बीमा बुझ्नु आवश्यक छ र बुझेपछि गर्नु पनि आवश्यक छ: राजकुमार अर्याल
सन नेपाल लाइफ इन्स्योरेन्स स्थापना भएको २ वर्षमात्र भएको छ । यो छोटो अवधिमा नै उक्त कम्पनीले राम्रो प्रगति गरिरहेको छ । देशका विभिन्न स्थानमा २० वटा शाखा सञ्जाल बिस्तार गरेको छ । १२ किसिमका बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । गतवर्ष ८४ करोड रुपैयाँको व्यवसाय गरेको छ । छोटो समयमा नै सन नेपाल लाइफ इन्स्योरेन्सले गरेको प्रगति, बीमा बजारमा अहिले कस्ता समस्या छन् ? समस्याका समाधानका उपायहरु चाहिँ के हुन सक्लान् ? सहित समग्र बीमा क्षेत्रको बारेमा प्रमुख कार्यकारी अधिकृत(सिइओ) राजकुमार अर्यालसँग विकासन्यूजका लागि नबिन पोखरेलले गरेको विकास बहस: नयाँ बीमा कम्पनीको रुपमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी कसरी अघि बढी रहेको छ ? ‘जीवन बीमा’ गर्ने उद्देश्यले बीमा समितिबाट इजाजत पत्र पाइसकेकाले नयाँ बीमा कम्पनी भन्न त अलि नमिल्ला । हरेक कम्पनीहरुकोे आफ्नै उदेश्यहरु भएजस्तै हाम्रापनि उद्देश्यहरु छन् । स्थापना कालमा हामीले कम्पनीको जनशक्ती, अभिकर्ता सञ्जाल विस्तारका काम मिलाउनेदेखि अवम्बलन गर्न लागेको नीतिका बारेमा अरुलाई जानकारी गराउन मै हाम्रो पहिलो वर्ष बितेको छ । अहिलेसम्मको हाम्रो अभियान सहकर्मीको दक्षता अभिवृद्धि हो । कम्पनीको बिजनेशको अवस्था कस्तो छ ? असार मसान्तसम्मको रिपोर्ट कस्तो आयो ? हामी छोटो अवधिमै सफल भएका छौँ । पहिलो वर्षको तुलनामा दोस्रो वर्ष सत प्रतिशत वृद्धी भएको छ । बीमा व्यवसाय गर्दा हामीले अपनाउनु पर्ने केही लिमिटेशन छन् । सोही लिमिटेशन र अनुभवको आधारमा हेर्दा हामीले प्राप्त गरेको व्यवसाय सन्तोषजनक नै रहेको छ । गतवर्ष लगभग ८४ करोड रुपैयाँको व्यवसाय हामीलाई प्राप्त गरेको छ । सन नेपाल लाईफले बीमा क्षेत्रमा नयाँ प्रडक्ट के दिएको छ ? हामीले हालसम्म दिँदै आएको बीमा योजनाहरु परम्परागत नै हुन् । हामीले बीमा पोलिसी निर्माण गर्दा कानूनी आधार भित्र रहेर नै गर्नु पर्छ । म्यादी, आजीवन र सावधिक बीमा मात्र जीवन बीमाको दायरामा पर्छन् । बीमा समितिले स्वीकृती दिए बमोजिम हामीले बीमा योजना ल्याउने हो । अन्य कम्पनीहरुले ल्याए अनुसार हामीले पनि बीमा योजना प्रचलनमा ल्याएका छाँै । हामीले १२ किसिमका बीमा योजनाहरु प्रचलनमा ल्याएका छौँ । अन्य कम्पनीहरुले नयाँ भनेर अपनाएका बीमा योजनाहरु कतिपय बेलामा सन नेपाल लाईफले पहिल्यै अपनाई सकेका छन् । म्यादी बीमा बजारमा छ । सोही अनुरुप हामीले नविकरणीय म्यादी बीमा र सामूहिक म्यादी बीमा ल्याएका छौँ । निश्चित अवधि बीमा शुल्क भुक्तानी गर्दा जीवन भर जोखिम कभर हुन्छ । सन नेपाल लाइफमा पोलिसी ल्याप्सेसहरु कत्तिको भएका छन् ? जीवन बीमा व्यवसाय गर्ने कम्पनीले पहिलो वर्ष जारी गरेको बीमा लेख मध्येमा सन नेपाल लाईफ नै एउटा यस्तो कम्पनी हो, जस्को ८० प्रतिशतभन्दा बढी बीमालेख नवीकरण भएको छ । सो कुरामा हामी दावाका साथ अगाडि रहेको कुरा प्रमाणित गर्न सक्छौँ । साथै, हाम्रो ल्याप्सेस भने हाम्रो २० प्रतिशत मात्र भएको छ । बैँक मार्फत हुने बीमामा यहाँहरुको सहभागिता थियो कि थिएन ? आगामी दिनमा बैंक मार्फत हुने बीमा रोकिँदा के प्रभाव पर्छ ? अन्य कम्पनीजस्तै सन नेपाल लाईफपनि जीवन बीमा गर्ने कम्पनी हो । सोही कारण अन्य कम्पनीहरुको सहभागिता हुँदा सन नेपाल लाईफको पनि बैँकले गर्ने बीमामा सहभागिता रहँदै आएको थियो । बँैकले बीमा गर्ने चलन पुरानै सिद्धान्त हो । तर, हामीले बीमा कम्पनी मार्फत १ प्रतिशत मात्र बीमा शुल्क प्राप्त गरेका छौँ । बैँकलाई अभिकर्ता बनाउने कुरा अब नेपाल राष्ट्र बैँकको कारण निष्कृय पनि भइसकेको छ । बीमाप्रति बीमितहरुको आकर्षण कस्तो छ ? बीमा चेतनाका लागि के योजना तय गर्नु भएको छ ? बीमा व्यवसाय भनेको मागमा आधारित हुने व्यवसाय होइन, सेवामा आधारित हुने व्यवसाय हो । हामीले कस्तो खालको बीमा पोलिसीमा आम उपभोक्ताको आकर्षण बढाउन सकिन्छ, यस विषयमा सोच्नु आवश्यक छ । हामीले ल्याएका बीमा पोलिसीमा बीमितहरु निकै आकर्षित भएको हामीले पाएका छौं । बीमा बुझ्नु आवश्यक छ र बुझेपछि गर्न पनि आवश्यक हुन्छ । बीमा बजारमा अहिले कस्ता समस्या छन् ? समस्याका समाधानका उपायहरु चाहिँ के हुन सक्लान् ? बीमा आवश्यक छ भन्ने कुरा बीमितले बुझेका छैनन् । बीमाका बारेमा राम्रोसँग बुझाउन आवश्यक छ । बीमा गरेपछि सुरक्षित भईन्छ, तपार्इँलाई आर्थिक भार कम हुन्छ , सन्ततीलाई समेत राम्रो हुन्छ भन्ने कुरा हामीले बुझाउन सक्नु पर्छ । बीमाले सुरक्षण गर्छ भन्ने कुरा सबैलाई थाहा छ । तर, बीमा सुरक्षण कहिले र कसरी गर्ने भन्ने कुरा बीमितलाई बुझाउन सकिएको छैन । बीमितले जोखिम पर्दा मात्र बीमा गर्नु आवश्यक महशुस गर्छन् । दुःख पर्दा बीमा चाहिन्छ, तर दुःख पर्छ भन्ने कुरा कसैले महशुस गर्दैनन् । हामी हाम्रो अभिकर्ता मार्फत काम गर्छौ । अभिकर्ता मार्फत नै बीमित कहाँ पुग्दा राम्रो हुन्छ । बीमाका विषयमा हामीले अभिकर्ता मार्फत नै काम गर्ने सोच बनाएका छौँ । बजारको आवश्यकता अनुसारको नयाँ प्रडक्ट ल्याउने तर्फ के–कस्तो पहल भईरहेको छ ? शाखा विस्तारमा यहाँहरुको भूमिका कस्तो छ ? जीवन बीमा महत्वपूर्ण कुरा हो । तर, योजना भनेको त सपना, उमेर, चाहनासँग जोडिएर आउने कुरा हो । मान्छे पिच्छे बीमा योजना फरक हुनसक्छ । हामीले बीमालाई २ किसिमबाट परिभाषित गरेका छौँ । एउटा भनेको सुरक्षण हो भने अर्को बचत हो । बीमा पहिलो आवश्यकता हो भनेर बुझ्नु आवश्यक छ । बीमा गरेपछि यसको बारेमा ज्ञान हासिल गर्न सक्छौँ । बीमा योजना भनेको आर्थिक क्रियाकलाप र व्यक्तीको आवश्यकतासँग सम्बन्धित भएर विकास हुने कुरा हो । यो बीमा कम्पनीको निरन्तर प्रक्रिया हो । बजारको आवश्यकता सधैँ बीमा हो प्रडक्ट होइन । जीवन बीमा हुन पर्छ भन्ने कुरा महत्वपूर्ण हो । हामीले विभिन्न वर्ग समुदायलाई लक्षित गरेर बीमा योजना ल्याएका हौ । हामीसँग १२ वटा बीमा योजना छन् । आवश्यकता अनुसार बीमितले प्रडक्टको छनोट गर्न सक्छन् । अहिले बीमा गराएका बीमितले २० वर्षपछि त्यसको नतिजा कस्तो प्राप्त गर्छन् भन्ने कुरा महत्वपूर्ण हो । जनशक्तिको अभावमा विस्तारित शाखा सञ्चालनमा कठिन भएको हो ? शाखा विस्तार गर्ने हाम्रो योजना अनुसार हामीले काम गरेका छौँ । नेपालको भौगोलिक अवस्था हेरेर २० वटा शाखाहरु पूर्ण रुपमा संचालनमा आएका छन् । यस्तै शाखा सँगसँगै हामीले उपशाखा कार्यालय समेत निर्णय गरेका छौँ । उपशाखा कार्यालयबाट समेत हामीले बीमालेख जारी गर्ने, बीमित, अभिकर्ता कर्मचारीहरुले पाउने सुविधाहरु त्यहीबाटै उपलब्ध गराउँछौ । शाखा विस्तारको नीति अनुसार हामीले शाखा विस्तार गर्ने हो । यस्तै उपशाखाहरुको स्तरोन्नत्ति गर्ने कुरा कम्पनी तथा व्यवसायिक जीवनमा निरन्तर चलिरहने कुराहरु हुन् । शाखाहरुमा कर्मचारी अभाव भएको कुरा बीमा बजारमा छ, यो समस्या सन नेपाल लाईफमा पनि छ । यो बीमा कम्पनी पनि बजारकै एउटा अंग हो । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले अबलम्बन गरेको रणनीतिक कुरा र सन नेपाल लाईफले गरेको कुरामा भने केही फरक हुन सक्छ । ‘सन लाईफ छ जहाँ, जीवन बीमा छ त्यहाँ’ भन्ने मूल नारा राख्नु भएको रहेछ । के सोही नारा अनुसार काम भएको छ त ? नारा भनेको लक्ष्य हो । सोही लक्ष्य प्राप्त गर्ने गरी काम भइरहेको छ । नयाँ बीमा कम्पनीहरुले सहर केन्द्रित मात्र होइन ग्रामीण भेगमा काम गर्ने योजना बनाइरहेको पाईन्छ । यहाँहरूको पनि यस्तै योजना हो कि केही फरक छ ? स्थापना कालको पहिलो वर्षदेखि हामीले बीमा सेवा दिइरहेका छौँ । कम्पनीको आकारको कारण सबै ठाउँमा जान पर्छ । दुर्गम ठाउँमा हामी सुरुवाटै गएका छौँ । पछि आएका कम्पनीहरुको क्रियाशिलताका कारण पहिलेका कम्पनीहरुलाई समेत ग्रामीण भेगमा जान बाध्यता भएको छ । तपाईँसँग बीमा समितिमा लामो समय काम गरेको अनुभव छ । नियामक निकायमा रहेर नियमन गर्नु र मैदानमा बसेर कार्यान्वयन गर्नुमा कतिको फरक पाउनु भयो ? यो एक सिक्काको दुई पाटा भने जस्तै हो । बीमा समितिमा म नियामक थिएँ । नियमनकारी र व्यवसायी कुरा फरक कुरा हुन् । पहिले नियमनकारीको अनुभव भएकोले मैले बजारीकणमा अप्ठ्यारो महशुस गरेको छैन ।
सौराहामा महालक्ष्मीले गर्यो राष्ट्रिय अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम
काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा आयोजना गरेको दुई दिने राष्ट्रिय अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । साउन २५ र २६ गते सम्पन्न उक्त कार्यक्रमको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले उद्घाटन गरेका थिए । कम्पनीले तोकेको व्यवसायिक लक्ष्य पूरा गरेका देशभरिका ११५ जना अभिकर्ता र एजेन्सी मेनेजरहरु कार्यक्रममा सहभागी थिए । उक्त अवसरमा व्यक्तिगत अभिकर्ता र एजेन्सी मेनेजरहरु मध्ये उत्कृष्ट १५–१५ जनालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रमको दोस्रो दिन नेतृत्व विकास र व्यवसाय वृद्धि सम्बन्धि शोभा खरेलले उत्प्रेरणात्मक तालिम प्रदान गरेकी थिइन् । २०७६ असार मसान्त सम्ममा कम्पनीले ४७ वटा शाखा र उपशाखा तथा २५ करोड भन्दा वढी बीमा शुल्क संकलन गरेको जनाएको छ । यो आर्थिक वर्ष भित्र कम्पनीले थप ५० वटा शाखा र उपशाखा खोली १ अर्ब भन्दा वढी बीमा शुल्क संकलन गर्ने लक्ष्य राखेको सिईओ भट्टराईले बताए । कम्पनीले छिट्टै प्रविधिमा आधारित टेबलेट इन्सुरेन्सको कार्यक्रम संचालन गर्न लागेको जनाएको छ ।
इटहरी र कटारीमा मेटलाइफको नयाँ एजेन्सी कार्यालय उद्घाटन
काठमाडौँ । मेटलाइफले प्रदेश नं. १ अन्तर्गतका इटहरी र कटारीमा दुईटा नयाँ एजेन्सी कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख वितरण अधिकृत अरुण बस्नेत तथा अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले दुवै कार्यालय उद्घाटन गरेका हुन् । कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्ने उद्देश्यका साथ नयाँ एजेन्सी कार्यालय बिस्तार गरेको जनाएको छ । कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछ । थप गरिएका दुई नयाँ कार्यालयहरु बिराटनगरमा रहेको शाखा कार्यालयको मातहतमा रहने कम्पनीले जनाएको छ ।