मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । मेगा बैंक नेपाल र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्ता सम्झौता पत्रमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख व्यापार अधिकृत प्रयास श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास छ ।

प्रभु इन्स्योरेन्सको हकप्रद सेयर असार ८ देखि खुला हुने

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन साविकका सेयरधनीलाई ३१ करोड ६६ लाख ६७ हजार रुपैयाँ बराबरको ३१ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द साउन १० गते हुने निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब रुपैयाँ पुग्ने छ । नियामक बीमा समितिले आउदो असारसम्म चुक्तापुँजी बढाए १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि प्रभुले हकप्रद निष्कासन गर्न लागेको हो ।

एशियन लाईफ इन्स्योरेन्सको बोनस सेयर पास, ६० प्रतिशत हकप्रद सेयर पनि अाउने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कं.लि.को दशौं वार्षिक साधारणसभा बीरगंजमा जेठ १९ गते शनिवार सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीलाई ४ करोड ८३ लाख ३५ हजार रुपैयाँ बोनस सेयर वितरण गर्ने जनाएको छ । उक्त नाफा कम्पनीले निष्काशन गरेको ५० प्रतिशत हकप्रद सेयर खरिद गर्नेले पनि पाउने कम्पनीले जनाएको छ । बोनस सेयर वितरणसँग कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख रुपयाँ भएको छ । साथै कम्पनीको साधारणसभाले १०० बराबर ६० कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड सात लाख साठी हजार रुपैयाँ हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले जानकारी दिए । बीमा समितिले जीवन बीमा कम्पनीहरुको लागि चुक्ता पूँजीे २ अर्ब रुपैयाँ तोकेकोे छ । कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँको रहेकोछ । साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष दीपककुमार श्रेष्ठद्धारा प्रस्तुत आ.व.२०७३/७४ को वार्षिक प्रतिवेदन पास गरेको छ । २०६४ देखि कारोवार संचालन गरेको यस कम्पनीको २०७४ सालचैत्र मसान्त सम्ममा १२ अर्ब ९ करोडको जीवन बीमा कोष र १२ अर्ब २८ करोड रुपैयाँ लगानी तथा कर्जामा रहेकोे छ । त्यस्तै गरी कम्पनीले चालु आ.व. को बैशाख मसान्त सम्ममा कूल २ अर्ब १६ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । कम्पनीले २८ वटा शाखा तथा ६९ वटा उप शाखाहरुबाट बीमा सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले हालसम्म बालबालिकालाई लक्षित गरी बाल उमंग तथा बाल भविष्य बीमा योजना, सबैको हातमा पेन्सन भन्ने नारा सहित पेन्सन बीमा योजना, एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, सुखी जीवन बीमा योजना, जीवन रत्न (सीमित भुक्तानी सावधिक) जीवनबीमा योजना, पति पत्नीको लागि संयुक्त सावधिक जीवन बीमा योजना तथा धन समृद्धि आदि जस्ता योजनाहरु प्रचलनमा ल्याएको छ । आगामी दिनहरुमा नेपालको ७७ जिल्लाको अधिकांश गाँउहरुमा समेत जीवन बीमाको पहुँच पुर्याई सर्व सुलभ बीमा सेवा प्रदान गर्ने तथा समय सापेक्ष र आकर्षक तथा नयाँ बीमा योजनाहरु ल्याउने कम्पनीको योजना रहेको छ ।