गार्डियन माइक्रो लाइफको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सेयर रजिष्ट्रार परिवर्तन गर्दै अबदेखि हिमालयन इन्भेष्टमेन्ट बैंकरलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सेयर कारोबारसम्बन्धी सम्पूर्ण सेवा, जस्तै नामसारी, रोक्का, दाखिलारखारेज तथा लगत अद्यावधिक अब हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडमार्फत हुने भएको छ । यस सम्बन्धमा विराटनगरस्थित गार्डिन माइक्रो लाइफको रजिष्टर्ड कार्यालयमा आयोजित एक समारोहमा दुवै पक्षबीच औपचारिक सम्झौता भएको हो । सम्झौतापत्रमा गार्डियन माइक्रो लाइफका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र हिमालयन इन्भेष्टमेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर जव राणाले हस्ताक्षर गरेका थिए । कम्पनीले उक्त परिवर्तनको जानकारी सम्पूर्ण सेयरधनी र सरोकारवालालाई सार्वजनिक रूपमा गराएको छ ।

सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकहरूलाई  मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो ।  यस पुनर्जागरण अभियान आसर २ गते देखी २७ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने संस्थाले जनाएको छ । सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।   संस्थाले सार्वजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुविधा लिई  व्यतित बीमालेख नबिकरण गरि मौकाको फाईदा  लिन कम्पनीले अनुरोध गरेको छ । हरेक नेपालीलाई बीमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रितको आर्थिक  पक्ष सबल र सदृढ गर्नको लागि जीवन बिमा अनिवार्य रहेको छ। ग्राहकहरुले संस्थाको देशैभरि रहेका १६९ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यमहरूबाट यस योजनामा सहभागी हुन सक्नेछन् । 

रिलायबल नेपाल लाइफको साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरिएको १२.६३ प्रतिशत लाभांश पारित गरेको छ । जसअन्तर्गत १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गरिनेछ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्नेछ । सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाबाट पारित भएको छ । यदि नियामक निकायले संशोधनका क्रममा कुनै निर्देशन दिएमा त्यसअनुसार आवश्यक कार्य गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले अनुमोदन गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत स्वीकृत गरेको छ।