नगद लाभांश वितरणमा रोक लगाएर बीमा समितिले ठिक काम गर्यो -अभिजीत घोष दस्तीदर
अभिजीत घोष दस्तीदर विगत केही महिनादेखि लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल)को कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । उहाँ सन् १९९१ देखि एलआइसी इण्डियामा कार्यरत हुनुहुन्छ । २०१५ अक्टोबरदेखि एलआइसी नेपालको सेकेण्ड म्यानका रुपमा नियुक्त भएर आउनु भएको अभिजीतले एलआइसीमा २५ वर्ष विताउँदा दुबई, साउदी अरेयिबा, कतार, बराइन, ओमनमा बसेर काम गरिसक्नु भएको छ । बीमा बजार र एलआईसी नेपालको बारेमा उहाँसँग गरिएको विकास वहस यस पटक। एलआइसी नेपालको बजार कस्तो छ ? एलआइसी नेपाल भनेको नेपालको लाइफ इन्स्योरेन्स क्षेत्रको एक नम्बर कम्पनी हो । नम्बर अफ पोलिसीका आधारमा हामी पहिलो नम्बरमा छौं । प्रिमियम रकमका आधारमा हामी दोश्रो नम्बरमा छौं । हामीले गरिबका लागि साना साना पोलीसी पनि गरिरहेका छौं । नम्बर अफ पोलिसीका आधारमा हामीले लाइफ इन्स्योरेन्स बजारको ३५ प्रतिशत हिस्सा लिएका छौं । एलआइसी नेपाल भनेको एलआइसी इण्डियाको सहायक कम्पनी हो । र, एलआइसी इण्डिया विश्वमै ठूलो बजार नेटवर्क भएको इन्स्योरेन्स कम्पनी हो । नेपालमा पनि हामीसँग ३५ वटा ब्रान्च छन् । नेपाल र भारतका धेरै कुरा समान छन् । संस्कृति र परम्परा पनि समान छन् । हामीले नेपालको ठूलो बजार हिस्सा लिएका छौं । हामीले अझै ब्रान्च बढाउने योजनामा छौं । एलआईसी इन्डियाले नेपालमा नाफा गरेर भारत लगिरहेको छैन (कर रकमबाहेक) । हामीले नेपालको बजार विस्तार गर्नुपर्नेछ । यहाँ समाजिक सुरक्षाको खासै राम्रो व्यवस्था छैन् । त्यसका लागि पनि काम गर्नुपर्नेछ । एलआईसी नेपालको बीमा पोलिसी कस्ता कस्ता छन् ? नेपालमा एलआइसी नेपालको पहिचान भनेकै प्रडक्टमा बिबिधता नै हो । सामान्यत बीमा कम्पनीका सबै खाले प्रडक्ट हामीसँग छन् । त्यस बाहेक अरु कम्पनीले नदिएको पोटेन्सियल प्रडक्ट पनि हामीसँग छ । मानिस चाँडै मर्न पनि सक्छ ढिलो पनि हुन सक्छ । यो प्राकृतिक नियम नै हो । हामीसँगै जीवन आनन्द नामको प्रडक्ट छ, जुन आफैंमा नेपाली बजारका लागि नयाँ हो । अरु कम्पनीले मानिसको कामकाजी जीवनको बीमा गर्दै आएका छन् । सामान्यतया सबैले ४० वर्षतिर इन्स्योरेन्स गर्छन र ६० वर्षतिर सम्पन्न हुन्छ । जीवन आनन्दमा प्रिमियम र ब्याज दिन्छौं । त्यससँगै उसको जीवन बीमा भने जीवनभर रहन्छ । एक सय वर्ष बाच्यो भने पनि इन्स्योरेन्स रहन्छ । हाम्रो कम्पनीको सबै भन्दा तीब्र गतिमा बिक्री भैरहेको प्रडक्ट हो । २५ देखि ३५ प्रतिशत बजार हिस्सा यसैले लिएको छ । मानिसलाई वृद्धावस्थामा इन्स्योरेन्स गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यस्तै, जीवन तरंग नामको प्रडक्ट पनि हाम्रो अर्काे राम्रो बिक्री भैरहेको प्रडक्ट हो । यो एक प्रकारको पेन्सन प्रडक्ड हो । यो अलि प्राबिधीक प्रडक्ट पनि हो । तपाईको कम्पनीको सबै भन्दा बिक्री भैरहेका पाँच वटा प्रडक्टहरु के के हुन् ? जीवन आनन्द, इन्डोमेन्ट, जीवन सरल, चिन्ड्रेन्स पोलीसी र जीवन तरंग हो । जीवन तरंग अहिलेका लागि मेरो सबै भन्दा प्राथमिकताको प्रडक्ट हो । नेपाली नागरिकले जीवनको उत्तरार्धका लागि केहि रकम जम्मा गर्नुपर्छ भनेर ल्याएका हौं । त्यस कारण जीवन तरंग भनेको भविष्यको प्रडक्ट हो । अहिले २ देखि ३ वटा प्रडक्टको डिजाइन भैरहेको छ । यहि आर्थिक वर्षमा २ वटा जति नयाँ प्रडक्ट आउँछन भने बाँकी केहि प्रडक्ट अर्काे आर्थिक बर्षमा ल्याउँदैछौं । त्यसको तयारी भैरहेको छ । प्रडक्टको डिजाइन गरेर एक्चुरीमा पठाउँछौं र त्यसपछि बीमा समितिबाट स्वीकृत गराएपछि मात्र सार्वजनिक हुन्छ । लाइफ फण्डको व्यवस्थापन कसरी गरिरहनु भएको छ ? हामीले लाइफ फण्डको व्यवस्थापन राम्रोसँग गरिरहेका छौं । लगानी योग्य निश्चत प्रतिशत रकम इक्वीटीमा लगानी गर्छाै । हामीले धेरै जोखिम लिने गरेको छैनौं । इक्वीटीले धेरै प्रतिफल दिन्छ भन्ने थाहा छ तर पनि त्यस्तो गरेका छैनौं । बाँकी रकम बैंकमा निक्षेप गर्छौ । हामीले सार्वजनिक सूचना निकालेर बाणिज्य बैंकलाई निक्षेपका लागि आव्हान गर्छाै र अधिकतम कबोल गर्नेलाई निक्षेप दिन्छौं । गत वर्ष ब्याजदर साढे ४ देखि ५ प्रतिशत मात्रै थियो । यसपाली बजारमा तरलताको अभाव छ । कमर्सियल बैंकमा पैसा राख्नु भन्दा पूर्वाधार विकासका दीर्घकालिन परियोजनामा लगानी गर्न पाइयो भने राम्रो हुन्थ्यो । हामीले १५ देखि २० वर्षको प्रडक्ट बेच्छौं । तर जम्मा तीन चार वर्षको फिक्स डिपोजिटमा पैसा राख्नु परेको छ । संसारमा इन्स्योरेन्स क्षेत्रको भनेको दीर्घकालिन पूर्वाधार विकासका आयोजनामा लगानी गर्ने प्रचलन छ । हामी २० बर्षका लागि पैसा लिन्छौं तर जम्मा दुई चार बर्षका लागि मात्रै लगानी गर्न पाउँछौं । तपाईको कम्पनीको प्रतिष्पर्धी कम्पनी कुन हो ? बजारमा रहेका ९ वटै लाइफ इन्स्योरेन्स कम्पनी हाम्रा सहकर्मी हुन् । प्रतिस्प्रर्धा कसैसँग पनि छैन । लाइफ इन्स्योरेन्सले कुल जनसंख्याको करिब २ प्रतिशत मात्र ओगटेको छ । इन्स्योरेन्सकै क्षेत्र जम्मा ७ प्रतिशतमा सिमित भएको छ । बजार भर्जिन छ । त्यस कारण बजारमा ठूलो सम्भावना छ । त्यसकारण बजारमा कसैको कुनै पनि कम्पनीसँग प्रतिष्पर्धा छैन् । शहरका र गाउँका शाखाहरुको परफरमेन्स कस्तो छ ? पाँचथर, डढेलधुरा, तेह्रथुम, सुर्खेत लगायतका क्षेत्रमा हाम्रा शाखा छन् । सबैको परफरमेन्स राम्रो छ । ती शाखा र काठमाडौंका शाखाको तुलना गर्न मिल्दैन् । सबै शाखाले रेभिन्यु जेनेरेशन मात्रै गर्दैनन् । कति जनतालाई सेवा दिए भन्ने कुरामा पनि हामी ध्यान दिने गरेका छौं । अथाह सम्भावना भएको बजारमा इन्स्योरेन्सको पहुँच बढाउन नियामकले के गरिहेको छ र थप के गर्नु पर्छ ? बीमा क्षेत्रको बजार अभिवृद्धिका लागि बीमा समितिले साह्रै राम्रो काम गरिरहेको छ । शहरमा एउटा शाखा खोल्नु भन्दा पहिले ग्रामीण क्षेत्रमा २ वटा शाखा खोल्नु पर्ने व्यवस्था छ । यसले ग्रामीण क्षेत्रमा इन्स्योरेन्स क्षेत्रको विस्तारमा सघाउ पुर्याइरहेको छ । कतिपय ग्रामीण क्षेत्रमा सूचना प्रविधिको उपलब्धता नभएकाले समस्या पनि हुन्छन् । तर पनि बीमा समितिले गरिरहेका काम साह्रै सराहनिय छ । भारतीय कम्पनीको सहायक कम्पनीका रुपमा नेपालमा काम गर्दा कुनै असहजता महसुस भएको छ ? यो नेपाली कम्पनी हो । एलआइसी नेपालमा एलआइसी इण्डियाको ५५ प्रतिशत, २५ प्रतिशत बिशाल ग्रुप र २० प्रतिशत नेपाली सर्वसाधारण जनताको लगानी छ यो कम्पनीमा । नेपाल भनेको हाम्रा लागि दोश्रो घर नै हो । एलआइसी नेपालमा १४० कर्मचारी छन् । तीमध्ये १३८ नेपाली नागरिक छन् । सिइओ र डेपुटी सिइओ मात्रै भारतबाट आएका हौं । ३२ हजार एजेण्ट्स छन ती सबै नेपाली नै हुन् । मलाई यहाँ काम गर्दा आफ्नै घरमा जस्तै महसुश भएको छ । तपाईले कम्पनी राम्रो छ भनिरहनु भएको छ । तर कम्पनीको सेयर मूल्य ४२०० वटा २८०० रुपैंयाँमा झरेको छ, किन ? हाम्रो कम्पनीको सेयर मूल्य १६ प्रतिशतले घटेको देखिन्छ । जबकी नेपालको सेयर बजार २० प्रतिशतले घटेको छ । अब भन्नुस हाम्रो कम्पनीको सेयर सुरक्षित जोनमा छ कि छैन ? फेरी विश्वकै सेयर बजारमा व्यापारीले कमाउँछन पनि र गुमाउँछन पनि । तर कोहि लगानी कर्ता छन् भने दीर्घकालसम्म पर्खने हो भने उसले नाफा नै कमाउँछ । तत्कालै त के हुन्छ भन्न सकिन्न तर केहि वर्ष कुर्ने हो भने हाम्रो कम्पनीका लगानी कर्ताले कमाउँछन नै । हाम्रो कम्पनीले दीर्घकालिन योजना अनुसार लगानी गरिरहेका छौं । राम्रो व्यवस्थापनमा सञ्चालित लाइफ इन्स्योरेन्स कम्पनीले २० देखि २५ प्रतिशत रिटर्न दिन सक्छन् । संस्थागत सुशासनले तीन महिना भन्दा बढी समय सिइओ खाली रहनुलाई उपयुक्त मान्दैन, तर एलआइसी नेपालमा धेरै समय खाली भयो नि किन ? भारतमा सरकारी सेवामा प्रवेशको सबै भन्दा माथिल्लो स्तर भनेको स्नातक उतीर्ण गरेर हो । तर एलआइसी नेपालमा सिइओ नियुक्तीको प्रक्रिया अघि बढिरहेका बेला सरकारले मापदण्ड परिवर्तन गर्यो । स्नातकोत्तर उतिर्ण गरेकाले मात्रै त्यस्तो नियुक्त लिन पाउने भन्ने व्यवस्था गर्यो । यसले सुरु गरिएको प्रक्रिया रोकियो र नयाँ प्रक्रिया अघि बढाउन धेरै निकायबाट अनुमति लिनुपर्ने व्यवस्था छ । एलआइसी इण्डियाले भारतीय अर्थमन्त्रालयबाट अनुमति लिएर मात्रै नियुक्ती प्रक्रिया अघि बढाउन पाउँछ । एलआइसी इण्डियाले उच्च प्राथमिकतामा राखेर नियुक्त प्रक्रिया अघि बढाएको थियो । तर अगष्टमा हाम्रो प्रक्रिया मध्य अवस्थामा पुगेको बेला नयाँ सर्कुलर आएकाले त्यो रोकियो । त्यसमा पनि गणित, अर्थशास्त्र लगायतका बिषय अध्ययन गरेको हुनुपर्ने व्यवस्था पनि थपियो । बीमा समितिले कम्पनीहरुलाई नगद वितरण नगरेर बोनस सेयर मात्रै दिन भनेको छ, एलआइसीको प्रतिक्रिया के हो ? हामीले सन २००१ मा स्थापना भएदेखि नै कर बाहेक एक रुपैंयाँ पनि भारत लगेका छैनौं । बीमा समितिले नगद लाभांश नदिएर बोनस बाढ्न दिएका निर्देशन एक दमै ठिक छ । एसेट र लायबिलिटिज एक सयभन्दा माथि हुनु पर्छ । लायबलिटि एक सय भयो भने एसेट १५० हुनुपर्छ भन्ने मान्यता छ । यसलाई पहेँलो जोन भनिन्छ । १५० भन्दा बढि भयो भने ग्रीन जोन मानिन्छ । गत बर्ष हाम्रो लायबलिटि एक सय रुपैंयाँ हुँदा एसेट २०८ रुपैंयाँ थियो । यो भनेको साह्रै राम्रो अवस्था हो । इन्स्योरेन्स कम्पनीको मापनको प्रमुख आधार पनि हो ।
सुनचाँदी धितोमा बैंक तथा वित्तीय संस्थाको २८ अर्ब लगानी, गर्जो टार्न सुन धितो राखेर कर्जा
काठमाडौं १२, मंसिर । चालू आर्थिक वर्षको असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितोमा २८ अर्ब २८ करोड रुपैयाँ लगानी गरेका छन् । ०७२ असोजसम्ममा सुनचाँदी धितोमा २८ अर्ब ३१ करोड रुपैयाँ लगानी भएकोमा ०७३ साउनसम्ममा बढेर ३० अर्ब ६४ करोड रुपैयाँ पुगे पनि पछिल्लो तीन महिनामा यस क्षेत्रको लगानी करिब २ अर्बले घटेको छ । सुनको भाउ अस्थिर भएपछि बैंकहरूको लगानी पनि यस क्षेत्रमा घट्न थालेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ अस्थिर भएसँगै नेपालमा पनि सुनको भाउमा उतारचढाव भइरहेको छ । पछिल्लो एक वर्षयता बजारमा सुनको भाउ अस्थिर रहँदै आएको छ । २ वर्षअघि सुनको भाउ ६२ हजार रुपैयाँसम्म पुगेकोमा घटेर ४८ हजार रुपैयाँसम्म झरेको थियो । हाल फेरि बढेर ५८ हजार पुगेकोमा हाल ५५ हजारभन्दा कममा भरिसकेको छ । बैंकहरूले सुन धितोमा कर्जा लगानी गर्दा बजार मूल्यका आधारमा धितो मूल्यांकन गरी ग्राहक हेरेर ५०–७० प्रतिशतसम्म कर्जा लगानी गर्ने गरेका छन् । मूल्य घटबढ हुँदा मूल्यांकनसमेत कम भएकाले लगानीमा असर देखिने एनएमबी बैंकका कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले बताए । नगद सरह मानिने र यसमा गरिएको लगानी सुरक्षित भएका तथा जोखिमसमेत कम भएकाले बैंकहरूले प्राथमिकता दिएर लगानी गर्दै आएका छन् । सर्वसाधारणले पनि छिटो प्रक्रियाबाट कर्जा दिने भएकाले सर्वसाधारणले भने आफूलाई अप्ठ्यारो पर्दा गर्जो टार्न सुन धितो राखेर कर्जा लिने गरेका छन् । कारोबार दैनिकबाट ।
बाली तथा पंक्षी बिमा ८८ प्रतिशतले बृद्धि, सवैभन्दा बढी पशुबिमा
काठमाडौं, १० मंसिर । बाली तथापंक्षी बिमा ८८ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष २०७१/७२ मा बाली तथा पंक्षी बिमा तीन अर्व १८ करोड ६८ लाख रुपैयाँ बराबरको भएकोमा गत आर्थिक वर्षमा ५ अर्व ९९ करोड ७७ लाख रुपैयाँ बराबरको सो विमा भएको थियो । बिमा समितिका अनुसार गत आर्थिक बर्षमा बालि बिमा १९८ प्रतिशतले बढेर ४३ करोड ८७ लाख रुपैयाँ पुगेको छ । सोही बिमा अघिल्लो आर्थिक बर्षमा १४ करोड ६९ लाख रुपैयाँ बराबरको मात्र भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७१/७२ मा १६ करोड ८२ लाख ३३ हजार रुपैयाँ बराबरको माछा बिमा भएको थियो । तर गत आर्थिक वर्षमा सो विमा ७२ प्रतिशतले बृद्धि भएर २९ करोड ५८ हजार रुपैयाँ पुगेको छ । पशु बिमा तर्फ पनि आर्थिक वर्ष २०७१/७२ मा २ अर्व ४७ करोड ७७ लाख रुपैयाँ भएकोमा गत आर्थिक वर्षमा सो विमा ८९ प्रतिशतले बृद्धि भएर ४ अर्व ७० करोड ७५ लाख रुपैयाँ पुगेको छ । पंक्षी विमा पनि आर्थिक वर्ष २०७१/७२ मा ३९ करोड ३९ लाख रुपैयाँ बराबरको भएकोमा गत आर्थिक वर्षमा ४३ प्रतिशतले बृद्धि भइ ५६ करोड ४४ लाख ९० हजार रुपैयाँ पुगेको छ । विमा समितिका निर्देशक राजुरमण पौडेलका अनुसार २०७२ सालमा गएको भुकम्प पछि बाली तथा पंक्षी विमा गर्नेहरुको सङख्यामा बृद्धि भएको छ । बिमा नगरेका कारण कतिपय व्यक्तिहरुले आफ्नो सर्वस्व गुमाउन पुगेकोले पनि बिम गर्नेहरुको सङख्यामा बृद्धि भएको हो –पौडेलले भने ।