आजदेखि बीमा प्राधिकरणमा हाजिर भए शरद ओझा, यस्तो छ अदालतको आदेश

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा काममा फर्किएका छन् । प्राधिकरणका अनुसार अध्यक्ष ओझा मंगलबारदेखि काममा फर्किएका हुन् । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै उनलाई पुन:प्राधिकरण फर्किने बाटो खुलेको थियो ।  गत असार ३० गते सरकारले उनको योग्यतामाथि छानबिन गर्ने भएसँगै ओझा स्वतः निलम्बनमा परेका थिए ।  अध्यक्ष नियुक्तिदेखि नै उनको योग्यतासम्बन्त्री विवाद हुँदै आएको थियो । उनको योग्यतासम्बन्धी विवाद सर्वोच्च अदालतमा समेत विचाराधीन छ । प्राधिकरण अध्यक्षका लागि तोकिएको योग्यता अपुग रहँदारहँदै ओझालाई सरकारले अध्यक्षमा नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदरको माग गर्दै इन्दिरा धमलाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल बिमा प्राधिकरण सञ्‍चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समिति र प्राधिकरणका अध्यक्ष ओझालाई विपक्षी बनाएकी थिइन् । फागुन १२ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । 

गण्डकी प्रदेशमा एक अर्ब १३ करोडभन्दा बढीको बीमा दाबी, हिमालयन एभरेष्टमा सबैभन्दा धेरै

काठमाडौं ।  जेनजी प्रदर्शनीका क्रममा भएको क्षतिबाट गण्डकी प्रदेशमा एक अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गण्डकी प्रदेशमा १२  निर्जीवन बीमा कम्पनीमा २०९ वटा दाबी परेको छ ।  प्राधिकरणको तथ्यांकअनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै बीमा दाबी परेको छ । ५० करोड रुपैयाँको ९ वटा दाबी परेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) मा ३५ करोड रुपैयाँको ५० वटा दाबी परेको तथ्यांक छ । राष्ट्रिय बीमा कम्पनीमा सात करोड रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पाँच करोडको दाबी परेको छ । नेको इन्स्योरेन्स कम्पनीमा चार करोड ४५ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा तीन करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा दुई करोड रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा दुई करोड दाबी परेको छ । त्यस्तै, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा तीन करोड १५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीमा ८० लाख रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनीमा ७५ लाख रुपैयाँ, नेपाल माइक्रोको इन्स्योरेन्सको ५ वटा पोलिसी २५ लाख दाबी परेको छ । १२ निर्जीवन बीमा कम्पनीमा हालसम्म कुनै दाबी परेको छैन । दाबी नपर्ने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्स हुन् । 

जेनजी प्रदर्शनमा भएको क्षतिमा बीमा कम्पनीहरूमा २७ अर्बभन्दा बढीको बीमा दाबी

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी युवापुस्ताले गरेको प्रदर्शनमा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिबाट करिब २७ अर्बमाथिको बीमा दाबी आइसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार क्षतिको विवरण अझै पूर्ण रूपमा आइनसकेको हुँदा यो रकम अझै बढ्न सक्ने छ ।  प्राधिकरणले यसअघि नै पत्र नै जारी गरी यथाशीघ्र बीमा दाबी फर्छ्याैट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिइसकेको छ ।  प्राधिकरणले यसअघि असहज परिस्थितिका सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा  भएको क्षतिको बीमा दाबी विवरण साप्ताहिक रूपमा (प्रत्येक हप्ता बुधबार) एक्सेल सिटल ढाँचामा गुगल फर्ममार्फत पेस गर्नसमेत निर्देशन दिएका थियो । प्राधिकरणको निर्देशनअनुसार भोलि (असोज) १ गतेभित्र दाबीको विवरण पेश गरिसक्नुपर्नेछ । प्राधिकरणले बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्याैट गर्न निर्देशन दिइसकेको छ । त्यस्तै, प्राधिकरणले बीमा लेखमा उल्लेख भएको सर्तअनुसार कम्पनीले दाबी भुक्तानी नगरेमा आफूकहाँ उजुरी गर्न समेत आग्रह गरेको छ । ‘बीमा कम्पनीले बीमा लेखमा उल्लेखित अवधिभित्र बीमा दाबी भुक्तानी नगरेमा, दायित्व निर्धारण नगरेमा वा बीमितलाई मर्का पर्नेगरी दायित्व निर्धारण गरेमा सम्बन्धित बीमितले नेपाल बीमा प्राधिकरणसमक्ष उजुरी गर्न सक्ने बेहोरासमेत अनुरोध गरिन्छ,’ प्राधिकरणले भनेको छ, ‘मिति २०८२ भदौ २३ र २४ गते उत्पन्न विषम परिस्थितिबाट जनधनको क्षति भएका बीमितहरूलाई बीमा लेखको सर्त बमोजिम दाबी भुक्तानी पाइने कानुनी व्यवस्था भएकोले आवश्यक कागजातसहित सम्बन्धित बीमा कम्पनीमा बीमा दाबी गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ ।’ नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा कम्पनीहरूबाट दाबीको विवरण आउने क्रम रहेको र भोलि सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए । जेनजी आन्दोलनको क्रममा हिल्टन होटलमा मात्रै ८ अर्बभन्दा बढीको क्षति पुगेको छ भने ५ अर्बभन्दा बढीको दाबी परेको छ । त्यस्तै, भाटभटेनी सुपरमार्केटबाट पनि अर्बाैं रुपैयाँ बराबरको बीमा दाबी पर्ने देखिन्छ ।