आईएमई लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । आईएमई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ १९ गते काठमाण्डौंको चन्द्रागिरि स्थित चन्द्रागिरि हिल एण्ड रिसोर्टमा कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त सम्मान कार्यक्रममा आर्थिक वर्ष २०७५/७६ मा महत्वपूर्ण योगदान पुर्याएका मूल्यवान एजेन्सी मेनेजरलाई सम्मान गरिएको हो । यस कार्यक्रममा कम्पनीका सातै प्रदेशका प्रदेश प्रमुख, कम्पनीका विभागीय प्रमुख र शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले कम्पनीमा आबद्ध भएका सम्पूर्ण अभिकर्ताहरुलाई बधाई तथा शुभकामना दिर्दै अभिकर्ताहरुको बीमा व्यवसायमा मात्र नभई समग्रमा देशको अर्थतन्त्रमा नै ठूलो योगदान रहने बिषय उदृत गदै आगामी दिनमा बीमा व्यवसायलाई थप मर्यादित तथा व्यवस्थित बनाउदै कम्पनीको व्यवसायमा थप योगदान गर्नका लागि जोड दिएका छन् ।
बीमा कम्पनीको शाखा २ हजार ५ नाघ्यो, साढे ९ हजारले पाए प्रत्यक्ष रोजगार
काठमाडौ । बीमा व्यवसाय बढ्दै जाँदा बीमा व्यवसाय गर्ने कम्पनीहरूले शाखा विस्तारमा तिव्रता दिएका छन् । गत आवको अन्त्यसम्म ३९ वटा जीवन तथा निर्जीवन बीमा कम्पनीले दुई हजार ५ सय २३ शाखा विस्तार गरेका छन् । गत आर्थिक वर्ष २०७५/७६ सम्म जीवन बीमा गर्ने १९ बीमा कम्पनीले १ हजार ६ सय ५४ शाखा कार्यालय स्थापना गरेका छन् । निर्जीवन बीमा व्यवसाय गर्ने २० कम्पनीको शाखा विस्तार पनि ८ सय ६९ पुगेको छ । गत आवसम्म बीमा कम्पनीमा प्रत्यक्ष रुपमा ९ हजार चार सय ८१ जनाले रोजगारी पाएका छन् । सोमध्ये जीवन बीमा कम्पनीतर्फ ४ हजार ७ सय ९८ जनाले रोजगारी पाएका छन् भने निर्जीवन बीमातर्फ ४ हजार ६ सय ८३ ले रोजगारी पाएको बीमा समितिले जानकारी दिएको छ । सबै भन्दा धेरै शाखा यूनियन लाइफ इन्स्योरेन्सको जीवन बीमा तर्फ सबैभन्दा धेरै १ सय ७८ वटा कार्यालय यूनियन लाइफ इन्स्योरेन्स कम्पनीकोे रहेको छ । शाखा विस्तारमा दोस्रो स्थानमा प्राइम लाइफ इन्स्योरेन्सले लिएको छ । गत आवसम्म प्राइम लाइफले १ सय २७ शाखा विस्तार गरेको छ । निर्जीवन बीमातर्फ भने सबैभन्दा धेरै ९२ वटा कार्यालय शिखर इन्स्योरेन्स कम्पनीले विस्तार गरेको छ । निर्जीवन बीमातर्फ ७६ शाखा कार्यालय विस्तार गरेर सिद्धार्थ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा पुगेको छ । जीवन बीमा गर्ने कम्पनीहरूमा सबैभन्दा धेरैलाई रोजगारी एशियन लाइफ इन्स्योरेन्स कम्पनीले दिएको छ । उक्त कम्पनीमा ४ सय जनाले रोजगारी पाएका छन् । युनियन लाइफ इन्स्योरेन्समा ३ सय ८३ कर्मचारीले रोजगारी पाएका छन् । निर्जीवन बीमा कम्पनीतर्फ सबैभन्दा धेरै ६ सय १० कर्मचारी शिखर इन्स्योरेन्स कम्पनीको रहेका छन् । निर्जीवन बीमा तर्फ दोस्रो स्थानमा नेको इन्स्योरेन्स कम्पनीमा रहेको छ । उक्त कम्पनीमा ३ सय ६३ कर्मचारी रहेको बीमा समितिको तथ्यांक छ ।
पाँच वर्षपछि नयाँ बीमा कम्पनीहरु राम्रो प्रतिफल दिनसक्ने हुन्छन् : एस.के. टमोट
एस्.के. टमाेट, महाप्रबन्धक, जनरल इन्स्याेरेन्स कम्पनी जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एस.के. टमोटसँग बीमा क्षेत्रमा ४५ वर्ष काम गरेकाे अनुभव छ । नेशनल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स हुँदै सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा दुइ कार्यकाल महाप्रबन्धककाे जिम्मेवारी समालेका टमाेट यतिबेला नयाँ कम्पनीको नेतृत्व गरिरहेका छन् । जनरल इन्स्योरेन्स कम्पनी बीमा समितिबाट लाइसेन्स पाएका तीन बीमा कम्पनीमध्ये एक हो । स्थापनाको एक वर्षमै यस कम्पनीले व्यवसायमा राम्राे गर्दै पहिलो वर्षमै नाफा आर्जन गर्न सफल भएको छ । यसै सम्बन्धमा कम्पनीको भविष्य, आउँदै गरेको आईपीओ र समग्र निर्जीवन बीमा व्यवसायको अवस्था र सम्भावनाबारे केन्द्रित भई महाप्रबन्धक टमोटसँग विकासन्युजले गरेकाे कुराकानी प्रस्तुत गरिएको छ । हाल बीमा बजारको अवस्था कस्तो छ ? बीमा बजारको अवस्था राम्रो छ । पछिल्लो समय बीमा गर्नेको संख्या र बीमा शुल्क दुबै बढेको छ । स्थापना भएको वर्ष व्यवसाय गर्न केही गाह्रो भएपनि अहिले सहज बन्दै गएको छ । आगामी दिनमा अझ सहज हुने विश्वास लिएका छौं । बीमा बजारको अवस्था सुधारात्मक देखिएकोे छ । आर्थिक वृद्धि र समग्र इन्स्योरेन्स कम्पनीको व्यवसायको अवस्थालाई कसरी हेर्नुहुन्छ ? बीमा क्षेत्र अर्थतन्त्रको एउटा भाग हो, अर्थतन्त्रमा हुने परिवर्तनले बीमा क्षेत्रलाई सकारात्मक रुपमा असर गर्छ । बीमा क्षेत्रमा हुने सकारात्मक परिवर्तनले पनि अर्थतन्त्रलाई सकारात्मक बनाउन सहयोग समेत गर्छ । त्यसैले यी दुई पक्षहरुबीच सकारात्मक सम्बन्ध देखिन्छ । अहिलेको अवस्थामा आर्थिक वृद्धि भन्दा बीमा क्षेत्रको वृद्धिदर बढी छ । तपाईको अनुभवले नयाँ कम्पनी स्थापना गर्न कतिको सहज रहेछ ? बजारमा स्थापित कम्पनीसँग नयाँ कम्पनीले प्रतिस्पर्धा गर्नु चुनौतीपूर्ण अवश्य नै छ । त्यस्तो, चुनौतीहरुलाई विगतको अनुभव र नयाँ प्रोडक्टहरुको माध्यमबाट सामना गर्नुपर्छ । हाम्रो कम्पनीमा बीमा क्षेत्रमा लामो अनुभव भएका कर्मचारीहरु छन् । मेरो पनि बीमा क्षेत्रमा ४५ वर्षको अनुभव छ । हामीले बीमासम्बन्धी कानूनहरुको अधिनमा रही बीमाका नयाँनयाँ प्रोडक्ट ल्याउने प्रयास गरिरहेका छौं । त्यसैले स्थापनाको पहिलो वर्षमै जनरलले ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । नयाँ बीमा कम्पनीहरुमध्ये चाहिँ तपाईहरुको अवस्था कस्तो छ ? नयाँ ३ बीमा कम्पनीहरुमध्ये व्यवसायको आकारको आधारमा दोस्रो स्थानमा छौं । साउन महिनामा समेत हामीले राम्रो व्यवसाय गरेका छौं । तर, सबैभन्दा मुख्य कुरा भनेको चाहिँ यो वर्षमा व्यवसाय विस्तारको लागि हामीले राम्रो प्लेटफर्म तयार गर्यौं, यो नै नयाँ कम्पनीहरुको मुख्य पक्ष हो । एक वर्षको अन्तरालमा हामीले ४० वटा शाखा र १२ वटा उपशाखा रहेका छन् । यसरी हाम्रो कुल शाखा भने ५२ वटा पुगेका छन् । यी शाखाहरुबाट अब क्रमशः व्यवसाय बढाउँदै जान्छौं । ५२ वटा शाखा, उपशाखा पुर्यायौं भन्नुभयो, यो वर्ष चाहिँ शाखा विस्तार गर्ने योजना के छ ? हामीले थप २५ वटा शाखा खोल्ने योजना बनाएका थियौं । तर बीमा समितिले एकैपटक सबै शाखा नथपेर यो वर्ष थप १० वटा मात्रै शाखा खोल्न सल्लाह दिएको छ । त्यसैले यो वर्ष १० वटा र अर्को वर्ष १५ वटा शाखा खोल्छौं । अहिलेको अवस्थामा नयाँ शाखा खोल्न कस्ता चुनौती छन्, नयाँ खोलिएको शाखालाई नाफामा लैजान कति समय लाग्ला ? शहरी क्षेत्रमा शाखा खोल्नु त्यति चुनौतीपूर्ण छैन, ती शाखाहरु सजिलै फाइदामा जान सक्छन् । कर्मचारीले राम्रो काम गरेर देखाए भने सामान्यतया त्यस्ता क्षेत्रमा खोलिएका शाखाहरु एक वर्षमै नाफामा जानसक्छ । तर गाउँ–गाउँमा शाखा खोल्ने कार्य भने कठिन छ, त्यस्ता क्षेत्रमा शाखा विस्तार गर्दा कर्मचारी व्यवस्थापन र व्यवसाय विस्तार दुवै पक्ष चुनौतीपूर्ण नै छ । यसले गर्दा त्यस्तो शाखा नाफामा जान समेत धेरै दिन लाग्छ । स्थापनाको छाेटो अवधिमै तपाईहरु नाफामा जानुभएको छ, यो नाफा पुँजीको ब्याजको कारण हो कि सञ्चालन नाफा पनि हो ? पुँजीको ब्याज पनि एउटा पाटो हो तर त्यसले मात्रै नाफा बढेको भने होइन । यो अवधिमा हाम्रो बिजिनेसको ग्रोथ पनि राम्रो भएको छ । ७० करोडको क्यापिटल भएको हाम्रो कम्पनीले यो अवधिमा ५२ शाखा खोलिसकेको छ, त्यसैअनुसार कर्मचारी नियुक्त गरेर सेवा सुविधा दिइरहेको छ, यस्तो अवस्थामा व्यवसाय विस्तार नगरी पुँजीकै कारणले यति नाफा गर्न सम्भव थिएन । तपाईँहरुको पुँजी ७० करोड मात्रै छ, ३० करोडको आईपीओ ल्याउनुपर्छ । अब आईपीओ चाहिँ कहिले आउँछ ? आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण बन्ने अन्तिम चरणमा छ । यो बनेर बीमा समितिबाट स्वीकृत भएपछि हामी साधारणसभा बोलाउँछौं । त्यही साधारणसभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव जान्छ । आर्थिक वर्ष सकिएको छ महिनाभित्र साारणसभा गर्नुपर्ने कम्पनीको नियम हो, हामी सकभर कात्तिकभित्रै उक्त साधारणसभा गर्ने तयारीमा छौं । आईपीओ निष्कासनका लागि साधारणसभा मात्रै नभएर क्रेडिट रेटिङ गराउने, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त पनि गर्नुपर्छ । सबै प्रक्रिया पूरा गरेर यसै वर्ष आईपीओका ल्याउने तयारी गरेका छौं । अन्य कुनै कारणले ढिलाइ नभए यसै आर्थिक वर्षभित्र आईपीओ आउँछ । एनआरएफएसले गर्दा अघिल्लो वर्ष समयमा साधारणसभा भएन, यो वर्ष कस्तो छ अवस्था ? यो वर्ष त्यस्तो अवस्था आउँदैन, अघिल्लो वर्ष लेखाप्रणाली परिवर्तन हुँदा प्रोभिजनिङको समस्या थियो, अब त्यस्तो हुँदैन । नयाँ लेखाप्रणालीको ट्रेन्ड अब बसिसक्यो । सेयर बजारमा एकैपटक दर्जन भन्दा बढी कम्पनीको आईपीओ आउने अवस्था छ, सबैको आईपीओ एकैपटक आउँदा नबिक्ने डर हुँदैन ? शेयर बजारको दायरा अहिले निकै विस्तार भइसकेको छ । अहिले इन्टरनेटको पहुँच पुगेका जुनसुकै गाउँदेखि विदेशमा रहेका नेपालीहरुले समेत अनलाइनमार्फत् आईपीओको लागि आवेदन दिनसक्ने व्यवस्था आइसकेको छ । त्यसैले अंकित मूल्यमा जारी हुने आईपीओ बिक्री हुन नै समस्या हुन्छ भन्ने मलाई लाग्दैन । तर सबैले एकैपटक आईपीओ निष्कासन गर्दा भने थोरै पैसा भएका वा नियमित आम्दानी भएकाहरुलाई लगानी गर्न समस्या हुनसक्छ, त्यसैले सकेसम्म सबै कम्पनीहरु मिलेर समय व्यवस्थापन गरेर आईपीओ जारी गर्दा राम्रो हुन्छ । अहिलेको अवस्थामा नयाँ कम्पनीबाट कति प्रतिफलको अपेक्षा गर्न सकिन्छ ? प्रतिफल भनेको समयअनुसार हुँदै जाने कुरा हो । अहिले काम सुरु गर्ने बित्तिकै पनि प्रतिफल दिनुपर्छ भन्ने हुँदैन । प्रतिफलको आशा त नयाँ पुराना सबै कम्पनीका शेयरधनीमा हुन्छ, किनकी सबैले प्रतिफलकै लागि लगानी गरेका हुन् तर अहिलेको अवस्थामा नयाँ कम्पनीहरुबाट राम्रो प्रतिफल पाउन ४/५ वर्ष कुर्नुपर्छ । त्यसपछि लगानीकर्ताले अपेक्षाकृत लाभांश पाउने वातावरण बन्छ । तपाईंहरुले विजिनेश लक्ष्य निर्धारण गर्दा केलाई आधार मान्नुहुन्छ ? कोर क्यापिटलको यति विजिनेस गर्छु भन्ने लक्ष्य केही छ ? व्यवसायको आधार भनेको चुक्ता पुँजी नै हो किनकी चुक्ता पुँजीकै आधारमा लगानीकर्तालाई प्रतिफल दिनुपर्ने हुन्छ । हाल निर्जीवन बीमा कम्पनीको बजार नै २४ अर्ब हाराहारीमा मात्रै रहेको अवस्थामा नयाँ कम्पनीहरुलाई चुक्ता पुँजी बराबर बिजिनेस गर्नु पनि निर्जीवन बीमा कम्पनीहरुलाई गाह्रो छ । यद्यपि हाम्रो प्रयास जारी छ, बीमा क्षेत्रप्रतिको आवश्यकताको अनुभव भइरहेको र अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था पनि फराकिलो हुँदै गएको अवस्थामा केही वर्षमै यो आकार तुलनायोग्य बन्नसक्छ । २०७६/७७ मा ८० देखि ९० कराेड बीमा शुल्क संकलन गर्ने लक्ष्य छ । तपाईको बीमा क्षेत्रमा ४५ वर्षको अनुभवले बीमा सेवा मुलक व्यवसाय हो भन्छ कि नाफामूलक व्यवसाय हो भन्छ ? बीमा क्षेत्र भनेको सेवामूलक व्यवसाय नै हो तर हामीले भनेको सेवाभित्र नाफा गर्नुपर्ने अवस्था छ । हामीले नाफा भन्दैगर्दा हामी अरु गैरवित्तीय क्षेत्रका व्यवसायले जस्तो नाफामूखी हुन सक्दैनौ । सेवामुखी भन्दैगर्दा लगानीकर्ताको प्रतिफललाई समेत हामीले विचार गर्नुपर्छ । त्यसो त हामीले धेरै नाफा कमायौं भने नै सरकारले हामीबाट कर पाउने हो । निर्जीवन बीमामा नयाँनयाँ प्रोडक्टहरु भित्रिने र दायरा विस्तार हुने सम्भावना चाहिँ तपाईँ कत्तिको देख्नुहुन्छ ? पुनर्बीमाको शर्तहरुका कारण निर्जीवन बीमाको क्षेत्रमा प्रोडक्टहरुमा विविधता ल्याउनसक्ने सम्भावना निकै कम छ । तर यसको दायरा बढाउने ठाउँ भने धेरै छ । पहिले सामुन्द्रिक बीमा, अग्निबीमा, मोटरबीमा लगायतमा सीमित भएको व्यवसाय अहिले कृषि बीमा, स्वास्थ्यबीमा, औषधोपचार बीमा जस्ता नयाँ दायराहरु विस्तार भइरहेका छन् । तर यो क्षेत्रमा धेरैजसो शुल्कहरु नियामकले नै तोकिदिएको हुन्छ, त्यहीशुल्कमा बसेर बीमा गर्दा प्रतिस्पर्धाको सम्भावना चाहिँ कम हुन्छ । नेपालमा रेकर्ड नै नभएको विजिनेसको हिस्सा समेत ठूलो छ भनिन्छ, वास्तविक अवस्था चाहिँ के हो ? त्यस्तो शुल्क म चाहिँ देख्दिँन, किनकी हाम्रोमा सबै कारोबार भ्याट बिलमार्फत् हुन्छ, बीमा गर्नेको केवाईसी पनि अनिवार्य छ । यस्तो अवस्थामा यस्तो रेकर्ड नै नभएको बिजिनेस हुने सम्भाजना नै हुँदैन । कोही कसैले नक्कली बीमालेखमार्फत् कारोबार गरे अलग्गै कुरा, त्यस्तो भएको रहेछ भने पनि उनीहरुको बीमाको जोखिम कम्पनीहरुले लिँदैनन् । त्यसैले बीमितहरुले समेत बीमा गर्दा यस्तो कुरामा ध्यान दिनुपर्छ । तोकिएकोभन्दा कम शुल्क लिएर बीमा गरिदिने अवस्था चाहिँ मौलाएको हो ? यो चाहिँ हुनसक्छ । न्यून शुल्कमा बीमा हुने कुरा चाही मौलाएको छ । धेरैजसो बीमा पोलिसीहरुको बीमाशुल्क तोकिएको हुन्छ, यसले गर्दा यहाँ प्रतिस्पर्धात्मक अवस्था नै रहँदैन, यस्तो अवस्थामा कुनै कम्पनीहरुले कम शुल्कमा धेरै बीमांक बराबर बीमा गराइदिएको हुनसक्छ । त्यसका लागि विभिन्न उपाय अपनाइएको हुनसक्छ, यसबारे समितिले खोजतलास गरेर कारबाही गर्नुपर्छ । कानुनी रुपमा तोकिएको बीमा दर नमान्दा राम्रो नहोला तर अर्को तर्फ ग्राहकको पक्षबाट हेर्दा त फाईदा हो नि ? बीमा गर्नपनि चाहने सित्तैमा बीमा गर्न चाहने कुरापनि बजारमा देखिन्छन् । हामी नयाँ कम्पनीले त्यस्तो गर्न सक्दैनौ । अहिलेको अवस्थामा बीमा समितिको निर्देशनहरुलाई तपाईँ कसरी हेर्नुहुन्छ ? बीमा क्षेत्रको विकास र सुधारका लागि बीमा समितिले गरेका प्रयासहरु सकारात्मक नै छन् । नियामकको काम नियमन गर्ने हो । हामीले समितिले समय समयमा दिएका निर्देशनहरु पालना गर्दै आएका पनि छौं र हामीलाई दिएको निर्देशन कुनै बच्चालाई अभिभावकले दिएको सुझावको रुपमा ग्रहण गर्दै आएका छौं । हामी नियामक निकायहरुको निर्देशन परिपालना गर्दै व्यवसायमा वृद्धि गर्दै जाने नीति लिएका छौं । बजारमा नियामकको निर्देशन नमान्ने बीमा कम्पनीहरु पनि छौं, बैंकहरु पनि छन् । तर हामी नियामकहरुको निर्देशन मान्दै सकारात्मक ढंगले व्यवसाय विस्तार गर्दैछौं, यसो गर्दा भोलिको अवस्थामा समेत अप्ठ्यारो पर्दैन । नियामकले पनि सबैलाई समान व्यवहार गरोस् गरेर नियमन गर्दै जानुपर्छ । नेपाल राष्ट्र बैकले मौद्रिक नीतिमार्फत् बैकास्योरेन्स बन्द गर्यो, यसलाई तपाईँ कसरी हेर्नुहुन्छ ? बैंकास्योरेन्स रोकिँदा निर्जीवन बीमामा त्यति ठूलो असर पर्दैन । राष्ट्र बैंकले रोकेको भनेको हाम्रै गर्नुपर्छ रोक लगाएको हो, त्यसैले यसमा त्यस्तो धेरै असर छैन । मलाई पनि पहिले केही असर गर्ला कि भन्ने लागेको थियो तर त्यस्तो असर छैन । बैकले बिमितहरुले म यहाँ गएर बीमा गर्छु भन्दा सो कुराका रोक लगाउन पाउँदैन । बीमामा मर्जको कुरापनि आईरहेका छन्, तपाईहरुले सोच्नु भएको छ ? हामीले हाल सोचेका छैनौ । हामी संस्थापकहरुको तर्फबाट ७० करोड पुँजी सुरुमैै पुर्याएर आएका हौं । अब ३० करोडको आईपीओ आएपछि १ अर्ब पुग्छ । सरकारले बिग मर्जको पोलिसी ल्यायो भने हामीले त्यस्तो अवस्थामा भने सोच्ने कुरा हुन्छ । तर अहिलेकै अवस्थामा हामीले त्यसबारे केही सोचेका छैनौं । बीमा कम्पनीमा कर्मचारीहरुको कमी भएको सुनिन्छ नि अवस्था के छ ? बीमा क्षेत्रमा कर्मचारीहरुको समस्या भएको कुरा सत्य हो । सोही कारण हामीले नयाँ मान्छे समेत भर्ना गरेको अवस्था आएका छौं । पुराना मान्छे राख्दा उनीहरुले धेरै पैसाको माग्छन् । नयाँ बीमा कम्पनीहरुले उनीहरुले माग गरे अनुसार पैसा तिर्नपनि गाह्रो छ । सोही कारण बीमा कम्पनीमा कर्मचारी अभाव भएको हुनसक्छ । हामीले अहिले एसिस्टेन्ट लेभलको कर्मचारी लिएर उनीहरुलाई प्रोमोसन गराउँदै लैजाने नीति लिएका छौं, यस्तो कार्यले एकातर्फ हाम्रो संस्थागत आवश्यकता पूरा हुन्छ भने अर्कोतर्फ सामाजिक उत्तरदायित्व समेत पूरा हुन्छ ।