काठमाडौं महानगरले थाल्यो एसईई पुरक परीक्षाको तयारी कक्षा

काठमाडौं । एसईई फेल भएका अथवा ननग्रेडेड भएका विद्यार्थीहरूका लागि काठमाडौं महानगरपालिकाले तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा नियमित परीक्षामा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका विद्यार्थीका लागि तयारी कक्षा सुरु गरिएको महानगरले जनाएको छ । परीक्षामा सहभागी भई दुईवटा ननग्रेडेड भएका विद्यार्थी ८सय ७३ जना रहेका छन् । विद्यार्थीहरूलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरु गरिएको हो । यी कक्षाहरू पास गराउनमा भन्दा पास गराउने वातावरण तयार गर्नका लागि सञ्चालन गरिएकाे महानगरकाे भनाइ छ । महानगरभित्रका सामुदायिक विद्यालयहरूले गएको वर्षभन्दा यो वर्ष एसईई नतिजा सुधारेका छन् । एसईई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५ सय ४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेको महानगले जनाएको छ  । गएको वर्ष अर्थात २०७९ सालको एसईई परिक्षार्मा एक सय ५० जनाले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका थिए । महानगरका ५८ वटा सामुदायिक विद्यालयबाट यस वर्ष ३ हजार ९ सय ५९ जना विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका थिए । कुल परीक्षार्थीमध्ये ३ हजार ८६ जना उत्तीर्ण हुँदा ८ सय ७३ जनाले पुनः परीक्षा दिनुपर्ने भएको छ ।

त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गए : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अब त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा कार्यकर्ता भर्ती गर्ने दिन गएकाे बताएकी छिन् । त्रिविका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ जारी भएको जानकारी दिँदै अबदेखि दलीय राजनीतिका आधारमा त्रिविमा नियुक्ति नहुने बताएकी हुन् । ‘त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गए, त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ अनुसार अब विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आवद्ध नभएको स्वघोषणा गर्नुपर्ने भएको छ, शिक्षा सुधारको मुख्य अवरोध दलीय राजनीति हो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् । मन्त्री श्रेष्ठले यो विनियम मस्यौदा गरी जारी गर्ने त्रिवि नेतृत्वप्रति आभार समेत व्यक्त गरेकी छन् । साथै, उनले नेपालको शिक्षा क्षेत्र र नेपालकै समग्र भविष्यबारे जिम्मेवार सबैले यसलाई समर्थन र निरन्तरता दिएर अगाडि बढ्नुपर्ने समेत उल्लेख गरेकी छन् । ‘स्वघोषणा गलत ठहरिए पदच्युत हुने गरी कार्यान्वयनमा खुट्टा कमाइएन भने त्रिवि सुधारका लागि यो एउटा युगान्तकारी कदम हुनेछ, यो विनियम मस्यौदा गरि जारी गर्ने त्रिवि नेतृत्वप्रति आभार व्यक्त गर्छु,’ उनले लेखेकी छिन्, ‘साथै नेपालको शिक्षा क्षेत्र र नेपालकै समग्र भविष्य बारे जिम्मेवार सबैले–हरेक सरकार, प्रधानमन्त्री, मन्त्रीले यसलाई समर्थन र निरन्तरता दिनैपर्छ ।’

आइएसएमटी कलेजबाट ३९० जना विद्यार्थी दिक्षित

काठमाडौं । आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । कलेजबाट बिबिए, बिएचएम, बिएससी र बिएससीआइटीमा अध्ययनरत स्नातक तह उत्तिर्ण गरेका विद्यार्थीहरु सन्डरल्यान्ड विश्वविद्यालयको तर्फबाट दीक्षित भएका हुन् । काठमाडौंको होटल याक एन्ड एतीमा असार १६ गते भएको एक विशेष समारोहमा ३९० जना विद्यार्थीहरु दीक्षित भएका थिए । आइएसएमटी ग्रुपले सन्डरल्यान्ड विश्वविद्यालयको समबन्धनमा काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा कलेज सञ्चालन गर्दै आएको छ ।