सानिमा लाइफका नवनियुक्त सीईओ भन्छन्: कम्पनीलाई उत्कृष्ट स्थानमा पुर्याउँछु

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) अगम मुखियाले सबै बीमा कम्पनीहरू सानिमा लाइफलाई उत्कृष्ट स्थानमा पुर्याउने प्रतिवद्धता गरेका छन् । नवनियुक्त सीईओ मुखियाले कम्पनीको सञ्चालक समिति समक्ष आज प्रमुख कार्यकारी अधिकृत पदको सपथ ग्रहण गर्दै साे प्रतिवद्धता गरेका हुन् । सपथ ग्रहण कार्यक्रममा उनले आफूसँग रहेको कार्य अनुभवबाट कम्पनीलाई नयाँ आयामका साथ जीवन बीमा कम्पनीहरू मध्ये उत्कृष्ट स्थान हासिल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनको नेपालका विभिन्न बीमा कम्पनीहरूमा उच्च व्यवस्थापकीय पदमा रही १६ वर्ष भन्दा बढी कार्य गरेको अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्स, काठमाडौं विश्वविद्यालयबाट म्यानेजमेन्ट र पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेसन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका छन् । कम्पनीलाई हालसम्म सहयोग पुर्याउने नियमनकारी निकायहरू, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरू, अभिकर्ता, शुभचिन्तक लगायत सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै उनले आगामी दिनहरूमा समेत सहयोगका लागि अनुरोध गरे । सम्बन्धित सामग्री: सानिमा लाइफको सीईओमा मुखिया, तीन विश्वविद्यालयबाट मास्टर्स, नयाँ प्रडक्टमा विशेष दख्खल

घुम्न जाँदा पर्यटक बीमा गर्न नबिर्सनुस्, गाडी बीमामा छुट हुन्छ शुल्क

काठमाडौ । विश्व ४१ औं पर्यटन दिवस भर्खरै सकिएकाे छ । सामान्यतया पर्यटन भन्ने बित्तिकै एक ठाउँबाट अर्को ठाउँमा डुल्ने, घुम्नेदेखि फिरन्तेसम्म भन्ने बुझ्ने गरिन्छ । यसरी घुम्न निस्केको बेलामा बिमित यात्रु घाइते भएमा वा उपचार गराउनु परेमा १ लाख अमेरिकी डलरसम्मको बीमा गर्न पाइन्छ । यस्तै, दुर्घटनामा परेर बीमित पर्यटकको मृत्यु भएको अवस्थामा २५ हजार डलरसम्मको बीमा कम्पनीले कभर गर्दै आएका छन् । अहिले निर्जीवन बीमा कम्पनीहरुले पर्यटन लक्षित विभिन्न बीमा योजनाहरु संचालन गरिरहेका छन् । सो बीमा योजना अनुसार पर्यटक तथा यात्रुहरुले बीमा योजना खरिद गर्न सक्छन् । पछिल्लो समय बीमा कम्पनीहरुले पर्यटकहरुले गर्ने प्याकेज बीमामा कोरोना बीमा समेत समावेश हुने व्यवस्था मिलाएका छन् । यसका लागि पर्यटक बिमितले बीमा शूल्क भने केही बढी बुझाउनु पर्छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुुसार यात्रामा जोखिम हुने भएकाले ट्राभल इन्स्योरेन्स गर्न आवश्यक छ । ‘यात्रामा एक ठाउँको मान्छे अर्काे ठाउँमा पुग्ने भएकोले सो समयमा जोखिम आइपर्ने सम्भावना धेरै हुन्छ, त्यस्तो अवस्थाका लागि दुर्घटनामा परेमा एकथरी तथा बिमितको मृत्यु भएमा अर्कोथरी आर्थिक लाभ पाउँने व्यवस्था छ’, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा क्षेत्रीले विकासन्यूजसँग भने । कसरी हुन्छ भुक्तानी ? पर्यटक जोखिममा परेर स–साना रकम बुझाउनु परेमा आफैले पहिला पैसा तिर्छन् । अनि पछि बीमा कम्पनीहरुबाट दाबी भुक्तानी लिन्छन् । तर, बिमित पर्यटकलाई यात्रामा केही ठूलै अप्ठेरो परेमा बीमा कम्पनीहरुले तत्कालै समेत दाबी भुक्तानी उपलब्ध गराउदै आएका छन् । बीमाको अवधि कसैले ट्राभल्स एण्ड टुरको बीमा गर्नु परेमा कम्तिमा एक हप्तासम्मको बीमा गर्नु पर्ने हुन्छ । यस्तै, लामो समयका लागि ट्राभल्स एण्ड टुरको बीमा गर्नु परेमा ६ महिना अवधिसम्मको लागि बीमा गर्न पाइने व्यवस्था छ । पर्यटनका लागि आवात जावत गर्नेहरु ट्राभल्स एण्ड टुर्स बीमाको बारेमा जानकार रहेको बीमा कम्पनीहरुले जनाएका छन् । मोटर बीमामा छुट पर्यटकले लामो समय बाहिर निस्किदा मोटर बीमा शूल्कमा छुट पाउँछन् । मोटर नचलाइ घरमा मात्र राख्दा जोखिम कम हुन्छ । सोही कारण पर्यटक बिमितले बीमा शूल्कमा छुट पाउँछन् । तर, घरमा पनि मोटरमा आगलागी तथा केही जोखिम हुने भएकाले थर्ड पार्टी रिक्स भने कायम नै रहने बीमा कम्पनीले जनाएका छन् । यात्रा गर्ने क्रममा बिमित यात्रु घाइते भएमा वा उपचार गराउनु परेमा १ लाख अमेरिकी डलरसम्म तथा दुर्घटना परेर मृत्यु भएको अवस्थामा २५ हजार डलरसम्मको बीमा कम्पनीले क्षतिपूर्ति कम्पनीबाट पाइन्छ ।

जनरल इन्स्योरेन्सको आईपीओः पहिलो दिनमै मागभन्दा बढी आवेदन, कतिले भरे ?

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले जारी गरेको प्राथमिक सेयर(आईपीओ)मा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईबीएलएस क्यापिटलका अनुसार साँझ ५ बजेसम्ममा ९५ हजार ८ सय ५० जना आवेदकले ३१ लाख ८७ हजार ५ सय सेयरको लागि आवेदन दिएका छन् । जुन संस्थाले माग गरेको भन्दा १.१६ गुणा बढी हो । मेराे सेयरकाे सफ्टवेयरमा समस्या आउँदा पनि कम्पनीकाे सेयरमा मागभन्दा बढी आवेदन परेकाे हाे । कम्पनीले आइतबार (असोज ११ गते) बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको हो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । उक्त सेयरमा आवेदन दिन पिन कोड अनिवार्य चाहिने भएको छ । जनरल इन्स्योरेन्सको आईपीओ भर्न पिन कोड अनिवार्य चाहिने, कसरी लिने ? आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १४ गते बैंकिङ समय पश्चात हुने छ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०४.०२ रुपैयाँ र प्रतिसेयर आम्दानी २.२५ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ११५.९ रुपैयाँ र १७.३८ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।