सहरका विद्यार्थीका दुःख : खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबल

काठमाडौं । विद्यालयको घडीमा बिहानको १० बजेपछि टिनिनी घन्टी बज्छ । बालबालिका विद्यालय बाहिरै गर्नुपर्ने प्रार्थना पनि नगरी कक्षा कोठाभित्र छिर्छन् । कक्षाकोठामा बेञ्चमै उभिएर गाउँछन् उनीहरुले राष्ट्रिय गान पनि । त्यसपछि पढाई सुरु भइहाल्छ । विद्यालय परिसरमा प्राथना गर्ने ठाउँ छैन, न त खेलमैदान नै छ । काठमाडौं महानगरपालिका–१० मा पर्ने बुद्धनगर आधारभूत विद्यालयका बालबालिकाको दैनिकी हो यो । विद्यालयमा पठनपाठनसहित अतिरिक्त क्रियाकलापहरु गर्नुपर्नेमा उनीहरुसँग खेलमैदान भने छैन । विद्यालयमा उनीहरु खेल्ने सामग्री र खेलौना त थुप्रै छन् तर खेल मैदानको अभावमा ‘स्टोर’मै थन्किएका छन् । कक्षा ७ मा पढ्ने सुमनलाई भविष्यमा फुटबल खेलाडी बन्ने चाहना छ । लाग्छ, विद्यार्थीको चाहना र आकांक्षा पूरा गर्न सघाउने आधार भनेको विद्यालय हो । तर विद्यालयमा मैदान नै नभएपछि उनी कहाँ फुटबल खेल्ने अभ्यास गरुन् र आफ्नो  सपना पूरा गरुन् ? ‘पढाई पनि राम्रै छ, यति मात्रै हो खेल्ने र कुद्ने ठाउँ छैन’, समुन भन्छन् ‘खेल्न पाए पो स्कुल आउन मन लाग्छ ।’ विद्यालयमा मैदानको अभावका कारण पर्याप्त मात्रामा खेल्न र सिक्न नपाएको उनको गुनासो छ । खेल्न त मैदानमै मन थियो, तर कहिलेकाहीँ कक्षा कोठामै फुटबल भेटिन्छ । बालबालिका । मैदान नहुँदा विद्यार्थीहरु कोठामै फुटबल खेल्न बाध्य छन् । ‘फुटबल खेल्ने ठाउँ छैन, कक्षा कोठामै खेल्छौँ’, सोही विद्यालयका विद्यार्थी सुमन भुजेल भन्छन्, ‘खेल मैदान भए मज्जाले खेल्न पाइन्थ्यो तर हाम्रो विद्यालयमा मैदान छैन । हामीले त अहिलेसम्म बाहिर खेल्नै पाएका छैनौँ ।’ विद्यालयको दुईतले भवन त छ तर बालबालिका खेल्ने मैदान भने छैन । भलिबल, फुटबल या अन्य खेल खेल्ने कुरा त परै जाओस् अरु विद्यालयमा झैँ नियमित प्राथना गर्ने, पिटी (शारिरीक कसरत) गर्ने जस्ता क्रियाकलाप गर्ने ठाउँ पनि यहाँ छैन । यहाँका बालबालिका स्कुलको दैनिक प्रार्थना पनि गर्न पाउँदैनन् । शारीरिक कसरत गर्ने पर्याप्त स्थानको अभावमा उनीहरुका सबै क्रियाकलापहरु नै कक्षाकोठाभित्रै हुने गर्दछ । कक्षा ५ की अन्जली तिवारीलाई पनि फुटबलमै मन छ । घरमा खेल्नका लागि अभिभावकले खासै महत्व दिँदैनन् । यता विद्यालयमा मैदान त छैन नै, कहिलेकाहीँ कक्षा कोठामै पुग्ने फुटबल पनि उनी छुन पाउँदिनन् । स्कुलको ‘हाफ छुट्टी’मा उनी ढुङ्गा बटुलेर गट्टा खेल्ने, चुङ्गी खेल्दै गर्छिन् । हुन त स्टोरमा क्यारम्बोर्ड, ब्याडमिन्टनका सामग्री पनि छन् । तर पनि खेल्ने र सिक्ने वातावरण भने नभएको उनले सुनाइन् । ‘मेरो खुट्टाले अझै फुटबल छुन पाएको छैन’, उनी भन्छिन् ‘स्कुलमा भलिबल, फुटबल पनि थन्किएका छन् तर खेल्न पाइदैन ।’ अन्जलीकी साथी आचल भण्डारीको गुनासो पनि उही छ । स्कुलमा खेल्ने र रमाइलो गर्ने निकै रहर हुँदाहुँदै प्रशस्त स्थानको अभावले मन खुम्चाएर बस्नुपरेको उनी बताउँछिन् । बुद्धनगर आधारभूत विद्यालयकी गणित शिक्षक शान्ता पराजुलीले स्थानकै अभावका कारण बालबालिकाको अतिरिक्त क्रियाकलाप अभ्यास गराउन समस्या भएको स्वीकार गर्छिन् । उनका अनुसार खेलौनाहरु स्टोरमै थन्किएका छन् । वडा कार्यालयमा खेल मैदान उपलब्ध गराउनु भनेर निवेदन दिएको समेत उनले जानकारी दिइन् । ‘खेल्दै र सिक्दै पढाउनुपर्ने बालबालिका ठाउँकै अभावले गर्दा खुम्चिएका छन्’, उनले भनिन्, ‘वडा कार्यालयले छिट्टै नै खेल मैदानको व्यवस्थापन गर्ने भन्नुभएको छ ।’ साँघुरो विद्यालयको रुपमा थापाथलीस्थित गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयले पनि समस्या भोग्दै आएको छ । विद्यालय एक रोपनी तीन आना, तीन दाम जग्गामा बनेको छ । यसमा पनि १२ आना जग्गा व्यक्तिले आफ्नो भएको भन्दै अदालतमा मुद्दा परेको छ । काँक्राको चिरो जस्तै बाँकी रहेको थोरै जग्गामा बालबालिका कोच्चिएर खेल्ने गर्दछन् । साँघुरो ठाउँमा खेल्दा धेरैपटक अरु बालबालिकालाई बलले चोट लागेर दुर्घटना समेत भएको बालबालिका बताउँछन् । पर्खालबाट बल उछिट्टिएर बाटोमा पुग्दा पर्खालबाटै मान्छे आएपछि बल पाउला भन्दै पर्खिरहनुपर्ने अवस्था उनीहरुसँग छ । ‘पर्खाल बाहिर बल जान्छ, कोही मान्छे आउलान् र बल दिन्छन् कि भन्दै कुरेर बस्छौँ’, यहाँका विद्यार्थी राहुल राई बताउँछन् । ‘मज्जाले खेल्ने र उफ्रिने ठाउँ नै छैन ।’ विवादमा परेको जग्गामा ढुङ्गा र इट्टा छन् । कहिलेकाहीँ बालबालिका त्यहीँ पुगेर ठोकिन्छन् र घाइने पनि हुने गरेका छन् । विवादित जग्गाका कारण मैदान सफा र व्यवस्थित बनाउन नसकेको गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयकी प्रधानाध्यापक नीता पौडेलले बताइन् । काठमाडौं महानगरपालिकाले बालमैत्री विद्यालय बनाउन, खेलकुद र अतिरिक्त क्रियाकलापमा बनाउन प्रोत्साहनस्वरुप योजनाहरु ल्याएको भए पनि विद्यालयको संरचना बालमैत्री नहुँदा पूर्ण रुपमा लागू गर्न नसकिएको उनले बताइन् । विवादित जग्गा मात्रै विद्यालयको नाममा बनाउन सके मैदान सुन्दर र व्यवस्थित बनाउनु सकिने उनले सुनाइन् । उनका अनुसार २०५७ सालदेखि नै विद्यालयको जग्गा अदालतमा मुद्दा चलिरहेको छ । पटकपटक नगरपालिकालाई जानकारी गराउँदा समेत विद्यालयमा जग्गा ल्याउनु पर्नेमा नगरपालिकाले खासै चाँसो देखाएको प्रधानाध्यापक पौडेलले बताइन् । मध्यबानेश्वरस्थित रत्न राज्यलक्ष्मी उच्च माध्यमिक विद्यालयका विद्यार्थीले शिक्षक समक्ष खेल मैदानको अभाव भएको गुनासो गर्दै आएको पनि धेरै भयो । विद्यालयमा भएको एउटा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानाध्यापक र वडाध्यक्ष समक्ष खेल्ने मैदान उपलब्ध गराइदिनुपर्ने माग राखेका थिए । कक्षा ९ की विद्यार्थी क्रिष्टिना खड्काले काठमाडौं महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसीसमक्ष खेलमैदान साँघुरो भएको र खेल्ने वातावरण मिलाइदिन अनुरोध गरेकी थिइन् । खड्काले सोमबार आफ्नै स्कुलको हलभित्र वडाध्यक्षलाई प्रश्न गरेकी हुन् । विद्यालयमा विद्यार्थीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएकाले विद्यालयको खेल मैदान साँघुरो भएको हो । दुई हजारभन्दा बढी विद्यार्थी रहेको विद्यालयमा खुलेर खेल्ने मैदन साँघुरो हुँदै गएको विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले स्वीकार गरे । काठमाडौं महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले विद्यार्थीलाई खेल्न जरुरी रहेको बताउँदै चाँडै खेलमैदानको बनाउने योजना रहेको सुनाए । ‘काठमाडौंका अधिकांश विद्यालयमा खेलमैदानको अभाव छ’, उनले भने, ‘खेलबिनाको बालविकास हुन सक्दैन । हामीले खेलमैदान उपलब्ध गराउने योजनामा छौँ ।’ खेलमैदान बिनाका स्कुलमा खेल्दैमा सरकारको नीति असफल स्थानीय तहदेखि सङ्घीय शिक्षा नीतिसम्म बालमैत्री विद्यालय हुन खेलकुद मैदानको अवस्था र जग्गा ९रोपनी वा विगाहमा० अनिवार्य हुनुपर्ने उल्लेख छ । काठमाडौं महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ मा पनि विद्यालयका अनिवार्य पूर्वाधार शर्तमा खेलकुद मैदान अनिवार्य हुनुपर्ने बताइएको छ । खेलकुद र त्यसलाई आवश्यक पर्ने पूर्वाधारसहितको ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ भन्ने नाराका साथ शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महानगर गौरवको योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । सङ्घीय र स्थानीय शिक्षा नीतिमा राखिएका बालमैत्री बुँदाहरुमध्ये खेलमैदान व्यवस्थापन गर्न चुनौती नै थपिएको शिक्षकहरु बताउँछन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्थानीय तहमा निर्वाचन भएको वर्षदेखि नै विद्यालयलाई बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । महानगरपालिकाको २०८०/८१ नीति तथा कार्यक्रममा नै हेर्ने हो भने पनि खेलकुदमा विद्यार्थीलाई जोड दिइएको छ । नीति तथा कार्यक्रममा शिक्षा नीतितर्फ महानगरपालिकाले भनेको छ, ‘सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने क्षमताको विकास गर्न आधारभूत प्राविधिक ज्ञान र सीपका साथै तन्दुरुस्त जीवनका लागि खेलकुद र त्यसलाई आवश्यकपर्ने पूर्वाधारसहितको गरी खाने शिक्षा, महानगरको इच्छा भन्ने नाराका साथ शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महानगर गौरवको योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।’ गुजेश्वरी विद्यालयकी प्रधानाध्यापक नीति पौडेलका अनुसार बालमैत्री विद्यालय बनाउन बजेट आएको भए पनि भौतिक संरचनाको जटिलताका कारण व्यवस्थापन गर्न सकिएको छैन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका शाखा अधिकृत उषा लामिछानेका अनुसार बालबालिकाको व्यक्तित्व विकासका लागि अविनार्य खेलकुद हुनुपर्छ । शैक्षिक पाठ्यक्रममा नै कक्षा १ देखि योग सिकाउने भनिएको छ । विद्यार्थी अधिकांश समय विद्यालयमै बिताउने हुँदा उनीहरुको शारीरिक स्वास्थ्यको लागि खेलकुद अतिआवश्यक रहेको उनले बताइन् । कक्षा १ देखि नै योगका तीन आशन जस्तै, सब आसन, सुखासन र शिशु आसन सिकाउने शैक्षिक पाठ्यक्रममा उल्लेख भए पनि विद्यालयमा पूर्णरुपमा लागू नभएको उनले सुनाइन् । ‘खेल्ने पूर्वाधार छैन, अतिरिक्त क्रियाकलाप व्यावहारिक बन्न सकेको छैन’, उनले भनिन्, ‘यसमा स्थानीय तहले विशेष ध्यान दिनुपर्छ ।’ शिक्षाविद् विद्यानाथ कोइरालाले अतिरिक्त क्रियाकलापबिना बालबालिकाको शारिरीक र मानसिक वृद्धिमा असर पर्छ । शिक्षा नीतिको आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्नु नीतिगत समस्या शहरीकरणको समस्या भएको बताउँछन् । सहरमा भूमिको अभाव छ । तर, यसो भन्दैमा कोठामै खुम्चिएका बालबालिकालाई विद्यालयमा समेत खुम्चाएर राख्नु उनीहरुको अधिकार माथिको हनन हो । ‘जुन विद्यालयमा प्रशस्त खेल मैदान छैन, त्यस्तो विद्यालयका बालबालिकालाई खुला मैदानमा खेल्ने अवसर मिलाउनु पर्छ,’ उनले भने, ‘नभए, हाम्रा सहर पढ्ने बालबालिका कोठा पनि बन्द स्कुलमा पनि बन्द भएर बस्नु बाध्य हुन्छन् । यसले उनीहरुको सिर्जनात्मक क्षमता वृद्धि हुन सक्दैन ।’ सङ्घीय शिक्षा नियमावली २०५९ को परिच्छद १४ अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्नु पर्ने नियमावलीमा उल्लेख छ । विद्यालयको विद्यार्थीहरुको सिर्जनात्मक प्रतिभाको विकासको लागि विद्यालयमा अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्नु पर्ने उल्लेख छ । यसमा भनिएको छ, ‘अतिरिक्त क्रियाकलाप कार्यक्रममा शिक्षक तथा विद्यार्थी दुवैले भाग लिनुपर्नेछ ।’ विद्यालयले अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्दा विभिन्न बुँदा राखिएको छ । यस अन्तर्गत विद्यालयमा राष्ट्रियताको भावना जगाउने, मनोरञ्जनात्मक तथा राष्ट्रिय संस्कृति वा कलाहरुप्रति अभिरुचि बढाउने किसिमका नाटक, नृत्य र लोकसङ्गीतको अभ्यास तथा प्रतियोगिता गर्ने, विद्यार्थीको शारीरिक विकासको लागि विभिन्न किसिमका खेलकुदहरु नियमित रुपमा अभ्यास र सञ्चालन गर्ने तथा विद्यार्थीहरुमा सामाजिक सेवा र वातावरण संरक्षणप्रति चेतना बढाउने क्रियाकलाप गर्नुपर्छ । त्यस्तै विद्यार्थीहरुलाई शिक्षण संस्था, सामुदायिक स्थल वा त्यस्तै अन्य स्थानको सरसफाई र संरक्षण, विद्यालय बगैँचा, करेसाबारीको निर्माण, वृक्षरोपण र साक्षरताजस्ता कार्यक्रमहरुमा संलग्न गराउन प्रोत्साहन गर्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय, ऐतिहासिक, सामाजिक, धार्मिक पर्वको महत्व तथा नैतिकता सम्बन्धमा प्रवचन गर्न लगाउने, स्काउट, जुनियर रेडक्रसजस्ता संस्थाका एकाई खोल्न प्रोत्साहन गर्ने व्यवस्था राखिएको छ । रासस

एसइईको नतिजा असार दोस्रो साताभित्र

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । सोमबार परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अंकभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी अन्य काम तीव्र गतिमा भइरहेका बताए । ‘हामीले उत्तरपुस्तीका परीक्षण र अंक अभिलेखको काम सकेका छौँ । प्राविधिक त्रुटि नदेखिए केही दिन अगाडि नै नतिजा प्रकाशित गर्न र कुनै समस्या भए दोस्रो साताभन्दा पर नजाने गरी काम भइरहेको छ । कर्मचारीका विभिन्न समूह बनाएर काम भइरहेकाले निर्धारित समयमै नतिजा सार्वजनिक गर्छौं,’ उनले भने । उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको जानकारीसमेत दिए । गतवर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष १४ दिन अगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको भन्दै परीक्षा नियन्त्रक पौडेलले यसवर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर सार्वजनिक गरिने बताए । यसवर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने उनले बताए। गत चैत १५ गतेदेखि सुरु भएको यसवर्षको परीक्षामा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।

वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान साढे १० बजेभित्रै पठनपाठन सक्नुपर्ने

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । महानगरको आइतबार बसेको बैठकले गर्मी बढेसँगै आजदेखि विद्यालयको पठनपाठन सीमित अवधिमा मात्रै गर्न निर्देशन दिएको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई÷ मधेश क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर र बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै बिहानीको समयमा कक्षा सञ्चालनको समयावधिलाई कम हुने गरी पठनपाठन गराउन निर्देशन दिएको बताए । ‘महानगरपालिकाको आइतबार बसेको बैठकले हाल शिक्षणको समयावधिमा हुने क्षतिलाई पछि मिलान गर्ने गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि जेठ २८ गतेदेखि बिहान १०ः३० बजेभित्र पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्ने समयावधि व्यवस्थापन गर्न गराउनुहुन अनुरोध गरिन्छ,’ उनले भने । वीरगञ्ज महानगर क्षेत्रमा यसअघि बिहान ६ बजेदेखि बिहानी सत्रमा पठनपाठन हुँदै आइरहेको थियो । महानगरले गत वैशाख २० गतेदेखि बिहानी सत्रमा पठनपाठन गराउँदै आइरहेको थियो । महानगरको शिक्षा समितिको २०८१ जेठ १४ गते बसेको बैठकले यसअघि वीरगञ्जमा अत्यधिक गर्मीको कारणले जेठ १६ गतेदेखि १८ गतेसम्मको लागि तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गरिएको थियोे । यसपछि बर्सात भए पनि वीरगञ्जमा बिहानकै समयमा पठनपाठन हुँदै आइरहेको थियो । महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय रहेको छ ।