६ विश्वविद्यालयले ५ अर्ब कमाउँदा त्रिवि एक्लैको २४ अर्ब आम्दानी, सुदूरपश्चिम विश्वविद्यालय घाटामा

काठमाडौं । नेपालका विश्वविद्यलयको शैक्षिकस्तरको विषयमा लामो समयदेखि बहस तथा पैरवी हुँदै आएको छ । वर्सेनि खस्किदै गएको विद्यार्थी संख्या र विश्वविद्यालयबाट उत्पादित विद्यार्थीहरू बजारमा रोजगारी नपाएर विदेश जानु पर्ने बाध्यता पनि आफैंमा दुःखद छ । अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला एकपछि अर्को विश्वविद्यालय थपिँदै गएका छन् । सञ्चालन भइरहेका विश्वविद्यालयभित्रको नाजुकताका कथाहरू त्यो भित्रका अध्यापक, विद्यार्थी र कर्मचारीलाई मात्रै होइन यस सम्बन्धि सबैले नजिकबाट बुझेका छन् देखेका छन् । शैक्षिक पद्धति, प्रणाली र गुणस्तरको विषयमा सधैझैं बहस हुने विश्वविद्यालयको कमाइको विषयमा भने प्राय कमैको चासो हुन्छ । आज हामीले नेपालमा सञ्चालित प्रमुख सात वटा विश्वविद्यालयको कमाइको सामग्री तयार पारेका छौं । त्रिभुवन विश्वविद्यालय देशको सबैभन्दा जेठो विश्वविद्यालयको त्रिभुवन विश्वविद्यालय । उच्च शिक्षाको क्षेत्रमा अध्ययन, अनुसन्धान गरी नवीनतम् ज्ञान, प्रविधि र सीपको विकास गर्न त्रिभुवन विश्वविद्यालयको भूमिका महत्वपूर्ण छ । २०१६ सालमा स्थापना भएको त्रिवि अन्तर्गत ९ वटा अध्ययन संस्थान, चार संकाय, चार अनुसन्धान केन्द्र, ६३ वटा आंगिक क्याम्पस, ४० वटा केन्द्रिय विभाग, चार स्कुल र एक हजार ५४ सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । सात वटा विश्वविद्यालयको तुलना गर्दा अन्य ६ वटाको भन्दा एक्लै त्रिविको आम्दानी बढी देखिन्छ । त्रिभुवन विश्वविद्यालयको आक्दानी नेपालका ६ वटा विश्वविद्यालयको भन्दा चार गुणा बढी छ । महालेखा परीक्षक कार्यालयको ६१ औँ प्रतिवेदनका अनुसार पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालयल र खुल्ला विश्व विद्यालयभन्दा त्रिविको आम्दानी चार गुणा छ । त्रिभुवन विश्वविद्यालयको सरकारबाट प्राप्त गरेको रकम र आन्तरिक आम्दानी गरी कुल २४ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ आम्दानी रहेको छ । अन्य ५ वटा विश्वविद्यालयको आम्दानी कुल ५ अर्ब ३५ मरोड ६३ लाख रुपैयाँ मात्रै रहेको महालेखाको तथ्यांकले देखाउँछ । त्रिविको आम्दानी अन्य विश्वविद्यालयको तुलनामा साढे ३ सय प्रतिशत बढी छ । तर, त्रिविको खर्च भने न्यून देखिन्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले नेपालमा विज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र प्रवद्र्धनका लागि विश्वविद्यालयलाई सहयोग गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयले सरकारी अनुदान १३ अर्ब ८७ करोड १० लाख, र आन्तरिक आय ११ अर्ब ४७ लाख गरी जम्मा २४ अर्ब ८७ करोड ५७ लाख प्राप्त गरेको छ । त्रिविले अनुदान तर्फ १० अर्ब ३७ करोड ३७ लाख र आन्तरिक आय तर्फ ८ अर्ब ६७ करोड ५५ लाख गरी जम्मा १९ अर्ब ४ करोड ९२ लाख अर्थात (७६.५८ प्रतिशत) खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । पूर्वाअञ्चल विश्वविद्यालय कोशी प्रदेशको विराटनगरमा रहेको यो विश्वद्यिालयले ९० करोड ९५ लाख ४५ हजार आम्दानी गरेको छ । नेपाल सरकारबाट प्राप्त २१ करोड अनुदान गणना गर्दा यस विश्वविद्यालयले कुल ९० करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ । यस विश्वविद्यालयले ६४ करोड ९८ लाख २२ हजार खर्च गरेको छ । यस विश्वविद्यालय अन्तर्गत ९ आङ्गिक र ११७ सम्बन्धन प्राप्त क्याम्पसहरू छन् । ती क्याम्पसहरू मार्फत् यस विश्वविद्यालयले आफ्नो कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । घाटामा सुदूरपश्चिम विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालयले आम्दानी भन्दा बढी खर्च गरेको महालेखाको प्रतिवेदनबाट देखिन्छ । सरकारबाट प्राप्त गरेको ४३ करोड ८२ लाख ७९ हजार रुपैयाँ र आन्तरिक आय गरेर कुल ८६ करोड ९३ लाख ५ हजार रुपैयाँ सुदूरपश्चिम विश्वविद्यालयले आम्दानी गरेको छ । गत वर्षको मौज्दात समेतबाट कुल १ अर्ब १ करोड २८ लाख ९ हजार रुपैयाँ यस विश्वविद्यालयले खर्च गरेको छ । कला, विज्ञान, चिकित्साशास्त्र लगायत विभिन्न विधाका विषयमा अध्ययन, अध्यापन र अनुसन्धानद्वारा दुर्गमलगायत सबै क्षेत्रका जनतालाई सुलभ रूपमा गुणस्तरयुक्त उच्च शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले स्थापना भएको यो विश्वविद्यालयको स्थापना ३०६७ सालमा भएको हो । यस विश्वविद्यालय अन्तर्गत ६ संकाय, १५ आङ्गिक क्याम्पस, २ कार्यालय र ६ विभाग रहेका छन् । पोखरा विश्वविद्यालय उच्च शिक्षामा निजी क्षत्रको सहभागिता वृद्धी गरी प्राविधिक तथा अन्य व्यावसायिक विषयमा गुणात्मक विकास गर्ने उद्देश्यले यस विश्वविद्यालयको स्थापना १९९६ मा भएको हो । चार आंगिक र देशभर ५० भन्दा बढी सम्बन्धन प्राप्त महाविद्यालयहरू रहेको यस विश्वविद्यालयको आम्दानी न्यून छ । पोखरा विश्वविद्यालयले सरकारबाट प्राप्त गरेको २२ करोड ७ लाख ६५ हजार र आन्तरिक आम्दानी १ अर्ब ६१ करोड ३८ लाख ८१ हजार रुपैयाँमध्येबाट ६४ करोड ४७ लाख २५ हजार रुपैयाँ खर्च गरेको छ । नेपाल खुला विश्वविद्यालय नेपाल खुला शिक्षा प्रणाली द्धारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन अध्यापन तथा अनुसन्धान गर्ने गराउने उद्देश्यले यो विश्वविद्यालय सञ्चालनमा ल्याइएको हो । वि.सं. २०७३ सालमा स्थापना गरिएको यस विश्वविद्यालयले औपचारिक शिक्षामा नसमेटिएकाहरूलाई समेट्ने काम गर्छ । यो विश्वविद्यालयले सरकारबाट प्राप्त १० करोड २८ लाख रुपैयाँ र आन्तरिक तर्फ गरी कुल आय ७४ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । तयसमध्ये यस विश्वविद्यालयले ८ करोड ३८ लाख ९९ हजार रुपैयाँ खर्च गरेको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय यो विश्वविद्यालय नेपाल सरकारद्धारा प्रस्तावित नयाँ विश्वविद्यालय हो । देशको अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता बढाउने तथा नयाँ ज्ञान र प्रविधिको सिर्जना गरी देशको आर्थिक विकासमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको यो विश्वविद्यालय मकवानपुरको चित्लाङमा छ । यो विश्विद्यालयले नेपाल सरकारबाट प्राप्त ३ करोड ५० लाख रुपैयाँ र आन्तरिक ६४ करोड ५७ लाख १२ हजारमध्ये २७ करोड ३१ लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ । मध्यपश्चिम विश्वविद्यालय यो विश्वविद्यालयले कर्णाली प्रदेशको सुर्खेतमा छ । अध्यापन र अनुसन्धानद्वारा सबै क्षेत्रका जनतालाई गुणात्मक र स्तरयुक्त उच्च शिक्षाको अवसर सुलभ रूपमा उपलब्ध गराई राष्ट्रिय विकासमा दक्ष जनशक्तिको आपूर्ति गर्न र बहुविश्वविद्यालयको अवधारणाअनुरूप प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्दै देशको शैक्षिक तथा प्राज्ञिक वातावरणलाई अझ बढी स्वच्छ, मर्यादित र उपलब्धिमूलक बनाउन नेपाल सरकारको लगानीमा मध्यपश्चिम विश्वविद्यालयको स्थापना गरिएको थियो ।  सरकारबाट प्राप्त ४२ करोड ५१ लाख १७ हजार रुपैयाँ, गत वर्षको बचत १३ करोड ८३ लाख ९६ हजार र आन्तरिक आय १ करोड ९ लाख ३ हजार गरी कुल आय ५७ करोड ४४ लाख १६ हजार रुपैयाँ यस विद्यालयले आम्दानीका रुपमा देखाएको छ । यस विश्वविद्यालयले कुल ५७ करोड १३ लाख ७० हजार रुपैयाँ खर्च गरको छ ।

अत्यधिक गर्मीले विभिन्न स्थानका विद्यालयको पठनपाठन प्रभावित

काठमाडौं । अत्यधिक गर्मीका कारण मुलुकका विभिन्न स्थानका विद्यालयको पठनपाठन प्रभावित भएको छ । तराईलगायतका विभिन्न स्थानमा बढेको गर्मीका कारण बालकालिकाको स्वास्थ्यमा समस्या उत्पन्न हुने अवस्था भएपछि विद्यालयको पठनपाठन प्रभावित भएको हो । दाङको घोराही उपमहानगरपालिकाले यही जेठ १८ देखि २२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका र देउखुरीमा चार पालिकाले विद्यालयमा बिदा दिने निर्णय गरेका हुन् । घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले तापक्रम बढेका कारण विद्यार्थीमा समस्या देखिएपछि बिदा दिइएको बताए । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका राप्ती, गढवा, राजपुर गाउँपालिकाले जेठ १७ गतेदेखि २० गतेसम्म विद्यालय बिदा दिएका छन् । दाङमा बिहीबार ४३ डिग्री तापक्रम मापन गरिएको छ । त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका विद्यालय एक साताका लागि बन्द गरिएको छ । बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै यही जेठ १८ गते २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ । बर्खे बिदाबाट कट्टा हुनेगरी उपमहानगरपालिकाअन्तर्गत सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयको पठनपाठन बन्द गर्ने व्यवस्था मिलाइने उपमहानगरपालिकाद्वारा जारी गरिएको सूचनामा उल्लेखित छ । सर्लाहीको लालबन्दी, बरहथवा, मलङ्गवा, चक्रघट्टालगायतका पालिकाले पनि सूचना जारी गर्दै यही जेठ २० गतेसम्म तीन दिन विद्यालय बन्द गर्ने जनाएका हुन् । चर्को गर्मीले बालबालिकालाई विद्यालय आवतजावत गर्न तथा कक्षाकोठामा बसेर पठनपाठन गर्न समस्या भएपछि तत्कालका लागि विद्यालय बन्द गरिएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ । लालबन्दी नगरकार्यपालिकाले बुधबार जारी गरेको सूचनाअनुसार आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि पठनपाठन बन्द गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लामा तीन दिनसम्म तातो हावा बहने सूचना जारी गरेको थियो । उक्त सूचनालाई ध्यान दिँदै विद्यालय बन्द गरिएको पालिकाका प्रशासकीय प्रमुख वसन्त न्यौपानेले बताए । यस्तै बुधबार एक सूचना जारी गर्दै बरहथवा नगरपालिकाले आइतबारदेखि पुनःविद्यालय नियमित हुनेगरी तीन दिन विद्यालय बन्द गरेको जनाएको हो । विद्यालय वाताअनुकूलित नरहेका तथा कयैन विद्यालयका कक्षाकोठामा सामान्य पङ्खाको व्यवस्थापन नहुँदा चर्को गर्मीमा बालबालिका कष्टपूर्ण ढंगले पठनपाठन गर्नुपर्ने बाध्यता छ । विद्युत् नियमित नहुँदा पङ्खा भएका विद्यालयमा समस्या रहेको शिक्षक शिक्षिकाको भनाइ छ । जिल्लाको मलङ्गवा नगरपालिकाले भने तत्कालका लागि विद्यालयको समय तालिका व्यवस्थापन गर्न निर्देशन दिएको छ । दिउँसोको समयमा धेरै गर्मी हुने गरेको भन्दै नगरका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयलाई बिहानी कक्षा १० बजे सम्ममात्र सञ्चालन गर्न निर्देशन दिइएको शिक्षा शाखा प्रमुख प्रमोद मण्डलले बताए । अर्को सूचना जारी नभएसम्मका लागि प्रत्येक कक्षाको समय १० देखि १५ मिनेट घटाएर समय व्यवस्थापन गर्न पालिकाले आग्रह गरेको हो । साथै रुपन्देशीको सिद्धार्थनगर नगरपालिकाले पनि विद्यालय बन्द गरेको छ । भैरहवा तथा यस आसपासको तापक्रम लगातार बढ्दै गएको कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै नगरपालिकाले एक सूचना गरी विद्यालय बिदा दिने जनाएको छ । नगर प्रमुख इस्तियाक अहमद खानद्वारा जारी सूचनामा बर्खे बिदाबाट कट्टा हुनेगरी यही जेठ १८ गते जेठ २५ गतेसम्म बिदा दिइएको उल्लेख छ । यसअघि जिल्लाको मायादेवी गाउँपालिकाले पनि यही जेठ १६ गतेदेखि १८ गतेसम्मलाई विद्यालयमा बिदा दिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सञ्चालित विद्यालय पनि यही जेठ २० गतेदेखि एक सातासम्मका लागि बन्द हुने भएका छन् । हिजो वीरेन्द्रनगरमा अधिकतम तापक्रम ४० डिग्री मापन गरिएको थियो । गर्मीले बालबालिकाहरुको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्मा लम्सालले गर्मी अत्यधिक भएपछि सामुदायिक विद्यालय पनि बन्द गर्नेबारे छलफल भइरहेको जानकारी दिए । ‘गर्मी बढेपछि हामीले नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिरहेका छौँ, यदी पानी पर्‍यो र तापक्रम घट्यो भने विद्यालयहरू बन्द हुँदैनन्,’ उनले भने । गर्मीका कारण सुर्खेतमा जेठ १३ देखि २६ गतेसम्मका लागि सञ्चालित पोलियो रोगविरुद्धको खोप अभियान कार्यक्रम पनि प्रभावित भएको छ । सुर्खेतका पालिकाहरूमा दुई चरणमा खोप अभियान सञ्चालन गरिएको थियो । वीरेन्द्रनगर, गुर्भाकोट, पञ्चपुरी नगरपालिका सिम्ता, वराहाताल र चौकुने गाउँपालिकामा यही २२ गतेदेखि २५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने तालिका छ । गर्मीका कारण विद्यालय बन्द हुने भएपछि खोप तालिका समेत प्रभावित बनेको हो । विद्यालयसँगको समन्वयमा खोप अभियान सञ्चालन भइरहेको भन्दै वीरेन्द्रनगर नगरपालिकाका विद्यालय बन्द भए आफूहरुले खोप अभियान तालिका परिवर्तन गर्ने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप सम्पर्क व्यक्ति घनबहादुर बुढाले बताए ।

अब माध्यामिक तहको समकक्षता प्रमाणपत्र अनलाइनबाटै पाइने

काठमाडौं ।अब माध्यामिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र अनलाइनबाटै पाइने भएको छ । पाठ्यक्रम विकास केन्द्रले नेपालमा सञ्चालित स्वदेशी वा विदेशी संस्था र बोर्डबाट शैक्षिक उपाधि हासिल गरी माध्यामिक तह (कक्षा १० र १२) सरह तथा कक्षा १० भन्दा तल्लो तह र कक्षाको मान्यता तथा समकक्षता पत्र अनलाइनमार्फत उपलब्ध गराउने भएको हो । केन्द्रको मान्यता तथा समकक्षता शाखाले शुक्रबार औपचारिक कार्यक्रम गरेर अनलाइनमार्फत प्रमाणपत्र दिने जानकारी गराएको हो । शाखाले यसअघि १ पुस २०७९ बाट अनलाइन आवेदन लिन थालेको थियो । तर, प्रमाणपत्र लिन शाखा नै पुग्नुपर्ने व्यवस्था रहेको थियो । अब भने विद्यार्थीलाई अनलाइनबाटै प्राप्त हुनेछ र  विद्यार्थी आफैले प्रिन्ट गर्न सक्नेछन् ।