काठमाडौंका निजी विद्यालयले विद्यार्थीलाई दिएको छात्रवृत्तिको जानकारी वेबसाइटमा राख्नुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका निजी विद्यालयहरुले विद्यार्थीहरुलाई दिएको छात्रवृत्तिको विवरण विद्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले विद्यालयहरुले नियमअनुसार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र सो जानकारी विद्यालयको वेबसाइटमा प्रकाशन गर्नुपर्ने बताएका छन् । साथै उनले नियम कार्यान्वयन नगर्ने विद्यालयहरुलाई आवश्यक कानुनी कारबाही गर्ने समेत बताएका छन् । बालेनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधान अनुसार निजी तथा संस्थागत विध्यालयहरुले उपलब्ध गराउने छात्रवृत्ति अन्तर्गत प्रत्येक कक्षामा प्रथम र द्वित्तीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्ने तथा विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम रहेको स्मरण गराउदै नयाँ शैक्षिकसत्र सुरु हुँदै गरेको परिपेक्षमा काठमाण्डौ महानगरपालिकाभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरुले उपलब्ध गराउनु पर्ने छात्रवृति नियमसंगतरुपमा उपलब्ध गराउन हुन ध्यानाकर्षण गराउँदछौँ । साथै छात्रवृत्ति सम्बन्धित सम्पुर्ण जानकारी विद्यालयको वेबसाईट तथा सुचनापाटिमा टाँस गरि अभिभावक र बिर्ध्यार्थी हरुलाई सुचित गराउन अनुरोध गरिन्छ । अतः नियमको पालना गर्न, गराउन पहल गर्न सम्बन्धित विद्यालय,अभिभावक तथा सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिन्छ । अन्यथा कानुन बमोजिम कारवाही अगाडि बढाउन महानगर बाध्य हुनेछ । यो सम्बन्धी कुनै समस्या देख्नु भएमा काठमाडौ महानगर कलसेन्टर ११८० मा कल गरेर गुनासो गर्न सक्नु हुनेछ ।’

शुभ गृहमा ‘एडमिसन विक अष्ट्रेलिया’ हुँदै

काठमाडौं । सुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीको आयोजनामा ‘एडमिसन विक अष्ट्रेलिया’ हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको सुभगृहले अप्रिल २३ देखि २८ सम्म कार्यक्रम गर्न लागेको हो । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको सुभगृहका प्रवन्ध निर्देशक सुभेन्द्र थापाले जानकारी दिए । नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको सुभगृहको कार्यालयमा एडमिसन विक कार्यक्रम हुनेछ । अष्ट्रेलियास्थित प्रशिद्ध युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम हुनेछ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि कार्यक्रम निकै प्रभावकारी हुने उनले बताए । अन द स्पट एडमिसन, आयल्स र पिटिइ कक्षमा ५० प्रतिशत छुट लगायत सुविधा विद्यार्थीले प्राप्त गर्नेछन् । लक्की ड्रका आधारमा ट्याब्लेट, मोबाइल र मुभी टिकट जित्न सकिने जनाइएको छ ।

टोखामा विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम

काठमाडौं । टोखा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा एसइई दिएर बसेका ८० विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम प्रदान गर्ने भएको छ । टोखा नगरपालिकाले स्काई भिजन फाउन्डेसनको सहकार्यमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई निःशुल्क कम्युटर तालिम प्रदान गर्न लागेको हो । टोखा नगरपालिका शिक्षा शाखाका अधिकृत खगेन्द्रसिंह धामीले टोखाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने र समयानुकूल सीपमूलक कम्युटर ज्ञान प्रदान गर्ने उद्देश्यले तीनमहिने कम्युटर तालिम प्रदान गर्न लागिएको जानकारी दिए । उक्त तालिममा टोखाभित्रका सामुदायिक विद्यालयबाट एसइई दिएर बसेका जेहन्दार, आर्थिकरूपमा विपन्न, महिला तथा दलित र जनजाति विद्यार्थी सहभागी हुने बताइएको छ । टोखाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि वार्षिकरुपमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित सो नगरपालिकाका ११ वडाका १० सामुदायिक विद्यालयमा छ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । रासस