ज्योति लाईफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश, २ अर्बको जीवन बीमा कोष बनाउन सफल
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी आज(असोज ८ गते)बाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७४ आश्विन ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको यस कम्पनी तेश्रो वर्ष सफलताका साथ पुरा गरि चौथो वर्षमा लागेको हो । कम्पनीले घातक रोग सहितको सेवा दिने पहिलो नेपाली जीवन बीमा कम्पनीको रुपमा व्यवसाय शुरु गरेको थियो । कम्पनीले २०७६ बैशाख २५ गतेदेखि सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध अधिकतम ५० लाख रुपैयाँसम्मको सुविधा दिँदै आएको छ । ११७ वटा शाखा सञ्जाल सहित सातै प्रदेशको ७२ जिल्लाबाट सेवा प्रवाह गर्दै तेश्रो आर्थिक बर्षमा झन्डै दुई अर्ब कुल बीमा शुल्क संकलन गर्न सफल भएको छ । आईएसओ ९००१ः२०१५ गुणस्तर चिन्ह प्रमाण पत्र यस कम्पनीले बीमितहरुलाई बोनस वृद्धि सहित सल्भेन्सी अनुपात १.८३ कायम गरेको छ । त्यस्तै, कुल लगानी ३ अर्ब ५० करोड रुपैयाँ र २ अर्ब रुपैयाँको जीवन बीमा कोष बनाउन सफल हुँदै चौथो बर्षमा प्रवेश गरेको छ । यो अवसरमा कम्पनीका कार्यकारी प्रमुख प्रकाश बिक्रम खत्रीले सबै बीमित, अभिकर्ता, कर्मचारी, सेयरधनी, नियामक निकाय सबैलाई आभार व्यक्त गर्दै आगामी दिनमा निरन्तर साथको अपेक्षा रहेको बताएका छन् ।
नेपाल इन्स्योरेन्सको ७३औं वार्षिकोत्सव सम्पन्न, थप उत्कृष्ट सेवा दिने प्रतिवद्धता
काठमाडौं । नेपालको इतिहासकै पहिलो इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी स्थापनाको ७३ वर्ष पुगेको छ । कम्पनीको ७३ औं वार्षिकोत्सव समारोह आश्विन ८ गते बिहीबार कम्पनीको, प्रधान कार्यालय कमलादीमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेलको आतिथ्यमा सम्पन्न भएको हो । सो अवसरमा कम्पनीले आगामी दिनमा थप उत्कृष्ट सेवा दिन तत्पर रहने प्रतिवद्धता जनाएको छ । इन्स्योरेन्सको ७३औं वार्षिकोत्सव समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले नेपालको पहिलो बीमा कम्पनीको रुपमा स्थापित यस कम्पनीको स्थापनाकालदेखि नै ग्राहकहरुको भरपर्दो र विश्वासिलो बीमा कम्पनीको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बताए । साथै, नविनतम प्रविधिको प्रयोग गरी कम्पनीको शाखा संजाललाई विस्तार गर्दै आएको र कम्पनीको यस अनवरत यात्रामा सम्पूर्ण बीमित, कर्मचारीहरु, लगानीकर्ता, बीमा समिति तथा अन्य नियामक निकाय, बैंक तथा वित्तिय संस्थाहरु, पुनर्बीमा कम्पनीहरु, सर्भेयरहरु, अभिकर्ताहरु, ब्रोकर तथा आम नागरिकहरुबाट आगामी दिनहरुमा अझ बढी सहयोग, विश्वास र प्रेरणा प्राप्त हुने कुरामा विश्वस्त रही हालसम्म प्राप्त सहयोगका लागि सम्बन्धित सबैमा आभार प्रकट गरेका छन् । कम्पनीले हाल प्रधान कार्यालय तथा देशका प्रमुख स्थानहरुमा रहेका ५० वटा शाखा कार्यालयहरु र इटहरी, कावासोती र एकान्तकुना सहित ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्र समेत गरी जम्मा ५४ स्थानहरु बाट बीमा सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष ०७६/०७७ मा कम्पनीले एक अर्ब १७ करोड ७८ लाख रुपैयाँ बीमा प्रिमियम संकलन गर्नुका साथै २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यसै अवसरमा इन्स्योरेन्सले आफ्नो जिवनको अमुल्य समय कम्पनीको सेवामा समर्पित गरि २५वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक र २० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई प्रशंसा पत्र वितरण गरेको छ ।
दीपप्रकाश पाण्डेको के गल्ती ?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, नेपाल बीमक संघका अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनी र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति सदस्य दीपप्रकाश पाण्डे बीमा क्षेत्रमा सफल र सबैले चिनेका व्यक्ति हुन् । उनले व्यवस्थापकीय नेतृत्व गरेको शिखर इन्स्योरेन्स कम्पनीले हासिल गरेको प्रगतिले उनको व्यक्तित्व धेरै माथि पुर्याएको छ । २०६१ साल मंसिरमा १५औं निर्जीवन कम्पनीको रुपमा स्थापना भएको यो कम्पनी छोटो अवधिमा नै नेपालको सबैभन्दा ठूलो बीमा कम्पनीको रुपमा स्थापना भएको छ । कम्पनीको पुँजी, व्यवसाय, नेटवर्थ, नाफा, सेयर पुँजी, शाखा सञ्जाल, कर्मचारी संख्या लगायत धेरै परिसूचकमा यो कम्पनी नम्बर वान छ । निर्जीवन बीमा बजारको झण्डै १३ प्रतिशत हिस्सा ओगटेको यो कम्पनीले निर्जीवन तर्फ सबैभन्दा बढी कर तिरेर नेपाल सरकारबाट पटक पटक सम्मानित पनि भएको छ । भारतको सेन्ट जेभियर कलेजबाट विविएस र त्रिभुव विश्वविद्यालयबाट एमबीए गरेका पाण्डेले एभरेष्ट र शिखर इन्स्योरेन्समा गरि २५ वर्ष काम गरेका छन् । ५३ वर्ष उमेर भएका पाण्डे अझै बीमा क्षेत्रमा धेरै योगदान गर्ने अठौटका साथ अगाडि बढेका छन् । ‘बीमामा धेरै गर्न सकिन्छ । नयाँ प्रडक्टहरु ल्याउने, प्रविधिको अधिकतम प्रयोग गर्दै सर्वसाधारणमा बीमाको पहुँच पुर्याउने काम हामीले नगरे कसले गर्ने ?’ उनले भने । कम्पनी सफल हुनुमा उनले जहिले पनि चार कुरालाई प्राथमिकता दिए । ‘कम्पनी चलाउन पैसा हाल्ने लगानीकर्तालाई नाफा दिनैपर्छ । कर्मचारीको हकहित हुनैपर्छ । बीमितलाई उत्कृष्ट सेवा दिएर सन्तुष्ट बनाउनै पर्छ । सरकारले बनाएको कानुन वा नियामकले जारी गरेको नीति निर्देशनको पालना गर्नैपर्छ’ उनले भने । सकारात्मक सोच राख्ने र क्षमताले भ्याएसम्म काम गर्ने उनको शैलीबाट कम्पनीका कर्मचारी, लगानीकर्ता, सञ्चालक समिति सबै प्रभावित छन् । अन्य निर्जीवन बीमा कम्पनीहरुमा पनि उनको भूमिका र कार्यसम्पादन नतिजाको निकै चर्चा हुने गरेको पाइन्छ । हालै मात्र शिखर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले उनलाई पुनः चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न बीमा समितिसँग सहमति मागेको छ । ‘विगतमा गरेको काम र भविष्यको योजना हरेर कम्पनीले मलाई विश्वास गरेको छ । बीमा समितिबाट सहमति आउन बाँकी छ’ प्रमुख कार्यकारी पाण्डेले विकासन्युजसँग भने । दुई कार्यकाल भन्दा बढी एउटै कम्पनीमा सीईओ बन्न नमिल्ने व्यवस्थासँग जोडेर उनको पुनर्नियुक्तीबारे धेरैले चासो राखेका छन् । ‘म शिखर इन्स्यारेन्सको स्थायी कर्मचारी थिए । प्रमुख कार्यकारी अधिकृत पदमा स्थायी कर्मचारी हुन नपाउने व्यवस्था भएपछि मैले ४ वर्षअघि स्थायी सेवा छाेडेर करारमा नियुक्त भएकाे हुँ’ उनले भने–‘करारमा नियुक्त भएपछि पहिलो कार्यकाल सकिएकोले दोस्रो कार्यकालको लागि नियुक्ती प्रक्रिया अगाडि बढेको हो’ उनले भने । ‘बीमा समितिको नीति निर्देशनको पालना गर्दै मैले ६० वर्ष हुँदासम्म खान पाउने स्थायी जागिरबाट राजीनामा दिएँ । यस कम्पनीमा भएको सेयर पनि बेचेँ’ उनले भने–केही मानिसहरु भ्रामक प्रचार गरिराखेका छन् । मैले के गल्ती गरेँ र ?’ बीमा समितिले गरेकाे तत्कालिन नीतिगत व्यवस्थालाई पालना गर्दै आफू करारमा आएकाे बताउँदै पाण्डेले भने-‘अहिलेकाे नियम अनुसार एक कार्यकाल थप्न मिल्ने भएकाेले सञ्चालक समितिले निर्णय गरेकाे हाे । हामी बीमा समितिकाे नीति नियमकाे पालना गर्न पूर्ण प्रतिवद्ध छाैं ।’ ‘१० करोड रुपैयाँ लगानीमा स्थापना भएको कम्पनी १५ वर्षमा ३५० करोड नेटवर्थकाे कम्पनी भएको छ । नियम कानुनको पालना गरेर ग्राहकलाई उच्चस्तरीय सेवा दिदै आएका छौं । निर्जीवनतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनी भएको छ । ६०० भन्दा बढी कर्मचारीलाई रोजगारी दिएको छ । कम्पनीले लगानीकर्तालाई उच्चतम प्रतिफल दिएको छ । हामीले बीमामा सिर्जनात्मक काम पनि धेरै गरेका छौं’ उनले भने–‘राम्रो गर्नेलाई स्यावासी भन्ने र प्रोत्साहित गर्ने संस्कारको विकास हुन जरुरी छ ।’