वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान साढे १० बजेभित्रै पठनपाठन सक्नुपर्ने

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । महानगरको आइतबार बसेको बैठकले गर्मी बढेसँगै आजदेखि विद्यालयको पठनपाठन सीमित अवधिमा मात्रै गर्न निर्देशन दिएको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई÷ मधेश क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर र बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै बिहानीको समयमा कक्षा सञ्चालनको समयावधिलाई कम हुने गरी पठनपाठन गराउन निर्देशन दिएको बताए । ‘महानगरपालिकाको आइतबार बसेको बैठकले हाल शिक्षणको समयावधिमा हुने क्षतिलाई पछि मिलान गर्ने गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि जेठ २८ गतेदेखि बिहान १०ः३० बजेभित्र पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्ने समयावधि व्यवस्थापन गर्न गराउनुहुन अनुरोध गरिन्छ,’ उनले भने । वीरगञ्ज महानगर क्षेत्रमा यसअघि बिहान ६ बजेदेखि बिहानी सत्रमा पठनपाठन हुँदै आइरहेको थियो । महानगरले गत वैशाख २० गतेदेखि बिहानी सत्रमा पठनपाठन गराउँदै आइरहेको थियो । महानगरको शिक्षा समितिको २०८१ जेठ १४ गते बसेको बैठकले यसअघि वीरगञ्जमा अत्यधिक गर्मीको कारणले जेठ १६ गतेदेखि १८ गतेसम्मको लागि तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गरिएको थियोे । यसपछि बर्सात भए पनि वीरगञ्जमा बिहानकै समयमा पठनपाठन हुँदै आइरहेको थियो । महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय रहेको छ ।

सामादायिक विद्यालयले भाडामा दिएका ६१ सटरमा काठमाडौं महानगरले लगायो ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाले चार वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ सटरमा ताला लगाएको छ । कामपा शिक्षा विभाग, प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले आइतबार विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा लगाइएका सटर तथा टहरामा ताला लगाएको हो । यसरी ताला लगाइएका सटरहरूमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयका १७, बागबजारस्थित सहिद शुक्र माविका २२, विजय स्मारक मावि डिल्लीबजारका ८ र पदमकन्या मावि डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए । शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरमा ताला लगाएर चाबी प्रधानाध्यापकलाई बुझाइएको दाहालले बताए । यसैगरी व्यवसायीलाई आफ्ना सामान लैजान सात दिनको समय दिइएको छ । ‘कामपाभित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ । यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन्,’ दाहालले भने, ‘विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत महानगरपालिकाले प्रदान गरिरहेको छ । विद्यालयले माग गरेकोभन्दा धेरै कार्यक्रम पठाएको छ ।’ महानगर प्रमुखको सचिवालय सदस्य सस्मित पोखरेलले विद्यालयले स्थान अभाव देखाउँदै शैक्षिक कार्यक्रम सञ्चालनमा असहज भएको गुनासो गरिरहे पनि आफूसँग भएको स्थानलाई प्रयोगमा ल्याउने विषयमा कहिल्यै कुरा नगरेको बताए । पोखरेल भन्छन्, ‘विद्यालयमा विज्ञान र कम्प्युटर ल्याब बनाउनुपर्ने छ । पढ्ने संस्कृति बसाउन पुस्तकालय बनाउनुपर्ने आवश्यकता छ । त्यसैले भाडामा लगाइएका स्थान खाली गरेर शैक्षिक क्रियाकलाप सञ्चालनका लागि उपयोग गर्छौँँ ।’

मिस युनिभर्स नेपालद्वारा विद्यार्थी सशक्तीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले चक्रपथस्थित नमुना कलेज अफ फेसन टेक्नोलोजीमा विद्यार्थी सशक्तीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूको व्यक्तिगत विकास र करियरसम्बन्धी उत्प्रेरणामुलक गतिविधिहरु समावेश गरिएको थियो । कार्यक्रमको प्रमुख आकर्षण चर्चित गायिका इन्दिरा जोशी थिइन् । उनले विद्यार्थीहरूलाई जीवनमा सकारात्मक सोच, आत्म–विश्वास र लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गर्न उत्प्रेरित गरेकी थिइन् । आफ्ना अनुभवहरू साट्दै उनले विद्यार्थीहरूलाई चुनौतीहरूको कसरी सामना गर्ने र कसरी आफ्नो क्षमताको अधिकतम उपयोग गर्ने भन्ने विषयमा मार्गदर्शन गरेकी थिइन् । कार्यक्रमलाई अन्तरक्रियात्मक बनाउनको लागि प्रश्नोत्तर सत्र पनि आयोजना गरिएको थियो जसमा विद्यार्थीहरूले इन्दिरा जोशीसँग विभिन्न प्रश्नहरू सोधेका थिए । यस अन्तरक्रियात्मक सत्रले विद्यार्थीहरूलाई आफ्ना जिज्ञासाहरू मेटाउन र नयाँ ज्ञान हासिल गर्न सहयोग पुगेको उनीहरूले बताए । जोशीले विद्यार्थीहरूको आत्म–प्रकाश र आत्मविश्वास बढाउन विभिन्न सामूहिक छलफल, भूमिका निर्वाह अभ्यास, र फेसन तथा प्रविधिसँग सम्बन्धित सिर्जनात्मक चुनौतीहरू जस्ता गतिविधिहरू गराएकी थिइन् । उनले विद्यार्थीहरूलाई समूहमा काम गर्न, नयाँ विचारहरू प्रस्तुत गर्न र आफ्ना क्षमताहरू प्रदर्शन गर्न उत्प्रेरित गरेकी थिइन् । यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा आत्म–विश्वास, सिर्जनात्मकता र नेतृत्व क्षमताको विकास गर्ने विश्वास मिस युनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले व्यक्त गरेको छ । ७० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको यस अन्तरक्रियात्मक कार्यक्रम देशका सातै प्रदेशमा सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।