एसईईमा पासदर बढ्दै, ‘सन्तुष्ट हुने आधार छैन’
काठमाडौं । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा २०८१ सालको नतिजाभन्दा ४.१७ प्रतिशतले सुधार भएको देखिएको छ । २०८१ सालको नतिजामा ६१. ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा २०८२ सालको एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । यो वर्ष २ लाख ८४ हजार १ सय ६० अर्थात् ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा १ लाख ४६ हजार ५ सय ७ अर्थात् ३४.०२ प्रतिशत विद्यार्थी ननग्रेडेड भए । गत चैत २९ गते सम्पन्न भएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी थिए । यो नतिजा गएको वर्षभन्दा ४.१७ प्रतिशतले बढी हो । विगतका वर्षमा करिब तीन महिनापछि प्रकाशित हुने नतिजा यो वर्ष २९ दिनमै सार्वजनिक हुँदा शिक्षामन्त्री सस्मित पोखरेलले राज्य संयन्त्रको सामूहिक प्रतिवद्धता कार्यक्षमताको महत्त्वपूर्ण उदाहरण भएको बताएका छन्। २०८१ सालको एसईई नतिजा २०८० सालको नतिजाभन्दा १३.९५ प्रतिशतले सुधार भएको थियो । २०८० मा ४७.८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । एक वर्षमा १३ प्रतिशतले नतिजामा सुधार गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको मिहिनेत भनेका थिए । प्रत्येक सरकारले नतिजा सुधारमा जस लिन खोजेपनि यो सुधारलाई शिक्षामा सुधार भएको मान्न नसिकिने विज्ञहरू बताउँछन् । अझै चार प्रदेशको नतिजा राष्ट्रिय औसतभन्दा कम भएकाले दुई/चार प्रतिशत नतिजामा सुधार आउँदैमा सिकाइमा गुणस्तर भएको मान्न नसकिने उनीहरूको तर्क छ । समग्र नतिजामा सुधार देखिए पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशको नतिजा राष्ट्रिय औसतभन्दा कमजोर देखिएको छ । २०७८ सालमा ४६ प्रतिशत विद्यार्थी ग्रेडड भएकोमा पाँच वर्षपछि अर्थात् २०८२ सालमा करिब ६६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । झट्ट सुन्दा यो नतिजाले शिक्षा क्षेत्रमा बिस्तारै सुधारको संकेत गरेको देखिए पनि विज्ञहरू भने यसलाई सुधार भन्न नमिल्ने बताउँछन् । उनीहरूका अनुसार हरेक वर्ष नतिजामा तीन/चार प्रतिशतले सुधार हुनु भनेको प्राकृतिक हो, यो हरेक वर्ष आफै हुन्छ । गत वर्षभन्दा ४ प्रतिशतले नतिजा सुधार हुनु अर्थात् २०७८ सालको नतिजासँग तुलना गरेर शिक्षामा सुधार भएको हो भन्न नसकिने विज्ञहरू बताउँछन् । शिक्षाविद् डा. विष्णु कार्की यो नतिजाले शिक्षामा सुधार भएको भन्न नमिल्ने बताउँछन् । उनी सरकारले एक महिनाभित्रै नतिजा प्रकाशन गर्नु गत वर्षभन्दा चार प्रतिशतले नतिजामा सुधार आउनु राम्रो संकेत भए पनि शिक्षामा सुधार भएको भन्न नमिल्ने उल्लेख गर्छन् । उनी एक महिनाभित्रै नतिजा निकाल्न सक्नु सकारात्मक कदम भएको धारणा राख्छन् । यस्तो छ पाँच वर्षको नतिजा २०८२ सालको परीक्षामा दुई लाख ८४ हजार १ सय ६० अर्थात् ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा १ लाख ४६ हजार ५ सय ७ अर्थात् ३४.०२ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन् । २०८१ सालमा ५ लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी भएकोमा ६१. ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । २०८० सालको एसईई परीक्षामा ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । यो नतिजा सार्वजनिक हुँदा सरकार र सरकारी विद्यालयको निकै आलोचना भएको थियो । सरकारले नतिजा सुधारका लागि प्रयास गर्ने प्रतिबद्धता जनाएको थियो । २०७९ को एसईईमा ४६.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी भएका थिए भने २०७८ को एसईई परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जनाले फारम भरेका थिए । तर ४ लाख ९५ हजार ७५१ मात्रै थियो । चार जीपीए ल्याउने विद्यार्थीको संख्या २०८० यता फोर जीपीए ल्याउने विद्यार्थीको संख्या पनि बढ्दै छ । जीपीए ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २०८२ सालमा ४८ हजार ३ सय ९२ छ भने अघिल्लो वर्ष २०८१ मा यस्ता विद्यार्थीको संख्या ४८ हजार १ सय ७७ थियो । यस्तै, २०८० सालमा भने ३१ हजार २ सय ९ विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका थिए । त्योभन्दा अघिल्ला वर्षहरूमा यो संख्या अझ कम थियो । २०७९ सालको एसईई नतिजामा ३.६० देखि ४.०० ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ थियो भने २०७८ सालको एसईई नतिजामा ९ हजार ६ सय ३३ जना विद्यखर्थीले ३.६ देखि ४ जीपीए ल्याएका थिए । यो वर्ष अर्थात् २०८२ सालको एसईई नतिजामा ७ जना विद्यार्थीले १.६० देखि २ जीपीए ल्याएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस्तै, २ देखि २.४० जीपीए ल्याउने ५ हजार १ सय ९० जना, जीपीए २.४० देखि २.८० ल्याउने ५५ हजार ९ सय ७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ९४ हजार २ सय २२ जना रहेका छन् । यस्तै, जीपीए ३.२० देखि ३.६० ल्याउने ८० हजार ३ सय ७२ जना, ३.६० देखि ४ जीपीए ल्याउने ४८ हजार ३ सय ९२ जना रहेका छन् । २०८१ सालको एसईईमा १.६० जिपीएदेखि २.०० ल्याउने विद्यार्थी ८ जना थिए । २.००देखि २.४० ल्याउने ४ हजार १ सय २६ विद्यार्थी थिए भने २.४० देखि ३.८० ल्याउने विद्यार्थी ४८हजार ४ सय ७९ विद्यार्थी थिए । यस्तै २८० देखि ३.२० ल्याउने विद्यार्थी ८९ हजार १ सय २४, ३.२० देखि३.६०ल्याउने विद्यार्थी ४१ हजार ३ सय ८५, ३.६० देखि ४०० ल्याउने विद्यार्थी ४८ हजार १ सय ७७ थिए । २०८० सालको एसईई परीक्षामा १.६० जिपीएदेखि २.०० ल्याउने विद्यार्थी ६ जना थिए । यस्तै २.००देखि २.४० ल्याउने २ हजार ९ सय ५० विद्यार्थी थिए भने २.४० देखि ३.८० ल्याउने विद्यार्थी ४१ हजार ४ सय ८७ विद्यार्थी थिए । यस्तै २.८० देखि ३.२० ल्याउने विद्यार्थी ७८ हजार ८ सय ७४, ३.२० देखि३.६० ल्याउने विद्यार्थी ६८ हजार २ सय ५६ थिए भने ३.६० देखि ४०० ल्याउने विद्यार्थी ३१ हजार २ सय ९ थिए । २०७९ को एसईईमा ०.८०देखि १.२० ल्याउने विद्यार्थी २ हजार २ सय, १.२०देखि १.६० ३८ हजार ७ सय ७०, १.६० देखि २.०० ल्याउने ४८ हजार ४ सय ४७, २.०० देखि २.४० ल्याउने १ लाख २२ हजार ९३, २.४०देखि २.८० ल्याउने ८९ हजार ३ सय ३१ , २.८० देखि ३.२० ल्याउने ७२ हजार ३ सय ६२, ३.२० देखि ३.६० ल्याउने ५५ हजार ६९, र ३.६० देखि ४.०० ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ थियो । यस्तै २०७८ को एसईईमा ०.८ देखि १.२ जीपीए ल्याउने विद्यार्थी ३२ हजार ८० (०.६६ प्रतिशत), १.२ देखि १.६ जीपीए ल्याउने ४४हजार ५ सय ८६ (८.९९ प्रतिशत), १.६ देखि २.० जीपीए ल्याउने १००५९४ (२०.२९ प्रतिशत), २.० देखि २.४ जीपीए ल्याउने ११२७३३ (२२.७४ प्रतिशत), २.४ देखि २.८ जीपीए ल्याउने ९०५५८ (१८.३१ प्रतिशत), २.८ देखि ३.२ जीपीए ल्याउने ६९९०० (१४.१० प्रतिशत), ३.२ देखि ३.६ जीपीए ल्याउने ४१६२७ (८.४० प्रतिशत) र ३.६ देखि ४ जीपीए ल्याउने ९६३३ (१.९४ प्रतिशत) थिए । हराएका विद्यार्थीको खोजी खोइ ? सरकारले हरेक वर्ष नतिजामा दुई/चार प्रतिशत सुधार गरे पनि अझै शिक्षा क्षेत्रमा राम्रो काम गर्न सकेको छैन । शिक्षाविद् कार्की अझै ३४ प्रतिशत विद्यार्थी नन् ग्रेडेड हुनु भनेको राम्रो नभएको बताउँछन् । उनी यो संख्या निकै धेरै रहेको दाबी गर्छन् । योभन्दा अर्को चुनौतीको कुरा झण्डै ४० प्रतिशत एसईई दिने विद्यार्थी बीचमा हराउँदा पनि कसैले चासो नदेखाएको भन्दै उनले असन्तुष्टि राखे । २०७२ सालमा कक्षा १ मा भर्ना भएका विद्यार्थीले २०८२ सालमा एसएईई दिएका थिए । जबकि त्यो बेला ९ लाख विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । तर कक्षा १० को परीक्षा हुँदा करिब ४ लाख विद्यार्थी बिचबाटोमा हराएका छन् । ‘हामीले नतिजामा सुधार आयो भन्दै गर्व गरिराख्दा ४० प्रतिशत विद्यार्थी बीचमा हराए । यो विषयमा न हामी शिक्षामा चासो राख्नेले खोजी गर्यौं न जिम्मेवार तहमा रहेका व्यक्तिले खोजी गरे, यो तीतो यथार्थ हो,’ कार्कीले भने। उनी यो विषयमा तीनै तहका सरकारले काम गर्नुपर्ने बताउँछन् । यदि सुधार हुने हो भने २० प्रतिशतको हिसाबले सुधार हुनुपर्ने बताउँछन् । कार्की भन्छन्, ‘जसरी कक्षा ८ भनेको आधारभूत तह हो कक्षा १० भनेको माध्यामिक शिक्षको तह होइन एउटा कक्षामात्र हो यसलाई अरू वार्षिक परीक्षा जस्तै सामान्य रुपमा लिइनुपर्छ, यसलाई कुनै बोर्डले लिनुपर्ने परीक्षा होइन ।’ उनी कक्षा १० मा ६६ प्रतिशत नभई झण्डै ९०/९५ प्रतिशत विद्यार्थी पास हुनुपर्ने बताउँछन् ।
एसईईको नतिजामा ६ वटा विद्यालयको नतिजा शून्य
काठमाडौं । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा पाँचथरका ६ वटा विद्यालयको नतिजा शून्य आएको छ । एक संस्थागत र पाँच सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी कुनै पनि विद्यार्थी ‘ग्रेडेड’ (उत्तीर्ण) हुन सकेनन् । फिदिम नगरपालिका-२ साम्दिनस्थित कालिका माध्यमिक विद्यालयबाट ८ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएकामा एक जना पनि ग्रेडेड हुन नसकेको फिदिम नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । गत वर्ष पनि उक्त विद्यालयले कुनै विद्यार्थीलाई उत्तीर्ण गराउन सकेको थिएन । यस्तै, फाल्गुनन्द गाउँपालिका-३ स्थित सारताप मनरत्न माध्यमिक विद्यालयबाट २६ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा एक जना पनि उत्तीर्ण भएनन् । मिक्लाजुङ गाउँपालिकाका दुई सामुदायिक र एक संस्थागत विद्यालयले कुनै पनि विद्यार्थीलाई उत्तीर्ण गराउन सकेनन् । यहाँको खान्द्रोङ माध्यमिक विद्यालय (मिक्लाजुङ-१) बाट छ जना, चन्द्रोदय माध्यमिक विद्यालय (मिक्लाजुङ-७) बाट १० जना र माउण्ट कञ्चन बोर्डिङ स्कुल (मिक्लाजुङ-४) बाट १० जना विद्यार्थी परीक्षामा सहभागी भएकामा एक जना पनि ग्रेडेड हुन सकेनन् । यस्तै, फालेलुङ गाउँपालिका-३ स्थित सरस्वती माध्यमिक विद्यालय, ताङलेपाले समेत कुनै पनि विद्यार्थीलाई उत्तीर्ण गराउन सकेन । उक्त विद्यालयबाट चार जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । शिक्षा विकास तथा समन्वय इकाई पाँचथरका अनुसार जिल्लामा नियमित साधारणतर्फ दुई हजार ९९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा एक हजार ३४ जना ग्रेडेड भएका छन्, जुन कुल सङ्ख्याको ४९ प्रतिशत हो । प्राविधिक धारतर्फ एक सय २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ६२ जना ग्रेडेड भएका छन् । पाँचथरमा दुई जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । हिलिहाङ गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयबाट २४८ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १३४ जना ग्रेडेड भएका छन्, जुन ५४ प्रतिशत हो । यहाँको सिद्ध माध्यमिक विद्यालय, पञ्चमीबाट सबैभन्दा बढी ३८ जना तथा सिद्धकाली माध्यमिक विद्यालय, किवाबाट सबैभन्दा कम १० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । हिलिहाङको नीलगिरि माध्यमिक विद्यालयले सबैभन्दा राम्रो नतिजा निकाल्दै १७ मध्ये १६ जना विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको गाउँपालिका शिक्षा शाखाका प्रमुख राजन आचार्यले जानकारी दिए । कुम्मायक गाउँपालिकाका पाँच वटा माध्यमिक विद्यालयबाट १६० जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ६३ जना ग्रेडेड भएका छन्, जुन ३९ प्रतिशत हो । यहाँको पृथ्वी माध्यमिक विद्यालय, यासोकबाट सबैभन्दा बढी ६६ जना तथा खाल्डे माध्यमिक विद्यालयबाट सबैभन्दा कम नौ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । खाल्डे माध्यमिक विद्यालयले नौमध्ये आठ जना विद्यार्थीलाई उत्तीर्ण गराएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीपसिं तामाङले जानकारी दिए । याङवरक गाउँपालिकाको नतिजा कमजोर देखिएको छ । यहाँका सात वटा विद्यालयबाट २४३ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा केवल ६५ जना ग्रेडेड भएका छन्, जुन २६ प्रतिशत हो । यहाँको थर्पू माध्यमिक विद्यालयबाट सबैभन्दा बढी ६८ जना तथा नारायणी माध्यमिक विद्यालयबाट सबैभन्दा कम १४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तुम्बेवा गाउँपालिकाले भने सन्तोषजनक नतिजा निकालेको छ । यहाँका छ वटा विद्यालयबाट १५४ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ८६ जना ग्रेडेड भएका छन्, जुन ६२ प्रतिशत हो । यहाँको इन्द्राणी माध्यमिक विद्यालयबाट सबैभन्दा बढी ६३ जना तथा बुद्धेश्वरी माध्यमिक विद्यालयबाट सबैभन्दा कम छ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । इन्द्रावती माध्यमिक विद्यालयले २८ मध्ये २६ जना विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । फिदिम नगरपालिकाका २० वटा सामुदायिक माध्यमिक विद्यालयबाट ६०० जना विद्यार्थी परीक्षामा सहभागी भएकामा २६९ जना ग्रेडेड भएका छन्, जुन करिब ४५ प्रतिशत हो । फिदिम-२ स्थित कालिका माध्यमिक विद्यालय, साम्दिनबाट आठ जना विद्यार्थी सहभागी भएकामा एक जना पनि ग्रेडेड भएनन् । यस्तै, ४१ जना विद्यार्थी सहभागी भएको सरस्वती माध्यमिक विद्यालय, चोकमागूबाट जम्मा एक जना मात्र ग्रेडेड भएका छन् । फिदिमकै रानीटार माध्यमिक विद्यालयबाट २८ मध्ये २६ जना विद्यार्थी ग्रेडेड भएका छन् । फिदिममा सबैभन्दा बढी फिदिम माध्यमिक विद्यालयबाट १९७ जना तथा सबैभन्दा कम सिंहसिद्ध माध्यमिक विद्यालय, लुङरुपाबाट चार जना विद्यार्थी सहभागी भएका थिए । फिदिमका पाँच वटा संस्थागत विद्यालयबाट १२९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १०६ जना उत्तीर्ण भएका छन् । ब्लुमिङ फ्लावर्स इङ्ग्लिस स्कुल, फिदिम-८ बाट परीक्षामा सहभागी सबै नौ जना विद्यार्थी उत्तीर्ण भएका छन् । फाल्गुनन्द गाउँपालिकाका दुई संस्थागतसहित १३ वटा विद्यालयबाट ३०४ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १७१ जना ग्रेडेड भएका छन् । सारताप मनरत्न माध्यमिक विद्यालयबाट २६ जना सहभागी भएकामा एक जना पनि उत्तीर्ण भएनन् । सिद्धदेवी माध्यमिक विद्यालय, नवमीडाँडाबाट ३२ मध्ये २९ जना तथा सिद्धेश्वरी माध्यमिक विद्यालयबाट सहभागी चारै जना विद्यार्थी उत्तीर्ण भएका गाउँपालिकाका शिक्षा शाखा प्रमुख मेदनी प्रसाईंले जानकारी दिए । पाथीभरा इङ्ग्लिस बोर्डिङ स्कुलबाट सहभागी सबै १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । मिक्लाजुङ गाउँपालिकाका १० सामुदायिक र चार संस्थागत गरी १४ विद्यालयबाट १९९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १२० जना ग्रेडेड भएका छन्, जुन ६० प्रतिशत हो । खान्द्रोङ माध्यमिक विद्यालय, चन्द्रोदय माध्यमिक विद्यालय र माउण्ट कञ्चन बोर्डिङ स्कुलबाट सहभागी कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । सिंहदेवी माध्यमिक विद्यालय (मिक्लाजुङ-५) बाट परीक्षामा सहभागी पाँचै जना विद्यार्थी ग्रेडेड भएका छन् । फालेलुङ गाउँपालिकाका १३ विद्यालयबाट १५४ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ७८ जना ग्रेडेड भएका छन्, जुन ५० प्रतिशत हो । सरस्वती माध्यमिक विद्यालय, ताङलेपाबाट सहभागी चारै जना विद्यार्थी उत्तीर्ण हुन सकेनन् । फालेलुङका छ वटा विद्यालयबाट १० जनाभन्दा कम विद्यार्थी परीक्षामा सहभागी भएका थिए । वडा नं. २ को मोतिराम माध्यमिक विद्यालयबाट तीन, पञ्चमुखी माध्यमिक विद्यालयबाट चार, सिद्धेश्वरी माध्यमिक विद्यालयबाट तीन तथा वडा नं। ३ का सरस्वती माध्यमिक विद्यालय, मच्छेबुङबाट छ, विद्याप्रचार माध्यमिक विद्यालयबाट सात र सरस्वती माध्यमिक विद्यालय, ताङलेपाबाट चार जना विद्यार्थी सहभागी भएका थिए । कालिका माध्यमिक विद्यालयबाट सबैभन्दा बढी ३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यस्तै, सरस्वती माध्यमिक विद्यालय, खुङ्गाबाट परीक्षामा सहभागी १५ मध्ये १४ जना विद्यार्थी ग्रेडेड भएको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख कृष्ण रिमालले जानकारी दिए ।
दुई दिने बिदाको कारण पठनपाठनमा हुने क्षति व्यवस्थापनका लागि कार्यघण्टा निर्धारण
काठमाडौं । सरकारले विद्यालयमा पनि सातामा दुई दिन बिदा दिन भनेको एक महिनापछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ । नयाँ शैक्षिक सत्र शुरु भएको एक साता पछि शिक्षा मन्त्रालयले दुई दिने बिदाको कारण पठनपाठनमा हुने क्षती व्यवस्थापनका लागि कार्यघण्टा निर्धारण गर्दै कार्यतालिका सार्वजनिक गरेको हो । मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र परिपत्र जारी गर्दै अब प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट व्यवस्थापन गर्ने, सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठन सञ्चालन गर्ने र हिउँदे र बर्खे बिदा अवधि ३० दिन कायम गर्न भनेको छ । । यस अघि हिउँदे र बर्खे बिदा अवधि बिदा ४५ दिन हुँदै आएको थियो । यस्तै पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्याङ्कनलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्ने गरी व्यवस्थापन गर्न सकिने छ । अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका १२ दिनलाई उपयोग गर्ने तय गरिएको छ । नयाँ सरकार गठन सँगै सरकारले गत चैत २२ गते साताका शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।