क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
सुर्खेत । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभामा कम्पनीका सेयरधनी, सञ्चालक तथा नियामक निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीको हालको प्रगति र भावी योजनाबारे संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए । त्यसपछि सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो मन्तव्यसँगै कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरे । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८०र८१ को नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरेको छ । सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको रूपमा जेएन उपाध्याय एन्ड कोलाई नियुक्त गर्ने निर्णय पनि पारित गरेको छ । साथै समूह ‘ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरूको तर्फबाट ईश्वरलाल श्रेष्ठ र सुनिता महर्जन सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गर्यो मैत्री सेवा आश्रममा खाद्यान्न वितरण
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत काठमाडौं जिल्लास्थित मैत्री सेवा आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । २०७८ जेष्ठ २१ गते सम्पन्न कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक नरेश थापा र शाखा प्रबन्धक रोजिना मानन्धरको उपस्थितिमा खाद्यान्न सामग्री आश्रमलाई हस्तान्तरण गरिएको हो । हाल आश्रममा ३० जना जेष्ठ नागरिकले सेवा लिइरहेका छन् । कम्पनीले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा थप योगदान दिने लक्ष्य राखेको जनाएको छ । सानिमा रिलायन्सले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि समेट्दै जाने विश्वास व्यक्त गरेको छ । भविष्यमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना रहेको कम्पनीले स्पष्ट पारेको छ । हाल देशभर १६९ शाखा विस्तार गरिसकेको कम्पनीको पूँजी ५ अर्बभन्दा बढी रहेको छ भने २० अर्बभन्दा बढीको लगानी परिचालित छ । त्यस्तै, कम्पनीमा हाल २० हजारभन्दा बढी अभिकर्ताहरू सक्रिय रूपमा कार्यरत छन् ।
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : खेलाडीको बीमादेखि घर बीमा कार्यक्रम विस्तारसम्म
काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख नजिर मियाँले बुधवारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कर्णाली प्रदेश सरकारले खेलाडीको वर्गीकरणको आधारमा बीमा गरिने उल्लेख गरेको छ । प्रदेश सरकारले निजी आवासीय घरको प्राकृतिक विपद् लगायत भवितव्यको कारणबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूति गर्न घर बीमा कार्यक्रम सञ्चालन गरिएको छ । कर्णाली प्रदेशमा स्थायी बसोबास भएका र सेवारत सबैको सामूहिक विपद् दुर्घटना बीमा गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै मनसुन र आगलागीजन्य विपद्मा प्रदेश सरकारले बेहोर्नुपर्ने लागत सहभागिताको रकम लाभग्राहीले प्राप्त गर्ने गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई निकासा गरिएको छ । यसबाट प्रदेशका ८८२ घरपरिवार लाभान्वित हुने जनाएको छ । प्रदेश सरकारले यसै आर्थिक वर्षदेखि सुरू गरिएको घर बीमा कार्यक्रमलाई आगामी आर्थिक वर्षदेखि सबै स्थानीय तहसम्म विस्तार गरिने भएको छ । यस्तै, प्राकृतिक प्रकोप तथा महामारी रोगको कारण कृषि क्षेत्रमा हुने जोखिम न्यूनीकरणको लागि राहत कार्यक्रम, बाली तथा पशुपन्छी बीमा र मौसम पूर्वानुमान डिजिटल सूचना प्रणाली कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा प्रस्तुत छ । कृषि तथा पशुपन्छीका लागि एक स्थानीय तह एक बीमक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । प्रादेशिक विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तयार गरिने भएको छ । यसबाहेक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सेन्डाइ कार्यढाँचा बमोजिम विपद्जन्य घटनाबाट हुने मृत्यु, विपद्बाट प्रभावित जनसंख्या, प्रदेश अर्थतन्त्रमा हुने क्षति, संवेदनशील पूर्वाधारमा हुन सक्ने क्षतिलाई उल्लेख्य रूपमा घटाइने, विपद् दुर्घटना बीमाको दायरा विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।