इन्फरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न
पोखरा । इन्फरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह २०२३ सम्पन्न भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससि (अर्नस) कम्प्युटिब र बिए (अनर्स) बिजनेस प्रशासन गरेर जम्मा १२२ विद्यार्थी सहभागी भएका थिए । कलेजले सोमबार दीक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो । समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १७ जना र बिएससि (अर्नस) कम्प्युटिब तह पुरा गर्ने १०५ जना विद्यार्थी गरी जम्मा १२२ जना विद्यार्थी दीक्षित भएका थिए । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्धारा सञ्चालित छ । कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई आइएनजीले छात्रवृत्ति उपलब्ध गराएको छ । यस वर्ष आइएनजी छात्रवृत्तिका लागि विपिन रेग्मी सम्मानित भएका थिए । यी छात्रवृत्ति विद्याथीहरूको उल्लेखनीय उपलब्धिहरू र भविष्यको सफलताको लागि अपार सम्भावनाको प्रमाण हो। समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसिपका प्रमुख डा. वेन्डी ब्लोइसी लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम गरिएको थियो । समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा.वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै उनले भने– ‘तपाँइहरुले जस्तो सोच राख्नु हुन्छ, आउने दिनहरु त्यस्तै पाउनुहुनेछ ।’ यसलाइ निरन्तर दिदैँ भने, ‘ज्ञानले जीवनमा ठूलो प्रभाब पार्छ त्यसै गरी सकारात्मक सोचले हाम्रो जिवनमा राम्रो परिवर्तन ल्याउछ ।’ आइएनजीका संस्थापक तथा अध्यक्ष बुढाथोकीले प्रत्येक स्नातकलाई व्यक्तिगत रूपमा बधाई दिँदै उनीहरूको लगनशीलता र समर्पणको प्रशंसा गरे । डा. ब्लोइसीले यस अवसरमा आईएनजी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो साझेदारीलाई प्रकाश पार्दै विद्यार्थी र कलेजको उल्लेखनीय उपलब्धिको प्रशंसा गरे ।
ब्रिटिश काउन्सिल आईईएलटीएस प्राइज २०२३ को विजेता घोषणा
काठमाडौं । ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियागिता ‘आईईएलटीएस प्राइज २०२३’ का विजेताहरूको नाम घोषणा गरेको छ । आफ्नो शैक्षिक सपनालाई वास्तविकतामा बदल्न चाहने महत्वाकांक्षी युवा पुस्ताहरूलाई मद्दत गर्न यस प्रतिस्पर्धामार्फत काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा आईईएलटीएसका परीक्षार्थीहरूलाई विश्वविद्यालयको ५ हजार डलर (८ लाख ४० हजार नेरू)सम्मको ट्युशन शुल्कमा टेवा दिनेछ । यो वर्षको प्रतिस्पर्धा चीन, जापान, हङकङ, इन्डोनेशिया, कोरिया, मलेशिया, फिलिपिन्स, सिंगापुर ताइवान, थाइल्यान्ड, भियतनाम, बंगलादेश पाकिस्तान, नेपाल र श्रीलंकाबाट आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीका लागि खुला गरिएको थियो । प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत तीन जना विजेताहरूको नाम चयन गरिएको छ । यो वर्षका लागि नेपालका विजेताका नाम यस प्रकार रहेको छ : रिजु अधिकारी – प्रथम पुरस्कार जीबीपी ५ हजार (नेरू ८ लाख ४० हजार) उज्ज्वल भेटुवाल – द्वितीय पुरस्कार जीबीपी २ हजार (नेरू ३ लाख ३६ हजार) रिशिका शाह – तृतीय पुरस्कार जीबीपी १ हजार (नेरू १ लाख ६८ हजार) यसबाहेक पनि ब्रिटिश काउन्सिलमा दर्ता भएर सन् २०२३ को सेप्टेम्बर १ देखि नोभेम्बर ३० को बीचमा आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीहरूमध्ये केही भाग्यशाली विजेताहरूले आईईएलटीएस उपहार पाएका छन् । हरेक हप्ता एक जना भाग्यशाली विजेताले जीबेएल चार्ज ५ जितिरहेका छन् । मासिक विजेताले सेप्टेम्बर र अक्टोबरमा एप्पल म्याक पाएका थिए । दुई जना भाग्यशाली विजेतालाई आफूले रोजेको गन्तव्यका लागि कतार एयरवेजको एकतर्फी टिकट पनि दिइएको थियो । विजेताहरूको नाम लक्की ड्रमार्फत छान्ने गरिएको छ । यसको घोषणा ब्रिटिश काउन्सिलको सामाजिक सञ्जाल च्यानलमार्फत गर्ने गरिन्छ । ‘६० वर्षभन्दा बढी समयदेखि हामी नेपालमा छौं, हामीले यहाँको शिक्षामा भइरहेका सुधारलाई टेवा दिँदै युवा नेपालीलाई उनीहरूको पूर्ण सम्भावना हासिलका अवसर सृजना गरिरहेका छौं र अन्ततः नेपालको आर्थिक विकास तथा समृद्धिमा योगदान समेत दिइरहेका छौं । हाम्रो आईईएलटीएस प्राइज र आईईएलटीएस उपहार अभियानका विजेताहरूलाई हार्दिक बधाई छ । आईईएलटीएस प्राइजले तपाईंलाई तपाईंको सपना पूरा गर्न र शैक्षिक लक्ष्य हासिलमा मद्दत गर्छ भन्ने आशा मैले लिएको छुँ,’ ब्रिटिश काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडगलले भनिन् ।
के गर्दैछन् टीयूका ‘गोल्ड मेडलिस्ट’ ?
काठमाडौं । आज नेपाली विद्यार्थीहरूका लागि एउटा पर्व हो । त्रिभुवन विश्वविद्यालयले हरेक वर्ष दीक्षान्त समारोहको आयोजना गरी हजारौं विद्यार्थीलाई दीक्षित गर्छ । ती हजारौं विद्यार्थीहरूमध्ये केहीले उत्कृष्ट अंक ल्याउँदै पदक जित्ने अवसर पाउँछन् । विश्वविद्यालयको पढाइ सकेपछि विद्यार्थी स्वभावैतः श्रम बजारमा प्रवेश गर्छ । ती हजारौं विद्यार्थीहरूमा उच्च अंक प्राप्त गरेर स्वर्ण पदक जितेका विद्यार्थीहरू के गर्छन् होला ? यो जिज्ञासा, चासो र उत्सुकता अधिकांशमा हुन्छ । उनीहरू नेपालमै केही गरिरहेका छन् वा विदेश तिरै होलान् ? त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरमा ‘गोल्ड मेडल’ पाएका व्यक्तिको खोजी गरी उनीहरू के गरिरहेका छन् भन्नेबारे हामीले सामग्री तयार पारेका छौं । विकास भुसाल अहिले स्याङजाको कालिगण्डकीमा रहेको आदर्श माद्यामिक विद्यालयमा अध्यापन गराउँछन् । २०७९ सालमा शिक्षासेवा आयोगबाट नाम निकालेर उनी त्यहाँ अध्यापन गराउन थालेका हुन् । उनी २०७८ सालका शिक्षा संकाय टपर हुन् । अर्घाखाँचीको सन्धिखर्कका उनी कक्षा १ देखि स्नातकसम्म अर्घाखाँचीमै पढे । कक्षा एकदेखि ५ सम्म गाउँमै रहेको जोगीमारे आधरभूत विद्यालयमा पढेका उनी कक्षा ६ देखि १० सम्म गाउँमै रहेको विजय मावीमा पढे । त्यही स्कुलबाट उनले २०६८ सालमा एसएलसी पास गरे । त्यसपछि उनी प्लसटु पढ्न अर्घाखाँचीको सदरमुकाममा झरे । त्यहाँ उनले प्लसटु र स्नातक पढे । विद्यालय तहमा कक्षामा चौथो हुने उनी प्लसटु र ब्याचलर्समा जिल्ला टप हुन थाले । ब्याचलर्ससम्म जिल्लामै पढेका उनी स्नातकोत्तर पढ्न काठमाडौं आए । उनी शिक्षा शाखा केन्द्रीय विभाग कीर्तिपुरबाट मास्टर पढ्न सुरु गरे । २०७८ सालमा उनी शिक्षा संकायको सबै विषयमा सर्वोत्कृष्ट नम्बर ल्याउँदै ‘गोल्ड मेडलिस्ट’ बने । ‘म जहिले टप बनेको विद्यार्थी अब तल कुनै हालतमा झर्नु हुँदैन भन्ने लाग्यो, त्यही अनुसार मिहिनेत गरें, अन्ततः स्नातकोत्तरमा देशभरकै विद्यार्थीबाट सर्वोत्कृष्ट अंक ल्याएँ,’ उनी खुसी हुँदै भन्छन् । उत्कृष्ट अंक ल्याएर गोल्ड मेडलिस्ट बनेका उनलाई कसरी पढ्दा टपर बन्न सकिन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘निरन्तरता हुनुपर्छ, आज पढ्ने भोलि नपढ्ने गरेर हुँदैन, अर्को कुरा विद्यार्थीले पढ्दा अठोट अथवा लक्ष्य पनि राख्नु पर्यो ।’ ००० काठमाडाैंको मिनभवनकी रिस्ता श्रेष्ठ पनि गोल्ड मेडलिस्ट हुन् । उनी अहिले आफ्नै आइटी कम्पनी खोलेर काम गरिरहेकी छिन् । वि.सं. २०७५ सालमा उनले स्कुल अफ म्यानेजमेन्टबाट एम.बि.ए तहमा सर्वोत्कृष्ट अंक प्राप्त गर्दै गोल्ड मेडल पाएकी थिइन् । उनले गोल्ड मेडलकै लागि भनेर कहिल्यै अध्ययन गरिनन् । तर, सानैदेखि उनी पढाइमा राम्रै थिइन् । ‘परिवारमा सबैजनाले पढ्नुपर्छ, मिहिनेत गर भन्थे, मैले पनि मिहिनेत गरें । तर, नेपाल नै टप हुन्छु भन्ने लागेको थिएन,’ विकासन्युजसँगको कुराकानीमा उनले भनिन् । काठमाडौं उपत्यकामै हुर्के बढेकी उनलाई विकासको जस्तो सरकारी स्कुलमा पढ्न परेन । परिवारमा पनि सबै शिक्षित भएकाले पढ्नुपर्छ भन्ने वातावरणमा उनी हुर्किन् । त्यसैले पनि आफू सर्वोत्कृष्ट नम्बर ल्याउन सफल भएको उनी बताउँछिन् । पढाइको लागि सबैजनाको आ-आफ्नै तयारी हुन्छ । कसैलाई दिनरात घोकेर पढ्ने, कसैलाई बिहान र साँझमात्र पढ्ने र कसैलाई अलिअलि हेर्दा पनि याद हुने हुन्छ । रिस्तालाई भने परीक्षाको बेला धेरै आराम चाहिँन्छ । उनी भन्छिन्, ‘म परीक्षाको बेला घोकेर पढ्दैन, मलाई त्यो बेला मेन्टल रेस्ट बढी चाहिँन्छ, साँझ छिट्टै सुतेर, बिहान पनि ढिलो उठ्छु, मैले गर्ने तयारी भनेको कक्षा सुरु भएदेखि नै हुन्छ ।’ उनी अरुलाई पनि यस्तै सल्लाह दिन्छिन् । पहिलेदेखि नै थोरै-थोरै गरेर तयारी गर्दै जाँदा पछि धेरै घोक्न नपर्ने उनी बताउँछिन् । यसो गर्दा दिमाखलाई धेरै प्रेस पनि नहुने र राम्रो पनि गर्न सकिने उनको अनुभव छ । ००० ललितपुरको कुपण्डोलकी मेरिना नेपाली अहिले नेपाल राष्ट्र बैंकमा काम गर्छिन् । २०७४ सालमा स्कुल अफ म्यानेजमेण्टमा सर्वोत्कृष्ट बनेकी उनी काठमाडौंमै रहेर बैंकमा कार्यरत छिन् । यसरी सर्वाेत्कृष्ट ल्याउँदै गोल्ड मेडल पाएका धेरैजसो अहिले नेपालमै जागिर गरिरहेका छन् । कतिपय गोल्ड मेडल लिस्टहरु त्रिविमै आफूले टप गरेको संकायमा काम गरिरहेका छन् भने कतिपय विदेश गएका छन् । तथ्यांक हेर्ने हो भने त्रिभुवन विश्वविद्यालयको ३७औं दीक्षान्त समारोहदेखि ४९औं दीक्षान्त समारोहसम्म आइपुग्दा स्नातकोत्तर तहमा मात्रै ५९ जनाले गोल्ड मेडल पाएका छन् । तीमध्ये धेरै संख्या महिलाको छ । सोमबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ४९औं दीक्षान्त समारोहमा मात्रै स्नातकोत्तर तहमा ५ जना, एमफीलमा एक जना गरी ६ जनाले गोल्ड मेडल प्राप्त गरेका छन् भने ८ जनाले अन्य पुरस्कार पाएका छन् । परदेशमा पुगेका गोल्ड मेडलिस्ट स्याङ्जाको क्याक्मीका लालगोपाल सुवेदी अहिले अमेरिकामा छन् । २०५४ सालमा नेपाली साहित्यबाट ‘लारी स्वर्ण’ पदक पाएका उनी २०६५ सालदेखि अमेरिका बस्दै आएका छन् । नेपालमा रहँदा शिक्षण पेशामा आबद्ध उनी नेपालभन्दा राम्रो अवसर पाउँदा परदेश गएका हुन् । उनी नेपाली साहित्यका एउटा खम्बा हुन् । आज हामीले उनलाई खोज्दा उनी त्रिभुवन विश्वविद्यालयको प्रोफसर वा लेख्चरको रुपमा भेट्नु पर्थ्यो वा कुनै कलेजको प्रिन्सिपलको रुपमा भेट्नु पर्थ्यो तर, बिडम्बना उनलाई सामाजिक सञ्जालमा खोज्नुपर्छ । उनले नेपालमै अवसर नपाएको पनि हैन । व्याकरण, समलोचना, कविता लेखेर पनि भात खान पुगेकै थियो । तर, यतिले परिवार पाल्न प्रयाप्त थिएन । उनले नेपालका विभिन्न विद्यालय कलेजमा पनि पढाए । नेपालमा सामान्य जीवन बिताइरहेका उनी अहिले सबैको सपनाको देश अमेरिका पुगेका छन् । गोल्ड मेडलिस्टलाई टीयूले नै पत्याउँदैन त्रिभुवन विश्व विद्यालयबाट गोल्ड मेडलिस्ट बन्ने मध्येकी एक हुन् युवा नेतृ मानुषीयामी भट्टराई । उनले आजभन्दा १२ वर्ष पहिले ‘राजनीति शास्त्र’ विषयमा उत्कृष्ट बन्दै गोल्ड मेडल पाइन् । तर, यो मेडलले आफ्नो बायोग्राफीमा एउटा बुँदा थप्नुबाहेक अरु खासै केही नभएको उनको अनुभव छ । यो पदक पाउँदा के लाभ पाइन्छ ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘केही लाभ हुन्छ भन्ने मलाई थाहा छैन, कहिँलेकाहीँ तपाईंहरुले गोल्ड मेडलिस्ट भनेर सम्झनुहुन्छ त्यही हो, अर्को एउटा तक्मा, सर्टीफिकेट पाएँ त्यही हो ।’ उनलाई आफू पढेको विद्यालय र पदक पाएको विषयबाटै सेवा गर्ने ईच्छा थियो तर, अवसर नै नपाएको बताइन् । उनी थप्छिन्, ‘अब कति गुनोसो मात्र गर्ने यसैमा केही गरौँ भन्ने सोच थियो, ठ्याक्कै तीन वर्ष पहिले त्रिभुवन विश्वविद्यालयमै सेवा आयोग खुल्यो तर, यत्रो वर्ष हुँदा समेत अहिलेसम्म टीयू सेवा आयोगले परीक्षा नै लिएको छैन ।’ यहिँको गोल्ड मेडलिस्ट यहिँ केही गर्छु भन्दा पनि टीयूले पूर्णरुपले ढोका खोल्न नसकेको उनले सुनाइन् । उनीसँगै मेडल पाएका साथीहरु कहाँ के गर्छन् भन्ने पनि उनलाई त्यत्ति थाहा छैन । तर उनी आफ्नो हकमा यो मेडलले खासै प्रभाव नपारेको बताउँछिन् । तर, यो मेडलले उनलाई साथीभाईले हेर्ने नजर गर्ने व्यवहारमा भने फरक भयो । स्नातकोत्तरमा मात्र हैन मानुषी हरेक वर्ष आफ्नो कक्षामा टप हुन्थिन् । उनी भन्छिन्, ‘म जहिले कक्षा टप हुँदै आएकोले होला यो मेडल पाउँदा नि त्यति महत्व लागेन, तर, साथीभाईले गर्ने व्यवहारमा भने फरक भएको महसुस गरेँ ।’ मानुषीले कहिल्यै यो पदक पाउँछु भनेर मिहिनेत गरिनन् । उनलाई फिजिक्स, कम्प्युटर, साइन्स पढ्दा मजा लाग्थ्यो तर, साइन्समा केमेस्ट्री त्यत्ति मन पर्दैनथ्यो भने, हिस्ट्री पनि त्यत्ति मन पर्दैनथ्यो । उनलाई मनपर्ने भनेको जीओग्राफी र नेपाली, अंग्रेजी दुवै भाषा पढ्न खुब मन पर्थ्यो । पढाइको कुरा गर्दा उनले भनिन्, ‘मलाई कलेजमा राजनीति विज्ञान पढ्दा सार्वजनिक प्रशासन (पब्लिक एडमिनिस्ट्रेसन) एकदम पट्यार लाग्दो लाग्थ्यो तर, पछि राजनीतिमा सकृय हुँदा सबैभन्दा काम लाग्ने भनेकै पब्लिक एडमिनिस्ट्रेसन रहेछ । ’ पदक पाएर मात्र के गर्नु गोल्ड मेडल पदक पाएकाहरूका लागि कुनै छुट्टै ऐन नियम छैन । यो कनैपनि विद्यार्थीले आफुले पढेको विषय वा शंकायमा सर्वोत्कष्ट अंक ल्याउँछ भने त्यस्तो विद्यार्थीलाई दिइने पदकमात्र हो । गोल्ड मेडलको पदक पाइसकेपछि के हुन्छ भन्ने विकासन्युजको जिज्ञासामा शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘यसमा त्यस्तो कुनै व्यवस्था छैन, पहिले एक पटक यो विषयमा छुट्टै नीति बनाउने विषय उठेको थियो । तर, अहिले त्यस्तो केही छैन ।’ रिस्ता श्रेष्ठ यो मेडलपछि कुनै छुट्टै नयाँ अनुभव नभएको बताउँछिन् । उनी भन्छिन्, ‘यो पदक पाउँदा सबैले बधाइ त भनेका थिए । तर, त्यस्तो कुनै फरक खालको सम्मान वा केही त्यस्तो फरक महसुस गरिनँ ।’ अर्घाखाँचीका विकासको अनुभव अलि फरक छ । उनी यो पदक पाइसकेपछि आफूलाई हेर्न दृष्टिकोणमा फरक परेको बताउँछन् । उनी भन्छन्, ‘गोल्ड मेडलिस्ट भनिसकेपछि अरुभन्दा यसमा केही एक्स्ट्रा अथवा यो मान्छे दक्ष छ है भन्ने फरक चाहिँ हुन्छ ।’ मेडल र जागिरको सम्बन्ध कुनै पनि विद्यार्थी दक्ष छ भने उसलाई जागिर खोज्न त्यति समस्या हुँदैन । तर, पढाइमा मात्र दक्ष र काम गर्नुपर्ने ठाउँमा अदक्ष छ भने मेडलले मात्र केही हुँदैन । तर, प्राय गोल्ड मेडल पाउने विद्यार्थीहरूमा भने केही फरक पक्कै हुन्छ । मेडल पाएका विद्यार्थी जागिर र मेडलसँग कुनै सम्बन्ध नरहने बताउँछन् । विकास भन्छन् , ‘जागिर र यसको केही सम्बन्ध हुँदैन, मैले यो पदक पाइसकेपछि न कसैले मेरो खोजी गर्यो न मैले म यस्तो हुँ भन्दै काम खोज्न गएँ, आयोगमा नाम निकालेर आफैँ जागिर गरेँ ।’ रिस्ता पनि यो विषयमा त्यस्तै भन्छिन् । ‘मलाई आफै केही गर्नुपर्छ भन्ने लाग्थ्यो, मैले अन्त काम पनि खोजिनँ, अहिले आफ्नै कम्पनी खोलेर काम गरिरहेकी छुँ । ’ उनले भनिन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. शिवलाल भुसाल गोल्ड मेडल र जागिर बीचको सम्बन्ध नभएको बताउँछन् । उनी भन्छन्, ‘पदकदाताहरूले तोकेको क्राइटेरिया र विद्यार्थीले ल्याएको अंक मिल्यो भने उनीहरूलाई दिइने पदक हो, यसका लागि त्यस्तो छुट्टै केही छैन ।’ ‘उनीहरूलाई पदकको नामले कुनै ठाउँमा प्रतिस्पर्धा गर्दा पक्कै सहज हुन्छ नै । तर, यो पदक पाइसकेपछि उनीहरुले कुनै क्षेत्रमा जागिर पाउँछन् भन्ने ग्यारेन्टी हुँदैन,’ भुसालले भने ।