आइएमईले बुटवलमा सार्वजनिक गर्यो ‘२१ घातक रोग विरुद्ध रक्षावरण योजना’

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘२१ घातक रोग विरुद्ध रक्षावरण योजना’ बुटवलमा सार्वजनिक गरेको छ । साउन १६ र १७ गते प्रदेश नं. ५ को राजधानी बुटवलमा आयोजना भएको क्षेत्रीय तथा शाखाप्रबन्धक सम्मेलनको अवसरमा यो योजना सार्वजनिक गरिएको हो । उक्त योजना अन्तर्गत कम्पनीका बीमितहरुले विभिन्न २१ घातक रोग विरुद्ध अधिकतम ५० लाख सम्मको आर्थिक सुरक्षा प्राप्त गर्न सक्नेछन् । उक्त योजना सार्वजनिक भएसँगै कम्पनीका बीमितहरु आर्थिक अभावका कारण उपचार गर्नबाट बञ्चित नहुने कम्पनीले जनाएको छ । योजना सार्वजनिक हुनु अगावै बीमालेख लिइसकेका बीमितहरुले समेत यो योजनामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । दावी भुक्तानी माग गर्दाको अवस्थामा स्वास्थ्य उपचारको रसिद पेश गर्नु पर्ने झन्झटबाट मुक्त हुने व्यवस्था रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जानकारी दिए ।

प्राइम लाइफले कमायो ३१ करोड ३० लाख नाफा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गत आव २०७५/७६ आर्थिक वर्षको चौथो त्रैमासमा ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ । प्राइम लाइफले मंगलबार प्रकाशित गरेको आर्थिक वर्ष २०७५/७६ को अन्तिम त्रैमासिक(असार मसान्त) सम्मको वित्तीय विवरणमा उक्त नाफा कमाएको उल्लेख छ । अघिल्लो वर्ष २१ करोड ६३ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो । यो वर्ष अघिल्लो वर्षको तुलनामा ४४.७०% ले बढी नाफा कमाएको हो । यस्तै, प्राइमले खुद बिमा शुल्क २ अर्ब ८६ करोड ७४ लाख ३ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । अघिल्लो वर्ष कम्पनीले २ अर्ब २१ करोड २४ लाख ४० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले प्रकाशित गरेको विवरण अनुुसार यस त्रैमाससम्ममा कुल ५० करोड ७० लाख ९ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने कुल ८० लाख ४४ हजार रुपैयाँ रहेको छ । कम्पनीले ३९ करोड ६८ लाख रुपैयाँको दाबी भुक्तानी गरेको जनाएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा भने १ अर्ब २४ करोड ५४ लाख ४६ हजार रुपैयाँ रहेको उल्लेख छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ७० पैसा रहेको छ ।

गुराँस लाइफले हकप्रद सेयर निष्काशन गर्ने, एनएमबी क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच सोमबार हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौता भएको छ । बीमा समितिको निर्देशन एवम् चुक्तापुँजी बृद्धि योजना अनुरुप कम्पनीको नवौं साधारण सभाबाट पारित १००% (१ः१) हकप्रद शेयर निष्काशन गर्नको लागि एनएमबी क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिएको हो । सम्झौतामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । कम्पनीको २०७५ चैत २१ गते सम्पन्न ९ औं साधारण सभाबाट पारित बोनस शेयर सुचीकृत भई सकेको छ भने कम्पनीले चुक्तापुँजी रु. २ अर्ब पुर्याउन बीमा समितिको स्वीकृती लिई प्रबन्धपत्रमा अधिकृत, जारी तथा चुक्तापुँजी रु. २ अर्ब राखी नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयबाट संशोधन गरी सकिएको कम्पनीले जनाएको छ ।