झुट्टा बीमा दावी गर्नेहरु अब कालोसूचिमा, कर्मचारीलाई कम्पनी फेर्न कडाई, प्रतिस्पर्धी विरुद्ध बोल्न पनि नपाईने
काठमाडौं । नेपाल बीमक संघले निर्जीवन बीमा कम्पनीहरुको लागि कडा आचार संहिता बनाएको छ । बीमा कम्पनीहरुबीचको अस्वस्थ्य प्रतिस्प्रर्धा रोक्न, कर्मचारी तानातान प्रवृतिलाई नियन्त्रण गर्न, झुट्टा बीमा दावी भुक्तानीलाई नियन्त्रण गर्न आचार संहिता बनाइएको संघले जनाएको छ । आचारसंहिता असोज ३ गतेदेखि लागू हुनेछ । बीमा व्यवसायका सिलसिलामा कुनै पनि बीमा कम्पनीका कर्मचारी तथा प्रतिनिधिले अर्को बीमकका विरुद्ध बोल्न र लेख्न रोक लगाईएको छ । अर्को कम्पनीले लिन लागेको व्यवसाय खोस्न पनि रोक लगाईएको छ । ‘बीमितसँग व्यवसायको सिलसिलामा कुनै पनि बीमक वा त्यसका प्रतिनिधिले अर्को बीमकको विरुद्ध कुनै नकारात्मक सन्देश दिने, नकारात्मक टिप्पणी गर्ने, अर्को बीमकका बिरुद्ध गलत सन्देश दिई व्यवसाय भड्काउने, आफूले लिने कार्य गर्नु गराउनु हुँदैन’ आचारसंहितामा लेखिएको छ । बीमकहरुबीच कर्मचारी तानातान रोक्न बीमक संघले कठोर निर्णय लिएको छ । कुनै पनि कम्पनीमा कार्यरत कर्मचारी अर्को कम्पनीमा नियुक्त लिनुपूर्व पहिलो कम्पनीबाट राजीनामा स्वीकृत भएको पत्र अनिवार्य पेस गर्नु पर्नेछ । अधिकृत वा सो भन्दा माथिल्लो पदमा बसेका कर्मचारीले पुरानो कम्पनीमा बर बुझारथ भएको १ महिनापछि मात्र नियुक्ती दिनु पर्नेछ । पुरानो कम्पनीको हरहिसाव फरफारक हुन बाँकी रहेको, कम्पनीलाई हानी नोक्सानी पुर्याई कारवाही चलिरहेको कर्मचारीले अर्को कम्पनीमा जागिर खान नपाउने भएको छ । सामान्य अवस्थामा कर्मचारीले राजीनामा गरेमा बीमा कम्पनीले १ महिनाभित्र राजीनामा स्वीकृत दिनुपर्ने भएको छ । त्यस्तै, एउटा बीमा कम्पनीमा परेको दावीका सम्बन्धमा बीमितलाई अर्को कम्पनीका प्रमुख कार्यकारी अधिकृत वा अन्य कर्मचारीले राय दिन नपाउने व्यवस्था गरिएको छ । बीमकले बीमित वा सम्बन्धि व्यक्तिलाई कुनै प्रकारको जिन्सी, नगद, उपहार वा छुट लिन दिन रोक लगाईएको छ । बीमा कम्पनीलाई धोका दिने सर्भेयरलाई कारवाही गर्न संघले समितिमा सिफारिस पनि गर्न पाउने भएको छ । कुनै सर्भेयरले कम्पनीलाई सर्भे रिपोर्ट नदिने, क्षति मूल्याङ्कनमा अनियमितता गर्ने जस्ता गलत काम गरेमा बीमा कम्पनीले त्यस्ता सर्भेयर विरुद्ध बीमक संघमा उजुरी गर्न सक्ने र संघले सर्भेयरलाई कारवाही गर्न बीमा समितिमा सिफारिस गर्न सक्ने सहमति सबै कम्पनीले गरेका छन् । त्यस्तै, झुटो बीमा दावी गर्नेलाई बीमक संघले कालोसूचिमा राख्ने भएको छ । कुनै पनि बीमकसंग बलजफ्ती झुट्टा दावी लिन प्रयास गरेमा बीमित, त्यस्तो कार्यमा संलग्न कम्पनीका कर्मचारी, प्रतिनिधि, सर्भेयर सबैको अभिलेख बीमक संघले राख्ने र यस्तो कार्यमा संलग्नलाई भविष्यमा कुनै पनि बीमकले बीमा सेवा नदिने निर्णय भएको छ । सबै बीमा कम्पनीहरुले बीमा समितिले तोकेको बीमा दर पूर्ण रुपमा परिपालना गर्ने तथा दर घटाएर एउटा पनि बीमा लेख बिक्री नगर्ने आचार संहितामा उल्लेख छ । बीमाको दर नतोकिएको बीमाका लागि बीमक संघले दिग्दर्शन बनाई लागू गर्ने भएको छ । बीमक संघले बीमा कम्पनीहरुको लागि परामर्श सेवा पनि दिने भएको छ । बीमकलाई कानुनी, नियामकीय वा प्राविधिक राय आवश्यक परेमा संघले परामर्श सेवा दिने भएको छ । झुट्टा बीमा दावी गर्नेलाई कालोसूचिमा राख्नेदेखि बीमा व्यवसायमा जोडिएर गलत गर्ने जो कोहीलाई कारवाहीको सिफारिस गर्ने अधिकार बीमक संघलाई प्रदान गरिएको आचार संहितालाई बीमा समितिले पनि समर्थन गरेको छ । बीमा समितिका उच्च अधिकारीहरुलाई सहभागी गराएर आचार संहिता तयार गरेको र यसको कार्यान्वयनमा बीमा समितिको पूर्ण सहयोग हुने संघका एक पदाधिकारीले विकासन्युजलाई जानकारी दिए । आचार संहिता पालना नगर्ने कम्पनीलाई संघले स्पष्टिकरण लिने, सचेत गराउने, सदस्यता निलम्बन गर्ने तथा सदस्यता ब्रखास्त गर्ने सम्मको अधिकार संघमा रहेको आचारसंहितामा उल्लेख गरिएको छ । [pdf id=170751]
बीमा क्षेत्रमा अहिले नै होइन, भविष्यमा मर्जरको आवश्यकता छः सुद्युम्न उपाध्याय
निर्जीवन बीमा व्यवसायमा प्रिमियर इन्स्योरेन्स कम्पनीले २५ वर्षको यात्रा तय गरिसकेको छ । कम्पनीले यस अवधिमा राम्रो प्रगति गरिरहेको छ, गतवर्ष ४८ प्रतिशतले नाफा बृद्धि गरेको छ । जसरी कम्पनीले वर्सेनि ग्रो गरिरहेको छ, त्यसरीनै कम्पनीलाई अघि बढाउन प्रभावकारी भूमिका निर्वाह गरेका छन् प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुद्युम्न उपाध्यायले । बीमा बजारमा प्रिमियर इन्स्योरेन्सको अवस्था सहित समग्र बीमा क्षेत्रका बारेमा सीईओ उपाध्यायसँग विकासन्युजका लागि नबिन पोखरेलले गरेको विकास बहस । प्रिमियर इन्स्योेन्स कम्पनीको गत आर्थिक बर्षको वित्तीय नतिजा कस्तो आयो ? हाम्रो गत आवको वित्तीय नतिजा सन्तोषजनक आएको छ । हामीले १ अर्ब ६४ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छौँ । अघिल्ला वर्षमा जस्तो प्रिमियमको बृद्धि आकर्षक छैन । यसरी आकर्षक नहुनुमा चाँही हामीले विजनेशहरु छनोट गरेको कारणले गर्दा हो । वृद्धि चाँही हामीले सोचेको अनुसार नै भइरहेको छ । कम्पनीको बीमा शुल्क आम्दानी अघिल्लो बर्षको तुलनामा करिव साढे ६ प्रतिशत मात्र वृद्धि भएको देखिन्छ । बीमा बजारको औषत वृद्धि भन्दा पनि प्रिमियरको वृद्धि कमजोर देखियो, किन ? हामीले कुल कति व्यवसाय वृद्धि गर्यौ भन्ने कुरामा केही कमी भएपनि हाम्रा सूचाङ्कलाई छुट्याएर हेर्दा वृद्धि कमजोर देखिदैन । हामी व्यवसाय वृद्धिमा मात्र केन्द्रित भएका छैनौँ । व्यवसाय वृद्धि हुने कुरालाई पनि २ तरिकाबाट हेर्न सकिन्छ । एउटा व्यापारको दायरा बढाउने, अर्को चाँही भएको नाफामा वृद्धि गर्ने । अहिले हाम्रो नाफाको अवस्था राम्रै छ । अघिल्लो आव भन्दा गत आवमा बीमा पोलिसी संख्या नै ८ हजार कम जारी भएको देखियो, किन ? हाम्रो कम्पनीको बीमा पोलिसी संख्या ८ हजार कम जारी हुनुमा हामीले केही बिजनेश घटाएका कारणले गर्दा हो । यो हाम्रो नीति हो । नेपालमा भएका अन्य बीमा कम्पनीहरुले समेत आवश्यकता अनुसार १५ हजार देखि २ लाख पोलिसी जारी गरेका छन् । व्यापार वृद्धि कम भएपनि नाफा वृद्धि ४८ प्रतिशत देखिन्छ । कसरी यस्तो भयो ? हामीले व्यापार वृद्धि गर्दा औषत रुपमा नाफामा चाँही जानै पर्छ भन्ने रणनीति अपनाएका हौँ । सोही कारण व्यापार वृद्धि घट्दा नाफा वृद्धि बढ्न पुगेको हो । उपभोक्ताले प्रिमियरलाई नै छान्नु पर्ने कारण चाँही हामीले हाम्रो नारामा भने जस्तै प्रिमियर इन्स्योरेन्स कम्पनीमा क्लेम सजिलै पाउन सकिने भएकाले हो । नाफा वृद्धि त देखिन्छ । तर, पूँजी वृद्धिको कारण प्रतिसेयर आम्दानी २८ रुपैयाँबाट २२ रुपैयाँमा झरेको छ । प्रतिसेयर आम्दानी उच्च कायम राख्न कम्पनीले कस्तो रणनीति लिएको छ ? कम्पनीले गत वर्षबाट टप भन्दा बटम लाइनमा केन्द्रित भएर काम गरेको छ । पहिले पहुँच बढाउन काम गर्यौ। अहिले हामीले गुणस्तरमा ध्यान दिएका छौं, सोही कारण हाम्रो सूचाङ्क कही कतै फरक देखिन सक्छन् । चार महिना अगाडि प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य १२८० रुपैयाँ थियो । हाल ३९० भन्दा तल गयो । किन यस्तो भयो ? हाल सम्पूर्ण सेयर बजारको मूल्य नै घट्दो क्रममा छ । सोही कारण प्रिमियरको सेयर मूल्यपनि घटेको हो । तर पनि अन्य कम्पनीसँग तुलना गर्दा हाम्रो अवस्था त्यति नराम्रो छैन । बीमा दावी भुक्तानी हुन बाँकी रकम असार मसान्तसम्ममा १ अर्ब ९३ करोड रुपैयाँ देखियो । यति ठूलो रकम किन पेण्डिङ्गमा बस्यो ? अन्य कम्पनीको तुलनामा हाम्रोमा प्रोजेक्ट विजनेश छ, सो कारण हाम्रो भुक्तानी हुन बाँकी रहेको देखिएको हो । पछिल्लो समय बाढीका कारण हाइड्रो पावरमा क्षति पुग्न गयो । तरपनि हाम्रो नेटमा लायवलिटी नराम्रो देखिने अवस्था छैन । हामीले पुनर्बीमा पनि गरेका छौँ । नेट लायवलिटी बढेको छैन । गत बर्ष नै तपाईँहरुले एनएफआरएस अनुसार वार्षिक प्रतिवेदन तयार गरिसक्नु भयो । तर, असार मसान्तको चौमासिक प्रतिवेदन किन एनएफआरएस अनुसार प्रकाशित गर्नु भएन ? अहिले वार्षिक प्रतिवदेन एनएफआरएस बन्याे । अब क्रमशः चाैमासिक प्रतिवेदन पनि साेही डाँचामा बन्छ । प्रायः सबै कम्पनीहरुले बोनस सेयरमा लाग्ने कर बापतको रकम नगद लाभांशबाट दिन्छन् । तपाईँहरुले सेयरधनीसँग बोनसमा लाग्ने कर रकम संकलन गर्नु भयो । यसले लगानीकर्तालाई झण्झट भयो नि ? बीमा समितिको नियम अनुसार एनएफआरएस र एनएसको व्यालेन्स मिलाउँदा वितरण गर्न नमिल्ने भएका कारण हामीले नदिएका हौँ । कम्पनीले दिन भने सक्ने अवस्था छ । गत आवको साधारण सभा कहिलेसम्म हुन्छ ? गत आवको साधारण सभा पुस मसान्तसम्म गर्नेछौँ । एनएफआरएसका कारणले गत वर्षमा केही ढिलाई भएको थियो । यसपालि ढिला हुन्न । कम्पनीका नयाँ योजना तथा वार्षिक योजनाहरु के छन् ? गुणस्तरमा ध्यान दिन्छौँ । अबका दिनमा टेक्नोलोजिमा आधारित भएर काम गर्नेछौँ । बजारमा नयाँ भन्दा पनि इन्जिनियरिङ्ग बीमा सम्बन्धि बीमाको आवश्यकता छ, हामीले सोही अनुसार काम गर्छौ । गुणस्तरमा ध्यान दिन्छौँ । अबका दिनमा टेक्नोलोजिमा आधारित भएर काम गर्नेछौँ । उपभोक्ताले प्रिमियर इन्स्याेरेन्स कम्पनी नै छान्नु पर्ने कारण चाँही के हो ? उपभोक्ताले प्रिमियरलाई नै छान्नु पर्ने कारण चाँही हामीले हाम्रो नारामा भने जस्तै प्रिमियर इन्स्योरेन्स कम्पनीमा क्लेम सजिलै पाउन सकिने भएकाले हो । २५ वर्ष पुरानो कम्पनी हो । हरेक सूचक राम्रो रहँदै आएका छन् । सोही कारण हाम्रोमा विश्वास गर्ने थुप्रै आधारहरु छन् । नौला प्रडक्ट यहाँहरुले बजारमा के दिनु भयो ? नौलो प्रडक्ट निर्जीवन बीमामा ल्याउन जीवन बीमा व्यवसायमा जस्तो सजिलो छैन । तर, बजार विकास गर्न केही समय लाग्छ । पछिल्लो समय बीमा कम्पनीहरुमा कर्मचारी टर्न ओभर धेरै छ । यस कम्पनीमा कस्तो अवस्था छ ? हाम्रोमा न्यून छ । कम्पनीको स्थापनाको दिन देखि हालसम्म २ जना मात्र सिईओले काम गरेका छन् । हाम्रा शाखा प्रमुखहरु नै २५ वर्ष यहि काम गर्न सफल हुनु भएको छ । सोही कारण हाम्रो कम्पनीमा कर्मचारीहरु अन्य कम्पनीमा जाने काम छ । कर्मचारीको क्षमता विकासमा कम्पनीले के–के काम गरिरहेको छ ? कर्मचारीको क्षमता विकासका लागि हामीले स्वदेशी तथा विदेशी तालिममा समेत सहभागी गराउँदै आएका छौँ । अतिरिक्त सुविधा के छ ? बीमामा अतिरिक्त सुविधा भन्ने त हुँदैन । हामीले ट्यारिफ अनुसार काम गर्नुपर्छ । सस्तो प्रिमियममा समेत काम गर्दैनौं। तर, हामीले बीमाको गुणस्तरमा भने ध्यान दिँदै आएका छौँ । सिईओको नजरबाट समग्र बीमा बजारको अवस्था हेर्दा कस्तो पाउनु हुन्छ ? बीमा बजार विश्वासमा चल्ने हो । हामीले जसलाई क्लेम पर्छ, उसको लागि नै सेवा गर्न आवश्यक हुन्छ । बजारमा सबैभन्दा काम गर्न आवश्यक कुरा भनेको इमान्दारिता र धैर्यता हो । बीमा बजारमा सेल्स भन्दा आफ्टर सेल्स (पोलिसी बेच्दा भन्दा बेचिसकेपछि)को अवस्था महत्वपूर्ण मानिन्छ । बीमा क्षेत्रमा मात्र नभई मर्जर भन्ने कुरा त विश्वव्यापी कुरा हो । अहिले विदेशी बीमा कम्पनीहरु समेत मर्जरको बाटोमा लागेका छन् । बीमा समितिको नियमन कसरी अघि बढिरहेको छ ? बीमा समितिको नियमन राम्रोसँग अघि बढिरहेको छ । एक किसिमले भन्ने हो भने हाम्रो जस्तो भरपर्दो नियमनकारी निकाय अन्य क्षेत्रमा छैन जस्तो लाग्छ । बजार विकासको क्रममा भएकाले कम्पनी र नियामकमा परिपक्कता पनि आउने क्रममा छ । तर यस्तो अवस्थमा बीमा समितिले खेल्नु पर्ने भूमिका भने सन्तोषजनक नै छ । साथै, बीमा कम्पनीहरुले पनि आफ्नो तर्फबाट गरेको कामलाई राम्रो मान्न सकिने अवस्था छ । पछिल्लो समय बीमा बजारमा मर्जरको कुरा चलिरहेको छ, यसलाई कसरी हेर्नु हुन्छ ? बीमा क्षेत्रमा मात्र नभई मर्जर भन्ने कुरा त विश्वव्यापी कुरा हो । अहिले विदेशी बीमा कम्पनीहरु समेत मर्जरको बाटोमा लागेका छन् । एक तहको साईकल पूरा गरेपछि मर्जरमा जान आवश्यक हुन्छ । अहिले मर्जरमा जान बीमा कम्पनीहरुको संख्या धेरै हुनुलाई कारण मान्न सकिन्छ । अहिले नै होइन, भविष्यमा मर्जरको आवश्यकता छ ।
नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न
काठमाडौं । विगत १९ वर्षदेखि नेपाली जीवन बीमाक्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६’ भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले गरेका हुन् । कम्पनीले यही भदौ २१ देखि २४ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रम एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गर्दै सम्पन्न भएको हो । बाजागाजाका साथ शुरू गरिएको कार्यक्रममा आगामी दिनका लागि कम्पनीको स्ट्राटेजी निर्माण गरिनुका साथै विभिन्न मोटिभेशन र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो । देशभरिका एजेन्ट, एजेन्सी म्यानेजर, क्षेत्रीय कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा एजेन्टतर्फ ५० र एजेन्सी म्यानेजरतर्फ ५० जनालाई नगदसहित पुरस्कृत गरियो । त्यसैगरी कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने आफ्ना कर्मचारीहरूलाई पनि सम्मान गरेको छ । कार्यक्रममा एजेन्सी म्यानेजरतर्फको ‘एजेन्सी म्यानेजर अफ इयर’ अवार्डका लागि पहिलो हुने बिर्तामोड शाखाकी निर्मला खत्रीले ३ लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो हुने नयाँ बानेश्वर शाखाकी दुर्गाकुमारी खत्रीले १ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बिर्तामोड शाखाकै वेदनारायण गोदारले १ लाख नगदसहित सम्मान–पत्र हात पार्न सफल भएका छन् । त्यस्तै, एजेन्टतर्फको ‘एजेन्ट अफ द इयर’ अवार्डका लागि पहिलो हुने नयाँ बानेश्वर शाखाका अच्युत पौडेलले ३ लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो हुने बिर्तामोड शाखाकी प्रमिला बस्नेतले १ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बूढानीलकण्ठ शाखाका नैनबहादुर खत्रीले १ लाख नगदसहित सम्मान–पत्र हात पार्न सफल भएका छन् । कर्मचारीतर्फको ‘वेष्ट पर्फमेन्स अफ द इयर’ अवार्ड विर्तामोड शाखाका अमेन्द्र कुमार कर्ण र ‘वेस्ट रिजनल म्यानेजर अफ द इयर’ अवार्ड पूर्वाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक टीकादत्त प्याकुरेललाई प्रदान गरिएको छ । नेपालको जीवन बीमा बजारको लगभग ३२ प्रतिशतभन्दा बढी बजारहिस्सा ओगटेको यस कम्पनीले आफ्ना कर्मचारी तथा एजेन्टहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष यस्ता सम्मान तथा उत्प्रेरण मूलक कार्यक्रमहरु गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत झाका अनुसार नेपालको इन्स्योरेन्स क्षेत्र विस्तारकै क्रममा रहेकाले हामी पनि देशैभरी जीवन बीमाको सहज पहुँच पु¥याउन शाखा विस्तारको रणनीतिमा रहेको बताएका छन् । साथै नेपाल लाइफले समय सापेक्ष छिटो–छरितो, सरल र सहज रुपमा सेवा प्रदान गर्नको लागि प्रविधि मैत्री बीमा कारोबार अघि बढाउने छ, जसमा एप्स मार्फत बीमितलाई कुनै पनि समय कुनै पनि स्थानबाट सहज पुहँच प्राप्त हुनेछ । हाल यस कम्पनीको चुक्तापूँजी जीवन बीमाक्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ४९ करोड रहेको छ भने लगानी रू. ७२ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ६७ अर्ब रुपैयाँ रहेको छ । १ लाख २८ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका करिब १ सय ८४ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी २६ लाख ३० हजार बढी व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।