साना साना विषयमा हस्तक्षेप नगर्न बीमा कम्पनीका अध्यक्षलाई ओझाको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐन र प्राधिकरणबाट जारी भएका नीति निर्देशनहरू कार्यान्वयनमा व्यवस्थापनलाई जिम्मेवार बनाउन र सशक्त भूमिका निर्वाह गर्न बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई निर्देशन दिएका छन् । बीमा प्राधिकरणको आयोजनामा जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बीमा व्यवसायको विस्तारका लागि आमजनतालाई लक्षित गरी नयाँ-नयाँ बीमालेख ल्याउन निर्देशन दिए । अध्यक्ष ओझाले भने, ‘बाध्यकारी बीमाको दायराबाट बाहिर ननिस्किएसम्म बीमा बजार विस्तार हुन सक्दैन । बचतमा आधारित बीमामा केन्द्रित नभई टर्म इन्स्योरेन्स र नयाँ नयाँ जोखिम बहन गर्नेखालका बीमामा जानुपर्छ, नयाँ विकास गरिएका बीमालेखलाई शीघ्र स्वीकृति दिन प्राधिकरण तयार छ ।’  बीमा कम्पनीको लगानी विविधीकरणका लागि थप क्षेत्र खोल्न प्राधिकरण तयार रहेको उल्लेख गर्दै अध्यक्ष ओझाले बीमा कम्पनीले गर्ने लगानी जनताको पैसा रहेको र लगानी गर्दा जिम्मेवारी पूर्वक गर्नुपर्ने बताए । लगानी सुरक्षित र दिगो लाभमा आधारित हुनुपर्ने, लगानी उपयुक्त छ/छैन भनेर संचालक समितिले हेर्नुपर्ने र बीमकका लगानी शाखालाई थप जिम्मेवार बनाउनु पर्ने उनको भनाइ छ । कानून बमोजिम बीमा व्यवसायको विकास एवं विस्तारका लागि सहजीकरण गर्न र गुनासो नआउने गरी सेवा प्रवाह गर्न प्राधिकरण प्रतिवद्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओझाले अस्वस्थ प्रतिस्पर्धा नगर्न, स-साना विषयमा पनि हस्तक्षेप गर्नुपर्ने अवस्था आउन नदिन, तोकिएकै समयमा वित्तीय विवरण बुझाउन र बीमा बजारलाई विधि बमोजिम संचालन गर्न बीमकका संचालक समितिका पदाधिकारीहरूको ध्यानाकर्षण गराए ।  अध्यक्ष ओझाले लागत नबढ्ने र सहज हुने गरी बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान-१७ (एनएफआरएस) लागू गर्न आवश्यक सहजीकरण गर्ने जानकारी दिए । बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा व्यवसायको प्रवर्द्धन र बीमितको हित रक्षाका लागि प्राधिकरणले नियामकीय भूमिका सँगसँगै सहजकर्ताको समेत भूमिका निर्वाह गर्दै आएको बताए । प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पण्डितले बीमकमा संस्थागत सुशासन कायम गर्न संचालक समितिको भूमिका र उपनिर्देशक विरोध वाग्लेले बीमकको वित्तीय विवरण, वित्तीय अवस्था र लगानी विविधीकरणका सम्बन्धमा संचालक समितिको भूमिका सम्बन्धी छुट्टा छुट्टै प्रस्तुति दिएका थिए । 

राष्ट्रिय जीवन बीमा कम्पनीको 'बालशिक्षा योजना' सार्वजनिक, बालबालिकाको शिक्षामा दीर्घकालीन सुरक्षा

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले बालबालिकाको शैक्षिक सुरक्षा सुनिश्चित गर्न 'बालशिक्षा योजना' सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा सम्पन्न एक विशेष कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै कम्पनीले यो नयाँ बीमा योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार 'बालशिक्षा योजना'ले अभिभावकको अनुपस्थितिमा समेत बालबालिकाको शैक्षिक यात्रा अविच्छिन्न बनाउने उद्देश्य राखेको छ । योजनाअन्तर्गत न्यूनतम बीमाङ्क २५ हजार र अधिकतम बीमाङ्क ५० हजार तोकिएको छ । बीमा अवधि न्यूनतम १० वर्ष र अधिकतम २५ वर्षसम्म रहनेछ । बीमितको अधिकतम प्रवेश उमेर १७ वर्षसम्म निर्धारण गरिएको छ । बीमा जोखिम बहन बीमालेख जारी भएपछिको दोस्रो वर्ष र बीमित ६ वर्ष पुगेपछि सुरु हुनेछ । बीमाशुल्क वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक किस्तामा तिर्न सकिनेछ। वार्षिक किस्तामा २ प्रतिशत, अर्धवार्षिक किस्तामा १ प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । त्रैमासिक र मासिकमा छुटको व्यवस्था छैन । बीमाङ्क ५ लाखभन्दा माथि भएमा बीमाशुल्क दरमा थप  २ रुपैयाँ छुटको व्यवस्था पनि गरिएको छ । योजनाअनुसार बीमित वा प्रस्तावकको मृत्यु भएमा विशेष अवस्थामा आधारित विभिन्न भुक्तानी व्यवस्था गरिएको छ । जोखिम बहन सुरु भइसकेपछि मृत्यु भएमा बोनससहित बीमाङ्कको २५ प्रतिशत वा बढी रकम भुक्तानी गरिने जनाइएको छ । प्रस्तावकको मृत्यु भएमा बीमालेखलाई निरन्तरता दिइने र बीमितलाई मासिक आयका रूपमा बीमाङ्कको १ प्रतिशत प्रदान गरिनेछ । तीन वर्ष बीमाशुल्क तिरेपछि बीमालेख समर्पण मूल्य योग्य हुने कम्पनीले जनाएको छ। कम्पनीले कर्जामा निर्धारित ब्याज दर (१० प्रतिशत) लागू गर्ने घोषणा गरेको छ, जुन आगामी साउनबाट कार्यान्वयनमा ल्याइनेछ । यस योजनामा स्थायी पूर्ण असक्तताको अवस्थामा मासिक आम्दानी सुविधा, बीमाशुल्क मिनाहा लगायत सुविधा छन् । तर, आत्महत्या (बीमा प्रारम्भको २ वर्षभित्र), युद्ध, दंगा, नागरिक अशान्ति, वा अनुमतिबिहीन हवाई यात्रा जस्ता कारणबाट मृत्यु भएमा बीमा दावी नलाग्ने व्यवस्था गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीले नयाँ योजना कम्पनीको नवीकरणको संकेत भएको बताएका छन् ।  'अरूको खुट्टा तानेर अघि बढ्न सकिन्न, सबै प्रदेश र शाखाको सुझाव सुनेर हामी एकीकृत रुपमा अघि बढ्दैछौं,' उनले भने ।  पन्थीले कम्पनीको संस्थागत पुनर्जागरण, कर्मचारी-अभिकर्ता सम्बन्ध सुधार र नयाँ प्रडक्ट थप्ने रणनीति अपनाइने स्पष्ट पारे । उनले ‘ओपन कम्युनिकेसन’ र ‘सिक्ने–सिकाउने अभियान’ मार्फत बीमा क्षेत्रको विश्वसनीयता बढाउने संकल्प व्यक्त गरे ।

एनएलजी इन्स्योरेन्सको लाभांश पारित, खुद नाफा १४.७ करोड पुग्यो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ ।  सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षित वित्तीय विवरण पारित गर्दै आगामी वर्षको लेखापरीक्षक नियुक्ति र लाभांश वितरणसम्बन्धी प्रस्तावहरू स्वीकृत गरेको छ। सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय अभिलेखमाथि छलफल गरी अनुमोदन गरेको हो । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँको २.५० प्रतिशतका दरले ६ करोड २५ लाख ६६ हजार ४५० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आव २०८१/८२ का लागि एससी लाल एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकका रूपमा नियुक्त गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिएको छ । एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ मा उल्लेखनीय प्रगति गरेको छ । बीमा शुल्क आम्दानी ७।३६ प्रतिशतले वृद्धि भई २ अर्ब ५८ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । कम्पनीले सो अवधिमा ६४ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दै १४ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसबाहेक कुल दाबी भुक्तानी २५.०१ प्रतिशतले घट्दै १ अर्ब ६४ करोड रुपैयाँमा झरेको छ भने खुद दाबी भुक्तानी २१.२२ प्रतिशतले घटेर ४२ करोड ८१ लाख रुपैयाँमा सीमित भएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो पुनर्बीमा रणनीति अन्तर्गत जर्मनीको विश्वप्रसिद्ध पुनर्बीमा कम्पनी हेनोभर रीको नेतृत्वमा पुनर्बीमा समावेश गर्दै आएको छ ।