एसइई नतिजा : माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो । अघिल्ला वर्षमा कोभिड– १९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाएकाले नतिजा कमजोर रहेकामा हाल नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जिपिए शून्य दशमलव ८० देखि १ दशमलव २० ग्रेड ल्याउने २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत देखिएका छन् । संवत् २०७८ को परीक्षाको परीक्षाफलमा यस ग्रेडमा शून्य दशमलव ६६ प्रतिशत विद्यार्थी थिए । जिपिए एक दशमलव २० देखि एक दशमलव ६० सम्ममा यसवर्ष ३८ हजार सात सय ७७ अर्थात् सात दशमलव ९९ प्रतिशत विद्यार्थी छन् भने गत वर्ष नौ प्रतिशत थिए । जिपिए एक दशमलव ६० देखि दुईसम्म प्राप्त गर्ने यसवर्ष ८८ हजार चार सय ४७ अर्थात् १८ दशमलव २४ विद्यार्थी छन् भने गतवर्ष २० दशमलव ३० प्रतिशत थिए । जिपिए दुईदेखि दुई दशमलव ४० सम्म यसवर्ष एक लाख २२ हजार ९३ विद्यार्थी अर्थात् २१ दशमलव ०९ विद्यार्थी छन् भने गत वर्ष २३ प्रतिशत थिए । जिपिए दुई दशमलव ४० देखि दुई दशमलव ८० सम्म ल्याउनेमा यसपटक ८९ हजार तीन सय ३१ अर्थात् १८ दशमलव ४२ छन् भने गतवर्ष १८ दशमलव ३१ प्रतिशत थिए । जिपिए दुई दशमलव ८० देखि ३ दशमलव २० सम्ममा ७२ हजार तीन सय ६२ अर्थात् १४ दशमलव ९२ प्रतिशत विद्यार्थी छन् भने गत वर्ष १४ दशमलव १९ प्रतिशत थिए । जिपिए तीन दशमलव २० देखि तीन दशमलव ६० ग्रेड ल्याउने ५५ हजार ६९ अर्थात् ११ दशमलव ३६ प्रतिशत छन् भने गत वर्ष ८ दशमलव ४० प्रतिशत थिए । जिपिए ३ दशमलव ६० देखि चार प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यसवर्ष २२ हजार चार सय ७५ अर्थात् चार दशमलव ६३ प्रतिशत छ भने गतवर्ष एक दशमलव ९४ प्रतिशत विद्यार्थी थिए । यसवर्ष ननग्रेडेड हुनेमा १३ हजार नौ सय ९२ अर्थात् दुई दशमलव ८९ प्रतिशत विद्यार्थी छन् । परीक्षामा चार लाख ८४ हजार नौ सय ३९ नौ विद्यार्थी रहेकामा चार सय ३१ विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने दुई सय ९० विद्यार्थीको परीक्षाफल स्थगन गरिएको बोर्डले जनाएको छ । अक्षराङ्कन पद्धतिबमोजिम ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम अङ्क प्राप्त गर्नेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताकङ् हुनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम प्राप्ताकङ् हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्ताकङ् हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताकङ् हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताकङ् हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताकङ् हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताकङ् हुनेलाई ई ग्रेड प्रदान गरिन्छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षा प्रणालीको सुधार र कक्षाकोठाको वातावरणमा सुधार आएमा नतिजामा सुधार आउने भन्दै समग्र नतिजाको मूल्याकङ्कनबारे विस्तृत अध्ययनपछि के आधारमा सुधार आयो भन्न सकिने बताए । उनले सामुदायिक र संस्थागत विद्यालयका आधारमा नतिजालाई तुलना गरेर विद्यार्थीबीच विभेद सिर्जना नगरिने स्पष्ट पारिन् । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले समग्रमा गत वर्षभन्दा यसवर्षको नतिजा सकारात्मक रहेको बताएका हुन् । अक्षराकङ्न पद्धतिमा नतिजा प्रकाशन गर्दै आएको बोर्डले विषयगत र प्रदेशगत परीक्षाफलको नतिजा पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । बोर्डले मौका परीक्षा साउन महिनाको अन्तिममा सञ्चालन गर्नेछ । रासस

एसईईमा २२ हजार चारसय ७५ जना विद्यार्थीले ल्याए ए प्लस, कति विद्यार्थीको जिपिए कति ?

काठमाडौं । एसईईको नतिजामा २२ हजार चार सय ७५ जना विद्यार्थीले ए प्ल ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज एसईई परीक्षाको नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागी भएका चार लाख ८४ हजार नौ सय ३९ विद्यार्थी मध्ये जम्मा २२ हजार चार सय ७५ जनाले मात्रै ए प्लस ल्याएको जनाएको छ । बोर्डका अनुसार जिपिएको आधारमा २२ सय जना विद्यार्थीले ०.८० देखि १.२० जिपिए, ३८ हजार ७७० जनाले १.२० देखि १.६० र ८८ हजार चारसय ४७ जना विद्यार्थीले १.६० देखि २.०० जिपिए अंक ल्याएका छन् । त्यस्तै, एक लाख दुई हजार दुईसय ९३ जना विद्यार्थीले २.०० देखि २.४०, ८९ हजार तीनसय ३१ जना विद्यार्थीले २.४० देखि २.८०, ७२ हजार तीनसय ६२ जना विद्यार्थीले २.८० देखि ३.२० र ५५ हजार ६९ जना विद्यार्थीले ३.२० देखि ३.६० जिपिए अंक ल्याएको बोर्डले जानकारी दिएको छ ।

एसईईको नतिजा प्रकाशित, नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ । अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा बसेको बोर्डको आज बसेको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्ताकङ्क हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी प्लस ग्रेड प्रदान गरिन्छ । साथै ६० देखि ७० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताङ्क हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताङ्क हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताङ्क हुनेलाई ई ग्रेड प्रदान गरिन्छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले भाग लिएको बोर्डको भनाइ छ । बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार चार सय ६१ जना परीक्षार्थी थिए । नतिजा कसरी हेर्ने ? एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np नेपाल टेलिकमको www.svv.gov.np, www.khalti.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconnectplus.com , www.see.edusanjal.com, www.admissionnepal.com, www. seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.neducationportal.com , www.ayoresult.com, www.results.com, www.matereducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।