सेञ्चुरी बैंक र यूनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ । उक्त सम्झौतापत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र यूनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्णले हस्ताक्षर गरेका छन् । हाल बैंकले ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

नेपाल इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला, जेठ ८ गतेसम्म भर्न पाइने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आजदेखि हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन १०० प्रतिशत अर्थात ३० करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको ३० लाख १९ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । सेयर निष्कासन जेठ ८ गतेसम्म रहेको निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । चैत २२ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद खरिदका लागि आवेदन दिन सक्ने छन् । हकप्रद निष्कासनका लागि दरखास्त पाइने र रकम बुझाउन एनआईबीएलको लाजिम्पाट, लालदरबार, लगनखेल, चिप्लेढुङा, बुटबल, वीरगञ्ज, र विराटनगरबाट पाइने छ ।

आइएमई जनरल इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच नगद रहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) युगेशभक्तबादे श्रेष्ठ र नर्भिक इन्टरनेश्नल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण धरले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म नर्भिक इन्टरनेश्नल हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । कार्यक्रममा आइएमई जनरलका सीईओ श्रेष्ठले नर्भिक इन्टरनेश्नल हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमासम्म नगद रहित हस्पिटलाईजेसन सुविधा प्रदान गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । साथै, सोही अवसरमा नर्भिक हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेको छ । उनले अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरेका छन् ।