व्यास नगरपालिकाबाट २०६ विद्यार्थीलाई छात्रवृत्ति, शिक्षा क्षेत्रमा लगानी
काठमाडौं । तनहुँको व्यास नगरपालिका कार्यालयले २०८१/८२ मा २०६ विद्यार्थीलाई १८ लाख ४८ हजार ५ सय रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ । कक्षा १२ भन्दा माथिका ३९ जना विद्यार्थीलाई ११ हजारका दरले र कक्षा ९ देखि १२ सम्मका १६७ जनालाई आठ हजार ५ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको हो । आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गरेर पढ्ने वातावरण मिलाइदिएको नगरपालिकाले जनाएको छ । शिक्षाबाट कोही पनि वञ्चित हुन नपरोस् भनी नगरपालिकाले शिक्षा क्षेत्रमा बर्सेनि ठूलो रकम लगानी गर्दै आएको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । उनले भने, ‘नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेको छ, शैक्षिक क्यालेन्डर निर्माण गरी सोही आधारमा विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।’ कक्षा ५ र ८ को परीक्षा सञ्चालन गरी शैक्षिक गुणस्तर मापन कार्य गरिएको नगरपालिकाले जनाएको छ । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, दीर्घ सेवारत शिक्षक, निवृत्त शिक्षक गरी ४९ र १२ उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत एवं सम्मान गरेको थियो । राष्ट्रिय बाल दिवस २०८१ का अवसरमा अन्तर विद्यालय विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरी उत्कृष्ट चार विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । संघीय शिक्षण सिकाइ सहयोग अनुदानमा माध्यमिक र आधारभूत तहको २३ कोटामा विषयगत शिक्षक पदपूर्ति गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘प्रसूति बिदामा रहेका १३ शिक्षकको सट्टामा सुत्केरी सट्टा शिक्षक व्यवस्थापन गरी पठनपाठन कार्यलाई सञ्चालन गरिएको थियो ।’
चार दिनसम्म चलेको सफ्टवारिका कलेजको प्रविधि महोत्सवमा १० हजारभन्दा बढी भए सहभागी
काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आयोजना गरेको ‘टेक एक्सस् एलिभेट २०२५’ नामक चारदिने प्रविधि महोत्सव उत्साहजनक रूपमा सम्पन्न भएको छ । असार ३२ देखि श्रावण ३ गतेसम्म सञ्चालित उक्त कार्यक्रमले प्रविधि, उद्यमशीलता र प्रेरणालाई एउटै मञ्चमा समेट्दै युवा पुस्तालाई नवीन सोच र आत्मविश्वासको सन्देश दिएको छ । करीब १० हजारभन्दा बढी आगन्तुकहरूको सहभागिता रहेको महोत्सवमा ५० भन्दा बढी शैक्षिक संस्थाहरूको सहभागिता, ३० भन्दा बढी प्रविधिमैत्री कम्पनीहरूको प्रदर्शनी र १५ भन्दा बढी चर्चित कन्टेन्ट क्रिएटरहरूसँगको प्रत्यक्ष संवादले वातावरणलाई जटिल नभई जिज्ञासुपूर्ण बनायो । कार्यक्रममा विद्यार्थीहरूले विकास गरेका २० भन्दा बढी प्रविधिमूलक प्रोजेक्टहरू जस्तै ‘करुणा’, ‘मिरा’, ‘स्टडीसेन्स’, ‘तोमात्रों’, ‘फिसअवेर’, ‘फ्लिप आरएफआईडी’, ‘केम्ल्याब भीआर’ आदिले दर्शकहरूको ध्यान खिचे। ती इनोभेसनहरूले शिक्षा, कृषि, स्वास्थ्य र सुरक्षाको क्षेत्रमा प्रविधिको सम्भावनालाई उजागर गरे। आन्त्रप्रेनरशिप मास्टरक्लास सत्रमा नारायण कोईराला, डा. मनीष थापा र निरञ्जन खडेलजस्ता विशेषज्ञहरूले अनुभव साटे । २५ भन्दा बढी स्टार्टअप आइडिया पिच गरिएका भीसी सत्रमा ७ भन्दा बढीमा लगानीकर्ताहरूले चासो देखाएका थिए । कलेजले उत्कृष्ट स्टार्टअपहरूलाई लक्षित गर्दै १ करोड रुपैयाँ लगानी गर्ने घोषणा समेत गर्यो । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललगायत प्रेरक व्यक्तित्वहरूले ‘इन्स्पायर टक’ सत्रमा इमान, अनुशासन र राष्ट्रप्रेमबारे विचार राखे । जब फेयरमा ३० भन्दा बढी कम्पनीहरूको सहभागिता रह्यो, जसमा ५०० भन्दा बढी सहभागीले प्रत्यक्ष अन्तर्वार्ता, नेटवर्किङ र करियर परामर्शका अवसर पाए । ‘आइरन क्लाश’ नामक रोबोट युद्ध प्रतियोगिता कार्यक्रमको विशेष आकर्षण बन्यो। विद्यार्थीहरूले दुई वर्षदेखि निर्माण गरेका रोबोटहरूको रोमाञ्चक भिडन्तमा विजेता समूहलाई ३ लाख बराबरको पुरस्कार प्रदान गरियो । १५ भन्दा बढी चर्चित डिजिटल इन्फ्लुएन्सरहरूको सहभागिताले युवामाझ डिजिटल सम्भावनाबारे नयाँ सोचको ढोका खोल्यो । सविन कार्की (बिस्ट), राहुल खड्गी, सिद्धार्थ घिमिरे (टेक), सजिना खनाललगायतले सामाजिक सञ्जालमा सकारात्मक प्रभावको सम्भावनाबारे चर्चा गरे । कार्यक्रमको समापन समारोहमा आयोजक संस्थाले ‘टेक एक्सस् एलिभेट’ केवल प्रविधिको प्रदर्शनी नभई शिक्षा, नवप्रवर्तन र प्रेरणाको संगम भएको स्पष्ट गर्यो । कलेजले नेपाली युवालाई विश्वस्तरीय प्रविधि सीप, सोच र आत्मविश्वास प्रदान गर्दै ग्लोबल प्रतिस्पर्धाका लागि तयार पार्ने प्रतिबद्धता दोहोर्‍यायो । चार दिनको कार्यक्रमले एउटा स्पष्ट सन्देश दिएको छ । अब प्रविधिको यात्रा नेपाली युवाहरूको हातमा सुरक्षित छ, र उनीहरू आत्मविश्वासका साथ भविष्यको नेतृत्व गर्न तयार छन् ।
इलावेन इकोनोमी
काठमाडौं । काठमाडौंका अविरल कार्की ३.५७ जिपीए ल्याएर एसईईमा पास भए । काठमाडौंको बागबजारमा रहेको सिद्धार्थ पब्लिक एकेडेमीबाट एसईई पास उनी अहिले नयाँ बानेश्वरमा रहेको नोवेल एकेडेमीमा व्यवस्थापन अन्तर्गत गत कम्प्युटर साइन्स पढ्न भर्ना समेत भइसकेका छन् । भर्ना शुल्क ५ हजार तिरेका अविरलले ड्रेसका लागि १० हजार तिर्नुपर्यो । कलेजको ड्रेस कलेजले भनेकै ठाउँमा गएर मात्र सिलाउनुपर्छ । यसका लागि १० हजार खर्च भएको उनले बताए । उनको जीपीए पनि राम्रो र साथीहरूको समूह जाँदा उनलाई कलेजले केही छुट दिएको उनले बताए । उनका अनुसार अब उनलाई वर्षभरीको मासिक शुल्क ३५ हजार मात्र तिर्नुपर्ने छ । त्यस बाहेक कलेजलाई वार्षिक ५५/६० हजार रूपैयाँ बुझाउनु पर्ने उनी बताउँछन् । सिन्धुलीकी निकिता चावहिलको टेक्सास कलेजमा कक्षा ११ मा भर्ना भइन् । अघिल्लो साता आमाबुवासँग कलेजमा पुगेकी उनले कलेज हेरेपछि भर्ना भइन् । विज्ञान विषय लिएर अध्ययन गर्ने योजना बनाएकी उनीसँग शुल्कको विषयमा बुझ्दा छुट विभिन्न छुटपछि वार्षिक ६० हजार तिर्नुपर्ने उनका बुवाले बताए । उनले भने, ‘हाम्रो चिनजानका मान्छे पनि हुनुहुन्थ्यो छोरीले पनि राम्रै नम्बर ल्याएकी थिइन्, छुट पाएर ६० हजार शुल्कमा कुरा मिलेको छ, नभए कति धेरै पैसा लाग्छ ।’ कलेजलाई बुझाउने बाहेक भर्ना, स्कुल ड्रेस लगायत विभिन्न शिर्षकमा उत्तिकै खर्च हुन्छ । उनी कक्षा ११ मा छुट पाए पनि कम्तिमा एक लाख खर्च हुने बताउँछन् । काभ्रेका अंकित खनाल ज्ञानोदय माविमा कक्षा ११ मा विज्ञान विषय लिएर अध्ययन गर्ने योजनामा छन् । उनी कलंकीमा रहेको ज्ञानोदयले लिएको प्रवेश परीक्षामा नाम निकालेर भर्ना समेत भइसकेका छन् । भर्नाको लागि ६ हजार ५ सय रुपैयाँ तिर्नुपर्यो भने स्कुल ड्रेसको लागि ५ हजार ५ सय रुपैयाँ स्कुलमा बुझाइसके । ज्ञानोदयमा विज्ञान विषय लिएर अध्ययन गर्दा मासिक शुल्क १ हजार पाँच सय तिर्नुपर्छ । शुल्क मात्रै हेर्ने हो भने उनले एक वर्षमा अर्थात कक्षा ११ मा १८ हजार तिर्नुपर्छ । अंकितकी आमा जानुका कमै खर्च भने पनि छोरा पढाउँदा ३० देखि ४० हजार हाराहारीमा खर्च हुने बताउँछिन् । ‘सरकारी स्कुल राम्रो पनि छ, सस्तो पनि छ भनेर यही भर्ना गरियो,’ जानुका भन्छिन्, ‘मासिक शुल्क १५ सय भनेको छ, स्कुल त हो कहिले केही कहिले केही भनेर पैसा मागिरहन्छ, जति खर्च लागे पढाउनै पर्यो ।’ सामुदायिक विद्यालयमा कक्षा ११ मा पढ्न ४० देखि ५० हजारसम्म खर्च गर्नुपर्ने बाध्यता छ । पुतलीसडकमा रहेको पद्मोदय माविका प्रधानाध्यापक डा. शर्मीला पोख्रेल पद्मोदय माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीले ३५ देखि ४० हजारको हाराहारीमा खर्च लाग्ने गरेको सुनाउँछिन् । मासिक शुल्क महँगो छैन । तर, भर्ना, ड्रेस, किताब कापी लगातय सामग्री जोड्दा हाम्रो स्कुलमा विज्ञान विषय पढ्ने विद्यार्थीले ३५ देखि ४० सम्म खर्च गर्नैपर्छ,’ उन्ले भनिन् । उनी व्यवस्थापन विषय लिएर पढ्दा पनि सोही हाराहारीमा खर्च आउने बताउँछिन् । पद्मोदयमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले सुरुमै भर्ना हुँदा ५ हजार तिर्नुपर्छ भने स्कुल ड्रेसका लागि ५ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । विद्यालयले नेपाली अंग्रेजी र सामाजिक विषय उपलब्ध गराएपनि बाँकी विषय भने विद्यार्थीले किन्नुपर्ने हुन्छ । ‘सामुदायिक विद्यालय हो यति शुल्क पनि हामीले लिनु नपर्ने हो । तर, विद्यार्थीका लागि आवश्यक शिक्षक राख्नुपर्यो, कहिलेकाहीँ अन्य विभिन्न किसिमका खेलहरू पनि खेलाउनुपर्यो,’ उनी भन्छिन्, ‘विद्यार्थीबाट उठाएको शुल्क हामी व्यक्तिगत रुपमा खर्च गर्ने होइन, दरबन्दी अनुसार शिक्षक छैनन्, शिक्षक राख्नुपर्यो, विद्यार्थीबाट लिइएको शुल्क उनीहरूकै क्षेत्रमा खर्च गर्नुपर्ने हुन्छ ।’ निजीमा लाखाैं शुल्क सामुदायिक विद्यालयमा ३० देखि ४५ हजार रुपैयाँसम्म खर्च गरे पनि निजी विद्यालयमा भने लाखौं रुपैयाँसम्म खर्च हुने गरेको छ । उपत्यका सबैभन्दा महँगा भनिका युलेन्स र रातो बंगलामा अध्ययन गर्ने विद्यार्थीले कक्षा ११ र १२ पुरा गर्न ६ लाखदेखि ७ लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ । ललितपुरमा रहेको प्रसादी एकेडेमी, बागबजारमा रहेको काठमाडौं मोडेल कलेज, डिल्ली बजारमा रहेको ट्रिनिटी इन्टरनेश्नल निष्ट र युनाइटेड कलेजमा अध्ययन गर्ने विद्यार्थीले ५ लाखसम्म खर्च गर्नुपर्ने हुन्छ । सामुदायिक विद्यालयमा एउटा विद्यार्थीले कक्षा ११ मा भर्ना हुन औसत २० हजार रुपैयाँ खर्च गर्नु परेको छ भने निजी विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले औसतमा ६० हजार खर्च गर्नु परेको छ । नेपाल मेगा कलेज, गोल्डेन गेट र अरनिको स्कुलमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तीन लाख ७५ हजारसम्म शुल्क तिर्नुपर्ने सम्बन्धित कलेजका अधिकारीहरुले बताएका छन् । चावहिलमा रहेको टेक्सास कलेजका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ टेक्सासमा पढ्ने विद्यार्थीले १ लाखदेखि डेढलाखसम्म खर्च गर्दा कक्षा ११ र १२ को पढाइ पुरा गर्न सकिने बताउँछन् । व्यवस्थापन र विज्ञान विषयका लागि एक देखि डेढ लाख र मानवशास्त्र र कानुन विषयका लागि औसत एक लाख खर्च गर्दा पढाइ पुरा हुने उनी बताउँछन् । उनी भन्छन् ‘मैले भनेको कलेजको शुल्कको मात्र कुरा हो । तर, किताब कापी, ट्युसन लगायत अन्य विद्यार्थीको व्यक्तिगत शुल्क त्यो भन्दा बढी लाग्न सक्छ । अनामनगरमा रहेको मेगा कलेजमा व्यवस्थापन, विज्ञान र कानुन विषय पढाइ हुन्छ । त्यहाँ कक्षा ११ मा मात्रै भर्ना हुँदा विद्यार्थीले एक लाख १२ हजार मासिक शुल्क तिर्नुपर्छ । कक्षा ११ र १२ दुवै पूरा गर्न विद्यार्थीले करिब तीन लाख हाराहारीमा खर्च गर्नुपर्ने हुन्छ । बजारमा अर्बौं रकम माध्यामिक शिक्षा परीक्षा एसईई २०८१ मा नियमित परीक्षामा सहभागी ४ लाख ३८ हजार ८ सय ९६ परीक्षार्थी मध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात पास भए । अर्थात् २ लाख ७१ हजार २ सय ९२ विद्यार्थी कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)पास भएका छन् । एक वा दुई विषयमा फेल भएका विद्यार्थीले फेरि परीक्षा दिँदा यो संख्या अझै बढ्छ । कुनै पनि विषय नलागेर पास भएका २ लाख ७१ हजार बढी विद्यार्थीको मात्र कुरा गर्ने हो भने अहिले उनीहरू कक्षा ११ मा भर्ना भइसकेका छन् । कतिपय विद्यार्थीले प्राविधिक विषय रोजेर ११ मा भर्ना गरेका छन् भने कतिपयले नन्प्राविधिक विषय रोजेका छन् । कक्षा ११ मा सामुदायिक विद्यालय र निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको भर्ना शुल्कदेखि मासिक शुल्क फरक छ । सामुदायिक विद्यालयमा एउटा विद्यार्थीले कक्षा ११ मा भर्ना हुन औसत २० हजार रुपैयाँ खर्च गर्नु परेको छ भने निजी विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले औसतमा ६० हजार खर्च गर्नु परेको छ । सामुदायितक र निजी विद्यालयमा कक्षा ११ मा भर्ना गर्ने विद्यार्थीले भर्ना शुल्क, किताब–कापी, स्कुल ड्रेस लगायत सामग्रीमा सुरुमै औसत ४० हजार बढी खर्च हुने गरेको शिक्षकहरु बताउँछन् । अहिले एसईईमा पास भएका कुल २ लाख ७१ हजार २ सय ९२ विद्यार्थीले ११ मा भर्ना गर्नका लागि सुरुमै औसत ४० हजार रुपैयाँ खर्च गर्दा करिब ११ अर्ब रुपैयाँ बजारमा जान्छ । यो न्यूनतम रकम हो । निजी विद्यालयमा पढ्ने विद्यार्थीले सुरुमै २ लाख बढी रुपैयाँ विद्यालयलाई तिर्नुपर्ने अवस्था पनि छ भने केही विद्यार्थी प्राविधिक क्षेत्र रोज्ने भएकोले पनि त्यहाँ पनि लाखौं रकम खर्च गर्नुपर्ने बाध्यता छ । तर, औसतमै हिसाब गर्ने हो भने एसईईमा पास भएका विद्यार्थीले सुरुमै बजारमा ठूलो रकम पठाउँछन् । एउटा सामान्य सामुदायिक विद्यालयमा भर्ना शुल्क न्यूनतम १० हजार, ड्रेस १० हजार, किताब–कापी लगायत स्टेसनरी खर्च १० हजार र मासिक शुल्क १० हजारमात्र छुट्याउने हो भने पनि एक जना विद्यार्थीले औसतमा ४० हजार रुपैयाँ खर्च हुन्छ ।