कति सान्दर्भिक छ त्रिविकै प्रादेशिक विश्वविद्यालय खोल्ने योजना ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति केशरजंग बरालले सोचपत्रमार्फत् त्रिविका प्रादेशिक विश्वविद्यालय बनाउने योजना सार्वजनिक गरेसँगै यसले बहसको रूप लिएको छ । देशकै पुरानो विश्वविद्यालयको रूपमा सञ्चालित त्रिवि अहिले नै सन्तोषजनक रूपमा सञ्चालन हुन नसकेको अवस्थामा प्रादेशिकरूपमा विश्वविद्यालय खोल्ने विषयलाई धेरैले टिकाटिप्पणी गर्न थालेका छन् । बरालले सातै प्रदेशमा रहेका आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसहरूलाई सम्बन्धित प्रदेशमा त्रिवि विश्वविद्यालय (जस्तो त्रिवि गण्डकी, त्रिवि लुम्बिनी) स्थापना गरेर त्रिविको भिमकायरूपलाई व्यवस्थित गर्ने, यसको लागि त्रिविले हरेक प्रदेशमा आवश्यक भौतिक पूर्वाधार र प्रशासनिक पूर्वाधार तयार गर्ने सोचपत्र सार्वजनिक गरेका छन् । सरोकारवालाहरू भने यो आवश्यक नभएको धारणा राख्छन् । प्राध्यापक संघ सुदूरपश्चिमका अध्यक्ष राजेन्द्र चन्द त्रिविले प्रदेशमा विश्व विद्यालय खोल्नु पर्ने आवश्यकता नभएको बताउँछन् । उनी अहिले त्रिवि आफ्नै अवस्था बेजोग रहेकाले सबैभन्दा पहिले त्यस्ता विषयलाई प्राथकिता राखेर काम गर्न बराललाई सल्लाह दिन्छन् । ‘समयमै परीक्षाको नतिजा आउँदैन, परिक्षा हुँदैन, दुई/तीन वर्षसम्म विद्यार्थी एउटै कक्षामा बस्नुपर्ने समस्या छ, प्रदेशमा विश्वविद्यालय खोल्नुभन्दा भएका शैक्षिक संस्थालाई गुणस्तरीय बनाउनतर्फ जोड दिनु पर्छ,’ उनले भने । उनले आफूहरूले हामी मोफसलमा बसेर नियालिरहेको बताउँदै अहिले खुलिरहेका विश्वविद्यालयमा पनि विद्यार्थीको अभाव रहेको बताए । ‘यहाँका कतिपय कलेजका कुनै संकायमा दुई÷तीन जना मात्र विद्यार्थी छन्, शिक्षकको आवश्यकताा छ, स्रोत साधन छैन, बजेटको अभाव छ भवन कति चाहिन्छ, यो विषमा सोच्नुपर्छ, यस्ता विषयमा योजना बनाएर सरकारको लगानीलाई प्रभावकारी बनाउने भन्ने सोच्नुपर्छ,’ उनी भन्छन्, ‘अहिले त्रिविको प्रादेशिक विश्वविद्यालय आवश्यक छैन ।’ उनले यस्तो गर्नुको सट्टा गुणस्तरीय शिक्षा प्रदान गरेर युवाहरूलाई स्वदेशमै रोजगारी दिन जोड दिनु पर्ने तर्क दिए । शिक्षाविद् डा. विष्णु कार्की नेपालजस्तो मुलुकमा यति धेरै विश्वविद्यालयको आवश्यताा नै नभएको बताउँछन् । अहिले नै १७ बढी विश्वविद्यालय भइसकेको अवस्थामा फेरि बरालले यस्तो योजना बनाउनु उचित नभएको उनको धारणा छ । ‘जनंसख्याको आधारमा विद्यालय खोलिने हो विश्वविद्यालय हैन,’ उनी भन्छन्, ‘विद्यालय शिक्षा भनेको सबैको लागि अनिवार्य हो, निःशुल्क पनि हो, सबै ठाउँमा शिक्षा पु¥याउनुपर्छ, यो राज्यको दायित्व हो । तर, सबैका लागि युनिभर्सिटी हैन ।’ ‘नेपालमा ५ प्रतिशत विद्यार्थी मात्र विश्वविद्यालयमा छन्, यसले कक्षा १ मा भर्ना भएको विद्यार्थीको अनुपात हेर्दा विश्वविद्यालयमा कति विद्यार्थी पुग्छन् भन्ने देखाउँछ, हामीले भर्खरै शिक्षा मन्त्रालयले सार्वजनिक गरेको कक्षा २०७१ सालमा भर्ना भएका र २०८० सालमा एसईई दिएका विद्यार्थीको तथ््यांक हेर्दा पनि नेपालमा विद्यार्थीको संख्या कति छ र यसका लागि कति विश्व विद्यालय चाहिन्छन् भन्ने कुरामा गहिरो अध्ययन गर्नुपर्छ,’ उनले भने । शिक्षाविद् बिनय कुसियतपनि प्रदेशस्तरमा त्रिविकै संरचना खोल्न आवश्यक नरहेको बताउँछन् । ‘यसो हो भने अहिले हरेक प्रदेशमा रहेका विश्वविद्यालयलाई खारेज गर्नुपर्छ,‘ उनी भन्छन्, ‘कि अहिले रहेका विश्वविद्यालय खारेज गर्नुप¥यो, नभए उसका हरेक कलेजहरू ठाउँ-ठाउँमा हुँदा फेरि प्रदेशमा विश्वविद्यालय खोल्ने योजना बनाउनु आर्थिक व्यायभार थप्नु हो, यसको कुनै आवश्यताता छैन ।’ २०१९ सालमा स्थापना भएको गण्डकी विश्वविद्यालयमा ३ सय विद्यार्थी छैनन्,’ उनी भन्छन्, ‘पोखरा, पूर्वाञ्चल, सुदूरपश्चिममा पनि विद्यार्थीको संख्या छैन, विद्यार्थी भन्दा प्रोफसरको संख्या बढी छ, यस्तो अवस्थामा फेरि विश्वविद्यालय खोल्छु  भन्नु भनेको उटपट्याङ विषय हो ।’ लथालिंग आगिंक कलेज नेपालका कलेज तथा विद्यालयमा तालाबन्दी गरियो भन्ने विषय नौलो होइन । अझ त्रिभुवन विश्वविद्यालयमा त वर्षको ३ सय ६५ दिनमा करिब तीन सय दिननै तालाबन्दी हुन्छ । कहिले त्रिविकै विभिन्न विभागमा त कहिले त्रिविबाट मान्यता प्राप्त विभिन्न क्याम्पसमा ताला लगाइएका खबरहरू आइरहन्छन् । अहिलेकै कुरा गर्दा पनि काठमाडौँ उपत्यकाका दुइटा क्याम्पस बन्द छन् । पाटन क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र अमृत साइन्स क्यम्पसमा अखिल क्रान्तिकारी र अनेरास्वयवियुले ताला लगाएका छन् । चैत ५ गतेदेखि लगाएको तालाबन्दी अहिलेसम्म नखुल्दा विद्यार्थीलाई समस्या भएको छ । बैशाख १६ गतेदेखि स्नातक तहको दोस्रो वर्षको परीक्षा सञ्चालन हुँदैछ तर, विद्यार्थीले अहिलेसम्म परिक्षा फर्म भर्न पाएका छैनन् । अस्कल क्याम्पसमा दुई विद्यार्थी संगठनबिच विवाद भएपछि अर्को संगठनले ताला लगाएको छ । अनेरास्ववीयु र अखिलक्रान्तिकारी संगठनबीच विवाद हुँदा अनेरास्वीयुका विद्यार्थी क्याम्पसमा ताला नै लगाइदिए । त्रिभुवन विश्वद्यिालयका क्याम्पसको हालत यस्तो छ । कतिपय क्याम्पसलाई विद्यार्थी नहुँदा के गर्ने कसो गर्ने भन्ने पसिना छुटिरहेको छ । कतिपय कलेजमा भौतिक पूर्वाधार र कतिपयमा प्राविधिको आवश्यकता छ । देशभरका विश्वविद्यालयहरूको हालत ठिक छैन । यसमा सबैभन्दा खराब अवस्था त्रिभुवन विश्वविद्यालय र यसका अांगिक क्याम्पसको छ । यस्तो अवस्थामा त्रिवि गुज्रिरहेको बेला कसरी शाख जोगाउने भन्ने चुनौती उपकुलपती केशरजंग बरालसामू छ । तर, उपकुलपतिको ध्यान भने कसरी नयाँ योजना लागू गर्ने भन्नेतर्फ छ । त्रिविमा बेलाबखत राजनीतिक, शैक्षिक हिसावले आलोचना हुने गरेको छ । संरचनादेखि अनुसन्धान केन्द्र, पुस्तकालयदेखि हेरक विभागको अवस्था उस्तै छ । कुनै समय नेपालमा सर्वोत्कृष्ट ठानिएको त्रिविको अहिले शाख नै गिर्दो छ । यस्तो अवस्थामा त्रिविमा भएका संरचना र यसको गुणस्तरमा ध्यान दिन विज्ञहरूले जोड दिरहेका छन् । तर, त्रिभुवन विश्वविद्यालयका उपकुलपति बराल भने प्रादेशिक विश्वविद्यालय खोल्ने योजनामा छन् । त्रिविको भिजन २०३० अनुसार यसलाई पुनसंरचनाको तयारी क्रममा महेन्द्र बहुमुखी क्याम्पस, नेपाल गञ्ज, पृथ्वीनारायण क्याम्पस, पोखरा र महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पस, विराटनगरलाई उपाधि दिने संस्थाको रुपमा विकास गरी त्रिवि प्रदेश विश्वविद्यालय स्थापनाको लागि प्रारम्भिक तयारी गरिने उनले आफ्नो सोचपत्रमा उल्लेख गरेका छन् ।

६ सय ३० विद्यार्थीलाई छात्रवृत्ति

झापा । झापाको झापा गाउँपालिकाले ६ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ६ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले जानकारी दिइन् । यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न वर्गका भएकाले पनि छात्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको उनले बताइन् । गाउँपालिकाले कक्षा ११ का विद्यार्थीलाई जनही ९ हजार ६ सय ५० र कक्षा १२ का विद्यार्थीलाई जनही ११ हजार दुई सय र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही १२ हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो । कक्षा ११ र १२ अध्यापन हुने जनकल्याण माविका ५६, डिल्लीराज माविमा तीन सय ५२ विद्यार्थी र जनता माविका दुई सय २२ विद्यार्थीलाई गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत छुट्याइएको बजेटबाट छात्रवृत्ति प्रदान गरिएको हो । झापा गाउँपालिकाभित्र २१ वटा सामुदायिक विद्यालय, १४ वटा संस्थागत विद्यालय र १८ वटा मदरसा सञ्चालनमा छन् ।

भारतीय दूतावासद्वारा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

कास्की । भारतीय दूतावासले माछापुच्छ्रे गाउँपालिका–२ स्थित माछापुच्छ्रे माध्यमिक विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत दूतावासले विद्यालयलाई आज उपहार स्वरूप बस प्रदान गरेको हो । नेपालका लागि भारतीय रक्षा सहचारी कर्णेल अमित शर्माले एक समारोहका बीच बस हस्तान्तरण गरे । विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा सार्वजनिक यातायात नियमित नहुँदा विद्यालय आउजाउ गर्न विद्यार्थीले भोग्नुपरेको कठिनाइ अब समाधान हुने बताए । विद्यालयको आवश्यकता बुझेर बस सहयोग गरेकामा उनले दूतावासप्रति आभार व्यक्त गरे । प्रधानाध्यापक आचार्यका अनुसार भराभरी, करुवा, मिर्सा, धिप्राङलगायत टाढाका गाउँबाट पैदल विद्यालय आउन दुई घण्टा बढी समय लाग्ने गर्छ । ती ठाउँमा बस सेवा सञ्चालन गरिने उनले जानकारी दिए । उनले भने, ‘यहाँ चल्ने बसहरू नियमित नहुँदा विद्यार्थीको कक्षा छुट्ने गरेको थियो, त्यो समस्या अब हट्ने छ । हामी आफ्नै बसमा विभिन्न कार्यक्रममा विद्यार्थी लैजान पनि सक्नेछौँ ।’ सो अवसरमा भारतीय रक्षा सहचारी शर्माले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताए । उनले आगामी दिनमा थप सहयोगको प्रतिबद्धता जनाए । बस सहयोगले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन मद्दत पुग्ने उनको भनाइ छ । गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले भारतीय सहयोगप्रति आभार व्यक्त गरे । उनले माछापुच्छ्रे गाउँपालिकाका अन्य विद्यालयमा पनि सहयोगका लागि आग्रह गरे । वडाध्यक्ष गणेश आचार्यले स्कुल बस सुविधाबाट सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन र शैक्षिक गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने बताए । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष बमबहादुर गुरुङले दूतावासबाट बस प्राप्त गर्नका लागि लामो समयदेखि गरेको प्रयास अहिले सफल भएकोमा खुशी व्यक्त गरे । ‘स्कुल बसका लागि हामीले चार वर्षदेखि पहल गरेका थियौँ । यहाँका भूपू भारतीय सेनाहरुबाट थप पहल भयो र अहिले ल्याउन सफल भएका छौँ,’ उनले भने ।