीन विषयमा स्नातकोत्तर गरेकी त्रिभुवन विश्वविद्यालयको सेन्टरल डिपार्टमेन्ट अफ होम साइन्सकी विभाग प्रमुख सन्तोष गिरी तथा पोषण विज्ञ मिरा शाहले भूमिका निर्वाह गरे । सभी सहभागीको प्रस्तुति उल्लेखनीय थियो । एक अभिभावकले आफू युरिक एसिडको समस्याबाट ग्रसित भए पनि औषधि सेवन नगरी जीवनशैली र पोषणयुक्त खानपानमार्फत सुधार आएको अनुभव सुनाए । निर्णायक सन्तोष गिरीले स्वास्थ्यलाई दीर्घकालीन रूपमा सुधार गर्न औषधिको मात्र होइन, पोषणको पनि महत्त्व बराबरी रहेकोमा जोड दिइन् । 'औषधिले निको पार्छ, तर कहिलेकाहीं अर्को अंगमा नोक्सानी पनि गर्छ। हरेक वडामा पोषण सचेतनामूलक कार्यक्रम आवश्यक छ,' उनले भनिन् । कार्यक्रममा पोषणप्रति सरकार र सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराइएको थियो । 'एक स्कुल–एक नर्सको अवधारणा कार्यान्वयन भइसकेको छ भने अब एक स्कुल–एक पोषण विज्ञ पनि जरुरी छ,' गिरीले भनिन् । अहिले पनि धेरै अस्पतालहरूमा पोषण विज्ञको उपस्थिति छैन । भएका अस्पतालमा पनि चिकित्सकहरूले रिफर नगरेका कारण बिरामीले आवश्यक पोषण परामर्शबाट वञ्चित हुने गरेको गुनासो गरिएको थियो । कार्यक्रममा नेपालमा पोषणसम्बन्धी चेतना अझै ओझेलमा रहेको, पोषण सप्ताह कहिले मनाइन्छ भन्नेबारे धेरैलाई जानकारी नभएको, र युट्युब–फेसबुकमा गलत र अपूर्ण जानकारीकै भरमा खानपान गर्ने प्रवृत्ति बढिरहेको उल्लेख गरियो । गिरीले भनिन्, 'हरेक खानेकुरामा विषादीको प्रयोगले हामी विभिन्न रोगको घर बनेका छौं । अब हामी सचेत हुनैपर्छ । स्वस्थ रहनु भनेको सही पोषण र जीवनशैलीबाट सम्भव छ ।'
सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत
काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोड रुपैयाँको अनुमानित बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. विनोद लेखकद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत गरिएको हो । कुलपति ओलीले विश्वविद्यालयको आर्थिक स्थितिलाई तन्दुरुस्त राख्न आग्रह गर्दै बजेट प्रस्तुत गर्दा यथार्थ चित्रका आधारमा गर्न निर्देशन दिए । साथै आव २०८१/८२ को नियमानुसार लेखा परीक्षण गराउन पनि उनले निर्देशन दिए ।