पोखरामा बीमा संस्थानले गर्यो जीवन बीमा अभिकर्ता आधारभूत तालिम

काठमाडौँ । राष्ट्रिय बीमा संस्थानको आयोजनामा पोखरामा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ । भदौ २६ गतेदेखि २८ गतेसम्म आयोजित कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । तालिममा बीमाको परिचय, सिद्धान्त, प्रकार र राष्ट्रिय बीमा संस्थानका बीमालेखहरुबारे जानकारी गराइएको थियो । त्यसैगरी बीमा ऐन, नियमावली लगायतका कानूनहरु र अधिकर्ताले पाउने सेवा सुविधाबारे स्पष्ट पारिएको थियो । अभिकर्ता संख्या बृद्धि र व्यवसाय बिस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थानले जनाएको छ ।

आरटीजीएसको पहिलो कारोबार माछापुच्छ्रे बैंकबाट, विनाचेक २० करोड भुक्तानी

काठमाडाैं । नेपाल राष्ट्र बैंकले लागू गरेको रियल टाइम ग्रस पेमेन्ट सेटलमेन्ट (आरटीजीएस) प्रणालीको शुभारम्भ माछापुच्छ्रे बैंकको खाताबाट नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा बिनाचेक २० करोड रुपैयाँ भुक्तानी गरेर भएको छ । आईतबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले पहिलो पटक २० करोडको ट्रेजरी डिल सिलिप एकअर्कामा साटासाट गरेर उक्त आरटीजीएस प्राणलीको प्रत्यक्ष उदाहरण पेश गरेका छन् । आरटीजीएस प्रणाली लागू भएपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक नचाहिने भएको छ । राष्ट्र बैंकले तत्काललाई २ लाख रुपैयाँ भन्दा माथि २० लाखसम्मको भुक्तानी स्वेच्छाले र २० लाख भन्दा माथि अनिवार्य आरटीजीएस प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो । विश्वका अधिकांश मुलुकमा जस्तै नेपालमा पनि बैंकिङ्ग कारोबारमा सहजता ल्याउने उदेश्यका साथ अत्याधुनिक प्रविधियुक्त रियल टाइम ग्रस पेमेन्ट सिस्टम प्रणाली कार्यन्वयनमा ल्याईएको हो ।

प्रभावकारी बन्दै म्यादी बीमा पुल, १७ कम्पनी सहभागी, आम्दानी अनुपात १ देखि १६ प्रतिशत

काठमाडौं । बीमा समितिले म्यादी बीमा पुलमार्फत गर्ने व्यवस्था गरेपछि पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धामा कमी आएको छ । समितिले केही मापदण्ड राखेर म्यादी बीमा गराउँदै आएपछि बजार थप मर्यादित बन्दै गएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने–‘हामीले बीमा क्षेत्रमा सुधार गर्न समय अनुसार काम गर्दै आएका छौँ, अहिले म्यादी बीमाले पनि बजारमा राम्रै प्रभाव पारेको छ ।’ बीमा समितिले वैदेशिक रोजगारमा जानेहरूको म्यादी बीमामा सहजता ल्याउँन २०७५ साल माघ १७ गते म्यादी बीमा पुल मार्फत गर्ने सुरुवात गरेको थियो । पुल मार्फत हुने बीमामा बीमा कम्पनीहरूले समितिले तोकेको अनुपातमा बीमा शुल्क बाडेर लिने गरेका छन् । यस्तो छ म्यादी बीमाको प्रकृयाः बीमा समितिले म्यादी बीमा सम्पूर्ण जीवन बीमा कम्पनीहरूको लागि व्यवसाय गर्न सक्नेगरी ल्याएको हो । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूको संख्या १९ भएपनि पुलमा भने १७ वटा बीमा कम्पनीहरूले मात्र कारोवार गर्दै आएका छन् । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल र मेट लाईफ इन्स्योरेन्स कम्पनीले पुलमा सहभागिता जनाएका छैनन् । कम्पनीहरूले हाल समितिले निर्धारण गरेको पोर्टफोलियोमा जान आवश्यक नमानेकाले सहभागिता नजनाएको बीमा समितिले जनाएको छ । के हो त बीमा पुल ? बीमा पुल भनेको वैदेशिक रोजगारमा जाँदा अनिवार्य रुपमा गरिने एक प्रकारको बीमा हो । उक्त बीमाको अवधि छोटो समयको लागि नै हुन्छ । बीमा समितिले नेपाल सरकारसँग सहकार्य गरेर म्यादी बीमाका लागि केही महसुल तोकेको छ । अहिले जीवन बीमा गरेर बाहिर जानेहरूको संख्या ५ लाख नाघेको छ । एक जनाले ३४ सय सम्म तिर्ने भएकाले हाल सो पुलमार्फतमात्रै करिब दुई अर्ब रुपैयाँभन्दा बढी उठ्ने बीमा समितिले बताएको छ । ४ वटा फोकल कम्पनीले बीमा गराउने बीमा पुललाई संचालन गर्नको लागि ४ वटा फोकल कम्पनीहरू रहेका छन् । फोकल कम्पनीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, रिलायव लाईफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । आगामी वर्ष सो कम्पनीको स्थानमा अन्य कम्पनी रहने किसिमले सम्झौता गरिएको छ । यस्ता छन् ४ फोकल कम्पनीहरूले गर्ने कार्य ४ कम्पनीहरूले जीवन बीमा कम्पनीहरूको तर्फबाट बीमा गराउने कार्यमा सहजीकरण गर्ने छन् । आर्जन भएको बीमा शुल्क बीमा कम्पनीले बाँटफाँट गरेर लिन पाउने छन् । कम्पनीहरूले बीमा शुल्क बाड्दा आफ्नो विजनेशलाई आधार बनाउन पाउने छन् । पुलमा रहेका बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्कको बाँटफाँट गर्दा आफ्नो लगानी अनुसार १ देखि १६ प्रतिशतको आधारमा कस्ले कति पाउने भनेर तोकिएको छ । यसरी गरिएको सम्झौता १ वर्ष कायम रहने छ । आगामी वर्षमा भने सम्झौतामा आवश्यकता अनुसार हेरफेर गरिने बीमा समितिको तर्क छ । बीमा पुल ल्याउनुको आवश्यकता  बीमा समितिले बीमा पुलको योजना ल्याउनु अघि वैदेशिक रोजगारमा जानेहरूको बीमा गराउन कम्पनीहरूले तानातान गर्दै आएका थिए । सोही तानातानको क्रममा केही बिचौलियाहरू समेत बीमा क्षेत्रमा हावी भएको जानकारहरूले बताएका छन् । यस्तो अवस्थामा बीमा शुल्कमा कसैले धेरै तथा कसैले थोरै लिने गरेका थिए । यस्ता कुराले बीमा क्षेत्रमा असर नपुर्याओस भन्ने उदेश्यलेपनि पुलको स्थापना गरियो । बीमा समिति भन्छ अहिले बजार सुधारात्मक छ  बीमा समितिले पुलको स्थापना पश्चात म्यादी बीमामा समेत सुधार भएको बताएको छ । हाल नियामक बीमा समितिलाई पनि आफ्नो नियमनमा सहज भएको पाइएको छ । बीमा समितिका अनुसार–बीमा क्षेत्रमा हामीले पुलको सुरुवात गरेपछि हाल अस्वस्थ प्रतिस्पर्धाको बारेमा बजारमा चर्चा हुन छाडेको छ । सोही बीमा बजार मर्यादित बन्दै गएको समितिको विश्वास छ ।