आईएमई लाइफ इन्स्योरेन्सका बीमित र कर्मचारीलाई मेडिटेक अस्पतालमा २५ प्रतिशतसम्म छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले बुटवलस्थित मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचार गर्दा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । कम्पनीका अनुसार बीमितहरूले छुट प्राप्त गर्नका लागि कम्पनीको मोबाइल एपमा उपलब्ध ‘प्रिभिलेज कार्ड’ देखाउनुपर्नेछ । यस्तै, अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र प्रस्तुत गरेपछि छुट सुविधा लिन सक्नेछन् । यस किसिमको सहकार्यले कम्पनी र अस्पतालबीचको व्यावसायिक सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ । साथै, यसले बीमित, अभिकर्ता र कर्मचारीहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच र थप सुविधा प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
५ अर्ब बीमा शुल्क संकलन गर्ने पहिलो निर्जीवन बीमक बन्यो शिखर
काठमाडौं । शिखर इन्स्योरेन्स बीमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट फेरि ५ अर्ब बीमा शुल्क संकलन गर्ने पहिलो कम्पनी बन्न सफल भएको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै चालु आवको हालसम्ममा ५०० करोड कुल बीमा शुल्क संकलन गरिएको जानकारी गराएको हो । गत आव २०८०/८१ को असार मसान्तसम्ममा पनि शिखर इन्स्योरेन्सले ५ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। हालसम्म अन्य निर्जीवन बीमा कम्पनीले कुल बीमा शुल्क ५ अर्ब करोड पुर्याउन सकेका छैनन् । ग्राहकको भरोसा र साथले शिखर इन्स्योरेन्स नेपालको निर्जीवन क्षेत्रमा छोटो समयमा ५ अर्बको निर्जीवन बीमा शुल्क संकलन गर्ने पहिलो कम्पनी बन्न सफल भएको जनाएको छ । ‘हाम्रो यो सफलताको लागि हामीलाई भरोसा गर्ने सम्पूर्ण ग्राहक महानुभावहरू, कर्मचारी वर्ग तथा शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं,’ कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । भविष्यमा अझ उत्कृष्ट बीमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
आजसम्म सेयरधनी बने हिमालयन लाइफको ८ प्रतिशत लाभांश पाउने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको ८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज जेठ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । लाभांश पारित गर्न कम्पनीले १८ औँ वार्षिक साधारण सभा असार १० गते काठमाडौंमा बिहान साढे १० बजे बोलाएको कम्पनीको सभाले कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशतको दरले हुन आउने ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ नगद लाभांश पारित गर्नेछ । सभाले प्रबन्ध पत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियामकबाट कुनै फेरबदलको लागि निर्देशन प्राप्त भए सोही बमोजिम गर्न सम्पूर्ण अख्तियारी संचालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम गत वर्ष भएको खर्च अनुमोदन गर्नेछ । साथै, सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक एससि लाल एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।