चुक्ता पूँजी नपुर्याउने बीमा कम्पनीलाई बीमा समितिले माग्यो स्पष्टिकरण
काठमाडौ । बीमा समितिले चुक्ता पूँजी नपुर्याउने बीमा कम्पनीहरुसँग स्पष्टीकरण माग गरेको छ । मंगलबार सात दिनको समय तोक्दै बीमा बीमा कम्पनीहरूसँग स्पष्टिकरण माग गरेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीबि चापागाईँले विकासन्यूजसँग भने-‘अहिले हामीले जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीसँग स्पष्टिकरण माग गरेका हौँ,’ यसकालागि हामीले एक साताको समय छुट्याएका छौँ ।’ उनले सो अवधिमा आएको स्पष्टिकरणको आधारमा थप कारवाही गरिने बीमा समितिका अध्यक्ष चिरञ्जीबि चापागाईँले बताए । समितिले जीवन बीमा व्यवसाय गर्ने सूर्या लाइफ इन्स्योरेन्स, गुराँश लाइफ इन्स्योरेन्स र प्राइम लाईफ इन्स्योरेन्सलाई पत्र पठाएको छ । राष्ट्रिय बीमा संस्थानको ऐन अलग्गै रहेकाले उक्त कम्पनीलाई केही फरक प्रकृया अपनाइने बीमा समितिले जानकारी दिएको छ । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण स्विकृतीका लागि छिट्टै पेश गर्नु पर्ने बीमा समितिले जनाएको छ । निर्जीवन बीमा व्यवसाय गर्ने यूनाइटेड इन्स्योरन्स, एनएलजी इन्स्योरेन्स, प्रुडेन्सीयल कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्सलाई पनि समितिले पत्र काटेको छ ।
मेगा बैंकका अध्यक्ष शाहले भने-‘मर्जर कमिटी बनाएर अघि बढेका छौँ’
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले दशौँ वर्षमा प्रवेश गरेको छ । मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा एक समारोहकाबीच नवौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले राष्ट्र बैंकको निर्देशन अनुसार मर्जर कमिटी बनाएर अघि बढेको बताए । मर्जरलाई हामीले नजिकबाट नियालिरहेका छौँ, सोही अनुरुप मर्जर कमिटी बनिसकेको उनले बताए । मेगा बैंकले वित्तीय बजारमा प्राप्त गरेको परिचयलाई तथा आर्जन गरेको भरोसा र विश्वासलाई कायम राख्न हामीसँग सामिप्यता राख्ने र सोच मिल्ने वित्तीय संस्थाहरुलाई आवद्ध गर्दै अझ शसक्त र व्यवस्थित ढंगले अगाडि बढनुको विकल्प हामीसँग छैन’-अध्यक्ष शाहले भने । अध्यक्ष शाहले विगत ९ बैंकले प्रगति गर्दै आएको र आगामी वर्षहरुमा पनि प्रगतिपथमा लम्किरहने बताए । त्यसैगरी बैंककी प्रमुख कार्यकारी अधिकृत(सिईओ) अनुपमा खुञ्जेलीले विगत नौ वर्षसम्मको समीक्षा गर्दै स्थापनाकाल देखि नै मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको बताइन् । उनले भनिन्-एक दशकमै समकालीन बैंकहरु भन्दा व्यवसायिक हिसाबमा अघि भएका छौँ ।’ बैंकको गत आर्थिक वर्षमा निक्षेप संकलन रु. १९ अर्ब बढेर करिब ८२ अर्ब पुगेको छ । यसैगरी कर्जा प्रवाह,पनि १५ अर्ब ५० करोड बढेर ७३ अर्ब पुगेको जनाइएको छ । ग्राहक संख्यापनि झण्डै १ लाख ४६ हजार बढेर ६ लाख ४३ हजार पुगेको बैंकले जनाएको छ । एक शाखा, एक छोरी छात्रबृत्ति घोषणा उक्त कार्यक्रममा सिइओ खुञ्जेलीले एक शाखा, एक छोरी छात्रवृत्ति घोषणा गरिन् । छोरीको उज्वल भविश्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप बैंकले शिक्षा नै ज्योति अभियान अन्तर्गत प्रत्येक शाखाबाट १-१ जना छात्रालाई छनौट गरी १२ कक्षासम्मको अध्ययनका लागि आर्थिक सहयोग गर्ने गर्नेछ । यस्तै, कार्यक्रममा बैंकले उपल्लो डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरियो ।
जीआईसीको एजीएम साउन २९ गते, ३० करोड रुपैयाँको आइपीओ निष्काशन गर्ने प्रस्ताव
काठमाडौ । जनरल इन्स्योरेन्स कम्पनी(जीआइसी)ले साउन २९ गते वार्षिक साधारण सभा(एजिएम) गर्ने भएको छ । साधारण सभामा ३० करोड रुपैयाँको प्राथमिक सेयर(आइपीओ) निष्काशन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । जनरल इन्स्योरेन्स कम्पनीका जेनरल म्यानेजर एस.के. टमोटले भने-‘हामीले साभारण सभाबाट आर्थिक बर्ष २०७४/७५ को व्यालेन्सिट पास गर्ने छौँ, साथै प्राथमिक सेयरको पनि प्रस्ताव साधारण सभामा पेश गर्छौ ।’ उनले बीमा समितिमा व्यालेन्सिट पठाए पश्चात प्राथमिक सेयर निष्काशन हुने बताए ।