कृषि बीमा अनुदानको दुरुपयोग, किसानलाई दिइएको राहत एजेन्टलाई कमिसन
१९ फागुन । सरकारले किसानको लागि दिएको कृषि बीमा शुल्कको अनुदान रकम दुरुपयोग भएको छ । किसानलाई भनेर दिइएको अनुदान रकमवाटै एजेन्टलाई कमिसन दिएर दुरुपयोग गरिएको हो । कृषिको ब्यवसायिकरण र औद्योगिकीकरण गर्नको लागि भन्दै सरकारले कृषि बीमा कार्यक्रयममा अनुदानको ब्यवस्था गरेको थियो । बाली तथा पशुपन्छी बीमा गराउदा लाग्ने बीमा शुल्कको ७५ प्रतिशत रकम सरकारले अनुदान दिने गरेको छ । किसानले आफूले बीमा गराउने बाली तथा पशुपन्छीको मूल्यको अर्थात बिमांकको ५ प्रतिशत रकम बीमा शुल्क तिर्नुपर्छ । यसको अर्थ १ लाख रुपैयाँ मूल्यको बाली तथा पशुपन्छीको बीमा गराउदा बार्षिक ५ हजार रुपैयाँ बीमा शुल्क तिर्नु पर्ने भन्ने हो । यस्तो बीमा गराउने बीमा अभिकर्ता (एजेन्ट)को लागि १५ प्रतिशत कमिसन दिने कार्यविधि बनाइएको बीमा समितिको भनाइ छ । कृषि बीमा अन्तरगत किसान र सरकार दुबै मिलेर तिरिने शुल्ककै १५ प्रतिशत रकम एजेन्टले पाउने भएकोले सरकारी अनुदान पनि एजेन्ट कसिमनमा खर्च हुने भएको हो । किसानले १ लाख रुपैयाँको बाली तथा पशुपन्छीको बीमा गराउदा त्यसको ५ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । बीमा शुल्कको ७५ प्रतिशत रकम सरकारले अनुदान दिने भएपछि किसानले १२ सय ५० रुपैयाँ र सरकारले ३७ सय ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ । तर एजेन्टले भने ५ हजार रुपैयाँकै कमिसन पाउछन् । उनीहरुले एक लाख रुपैयाँको कृषि बीमा गराउदा पाउने ७ सय ५० रुपैयाँ कमिसनको ७५ प्रतिशत रकम सरकारी अनुदानको हो ।
बीमा कम्पनीमा सीईओ अभाव, सञ्चालकलाई चाहिएको आज्ञाकारी कि दक्ष
१७ फागुन/योग्यता अनुसारको जनशक्ति बजारमा नभेटिएको कारण बीमा कम्पनीहरु प्रमुख विहिन बन्न पुगेको कम्पनीहरुले बताउँदै आएपनि यसभन्दा फरक कारण पनि रहेको देखिन्छ । बीमा समितिले जारी गरेको बीमकको संस्थापक सुशासन सम्बन्धि निर्देशिका २०६९ मा बीमा कम्पनीको प्रमुख हुन स्नातकोत्तर गरेको, कानुनी रुपमा गठन भएको संस्थाको व्यवस्थापकको रुपमा १० वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै, प्रमुख हुनेले बीमा क्षेत्रमा दुई बर्ष काम गरेको अनुभव अनिवार्य गरेको छ । कम्पनीहरुले यही व्यवस्थालाई बाधाको रुपमा देखाइरहेका छन । तर कतिपय बीमा कम्पनीका प्रवद्र्धकहरुले आफ्नो अनुकुलका प्रमुख कार्यकारी नपाउँदा कायममुकायमको भरमा कम्पनी छोडेको देखिन्छन । सात बर्षमा पाँचजना प्रमुख फेरिएको सूर्यालाइफ इन्स्योरेन्स कम्पनी पनि यसैको एउटा उदाहरण हो । कम्पनीले गएको पुस ३० गते अन्तिम पटक प्रमुख कार्यकारी अधिकृतको माग गर्दै सूचना जारी गरेको थियो । तर यसपटक पनि कम्पनीले योग्य व्यक्ति नपाएको भन्दै कसैलाई छनोट गरेन । कम्पनी गत असोजदेखि प्रमुख विहीन छ । यस्तै कारण देखाउँदै सिद्धार्थ इन्स्योरेन्सले पनि महप्रबन्धकको नियुक्ति गरेको छैन । ‘बीमा समितिको संस्थागत सुशासन विनियमावलि अनुसारको योग्यता भएका व्यक्ति नभेटिएको होइन, तर योग्यता मात्र पुगेर भएन नि, उनीहरुमा क्षमता पनि त हुनुप¥यो’ कम्पनीका अध्यक्ष मनोज केडियाले भने । सिद्धार्थ इन्स्योरेन्सले पछिल्लो पटक महाप्रबन्धकको आवश्यकता सम्बन्धि सुचना प्रकासित गर्दा करिब आठ जनाले आवेदन दिएका थिए । कम्पनीले ‘बिदाको दिन पारेर’ ती मध्ये चार जनालाई अन्तरवार्तामा बोलाएपनि सक्षम नभएको भन्दै कसैलाई पनि छनौट गरेन । २०७० चैतदेखि कम्पनीको नेतृत्व कायममुकायम महाप्रबन्धकको रुपमा विरेन्द्र बैदवार क्षत्रीले गरिरहेका छन् । केही कम्पनीले भने प्रमुखको खोजीको लागि निकै लामो समयदेखि सार्वजनिक सूचना समेत जारी गरेका छैनन् । प्रमुख विहीन भएर पनि सूचना जारी नगर्नेमा एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स रहेका छन् । अग्नि बीमामा भएको दाबीपछि बीमा समितिको कारवाहीमा समेत परिसकेको एभरेष्ट इन्स्योरेन्स करिब एक बर्षदेखि प्रमुख विहीन छ । गत बर्ष फागुनदेखि कम्पनीको नेतृत्व कायममुकायम सहायक महाप्रबन्धक प्रदिप मोहन धौभडेलले गरिरहेका छन । ठुला लगानीकर्ता राजेन्द्र कुमार खेतान र निरन्जन कुमार टिवरेवाला बीचको विवादमा अल्झिरहेको कम्पनीले हालसम्म महाप्रबन्धकको लागि सुचना जारी गरेको छैन । करिब १९ महिनादेखि नेको इन्स्योरेन्सको नेतृत्व विश्व तिमिलाले गरिरहेका छन । तिमिला कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेको छ । प्रिमियर इन्स्योरेन्ससंग मर्जर गर्ने पक्कापक्की भएपछि उनी अघिका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माले राजिनामा गरेका थिए । कम्पनीले हालसम्म प्रमुख कार्यकारी अधिकृतको माग गर्दै सुचना जारी नगरेको अधिकृत तिमिलाले जानकारी दिए । गुराँस लाइफ इन्स्योरेन्समा करिब तीन बर्षदेखि प्रमुख छैन । कम्पनीले दुई बर्षयता प्रमुखको माग गर्दै सार्वजनिक सूचना पनि जारी गरेको देखिदैन । हाल कम्पनीको नेतृत्व कायमुकायमको रुपमा नारायण कुमार भट्राईले गरिरहेका छन् । कम्पनीहरुले प्रमुखको खोजीको लागि सुचनै जारी नगर्ने, जारी गरेकाले पनि ‘पपेट’ प्रमुखको खोजी गर्नुले कम्पनीहरु प्रमुख विहीन रहेको बीमा समिति स्रोत बताउछ । ‘पारिवारिक ग्रिपमा रहेका कम्पनीहरुले आफु अनुकुलका प्रमुख नपाएको कारण समितिको व्यवस्थालाई बाधाको रुपमा देखाइरहेका हुन्,’ ती स्रोतले भने । उनले समितिले तेकेको योग्यता पुगेको व्यक्ति बजारमा पर्याप्त रहेको बताए । ‘बीमा विज्ञको रुपमा समेत चिनिएका पुरुषोत्तम सुवेदी, बीमा संस्थानका पुर्वकर्मचारीहरु शिवबहादुर श्रेष्ठ, शालिकराम पराजुली र शैलेन्द्र श्रेष्ठ, सूर्यालाइफका पुर्व महाप्रबन्धक गोपाल घिमिरे जस्ता योग्यता पुगेका धेरै खाली बसिरहेका छन, कम्पनीहरुले चहानुपर्छ,’ ती स्रोतले स्पष्ट पारे । हाल युनाइटेड इन्स्योरेन्स, एलायन्स इन्स्योरेन्स प्रमुख विहीन हुने अवस्थामा छ । त्यस्तै, एनबी इन्स्योरेन्स पनि हाल प्रमुख विहीन छ । हाल यी तीनै कम्पनीले सार्वजनिक सुचना गरेर प्रमुखको माग गरेका छन । एनबी इन्स्योरेन्सले प्रमुख छनौटको अन्तिम तयारी गरिसकेको छ । कम्पनीले यही फागुनमा प्रमुख पाउने भएको छ । त्यस्तै, छ महिनादेखि नेपाल इन्स्योरेन्समा कायममुकायमको रुपमा रहेका चन्द्रसिंह साउदलाई कम्पनीले महाप्रबन्धकमा नियुक्त गरेको छ ।
लुम्विनी इन्स्योरेन्समा पहिरो गयो, सीईओ र डेपुटी सीईओले पनि खुट्टा उचाले
१४ फागुन/लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबाट एकपछि अर्को गर्दै कर्मचारीले छोडिरहेका छन् । हालसालै एक दर्जन कर्मचारीले लुम्बिनी छोडेर युनाईटेड इन्स्योरेन्स प्रवेश गरेका छन् भने प्रमुख कार्यकारी अधिकृत शेखर बराल र सहायक प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठले पनि अन्य कम्पनीमा जान खुट्टा उचालेका छन् । स्रोतका केन्द्रीय कार्यलयबाट कम्तिमा पाँच जना कर्मचारीले छाडेका छन् । यादव पाठक, सविना महर्जन, लक्ष्मण पराजुली, दीपक खत्री लगायतले लुम्बिनी इन्स्योरेन्समा राजीनामा दिएर युनाईटेड इन्स्योरेन्समा प्रवेश गरेका हुन् । त्यस्तै, ठमेल शाखाका अर्का एक कर्मचारी पनि लुम्बिनी छोडेर युनाईटेड गएका छन् । त्यस्तै, धनगढी शाखा प्रमुख राकेश कर्माचार्यसहित ४ जनाले लुम्बिनी इन्स्योरेन्स छोडेर युनाईटेड इन्स्योरेन्स गएका छन् । उक्त ब्रान्चका सुरक्षाकर्मी र सहायक एक कर्मचारी बाहेक सबै युनाईटेड गएका हुन् । कम्पनीको ब्राण्ड इमेजले भन्दा कर्मचारीको मिहेनत र सम्वन्धमा आधारित बीमा बजारमा ब्रान्चका मुख्य मान्छेहरुले एकैपटक छाडेपछि उक्त शाखाको व्यापार नराम्ररी प्रभावित भएको छ । त्यस्तै हेटौडाबाट बद्री अधिकारीसहित दुई जनाले लुम्बिनी इन्स्योरेन्समा राजीनामा दिएर युनाईटेडमा हाजिर भएका छन् । लुम्बिनी इन्स्योरेन्सकै नेपालगञ्ज शाखाका रमेश पण्डित युनाईटेड गएका छन् । मध्यम र तल्लो तहका कर्मचारीको पहिरो चलिरहेको बेलामा, उच्च तहका व्यवस्थापक पनि कम्पनी छोड्न खुट्टा उचालेर बसेको स्रोतले बतायो । केन्द्रीय कार्यलयका वित्त प्रमुख गणेश कापरले राजीनामा गरि घरमा बसेका छन् । त्यस्तै सहायक प्रमुख कार्यकारी अधिकृत विनोद काजी श्रेष्ठ कम्पनी छोड्ने मनस्थितिका साथ उपयुक्त अवसरको खोजीमा लागेका छन् । उनले पुर्नजन्म पाउँदै गरेको एनवी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा आवेदन गरेको स्रोतले बतायो । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत शेखर बराल पनि युनाईटेड इन्स्योरेन्समा जान लागेको बताईएको छ । युनाईटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरविक्रम रायमाझीले दिएको राजीनामा फागुन एकदेखि लागू गरि स्वीकृत भईसकेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृतका लागि आह्वान गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको छ । नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तीको विषयमा बराल र युनाईटेड इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष शर्माबीच भेटवार्ता भईसकेको स्रोतले बतायो । तर बरालले विकासन्युजसँग कुरा गर्दै आफूले युनाईटेड इन्स्योरेन्समा जाने तयारी नगरेको बताए । उनले लुम्बिनी इन्स्योरेन्स तत्काल छोड्ने सम्भावना नभएको बताए । स्रोतका अनुसार प्रमुख कार्यकारी अधिकृत बराल र कम्पनी सञ्चालक समिति सदस्य चिन्तामणि भट्टराईबीच बढ्दो टसलले पनि बराललाई काम गर्न अप्ठ्यारो परेको छ । फागुन २५ हुन गईरहेको लुम्बिनी इन्स्योरेन्सको १० औं साधारसभा सम्पन्न भएपछि बरालले कम्पनी छोड्न सक्ने अडकलबाजी लुम्बिनी इन्स्योरेन्स भित्रै भईरहेको छ । बीमा समितिले जारी गरेको संस्थागत सुशासन भित्र बस्ने हो भने युनाईटेड इन्स्योरेन्समा बरालले मासिक १ लाख ५७ हजार पाँच सय रुपैयाँ भन्दा बढी पारिश्रमिक पाउने छैनन् । जवकी उनले लुम्बिनी इन्स्योरेन्समा मासिक एक लाख ७५ हजार रुपैयाँ भन्दा बढी नै पाउँदै आएका छन् ।