१४ मध्ये ४ निर्जीवन बीमा कम्पनीले मात्रै बिक्री गरे लघु बीमालेख

काठमाडौं । बीमा ऐन, २०७९ ले प्रत्येक बीमकलाई न्यून आय भएका वर्ग तथा पिछाडिएको क्षेत्रलाई लक्षित गरी लघु बीमा व्यवसाय सञ्चालन गर्न अनिवार्य गरे पनि यसको कार्यान्वयनमा भने कमजोर देखिएको छ ।

नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीमध्ये केवल ४ कम्पनीले मात्र लघु बीमालेख बिक्री गरेका छन् । बाँकी १० कम्पनीहरूले लघु बीमा बिक्री गर्न सकेनन् ।

चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र मसान्तसम्मममा निर्जीवन बीमा कम्पनीहरूले लघु बीमालेख विक्रीवापत ९९ करोड ८२ लाख कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार ८ कम्पनीहरूले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

जसमा ४ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् भने ४ वटा माइक्रो इन्स्योरेन्स कम्पनी हुन् । यी कम्पनीहरूले ३ लाख ७९ हजार ७६० बीमालेख बिक्री गरी ९९ करोड ८२ लाख कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

लघु बीमालेख बिक्री गरेका चार निर्जीवन बीमामध्ये नेको इन्स्योरेन्सले ३ हजार ६१६ बीमालेख बिक्री गरी १ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले १ हजार ४७० बीमालेख बिक्री गरी १ हजार ४७० बीमालेख बिक्री गरी २ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गरेको छ ।

यो अवधिमा नेशनल इन्स्योरेन्स कम्पनीले ९ वटा बीमालेख बिक्री गरी ४८ हजार व्यवसाय आर्जन गरेको छ । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ बीमा लेख बिक्री गरी १ हजार रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गरेको छ । 

बीमा ऐन, २०७९ को दफा ७६ अनुसार लघु जीवन बीमा वा लघु निर्जीवन बीमा व्यवसाय मात्रै गर्ने उद्देश्यले बीमा कम्पनी स्थापना गर्न पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार लघु निर्जीवन बीमा व्यवसाय गर्ने उद्देश्यले ४ वटा लघु बीमा कम्पनी खोलिएका छन् ।

चार लघु बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै व्यवसाय प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १ लाख ८ हजार २६७ बीमाालेख बिक्री गरेर २७ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्रोटेक्टिभपछि नेपाल माइक्रो इन्स्योरेन्स ९२ हजार ४४ वटा बीमा लेख बिक्री गरी २४ करोड ८९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ ।

null

त्यसैगरी, स्टार माइक्रो इन्स्योरेन्सले १ लाख २ हजार १८१ बीमालेख बिक्री गरी २३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । ट्रस्ट माइक्रो इन्स्योरेन्सले ७२ हजार १७१ बीमालेख जारी गरी २२ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

सरकारले लघु बीमा विस्तार गर्ने लक्ष्य लिए पनि कम्पनीहरूले नाफामुखी व्यवसायमा जोड, व्यवसायिक सोच तथा सञ्चालन लागत उच्च हुनेजस्ता कारणले यो क्षेत्र प्रभावकारी रूपमा अघि बढ्न नसकेको देखिन्छ ।

बीमा कम्पनीहरूका अनुसार लघु बीमा व्यवसायमा प्रिमियम सानो हुने तर प्रशासनिक तथा वितरण लागत तुलनात्मक रूपमा बढी हुने भएकाले कम्पनीहरूले यसतर्फ जोड दिन सकेका छैनन् । साथै ग्रामीण क्षेत्रमा पहुँच विस्तार गर्न आवश्यक पूर्वाधार र जनशक्ति अभाव पनि अर्को चुनौतीको रूपमा रहेको छ ।

Share News