बीमा समितिको परिपत्रः विद्युतीय माध्यमबाट प्राप्त बीमालेख नविकरणदेखि प्रिमियमको व्याज छुटसम्म
काठमाडौं । बीमा समितिले बिहिबार परिपत्र जारी गर्दै बीमकलाई विद्युतीय माध्यमबाट प्राप्त बीमालेख नविकरण गर्न निर्देशन दिएको छ । समितिले जीवन बीमा सम्बन्धि प्रिमियम संकलन गर्ने समयावधि समेत बैशाख मसान्तसम्म थप्न निर्देशित गरेको हो । कारोना भाइरसको कारण बिमितलाई पर्न सक्ने असुरक्षालाई ध्यानमा राख्दै समितिले हाल बिमितको प्रिमियममा व्याज नलाग्ने परिपत्रमा खुलाएको छ । साथै, चैत्र महिनामा नवीकरण गर्नुपर्ने बीमा अभिकर्ता र सर्भेयरको ईजाजतको नवीकरणको म्याद बैशाख मसान्तसम्म थप गरी सो वापत जरिवाना नलाग्ने व्यवस्था गरिएको छ । त्यस्तै, निर्जीवन बीमकले तत्काल सिर्जना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्नु पर्ने परिपत्र जारी गर्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका हुन् ।
गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन स्थगित
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्काशन स्थगित भएको छ । कम्पनीले चैत २० गतेदेखि १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन खुला गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको जोखिम रोक्न चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै अत्यावश्यक वाहेक सेवा रोक लगाउने घोषणा गरेकोले अर्को सूचना जारी नभएसम्मको लागि हकप्रद सेयर निष्काशन प्रक्रिया रोकिएको कम्पनीले जनाएको छ । परिस्थिति सहज भएपछि पुनः अर्को सूचना प्रकाशित गरी उक्त सेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले फागुन २२ गतेभन्दा अघिल्लो दिनसम्म सेयरधनी दर्ता पुस्तिकामा कायम रहेका सेयरधनीहरुका लागि प्रति साधारण सेयर १०० रुपैयाँ अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेको थियो । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिताः भविष्य कोरौं, एक लाख जितौं
काठमाडौं । विकासन्युज डटकमले स्वतन्त्र लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । कोरोना संक्रमण फैलनबाट बच्न सरकारले सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको र विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने, महामारीको प्रतिकारका लागि नयाँ सोच, विचार अगाडि सार्ने र सरकारलाई पनि सहयोग गर्ने उद्देश्यले स्वतन्त्र लेखन प्रतियोगिता गर्न लागिएको विकासन्युजको प्रवद्र्धक कम्पनी विकास मिडियाले जनाएको छ । स्वतन्त्र लेखन ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा केन्द्रीत हुनुपर्नेछ । यसमा कोरोना महामारीको विश्वव्यापी अवस्था, नेपालको अवस्था, यसबाट बच्ने उपायहरु, यस महामारीले विश्व समुदायमा ल्याएको चुनौतिहरु, नेपालमा अगाडि देखिएका चुनौतिहरु, यसले विश्वलाई दिएको सन्देशहरु, विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु, मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु, मानवजातिको भविष्यमा थपिएका चुनौतिहरु, वातावरण र जीवजगत्मा पर्ने असर लगायतका विषयहरु समेट्नु पर्नेछ । स्वतन्त्र लेखनको साथ विषयबस्तु सँग मेल खाने फोटोहरु (कम्तिमा १ र बढीमा ५ वटा) पठाउनु पर्नेछ । यस प्रतियोगितामा इच्छुक नेपालीले आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कविता वा अन्य शैलीमा आफ्ना प्रस्तुती राख्न सक्नेछन् । यस खुला स्वतन्त्र लेखन प्रतियोगितामा सबै नेपाली नागरिकले भाग लिन पाउनेछन् । १८ वर्षभन्दा कम उमेरका तर नागरिकता लिन बाँकी रहेका विद्यार्थीहरुले पनि भाग लिन पाउनेछन् । प्रवासमा बसेको नेपाली नागरिकहरुले पनि यस प्रतियोगितामा भाग लिन पाउनेछन् । सकारात्मक सोच र सिर्जनात्मक स्वतन्त्र लेखनलाई उच्च प्राथमिकता दिइने छ । उत्कृष्ट लेखकलाई १ लाख पुरस्कार प्राप्त लेख रचनाहरुको तीन चरणमा छनौट हुनेछ । पहिलो चरणमा सम्पादकीय तहबाट प्रकाशन योग्य लेख रचना छनौट गरि विकासन्युजमा प्रकाशित गरिनेछ । दोस्रो चरणमा पाठकको प्रतिक्रिया, फेसबुक सेयर, ट्वीट तथा कमेन्ट र सम्पादकीय मूल्याङकनका आधारमा छनौट गरिनेछ । तेस्रो चरणमा स्वास्थ्य, साहित्य, आर्थिक लगायतका क्षेत्रमा प्रसिद्ध व्यक्तिहरु सहभागि विज्ञ समूहको मूल्याङकन, पाठक प्रतिक्रिया र सम्पादकीय मूल्याङकनको अङ्कभार जोडबाट छनौट हुनेछ । प्रतियोगितामा प्रथम हुने रचनाको लेखकलाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिने छ । द्वितीय र तृतीय हुने लेखकहरुलाई ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ । फरक फरक विधामा उत्कृष्ट एक/एक जनालाई आकर्षक उपहार र प्रमाणपत्र प्रदान गरिनेछ । २०७७ असार २९ गते सोमबार भानु जयन्तीको दिन उत्कृष्ट स्वतन्त्र लेखनको छनौट, घोषणा तथा पुरस्कार प्रदान कार्यक्रम आयोजना गरिने भएको छ । सर्तहरु स्वतन्त्र लेखन कम्तिमा आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कम्तिमा १५०० र बढीमा ३००० शब्दको हुनुपर्नेछ भने अन्य प्रस्तुतिको लागि न्युनतम सीमा तोकिएको छैन । यसअघि अन्य माध्यममा प्रकाशन भइसकेका लेख/रचना स्वीकार्य हुने छैन । अरुको सिर्जना चोरी भएको पाइएमा त्यसको जिम्मेवारी लेखकले नै लिनुपर्नेछ । लेखकले आफ्ना सिर्जना माइक्रोसफ्ट वर्ड फाइलमा नेपाली भाषामा (फन्ट–प्रिति, साइज–१६ प्वाइन्ट) टाइप गरी [email protected] मा इमेल गर्नुपर्नेछ । २०७७ बैशाख ७ गतेसम्म इमेलमा प्राप्त स्वतन्त्र लेखनहरु प्राप्त भएको मिति/समयका आधारमा सूचिकरण गरी स्तरीय सिर्जनाहरु विकासन्युजको स्वतन्त्र लेखन विशेष पेजमा प्रकाशित गरिनेछ । पूर्ण जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।